‘घोल गाड्ने’ का कारण भारतमा नेपालीको बिजोक

नवराज पनेरु

कैलालीको जानकी गाउँपालिका६ जगतपुरका मीनबहादुर शाह ०७८ चैत ६ गते अपहरणमा परेको खबर फैलियो। कञ्चनपुरको वेदकोट नगरपालिका७ स्थित ससुराली घरबाट दिउँसो ४ बजे नेपाली नम्बरको स्कुटरमा आएका दुई जना व्यक्तिले शाहलाई लगेर सम्पर्कबिहीन बनाएका थिए। स्कुटरमा आएका दुई जनाले आफूहरू नेपाल प्रहरी भएको भन्दै शाहलाई लगेका थिए तर कञ्चनपुर प्रहरी मातहतका कुनै पनि युनिटसँग शाहलाई पक्रन आदेश थिएन।

सम्पर्कबिहीन भएको एक दिनपछि शाह भारतीय प्रहरीको हिरासतमा रहेको खबर परिवारका सदस्यले पाए। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहका अनुसार शाह भारतको बनवासा प्रहरीको नियन्त्रणमा भेटिएका थिए। अनुसन्धानका क्रममा शाह र उनकी श्रीमती भारतको हरियाणमा चोरीमा संलग्न रहेको खुलेको छ’, डिएसपी शाहले भने– ‘चोरी गरेर शाह फरार भएपछि भारतीय प्रहरीले त्यहाँ रहेका अन्य नेपालीलाई पक्राउ गरेको थियो। तीनै नेपालीका आफन्तले शाहलाई पनि भारतीय प्रहरीको हिरासतसम्म पुर्‍याएको खुलेको छ।

चैत महिनाकै तेस्रो साता भारतीय प्रहरीले पञ्जाबमा नगदसहित केही सामान चोरी गरेको आरोपमा डोटीका चार जनालाई पक्राउ गर्‍यो। चोरी भएको घटना सत्य थियो तर पक्राउ परेकाहरू भने उक्त चोरीमा संलग्न भएका थिएनन्। दुई लाख बढी नगदसहित अन्य सामान चोरी गर्नेहरू फरार भएपछि निर्दोष मजदुर भारतीय प्रहरीको फन्दामा परेका थिए।

पञ्जाबको लुधियानामा मजदुरी गर्दै आएका नरेश बलमले भने– ‘चोरीमा संलग्नहरूलाई कैलाली प्रहरीले पक्राउ गरिसकेको थियो तर यहाँ (भारतमा) नेपालीहरू चोरीमा संलग्न भएको भन्दै निर्दोष मजदुरलाई भारतीय प्रहरीले धमाधम पक्राउ गरिरहेको छ।

भारतको दिल्लीमा कार्यरत डँडेल्धुराका देवराज जोशीका अनुसार भारतमा हुने चोरीमा नेपालीको संलग्नता बढ्दै गएपछि अहिले त्यहाँ रहेका सोझा मजदुरलाई भने काम गर्नै मुस्किल हुन थालेको छ। घोल गाड्नेहरू (चोरी गर्नेहरू)ले योजनाअनुसार भारतीय व्यापारीको घरमा सुरुमा घरेलु मजदुर भएर काम सुरु गर्ने गरेका छन्’, जोशीले भने– ‘केही महिना काम गरिसकेपछि सोही घरमा चोरी गरेर फरार हुने गरेका छन्। चोरी गर्नेहरू नेपाल पुगिसकेका हुन्छन् भने यहाँ (भातरमा) काम गर्ने नेपालीहरूलाई भारतीय प्रहरीले चोरीको आरोपमा पक्राउ गर्ने गरेको छ।

भारतमा हुने चोरीमा सबैभन्दा बढी कैलाली, डोटी र अछाम जिल्लाका बासिन्दाको संलग्नता रहेको प्रहरी बताउँछ। भारतमा चोरी गरेर सुदूरपश्चिममा दैनिक करोडौंको सामान र नगद भित्रिरहेको दाबी प्रवासमा रहेका नेपालीको छ। भारतमा चोरी गर्नु मुख्य पेशा बनाएका समूह र व्यक्तिको संख्या दिनहुँ बढिरहेको छ’, भारतको दिल्लीमा रहेका इन्द्र चौधरीले भने– ‘तर नियन्त्रणका प्रयास नभइरहेकोले भारतमा रोजगारी गर्न जाने सर्वसाधारण नेपालीको हत्या, अपहरण र बलात्कार हुँदासमेत भारतीय प्रहरीबाट सहयोग पाउन मुस्किल हुने गरेको छ।


भारतमा चोरी गर्नु मुख्य पेशा बनाएका समूह र व्यक्तिको संख्या दिनहुँ बढिरहेको छ’, भारतको दिल्लीमा रहेका इन्द्र चौधरीले भने– ‘तर नियन्त्रणका प्रयास नभइरहेकोले भारतमा रोजगारी गर्न जाने सर्वसाधारण नेपालीको हत्या, अपहरण र बलात्कार हुँदासमेत भारतीय प्रहरीबाट सहयोग पाउन मुस्किल हुने गरेको छ।


चोरी डकैतीकै कारण सामान्य काम गरेर गुजारा गर्ने प्रवासीले सास्ती भोग्नु परेको भारतमा रहेका धनगढीका सुरेश विकले बताए। केही वर्ष अगाडिसम्म भारतमा नेपालीलाई इमानदार र सोझा हुन्छन् भनेर सम्मान र इज्जत गरिन्थ्यो’, उनले भने– ‘तर अहिले चोरीका घटनामा नेपालीको संलग्नताको कारणले काम पाउनै मुस्किल हुन थालेको छ। तिरस्कार र दु:ख पाउन थालिएको छ।

हुन त घटनालगत्तै इन्टरपोलमार्फत प्राप्त सूचनाका आधारमा नेपाल प्रहरीले पनि चोरीमा संलग्नहरूको खोजी गर्दै आएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीले मात्रै भारतका विभिन्न ठाउँको चोरीमा संलग्न सय बढीलाई पक्राउ गरिसकेको छ तर घटनास्थल नेपालमा नहुँदा चोरीमा संलग्न हुनेले सहजै उन्मुक्ति पाउने गरेका छन्। कैलालीमा हुँदा घोल गाड्नेप्रवृत्तिलाई नियन्त्रण गर्न सक्रिय भएर काम गरेका डिएसपी दक्ष बस्नेत भन्छन्– ‘यस्ता चोरीमा एकजना मात्रै संलग्न छैनन्। गिरोह नै सक्रिय भएर चोरी भएको हुन्छ। एउटै चोरी करोडौंको पनि हुने गरेको थियो तर घटनास्थल भारतमा हुँदा नेपाल प्रहरीले कारबाही नै गर्न सक्दैन। चोरी भएको नगद र सामान बरामद गर्नै मुस्किल हुन्छ।

कैलाली प्रहरीका अनुसार भारतमा सक्रिय गिरोहले ७ करोडसम्मको चोरी गरेको छ। चोरीमा संलग्न पक्राउ परेकामाथि कैलाली प्रहरीले संगठनिक अपराधमा मुद्दा चलाउने गरेको थियो तर घटनास्थल नेपालबाहिर हुँदा अधिकांशले सहजै उन्मुक्ति पाउने गरेका थिए। प्रहरीका अनुसार भारतका विभिन्न राज्यका सानाठूला सहरमा दैनिकजसो हुने चोरी तथा डकैतीको योजना बनाउने र चोरीको समानबाट फाइदा लिने मुख्य योजनाकार भने धनगढी र महेन्द्रनगरमा बढी सक्रिय छन्। चोरीको योजना बनाउने एउटा, चोरी गर्ने अर्को, चोरीमा संलग्नलाई नेपाल भित्र्याउने अर्को र चोरेको नगद तथा सामान बाँडफाँट गर्ने अर्को गरी एकै चोरीमा चार समूह पनि संलग्न रहेको भेटिएको प्रहरी अधिकारी बताउँछन्।

भारतमा चोरी र त्यसमा नेपालीको संलग्नता बढेपछि सुदूरपश्चिम नेपाली समाज अन्तर्राष्ट्रिय समिति र सुदूरपश्चिम समाज भारतले पनि पटकपटक नियन्त्रणका प्रयास गरेका छन्। सुदूरपश्चिम नेपाली समाज अन्तर्राष्ट्रिय समितिका कोषाध्यक्ष भुवन भट्टले चोरीमा नेपालीको संलग्नताले भारतमा रहेका नेपालीको बिजोक भएको बताए। चोरी गर्नेहरू फरार भइहाल्छन्’, उनले भने– ‘तर चोरीमा संलग्न भएका व्यक्तिले जोसँग सम्पर्क गरे भारतीय प्रहरीले सबैलाई पक्राउ गर्ने गरेको छ। महिनौंसम्म थुनामा राखेर यातना
दिने गरेकोछ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

नवराज पनेरु/डडेल्धुरा का अन्य पोस्टहरु:
‘घोल गाड्ने’ का कारण भारतमा नेपालीको बिजोक
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link