उर्लदो महाकालीमा बग्दै ब्याँसवासीका सपना

नवराज पनेरु

बुधबार दार्चुलाको ब्याँस गाउँपालिका –२ दुम्लिङका सचिन बुढाथोकीको घरमा नुन, तेल लगायतका उपयोग्य सामान सकिएको थियो। सधैँ जस्तै सचिनले सामान किनमेलका लागि भारतको गर्भाधार बजार पुग्नुपर्ने भयो। त्यहाँ पुग्न उहाँलाई एक घण्टा समय लाग्ने गरेको थियो। सचिन मात्रै नभएर भारत आउजाउ गर्दा तुइनबाट महाकाली तर्नुपर्ने बाध्यता दुम्लिङवासीको छ। तुइनबाट महाकाली तरेर गर्भाधार बजार पुगेका सचिन किनमेलपछि घरतिर लाग्नुभयो। फर्किदा पनि महाकाली नदी तर्ने सहारा त्यही तुइन नै थियो। महाकाली नदीको बीच पुगेका बेला भारततर्फ बाँधिएको तुइनको तार भाँचियो। तुइनसँगै १८ वर्षीय सचिन पनि उर्लंदो महाकालीमा बेपत्ता हुनुभयो। सोही महाकाली नदीमै बग्यो सचिनको सपना पनि।

०७८ साउन १५ गते ब्याँसी गाउँपालिकाकै वडा नम्बर २ का ३३ वर्षीया जयसिंह धामी सदरमुकाम जान लाग्नु भएको थियो। सदरमुकाम खंलगा पुग्न महाकाली तरेर सुरुमा भारत पुग्नुपर्ने थियो धामीलाई। महाकाली तर्न पुल थिएन। विकल्पका रूपमा मालघाटमा थियो तुइन। धामीलाई पारी पुगाउने जिम्मा थियो, तुइन सञ्चालक कल्याणसिंह धामीको। तर जयसिंह पारी पुग्न पाउनुभएन। पारी पुग्न एक मिटर मात्रै बाँकी रहँदा जयसिंह महाकालीमा खसेर बेपत्ता भए। पारी ( भारततर्फ ) बाँधिएको तुइनको फेरो भारतीय सीमा सुरक्षा बलका जवानले फुकालेपछि जयसिंह बेपत्ता हुनु भएको हो। जयसिंह बेपत्ता भएपछि विदेश गएर परिवार पाल्ने उहाँको सपना पनि महाकाली नदीमै बिलायो। जयसिंह बेपत्ता भएको एक वर्ष पुग्नै लागेको छ। गृह मन्त्रालयका सहसचिव जनार्दन गौतम नेतृत्वको समितिले छानबिन गरी घटनामा भारतीय एसएसबी दोषी देखायो। संलग्नलाई कारबाही गर्न पनि छानबिन समितिले सरकारलाई आग्रह गरेको थियो। तर, अहिलेसम्म पीडित परिवारले न्यायको अनुभुति गर्न पाएको छैन। जयसिंह पनि भेटिएका छैनन्।

२९ वर्षमा २७ जना तुइन तर्ने क्रममा बेपत्ता

०७८ साउनमा जयसिंह बेपत्ता भएपछि मुचुल्का उठाउदै प्रहरी

तुइन दार्चुलावासीको बाध्यता हो। आफ्नै जिल्ला सदरमुकाम पुग्नका लागि भारतीय मार्ग प्रयोग गर्नुपर्ने बाध्यता दार्चुलाको ब्याँसवासीलाई बढी छ। भारतीय मार्ग प्रयोग गर्नुअघि ब्याँसवासीले महाकाली तर्नुपर्छ छ। महाकालीमा पुल पर्याप्त नहुँदा ठाउँठाउँमा बनाइएको छ, तुइन। तर तुइनकै कारण कयौँका सपना महाकालीमा बगेका छन्। २९ वर्षको अवधिमा ब्याँस गाउँपालिका वडा नम्बर २ मा रहेका तुइन तर्ने क्रममा मात्रै २७ जना बेपत्ता भएका छन्। ०७८ साउनमा जयसिंह धामी बेपत्ता भएपछि गाउँपालिकाले तथ्याङ्क संकलन गर्दा २७ जना तुइन तर्ने क्रममा बेपत्ता भएको भेटिएको ब्याँस गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष धिरनसिंह बुढाथोकीले बताउनुभयो। ‘२०५० साल देखिको तथ्याङ्क संकलन गरेको छौं,’ वडाध्यक्ष बुढाथोकीले भन्नुभयो, ‘सचिनसहित २७ जना महाकाली नदीमा तुइन तर्ने क्रममा बेपत्ता भएका छन्। बेपत्तामध्ये अधिकांशको शव पनि फेला परेको छैन।’

उहाँका अनुसार अहिले पनि ब्याँस गाउँपालिका वडा नम्बर २ मा मात्रै सात स्थानमा तुइन राखिएको छ। ‘दोपके, तपाकु, कल्जु्, तल्लो दुम्लिङ, रिठान र विन्दला लगायत वडा नम्बर २ को क्षेत्रमा सात स्थानमा तुइन सञ्चालनमा छन्,’ वडाध्यक्ष बुढाथोकीले भन्नुहुन्छ, ‘नेपालको भूमी भएर दार्चुला सदरमुकाम पुग्न दुई दिन लाग्ने गरेको छ। महाकाली तरेर भारत हुँदै सदरमुकाम खलंगा पुग्न ३ घण्टा मात्रै लाग्ने गरेको छ। त्यसैले तुइनमार्फत महाकाली तर्नु यहाँको बाध्यता हो।’ उहाँका अनुसार जयसिंह धामी बेपत्ता भएको मालघाटमा भने झोलुङ्गे पुल निर्माण भइरहेको छ।

ब्याँस गाउँपालिका वडा नम्बर २ का स्थानीय जीवन बुढाथोकीले दैनिक उपभोग्य सामाग्री खरिदका लागि भारतीय बजारको भर पर्नुपर्ने बाध्यता रहेको बताउनुभयो। ‘विकट क्षेत्रमा ढुवानी गर्दै नेपाली व्यापारीले सामान बिक्री गर्दा तीन गुणा बढी महङ्गो हुने गरेको छ,’ जीवनले भन्नुभयो, ‘महङ्गो सामान किनमेलका लागि आर्थिक समस्या हुन्छ। त्यसैले भारतीय बजारमै पुगेर उपभोग्य सामान पनि किनमेल गर्ने गरेका छौं।’

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टका अनुसार जौलजीवीदेखि सुनसेरासम्म झोलुङ्गे पुलमार्फत तुइन विस्थापित गरिएको छ। ‘दार्चुलाको अधिकांश क्षेत्रमा झोलुङ्गे पुल निर्माण भइसकेका छन्,’ डीएसपी बिष्टले भन्नुहुन्छ, ‘तर माथिल्लो क्षेत्रमा पर्याप्त पुल नहुँदा अझै पनि तुइन सञ्चालनमा छन्। सुरक्षाकर्मीको उपस्थिति भएको क्षेत्रमा तुइन हटाइएको छ।’ ०७२ सालमा पहिलोपटक प्रधानमन्त्री निर्वाचित भएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले देशभर रहेका तुइन विस्थापित गरेर ती ठाउँमा झोलुङ्गे पुल निर्माण गर्ने निर्णय गर्नुभएको थियो। तर दार्चुलावासीको भने अहिले पनि तुइनबाटै महाकाली तर्नुपर्ने बाध्यता छ।

सचिन बुढाथोकी

सचिनको खोजी जारी

बुधबार तुइन तर्ने क्रममा महाकाली नदीमा बेपत्ता भएका ब्याँस गाउँपालिका–२ दुम्लिङका सचिन बुढाथोकीको खोजी जारी राखिएको छ। जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक बिष्टका अनुसार बुधबारदेखि नै सचिनको खोजी भइरहेको हो। ‘नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीसँगै स्थानीय बासिन्दा पनि सचिनको खोजीमा सक्रिय छन्,’ डीएसपी बिष्टले भन्नुभयो। गृहमन्त्री बालकृष्ण खाँणले पनि सचिनको खोजीकार्य तीव्र बनाउन निर्देशन दिनुभएको छ। दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय, सशस्त्र प्रहरी बल सुदूरपश्चिम प्रदेश प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक दुर्गाप्रसाद भट्टराई र नेपाल प्रहरीका सुदूरपश्चिम प्रदेश प्रमुख प्रहरी नायब महानिरीक्षक मोहन आचार्यलाई टेलिफोन गरी बेपत्ता सचिनको खोजी कार्य तीव्र बनाउन गृहमन्त्री खाँणले निर्देशन दिनुभएको हो।

 

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

नवराज पनेरु/डडेल्धुरा का अन्य पोस्टहरु:
उर्लदो महाकालीमा बग्दै ब्याँसवासीका सपना
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link