म्याक्रोनद्वारा पेरिसमा भएको गोली काण्डलाई “नश्लवादी आतङ्ककारी आक्रमण” को संज्ञा

फ्रान्सका राष्ट्रपति एमानुएल म्याक्रोनले पेरिसको उपनगरमा भएको एक ज्यानमारा गोली काण्डलाई “नश्लवादी आतङ्ककारी आक्रमण” को संज्ञा दिएका छन्। उक्त घटनामा परी एक जनाको मृत्यु भएको छ भने १२ वर्षीय बालिकासहित अन्य पाँच जना गम्भीर घाइते भएका छन्।

घटनास्थलको निरीक्षण गर्दै राष्ट्रपति म्याक्रोनले यो आक्रमण फ्रान्सेली गणतन्त्र र राष्ट्रको जीवनमा एउटा ठुलो “मोड” भएको बताए। फ्रान्सको इतिहासमा यस प्रकारको अन्धाधुन्ध नश्लीय हत्या पहिलो पटक भएको उल्लेख गर्दै उनले मानिसहरूलाई उनीहरूको छालाको रङ वा धर्मका आधारमा निशाना बनाइएको बताएका छन्। म्याक्रोनले नश्लवादी विचारधारासामु झुक्दै नझुक्न सार्वजनिक अपिलसमेत गरेका छन्।

यो हिंस्रक घटना पेरिसको दक्षिण-पश्चिममा रहेको ट्राप्स र नजिकैको ला भेरियर सहरमा करिब १५ मिनेटको समयभित्र घटेको थियो। प्रत्यक्षदर्शीका अनुसार आक्रमणकारीले खैरो रङको ‘रेनो क्लिओ’ गाडी चढेर बाटोमा भेटिएका मानिसहरूमाथि अन्धाधुन्ध गोली प्रहार गरेका थिए।

ट्राप्सका मेयर अली राबेहका अनुसार बन्दुकधारीले अत्यधिक क्षति पुर्‍याउने र नरसंहार मच्चाउने नियतले पेट्रोल पम्प, स्वास्थ्य केन्द्र र बालबालिका खेल्ने पार्कमा रहेका मानिसहरूलाई लक्षित गरी गोली चलाएका थिए।

घटना लत्तै प्रहरीले ३९ वर्षीय सन्दिग्ध आक्रमणकारीलाई नियन्त्रणमा लिएको छ। फ्रान्सेली सञ्चारमाध्यमहरूका अनुसार उनको पहिचान ‘केभिन टी’ का रूपमा गरिएको छ। राष्ट्रिय आतङ्कवादविरोधी अभियोजकको कार्यालयले सन्दिग्ध व्यक्ति पहिले पनि चार वटा आपराधिक मामलामा परेको तर फ्रान्सेली कानुन अनुसार ती कसुरहरू स्वतः खारेज भइसकेको जनाएको छ।

उनी प्रहरीको सूचीमा भए पनि फ्रान्सको गुप्तचर निकायको नजरमा गम्भीर सुरक्षा खतरा मानिएका व्यक्तिहरूको सूचीमा थिएनन्। प्रहरीले सन्दिग्धका साथबाट दोस्रो विश्वयुद्धकालीन स्टेन सुबमिसन गन र अश्रुग्याँस फेला पारेको छ। यसका साथै प्रहरीले उनको परिवारका एक सदस्यलाई पनि नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ।

घटनामा परी घाइते भएकामध्ये तीन जनाको अवस्था निकै गम्भीर छ। घाइते १२ वर्षीय बालिकाकी आमाले फ्रान्सेली सञ्चारमाध्यमसँग कुरा गर्दै आफ्नी छोरीलाई आठ वटा गोली लागेको र शल्यक्रिया भइरहेको जानकारी दिएकी छन्। “एउटी सानी बच्चीमाथि कसैले कसरी यस्तो अपराध गर्न सक्छ?” भन्दै उनले प्रश्न गरिन्। आक्रमणका बेला छोरीले टाउकोमा स्कार्फ लगाएकाले नै उनीमाथि आक्रमण भएको हो कि भन्ने आशङ्का उनकी आमाले व्यक्त गरेकी छन्।

फ्रान्सको राष्ट्रिय आतङ्कवादविरोधी अभियोजकको कार्यालयले यस घटनालाई “आतङ्ककारी अपराधसँग सम्बन्धित हत्या” को रूपमा अनुसन्धान अघि बढाएको छ। अनुसन्धान निकायले व्यक्तिहरूविरुद्ध गम्भीर अपराध गर्ने उद्देश्यले आतङ्ककारी समूहसँग षड्यन्त्र र प्रतिबन्धित ‘श्रेणी ए’ को सैन्य हतियार राखेको विषयमा पनि छानबिन गरिरहेको छ।

आक्रमणको सटीक कारण अझै पूर्ण रूपमा स्पष्ट भई नसके पनि प्रारम्भिक प्रमाण र प्रत्यक्षदर्शीका बयानले आप्रवासी र अल्पसङ्ख्यक समुदायलाई लक्षित गरी नश्लवादी भावनाबाट प्रेरित भएर यो आक्रमण गरिएको देखिएको छ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

एजेन्सी का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link