नेपालमा क्रान्तिको अवसान कि नयाँ क्रान्तिको सन्नाटा?

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीद्वारा सञ्चालित पछिल्लो शसस्त्र विद्रोहको सुरक्षित अवतरण (सेफलेण्डिङ्) र त्यस पार्टीमा आएको विग्रहपछि अब नेपाली राष्ट्रिय समाजमा राजनीतिक क्रान्ति र विद्रोहको अवसान भएको हो त? नेकपा (माओवादी) द्वारा सञ्चालित दशवर्षे सशस्त्र युद्धको अवतरण र वर्तमान संविधान प्राप्तिपछि यो दल कैयौं समूहमा विभाजित बन्दै र कमजोर हुँदैजाँदा अब त्यसको नेतृत्वमा पुन: क्रान्ति हुने सम्भावना समाप्त भएको हो ? मधेसी जनअधिकार फोरमदेखि विभिन्न नामहरूमा परिवर्तित हुँदै मधेश विद्रोहको अगुवा बन्न पुगेको उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल विभाजित भएर छरिएको अवस्थामा त्यस पार्टीको नेतृत्वमा मधेस लगायत नेपाली राष्ट्रिय समाजको रूपान्तरणका लागि पुन: विद्रोह र क्रान्ति हुने सम्भावना समाप्त भएको हो?

झापाली सशस्त्र विद्रोहको पृष्ठभूमिबाट नेपालको वामप्रजातान्त्रिक आन्दोलन, बहुदलीय लोकतान्त्रिक परिपाटीको सुदृढीकरणदेखि वर्तमान संविधान निर्माणमा प्रमुख मध्ये एक शक्ति मात्रै होइन नेकपा (माओवादी) सँगको एकतापछि झण्डै दुई तिहाइ नजिकको एक शक्तिशाली बामपन्थी सरकार सञ्चालन गर्न पुगेको नेकपा (एमाले) आफैंमा विभाजित बन्दै जाँदा यो दलको नेतृत्वमा अब क्रान्ति हुने सम्भावना समाप्त भएको हो? जहाँनिया राणाशासन विरुद्धको सङ्घर्ष, २००७ सालको क्रान्तिको अगुवाई गर्दै, बहुदलीय प्रजातन्त्रदेखि वर्तमानको संविधान निर्माणसम्म प्रमुख मध्येको एक शक्तिका रूपमा रही राज्यसत्ताका हरेक अङ्गहरूमा दरो पकड जमाउन सफल नेपाली कांग्रेस पार्टीको नेतृत्वमा अब क्रान्ति हुने सम्भावना समाप्त भएको हो?

त्यसोभए क्रान्ति केहो त ? यसका स्वरूपहरू  के कस्ता हुन्छन् ? क्रान्ति किन हुन्छ? सामान्य अर्थमा क्रान्ति वर्गहरू बीचको राजनीतिक स्वार्थको निर्मम र हिंसात्मक टकराव हो। जसले पुरानो राज्यसत्ताको सार र रूपमा फेरबदल गर्दै नयाँ राज्यसत्ताको जग बसाल्ने गर्दछ। समाजमा वर्गको गर्भाधानबाट क्रान्तिको भ्रुण जन्मन्छ। अर्थात् कहीं कतै वर्ग नभएको समाज हुन्छ भने त्यहाँ क्रान्ति हुन असम्भव हुन्छ। वर्ग आफैंमा आर्थिक मात्र नभएर यसका सामाजिक, लैङ्गिक, सांस्कृतिक लगायतका विभिन्न स्वरूपहरू हुने गर्दछन् तर ठाडो रूपमा विभाजित बन्न पुगेको आर्थिक वर्ग र तेर्सो रूपमा विभाजित बन्न पुगेका सांस्कृतिक वर्गहरू  बीचको हिंसात्मक टकरावको रूपमा देखापर्ने राजनीतिक जनक्रान्तिबाट भने समाजको अधिकांश हिस्सा प्रभावित बन्ने गर्दछ।

कतै–कतै ठाडो अर्थात् ऊर्ध्वरेखीय विभाजनलाई वर्ग र तेर्सो अर्थात् क्षैतिजिक विभाजनलाई वर्णगत विभाजन भनेर पनि भन्ने गरेको पाइन्छ। यसरी हेर्दा क्रान्तिका मूल पक्षहरू वर्गसङ्घर्ष र वर्णसंघर्षका रूपमा देखापर्दछन्। स्पार्टाकसको दासविद्रोह, फ्रान्सको राज्यक्रान्ति, र रुसको बोल्सेभिक क्रान्ति आधारभूतरूपमा वर्ग क्रान्ति हुन् भने अमेरिका, भारत तथा दक्षिण अफ्रिका लगयतका देशहरूका राष्ट्रिय मुक्ति आन्दोलनहरू वर्ण क्रान्ति हुन्। वर्गसङ्घर्षहरू  मूलत: आन्तरिक र वर्ण सङ्घर्ष चाहिँ बाह्य अन्तरविरोध प्रधान प्रकृतिका हुन्छन्। क्रान्तिले समाजको शक्ति सन्तुलनमा फेरबदल ल्याइदिन्छ। शक्ति सन्तुलनको दस्तावेजको रूपमा नयाँ संविधान बन्छ र प्रमुख शक्तिहरू उक्त दस्ताबेजमा अनुबन्धित भई राज्य सञ्चालन र सञ्चालकको भूमिकामा पुग्दछन्।


वर्तमान नेपालको भूभागमा बाईसे र चौबिसे राज्यहरू, तिनीहरूका भारदार, मुखिया, मुन्सी, देवान, विचारी, जमिन्दार, जिम्दारी, पटुवारी स्थान र क्षेत्र विशेष फरक फरक नामावली भएका सत्ता आश्रित वर्ग देखापर्‍यो जुन आधारभूत रूपमा शोषण र उत्पीडनकारी थियो। मूलत: नेपाली कांग्रेसले नेतृत्व गरी र साम्यवादी दल समेतको सहभागितामा भएको विद्रोह जुन २००७ सालको क्रान्तिको रूपमा देखापर्‍यो, यो त्यसैको अभिव्यक्ति हो। 


क्रान्ति किन हुने गर्दछ? भूत तत्त्वमा निहित भौतिक र यान्त्रिक गतिझैं मानव समाजमा पनि सामाजिक गति हुने गर्दछ। जसरी गतिका कारण खगोलीय पिण्डहरू, पृथ्वीको बाह्य सतह अनि जीवाङ्ग वा पिण्डमा परिवर्तन देखापर्दछ समाज पनि यो नियमबाट अछुतो हुँदैन। गतिको अन्तर्वस्तु र कारक गतिवान पदार्थमा अन्तरनिहित यसको संयोजन र वियोजन, संकुचन र फैलावटको द्वन्द्वात्मक विरोधाभाष र सन्तुलन पनि हो। फलत: कहीं रिक्त हुने र कहीं थुप्रने, कहीं विच्छेदन हुने र कहीं आएर जोडिने प्रक्रियाले गतिको मूल प्रवृत्तिलाई अभिव्यक्त गर्दछ। जस्तो कि खोलाले काट्छ अनि थुपार्छ, थुपार्ने क्रम सन्तृप्ति विन्दुमा पुगेपछि फेरि काट्न थाल्छ। यसरी फेरि काट्न थाल्नु र फेरि थुपार्न थाल्नु मात्रात्मक परिवर्तनपछि आउने गुणात्मक परिवर्तन् हो। यो समाजमा पनि गुणात्मक परिवर्तनको रूपमा क्रान्ति देखापर्दछ।

समाजमा पनि विपरीत स्वार्थहरू हुने गर्दछन्। मानव श्रमबाट परिवर्तित वा निर्मित वस्तु, सेवा र सुविधाहरू केही सीमित व्यक्ति र परिवारका हातमा थुप्रँदै जानाले अन्ततोगत्वा त्यहाँ वर्गहरू देखापर्दछन्। फलत: हाम्रो पूर्वीय सभ्यतामा भनिएको सत्ययुग जसलाई कार्लमार्क्सको भाषामा आदिम साम्यवादी युग भनिन्छ। त्यतिवेला समाजमा वर्ग नभएको आभाष हुन्छ। शायद त्यतिवेला जनसङ्ख्या कम र उपभोगका वस्तुहरूमा कुनै कमी नहुनाले निजी स्वामित्व र सम्पत्तिको आवश्यकता नभएको हुँदा त्यहाँ मानव बीच होइन प्रकृति र मानवका बीच मात्र सङ्घर्ष भयो। क्रमश: मानिसले विकास गरेको प्रविधि र जनसंख्याको वृद्धिसँगै मानव समाजमा संग्रह र सञ्चिति बढ्न थाल्यो र त्यहाँ वर्ग उत्पत्तिको आधार बन्दै गयो। त्रेतायुग जसलाई मार्क्सेली समाजशास्त्रमा दास युग भन्ने गरिन्छ, त्यतिवेला सारा समाज नै दास र मालिक वर्गमा विभाजित भयो।

त्यो विभाजनको टकराव र स्वरूपलाई लाक्षणिक रूपमा स्पार्टाकसको दास विद्रोहलाई लिन सकिन्छ, त्यसैले उनलाई आदि विद्रोही पनि भनियो। नेपालमा समस्थल भूभाग कम भएको पहाडी, सानो आकारको भूभाग हुनुका साथै वर्गविभाजन भर्खर देखापरेका र आदिम प्रकारको सामुदायिक स्वामित्वमा रहेको भूमि, जङ्गल र जमिनका कारण दास युगिन विद्रोह ठूला महाद्विपीय आकारका मैदानी भूभागमा झैं यहाँ नभएको देखिन्छ। भारतको रघुवंशी राज्यमा दासदासीको किनबेच, नेपालमा कमाराकमारीहरूको किनबेच जस्ता कुराहरूले दास प्रथाको केही दृष्टान्त भने दिएको छ। शङ्खधर साख्वाको ऋणमोचन, चन्द्रशमशेरले गरेको कमारा मुक्तिको घोषणादेखि लिएर हालसम्म कमैया, हलिया, र कमलरी मुक्तिआन्दोलनका घटनाहरू दास र मालिक वर्ग बीचको वर्गीय टकराबका दृष्टान्तहरू हुन्।

त्यसपछि आएको द्वापरयुगलाई त्यसैगरी मार्क्सवादी समाजशास्त्रले सामन्तवादी युग भन्दछ। त्यतिवेला राजारजौटा, जमिन्दार, मुखिया ठालुहरू  र आम श्रमजीवि जनता बीचको वर्गीय अन्तरविरोधको टकराव हुन थाल्यो र यो पृष्ठभूमिमा क्रान्तिका उभारहरू देखा पर्न थाले। द्वापरयुग वा सामान्तवाद भने विश्वका अधिकांश मुलुकहरू सहित भारत र नेपालमा पनि राम्रैसँग मौलाएको पाइन्छ। वर्तमान नेपालको भूभागमा बाईसे र चौबिसे राज्यहरू, तिनीहरूका भारदार, मुखिया, मुन्सी, देवान, विचारी, जमिन्दार, जिम्दारी, पटुवारी स्थान र क्षेत्र विशेष फरक फरक नामावली भएका सत्ता आश्रित वर्ग देखापर्‍यो जुन आधारभूत रूपमा शोषण र उत्पीडनकारी थियो। मूलत: नेपाली कांग्रेसले नेतृत्व गरी र साम्यवादी दल समेतको सहभागितामा भएको विद्रोह जुन २००७ सालको क्रान्तिको रूपमा देखापर्‍यो, यो त्यसैको अभिव्यक्ति हो।

यसपछि फेरि कलियुग आयो जसलाई मार्क्सवादी समाजशास्त्रमा उल्लिखित पुँजीवादी युग पनि भन्न सकिन्छ जुन यथार्थमा भन्नुपर्दा द्वापरयुग अर्थात् सामान्तवादी युगको अन्तिम चरणमा प्रकट भैसकेको थियो। युरोपतिर भन्नुपर्दा फ्रान्सेली राज्य क्रान्ति, चीनको जनवादी क्रान्ति र नेपालको २००७ सालको क्रान्तिबाट द्वापर युगलाई निषेध गर्दै क्रमश: कलियुग अर्थात् पुँजीवादी युगको सुरुवात भएको मान्नु पर्दछ। हाम्रो पूर्वीय वाङ्मयले कलियुग पछिको कल्पना गरेको छैन तर मार्क्स महोदयले भने साम्यवादी युग भनेर पाँचौ युगको परिकल्पना गरेका छन्, जसलाई भविष्यको गर्भतर्फ औंल्याउने गरिन्छ। कलियुगमा आएपछि भने आधुनिक औद्योगिक मजदुर र मालिक अर्थात् मार्क्सका भाषामा सर्वहारा र बुर्जुवा वर्ग बीच वर्गीय अन्तरविरोध र टकराव बढ्न थाल्यो।

हाम्रा पौराणिक ग्रन्थहरूले कलियुग ईसापूर्व ३१०२ सालको फेब्रुअरी १३ का दिन सुरु भएको भनेर दाबा गरेका छन् (आप्टे,२००१)। तर नेपालका समाजशास्त्री लगायतका राजनीतिक दलहरू हालसम्म पनि नेपालमा पूर्णरूपमा पुँजीवाद आइनसकेको भनि दाबी गर्दछन्। जेहोस्, नेपाली समाज द्वापरयुगिन केही विशेषतासहित हाल पुँजिवादी कलियुगको चरणमा आइपुगेको छ भनेर मान्नुपर्ने हुन्छ। नेपालमा भएको २००७ सालको क्रान्तिदेखि वर्तमान विप्लव नेतृत्वको क्रान्तिसम्मका आन्दोलन, विद्रोह र क्रन्तिहरू युगिन हिसाबमा हेर्दा सबै नै यही अवधि भित्रका पर्दछन्। नेपालका राजनीतिक पार्टीहरूको कार्यक्रम र मनोविज्ञान हेर्दा एकखाले हिजोको व्यवस्थामा फर्कन चाहन्छन् जसलाई प्रतिगमनकारी भन्न सकिन्छ। अर्को खालका पनि छन्– तिनीहरू आधारभूत रूपमै हाल भैरहेको व्यवस्था र अवस्थामा सन्तुष्ट छन् र तिनीहरू यथास्थितिवादी हुन्।

त्यसैगरी अर्काखाले पार्टीहरू छन्– तिनीहरू हाल देखिएको अवस्थामा सुधार गर्ने कुरामा सहमत छन् तर उनीहरू व्यवहारिक रूपमा वर्गीय पक्षधरता र आफ्नो वर्गस्वार्थ भन्दा तल झर्न चाहँदैनन्। यसबाहेक अर्काखाले पार्टीहरू छन् उनीहरूका लागि सुधार मात्र अपर्याप्तछ उनीहरू भीषण क्रान्तिको चाहना राख्दछन्। अर्को अनौठो परिदृष्य के पनि छ भने यो एउटै पार्टी भित्रका नेता र कार्यकर्ता भित्र पनि फरक फरक मात्रामा यी सबै प्रवृत्तिहरू देखापर्न सक्दछन्। तर फेरि पनि क्रान्ति वस्तुगत परिपक्वता बिना केवल भावनात्मक आग्रहले उत्पन्न हुँदैन। क्रान्तिका लागि वर्गीय अन्तरविरोधले मात्रात्मक परिवर्तन् गर्दै गुणात्मक फड्को हान्ने ठाउँमा आउनुपर्दछ। यसरी हेर्दा नेपालका राजनीतिक पार्टीहरू  नेपाली कांग्रेस, नेकपा (एमाले) नेकपा (माओवादी), जसपा, राप्रपा र अन्य साना, एवं क्षेत्रीय दलहरूले वर्तमानमा कुन वर्गको धुरी वरीपरी परिक्रमा गरिरहेका छन्?

नेपाली जनताको एउटा हिस्सा व्यक्तिगत स्वतन्त्रताको जगमा खडा भएको  प्रजातन्त्र (डेमोक्रेसी)काे माेहमा छ । अर्काे ठूलाे हिस्सा सामाजिक सुरक्षा (सोसल सेक्युरिटी) को जगमा खडा भएको समाजवादको गहिरो प्रभावक्षेत्र भित्र छिरेकाे छ । यसले आगामी दशकसम्म नवीन क्रान्तिको आगमनलाई पछि धकेल्दै लाने देखिन्छ ।  पार्टीहरू रूपान्तरणको बाटोमा गएनन् भने चाहिँ ”हो बा ! त्यो अवश्य आउने छ” भनेर कवि गोपालप्रसाद रिमालले आमाको सपना कवितामा भनेझैं हुनेछ । किनभने क्रान्ति क्षितिजबाट हाम्रो समाजतिर लम्किसकेको छ।

भावि क्रान्तितर्फ विचार गर्दा भीषण टकराव हुन विषमता पनि त्यतिकै मात्रामा हुनुपर्दछ। अग्लो ठाउँबाट झरेको नदीले जति ठूलो आवाज निकाल्छ त्यति नै गहिरो खाल्डो बनाउँछ तर अवरोध कम भएको समथर ठाउँमा बग्ने नदी शान्त भएर बग्दछ। समाजमा पनि जति शोषण, उत्पीडन, अन्याय र अत्याचार हुन्छ त्यसको प्रतिरोध पनि त्यही उचाइमा हुने गर्दछ– क्रान्ति पनि यसैगरी प्रकट हुने कुरा हो। नेपालमा दुईखाले मानिसका निम्ति क्रान्ति आवश्यक छ। एकखाले कुलीन वर्गका मनिसहरूका निम्ति क्रान्तिको रोमान्टिक आकर्षण छ। उनीहरू  क्रान्तिको घोडा चढेर त्यसको बादशाह वा नायक बन्न चाहन्छन्। यी खाले मानिसहरू प्राय:जसो अल्पसंख्यामा रहेको कुलीन परिवार र उच्च वर्गस्रोतबाट आएका हुन्छन्। उनीहरूका लागि वर्गीय उत्पीडनबाट मुक्त हुने नभई शक्ति र सत्तामा जाने र लुट मच्चाउने अवसर मात्र हो।

अर्काखाले मानिसहरू छन्, तिनीहरूले क्रान्तिलाई आफ्नो वर्गीय दशाबाट मुक्त हुने अवसरका रूपमा हेर्दछन् र क्रान्तिमा होमिएका हुन्छन्। यिनीहरू  इमान्दारिता र निष्ठासाथ क्रान्तिकारी भएका हुन्छन्, तर वर्गारोहण गर्दै गएका यिनीहरू  नवकुलीन बन्दछन् र यस अघि नै क्रान्ति भित्र पसेका थोरै कुलीनहरूसँग मिलेर एउटा कुलीनतन्त्रको निर्माण गर्दछन्। क्रान्तिपछि लोकतन्त्र भनिएको त्यो कुलीनतन्त्रमा मिखेल्स (१९१५) ले भनेझैं क्रान्तिकालमा कमजोर वर्ग र लोकतन्त्रका निम्ति समर्पित भएका दलहरू क्रान्तिको अवतरणसँगै राज्यसत्ताको सिँढी चढ्दै जाँदा कुलीनतान्त्रिक नेतृत्वमा पतन भइसकेका हुन्छन्। यी चुनिनेहरू  चुन्नेमाथि शासन गर्न थाल्दछन्, यी अधिकार पाउनेहरू अधिकार दिनेमाथि शासन गर्न थाल्दछन्, यी वारिसहरू वारिसदाता माथि शासन गर्न थाल्दछन्, जहाँ नातावाद र पैसाबाहेक अन्य चिजको कुनै महत्त्व हुँदैन।

यसरी हेर्दा नेपालका राजनीतिक पार्टीहरू अहिले कहाँ छन् त? के हरेक पार्टीहरू  कुलीन र नवकुलीनहरूले घेरिएका छन्? कुलीनतन्त्रमा झैं के दलहरूले अहिले पैसा, नाता, र गुटमात्र हेरिरहेका छन्? के नेताहरूले आफूलाई शासक अनि कार्यकर्ता र जनतालाई शासितकारूपमा व्यवहार गर्दछन्? राजनीतिक वृत्तमा चाकडी, चाप्लुसी र दलालीको पराकाष्टा छ? के नेतृत्वले आफूलाई आलोचना हुने सम्पूर्ण ढोकाहरू बन्द गरेका छन्? के उनीहरू अदृश्य अर्थतन्त्रबाट पोषित छन्? के उनीहरूले पराइहरूसँग अपारदर्शी साँठगाँठ गरेका छन्? के उनीहरू समालोचनात्मक क्षमताका नभएर चाकडीतन्त्रमा रमाउने दास र चाकडीबाज प्रकृतिका कार्यकर्ता तयार गरिरहेका छन्? के दलहरू  बीचको प्रतिस्पर्धा अल्पसंख्यामा रहेका कुलीनहरू बीच कुन कुलीन चुनिने हो भन्ने प्रतिस्पर्धा हो कि आधारभूत तहका जनताको जीवन दशामा सुधार ल्याउने एक राजनीतिक अवसर हो ?

नेपालमा अहिले बहुआयामिक गरिबीका रेखामुनी रहेको जनसंख्या २८.६ प्रतिशत र निरपेक्ष गरिबीको रेखामुनी रहेको जनसंख्या १८.७ प्रतिशत रहेकोछ (रायोआ,२०७६)। आफ्नो जीवन दशामा सुधार नल्याउने शासन र शासकलाई मान्नु किन? भन्ने यो वर्गमा रोष छ। एडीबी (२०१०) का अनुसार नेपालमा मध्यम वर्गको जनसंख्या करिब २३ प्रतिशत रहेको छ। खाडी र मलेसियाबाट बाकसमा फिर्ताआउने लासहरू धेरैजसो ग्रामीण मध्यमवर्गका परिवारसँग नै सम्बन्धित छन्। यो वर्ग आसन्न क्रान्तिको स्वागत गर्नका निम्ति अग्र पङ्तिमै लामबद्ध छ। अझै पनि मानवीय सम्मानमा बराबरी हिस्सा नपाउँदा २० प्रतिशत दलित जनसंख्या यो परिपाटी भत्किएर समतामूलक समाज बनेको हेर्न चाहन्छ।

करिब ३५ प्रतिशतको हाराहारीमा रहेका तर असवर्ण समाजभित्र पर्ने नेपालका सीमान्तकृत तथा जनजातीय समुदायहरूको सम्भवत: बहुसंख्यक हिस्सा सांस्कृतिक रूपमा अझै पनि समानता नपाएकोमा असन्तुष्ट छ। उता महिलाको जीवन अझै पनि दोस्रो दर्जाको नागरिक सरह नै छ। लाक्षणिक रूपमा भन्नुपर्दा आमाले आफ्ना नाममा आज पनि सन्तानको नागरिकता बनाइ दिन पाएकी छैनन्।

वर्तमानको सत्ताबाट वाक्क दिक्क भएका यी लक्षितवर्गहरू मात्र होइन, यो सत्ताको बक्र दृष्टि र कोपभाजनको सिकार भएका सम्भ्रान्त र कुलीनहरूको एक हिस्सा पनि आसन्न क्रान्तिको स्वागतमा उभिएको छ। नेपालमा अहिले पनि आसन्न क्रान्तिको स्वागत गर्न चाहने लक्षित वर्ग र समूह यिनै हुन्।

द्वन्द्वले कमजोर भएको आफ्नो छिमेकी आफ्ना लागि झन् अनुकूल हुने हुँदा आगोमा ध्यू थप्नेको कमी कहाँ हुन्छ र ? अनि श्रीलङ्काका कुलीनहरूको लुट र त्यहाँको त्रान्तिको समाचारबाट नेपाली जनता अनभिज्ञ छन् र ?

अब उठ्ने प्रश्न भनेको हाल भएका पार्टीहरू  यथास्थितिमै निरन्तर रहन्छन्? पार्टीहरूले आफूलाई सामयिकरूपमा रूपान्तरण गर्छन्? के यिनीहरू अधोपतनको बाटोमा जाँदै छन्? के जनताको आकांक्षाको परिपूर्तिका लागि हालै नयाँ पार्टीहरू  जन्मदै छन्? यी प्रश्नहरूको उत्तरतर्फ विचार गर्दा दलाल पुँजीको जगमा खडा भएको कुलीनतन्त्रको दबदबा यसरी नै रहेमा विद्यमान दलहरूको अवसान त्यति टाढा नहोला।

नेपाली जनताको एउटा हिस्सा व्यक्तिगत स्वतन्त्रताको जगमा खडा भएको  प्रजातन्त्र (डेमोक्रेसी)काे माेहमा छ । अर्काे ठूलाे हिस्सा सामाजिक सुरक्षा (सोसल सेक्युरिटी) को जगमा खडा भएको समाजवादको गहिरो प्रभावक्षेत्र भित्र छिरेकाे छ । यसले आगामी दशकसम्म नवीन क्रान्तिको आगमनलाई पछि धकेल्दै लाने देखिन्छ ।  पार्टीहरू रूपान्तरणको बाटोमा गएनन् भने चाहिँ ”हो बा ! त्यो अवश्य आउने छ” भनेर कवि गोपालप्रसाद रिमालले आमाको सपना कवितामा भनेझैं हुनेछ । किनभने क्रान्ति क्षितिजबाट हाम्रो समाजतिर लम्किसकेको छ।

(लेखक अधिकारी समाजशास्त्र र मानवशास्त्र विषयका अध्येता र भाषा विज्ञान विषयका अनुसन्धाता हुन्।)

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

डा. रघुनाथ अधिकारी ‘निलमशेखर’ का अन्य पोस्टहरु:
नेपालमा क्रान्तिको अवसान कि नयाँ क्रान्तिको सन्नाटा?
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link