सुदूरपश्चिममा चट्याङले एकैदिन  लियो ४ किसानको ज्यान

आज मंगलबार मात्रै सुदूरपश्चिम प्रदेशमा चट्याङ लागेर ४ जनाको मृत्यु भएको छ। प्रदेशका तराईका जिल्ला कञ्चनपुरका ३ र कैलालीका १ जनाको मृत्यु भएको हो। मंगलबार बिहान ८ बजे कैलालीको कैलारी गाउँपालिका –१ रानामुराका ५६ वर्षीया सुगपंखीदेवी चौधरीको चट्याङ लागेर ज्यान गएको छ। घर नजिकै खेतमा रोपाइँ गर्ने क्रममा चट्याङ लागेर घाइते भएकी सुगपंखीदेवीको सेती प्रादेशिक अस्पताल धनगढी ल्याउने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेद जोशीले जानकारी दिनुभयो। यस्तै कञ्चनपुरको पुनर्वास नगरपालिका –६ का ४० वर्षीय देवेन्द्र श्रेष्ठको पनि चट्याङ लागेर मृत्यु भएको छ। खेतमा काम गरिरहेका उहाँको बिहान चट्याङ लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले जनाएको छ।

पुनर्वास नगरपालिकाकै वडा नम्बर ८ ‘क’ गाउँकी २५ वर्षीया शारदा थापाको पनि खेतमा काम गरिरहेको समयमा चट्याङ लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक नरेशराज मल्लले बताउनुभयो। कञ्चनपुरकै कृष्णपुर नगरपालिका –५ का ४८ वर्षीय पुनाराम चौधरीको पनि चट्याङ लागेर मृत्यु भएको छ। कैलालीको गोदावरी नगरपालिका –३ मालाखेतीमा रोपाइँ गर्न आएका पुनारामको चट्याङ लागेर मंगलबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

१० वर्षमा ८५ जनाले गुमाए ज्यान

सुदूरपश्चिम प्रदेशमा चट्याङबाट हुने मानवीय क्षति बढ्दै गएको छ। राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रका अनुसार पछिल्लो १० वर्षमा मात्रै प्रदेशका ८५ जनाले चट्याङका कारण ज्यान गुमाएका छन्। सबैभन्दा बढी कञ्चनपुरमा २० र कैलालीमा १८ जनाले ज्यान गुमाएका छन् भने अछाम जिल्लामा १५ जनाको मृत्यु भएको छ। डोटीमा ८, बाजुरामा ७, बैतडीमा ६ र डडेल्धुरामा ५ जनाको चट्याङका कारण मृत्यु भएको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ। यस्तै दार्चुला र बझाङ जिल्लामा भने ३ / ३ जनाको मृत्यु भएको छ। पछिल्लो १० वर्षको विवरणअनुसार देशभरीमै सुदूरपश्चिमका कैलाली र कञ्चनपुर धेरै चट्याङ खस्ने जिल्लाको सूचीमा छन्।

चट्याङको पूर्वानुमान गर्न मुस्किल

मौसम पूर्वानुमान महाशाखाले हरेक दिन जारी गर्ने मौसमी बुलेटिनमा मेघ गर्जन र चट्याङको सम्भावना उल्लेख गरेको हुन्छ । तर मौसमविद् बिनु महर्जनका अनुसार चट्याङबारे पूर्वानुमान गर्न सक्ने प्रविधि नेपालमा छैन। ‘चट्याङको पूर्वानुमानका लागि हामसँग प्रविधि छैन,’ उहाँले भन्नुभयो, ‘तर पनि मौसमी बुलेटिनमा हामीले सतर्कता अपनाउन आग्रह गरिरहेका हुन्छौं।’ उहाँले चट्याङबाट बच्नका लागि विद्युतीय सामग्रीको प्रयोग नगर्न र घरबाहिर ननिस्कन आग्रह गर्नुभयो। विशेष गरी वर्षाको समयमा चट्याङ धेरै पर्ने गरेको छ। बङ्गालको खाडी नजिक रहेका नेपालका भूभागमा चट्याङको जोखिम सबैभन्दा बढी रहेको छ।

 

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

नवराज पनेरु/डडेल्धुरा का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link