तीन महिनापछि खुल्यो खाँदबारी-किमाथांका सडक

नेपाली सेनाको अथक प्रयासपछि अवरुद्ध खाँदबारी-किमाथांका सडकखण्ड सोमबार साँझदेखि पुनः सञ्चालनमा आएको छ। नेपाल –चीन जोड्ने ‘लाइफलाइन’ सो सडकखण्ड विगत तीन महिनादेखि अवरुद्ध भएको थियो। गत साउनमा भोटखोला गाउँपालिका २ स्थित छुम्सुरमा ठूला –ठूला चट्टानसहितको पहिरो खस्दा सो सडकमा पूर्ण रूपमा सवारी साधन आवत जावत गर्न अवरुद्ध भएको थियो।

किमाथाङ्काबाट करिब २१ किलोमिटर र खाँदबारीबाट करिब १४१ किलोमिटर दूरीमा रहेको उक्त स्थानमा खसेको पहिरो हटाउन उत्तर–दक्षिण (कोशी) राजमार्ग आयोजनाले नेपाली सेनालाई अनुरोध गरेको थियो।

 सोही आग्रह अनुसार नेपाली सेनाको नं. १ विकास निर्माण गण अन्तर्गत छुम्सुर पोस्टबाट सैनिक टोली संलग्न भएको आयोजनाले जनाएको छ। श्री इन्द्रदल गुल्मको जिम्मेवारी क्षेत्रभित्र पर्ने उक्त स्थानमा खटिएको सैनिक टोलीले विष्फोटन ९ब्लास्टिङ० मार्फत ठूला–ठूला विशाल चट्टानहरूलाई ससाना टुक्रामा विभाजन गरेको थियो भने आयोजनाले उक्त चट्टानहरू हटाएर सडक पुनः पूर्ण रूपमा सञ्चालनमा ल्याएको आयोजना प्रमुख रामबहादुर गुरुङले जानकारी दिए।

उनका अनुसार पहिरोमा खसेका ठूला चट्टान हटाउन सामान्य उपकरणले सम्भव नभएपछि विस्फोटक पदार्थ समेत प्रयोग गर्नुपर्ने परेको थियो। नेपाल–चीन व्यापारिक सम्पर्कका प्रमुख नाका रसुवाको रसुवागढी, सिन्धुपाल्चोकको तातोपानी र मुस्ताङको कोरला नाका प्राकृतिक विपद् तथा सडक अवरोधका कारण आवागमन र पारवहन प्रभावित भइरहेका छन्। यस्तो अवस्थामा किमाथाङ्का सडकखण्डमा यातायात सेवा पुन:सञ्चालन हुँदा थप सहज हुने अपेक्षा गरिएको छ। साथै उत्तरी सीमासम्मको पहुँचको महत्त्वलाई थप उजागर गरेको छ।

आयोजना प्रमुख गुरुङले भने “भोटखोला २ स्थित छुम्सुरमा ठूला चट्टान सहितको पहिरो हटाउन भौगोलिक अवस्थाका कारण अत्यन्त कठिन थियो। चुनौतीपूर्ण परिस्थितिमा चट्टानको अवरोध हटाउन नेपाली सेनाको अथक योगदान र सहयोग रह्यो। ” सडक अवरुद्ध हुँदा दैनिक आवागमन, सामान ढुवानी तथा स्थानीय जनजीवनमा समेत समस्या उत्पन्न भएको थियो। सडक आयोजना कार्यालयले अन्य सडक खण्डमा नियमित मर्मतसम्भार गरेर यातायात सञ्चालन भइरहेको जनाएको छ। कोशी क्षेत्रको सडक सञ्जाललाई उत्तरी सीमावर्ती क्षेत्रसम्म जोड्ने रणनैतिक रूपमा महत्वको रूपमा रहेको यस सडकमा वर्षायाममा पहिरो र चट्टान खस्ने जोखिमले यातायात सञ्चालनमा चुनौती थपिँदै आएको छ।

भौगोलिक रूपमा अति विकट कडा चट्टान भएका कारण खाँदबारी–किमाथाङ्का सडकखण्डको १ सय ६२ किमी मध्ये १०.८ किमी सडक निर्माणको जिम्मा सरकारले सेनालाई दिएको थियो। कडा चट्टान र भौगोलिक विकटता भएका कारण सेनाले हेलिकप्टरमार्फत निर्माण सामग्री ढुवानी गरेर सडक निर्माण सम्पन्न गरेर गत वैशाखमा हस्तान्तरण गरेको थियो। उत्तरी क्षेत्रमा पर्ने किमाथाङका नाका भौगोलिक हिसाबले दुर्गम क्षेत्र मानिन्छ । किमाथाङ्का–जोगबनी खण्ड छिमेकी देश चीन–भारत जोड्ने सबैभन्दा छोटो सडकका रूपमा मानिन्छ। किमाथाङका–जोगबनी सडकखण्ड सञ्चालन भएपछि कोशी प्रदेशका संखुवासभा, धनकुटा, तेह्रथुम, सुनसुरी, मोरङ, झापा र भोजपुरवासी लाभान्वित हुनेछन्।

सडक आयोजनाको सक्रियताले राष्ट्रिय पूर्वाधारको सञ्चालन कायम राख्नुका साथै दुर्गम क्षेत्रका नागरिकको सहज आवागमन र जनजीवनलाई सहयोग पुर्‍याएको जनाइएको छ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link