उत्तरी फ्रान्समा रेल दुर्घटना: ४४ जना घाइते, एकको अवस्था गम्भीर

उत्तरी फ्रान्सको नोर्मान्डी क्षेत्रमा एउटा यात्रुवाहक रेल दुर्घटनाग्रस्त (लिकबाट बाहिर) हुँदा कम्तीमा ४४ जना घाइते भएका छन्।

स्थानीय अधिकारीहरूका अनुसार शुक्रबार साँझ रुएन र केन सहर बिच चल्ने रेल रुएन सहरको दक्षिणी भेगमा रहेको क्लेओन गाउँ नजिकै दुर्घटनामा परेको हो। दुर्घटनामा परी घाइते भएकामध्ये एक १८ वर्षीय युवतीको अवस्था अत्यन्तै गम्भीर रहेको र उनलाई हेलिकप्टरमार्फत तत्काल अस्पताल पुर्‍याइएको छ।

फ्रान्सका यातायात मन्त्री फिलिप ताबारोतका अनुसार दुर्घटना हुँदा रेलमा कुल १८० जना यात्रु सवार थिए। स्थानीय समय अनुसार साँझको करिब ८:०० बजे भएको उक्त दुर्घटना लगत्तै स्थानीय प्रशासनले आपत्कालीन उद्धार तथा आम-क्षति नियन्त्रण योजना लागू गरेको थियो।

दुर्घटनाको खबर पाउनासाथ १४० भन्दा बढी अग्निनियन्त्रक र आपत्कालीन उद्धार टोलीहरू घटनास्थलमा खटिएका छन्। सुरक्षाकर्मीहरूले दुर्घटनाग्रस्त क्षेत्रलाई नियन्त्रणमा लिएर सर्वसाधारणलाई उक्त क्षेत्रतर्फ नजान आग्रह गरेका छन्।

सामाजिक सञ्जाल तथा सञ्चारमाध्यमहरूमा सार्वजनिक भएका तस्बिरहरूमा रेलका तीन वटा डिब्बाहरू लिकबाट उक्लिएर पल्टिएको र यात्रुहरू आतङ्कित हुँदै बाहिर निस्किएका दृश्यहरू देखिन्छन्।

नेसनल रेलवे कम्पनीले दुर्घटनाका कारण उक्त क्षेत्रको रेल सेवा पूर्ण रूपमा प्रभावित भएको र यात्रुहरूको सहजताका लागि वैकल्पिक बस सेवा सञ्चालन गरिएको जनाएको छ।

रेल के-कसरी लिकबाट बाहिरियो भन्ने विषयमा स्पष्ट कारण अझै खुल्न सकेको छैन। घटनाबारे प्राविधिक अनुसन्धान सुरु भइसकेको फ्रान्सेली अधिकारीहरूले जनाएका छन्।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

एजेन्सी का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link