काठमाडौं उपत्यकाको दक्षिण–पश्चिम मातातीर्थक्षेत्रको एउटा डाँडालाई पर्यटकीय स्थलको रूपमा विकास गर्ने योजनाअनुसार केही वर्षअघि काम अगाडि बढाउने क्रममा बुद्धको मूर्ति स्थापना गर्ने भनी चन्दा संकलन गर्न थालियो। कुनै पनि धार्मिक आस्थासँग खासै सरोकार नभएको उक्त समूहले बुद्ध मूर्ति राख्ने सोच बनाउनुको अन्तर्य बुद्धको मूर्ति राख्ने भन्यो भने निर्माण कार्यमा चन्दा उठाउन सजिलो हुन्छ भन्ने मनसाय मात्रै थियो। चन्दा उठायो पनि तर पछि बुद्धको मूर्ति नभएर महादेवको मूर्ति राख्ने सोच बन्यो। बुद्ध वा महादेवको मूर्ति के राख्ने भन्ने सवालमा तिनीहरू दुबै धर्म–दर्शनसँग खासै लगाब राख्नेहरू भने थिएनन्। बुद्ध वा महादेवमध्ये जसको मूर्ति राखे पनि केही फरक नपर्ने सोच राख्ने अर्को समूह पनि बन्यो। कुनै धर्म सम्प्रदायसँग सरोकार नै नभएर पनि धार्मिक कचिङ्गलका कारण निर्माणको काम अगाडि बढेन।
यो एउटा उदाहरण मात्र हो, धर्मका नाम पैसा कमाउने र धर्मकै आडमा पर्यटन क्षेत्रको प्रवर्ध्दन गर्ने। नेपालमा यो प्रवृत्ति व्यापक हुँदै गएको छ। पर्यटन र तीर्थाटन शब्द दुई भिन्नाभिन्नै अर्थ दिने मानवीय गतिविधि हुन्। नौलो ठाउँ, घुमघामजस्ता कतिपय कुरामा समानता भएकाले एउटै अर्थमा लिने गरेको पनि पाइन्छ। यहाँ बुझ्नु पर्ने कुरा के हो भने तीर्थाटन नितान्त धार्मिक गतिविधि हो भने पर्यटनमा धार्मिक गतिविधि हुनैपर्छ भन्ने अनिवार्य हुँदैन। नेपालमा पर्यटकीय स्थलहरू धार्मिक स्थलको रूपमा रूपान्तरित गर्ने प्रवृत्ति बढ्दो छ। हेर्दा यो प्रवृत्ति साधारण देखिए पनि यसले दीर्घकालीन असर पार्ने हुन्छ। यो गम्भीर र विचारणीय पक्ष पनि हो।
पर्यटन उद्योग पनि अर्थतन्त्रको एउटा बलियो खम्बा हो भन्ने कुरा स्थापित तथ्य हो। यसअनुसार पर्यटकीय स्थलहरूको विकासलाई प्राथमिकतामा राख्ने र बजेट छुट्याउने गरिएको छ। पर्यटकीय आकर्षणका लागि के कस्ता उपाय अवलम्बन गर्न सकिन्छ भन्ने सोच आफैंमा प्रशंसनीय छ तर धार्मिकीकरणबाहेक अन्य उपाय नदेख्नुलाई भने दृष्टिदोष नै मान्नुपर्दछ।
काठमाडौं उपत्यका तथा उपत्यकाबाहिरका डाँडाकाँडा तथा खुल्ला क्षेत्रहरू पर्यटकीय स्थलका रूपमा अगाडि बढ्दै छन्। साथसाथै धर्मको नाममा दोहन पनि भइरहेको पाइन्छ। हिन्दू र बौद्ध धर्मसँग सम्बन्धित मूर्ति, स्तूप, मन्दिर तथा विहार वा गुम्बाको निर्माणमा होडबाजी नै चलिरहेको प्रतीत हुन्छ। यसको प्रयोजनसम्बन्धी प्रश्नमा जनसाधारणमा नैतिक मूल्य र जीवनको आदर्श स्थापित गर्ने तथा पर्यटन उद्योगको विकास गर्ने भनिन्छ। धार्मिक गतिविधिका लागि पर्यटन उद्योगको उल्लेख राम्रो बहाना हुन थालेको छ तर बिडम्बनाको कुरा के हो भने कतिपय हिन्दू मठमन्दिर तथा धार्मिक स्थलमा हिन्दूबाहेक अन्य धर्मावलम्बीलाई प्रवेश निषेध गर्ने चलन हट्न सकेको छैन। बौद्ध क्षेत्रमा अन्य धर्म र जातिको आधारमा भेदभाव नगरिने भए पनि सुरक्षालगायतको बहानामा सर्वसाधारणलाई सुलभ प्रवेश दिइन्न। यस अवस्थामा यी स्थलहरूलाई पर्यटन उद्योगसँग सम्बन्धित गरेर हेर्न सकिन्न।
तृष्णा क्षयका लागि मानिसहरू ठूलाठूला महल वा राजदरबार नै छाडेर पनि विहारमा बस्न आउने बौद्ध इतिहास पाइन्छ। विहार तथा गुम्बाहरू नै वैभवपूर्ण हुने तथा सांसारिक जीवनका लागि आकर्षणको कुरा हुने हो भने यसले बुद्ध शिक्षासँग तारतम्य राख्दैन। विहार तथा गुम्बाहरूमा चोरी वा डकैती गर्न आउने संभावनाको डर भनेको धनसम्पत्तिको संग्रह नै हो। चोरी, ठगी, डकैती आदि दुष्कर्ममा संलग्नको मनस्थिति परिवर्तन गर्न सक्षम हुनुपर्ने भिक्षु तथा भिक्षुणीहरू स्वयं तृष्णालाई मलजल गर्नु तथा भय र त्रासमा बस्नु भनेको बुद्धको उपदेशलाई आत्मसात गर्न नसक्नु हो।
धर्मलाई पर्यटकीय आकर्षणको माध्यम बनाउने वा भजाउने व्यवस्थापकीय समूहहरू आफैं धार्मिक कुरामा सम्वेदनशील हुन सकेको पाइँदैन। धार्मिक क्षेत्र बनाउँदा मात्रै पर्यटन क्षेत्रको रूपमा विकास हुन्छ भन्ने सोचाइ राख्नु वास्तवमा पर्यटन उद्योगसम्बन्धी गलत बुझाइ हो। सबै मानिस धार्मिक स्वभावका हुँदैनन्। धार्मिक स्वभावको व्यक्ति नै भए पनि व्यक्ति विशेषका आ–आफ्नै आस्था र विश्वास रहेको हुन्छ। यस अवस्थामा एउटा धार्मिक क्षेत्र सबैका लागि उपयुक्त हुँदैन भन्ने कुरा बुझ्नु आवश्यक छ। कुनै निश्चित विचार वा आस्थासँग सम्बन्ध नराख्ने स्थल सबैका लागि साझा थलो हुनसक्छ। पर्यटनको अवधारणा नै आफ्नो नियमित जीवनबाट केही समय निकालेर बेग्लै परिवेशमा भ्रमण गर्नु हो। कतिपय पर्यटक भ्रमण अवधिमा व्यावसायिक वा वैचारिक कुरा गर्न मन पराउँदैनन् पनि। यसअनुसार नेपालले पर्यटन उद्योगको विकासका लागि धार्मिकीकरण गर्न लिएको नीतिमा पुनरावलोकन गर्नु जरूरी छ।
कुनै पनि ठाउँलाई एक निश्चित धर्मसम्बद्ध धार्मिक क्षेत्रको रूप दिएपछि त्यसलाई अर्को धर्मसम्बद्ध बनाउन वा पुन: गैरधार्मिक क्षेत्रका रूपमा फर्काउन प्राय: असम्भव हुन्छ। धर्मभीरूहरू जनमानसमा त्यस क्षेत्रको महत्व स्थापना गर्नका लागि अनेक कथा वा आस्थाहरू जोड्छन् वा धर्मशास्त्रहरूमा उल्लेखित अनेकौं सन्दर्भसँग सम्बन्धित बनाइदिन्छन्। ऐतिहासिक तथा पुरातात्विक महत्वको थलो नै भए पनि बढी धार्मिक गतिविधिका कारण यथार्थभन्दा आस्था, विश्वास र श्रद्धाको थलोमा सीमित हुन पुग्छन्। एउटा नितान्त प्राकृतिक गुफा भर्खरै मात्र पत्ता लगाइएको भए पनि त्यसलाई हिन्दूहरू महादेव वा महाभारतको पञ्चपाण्डवको गुप्तवाससँग जोडिहाल्छन्। गुफाभित्रको विभिन्न आकृतिलाई पनि धार्मिक पात्रहरूको रूपमा सजिलै प्रत्यारोपण गरिदिन्छन्। यही स्वभाव बौद्ध जनमानसमा पनि पाइन्छ र प्राय: गरी गुफाहरू आचार्य पद्मसंभव वा सिद्ध मिलारेपा ध्यान गरेको ठाउँ भनी प्रचार गरिहाल्छन्। यस प्रकार पर्यटकीय स्थलहरू धार्मिक आस्था र विश्वासको आधारमा संकुचित हुनपुग्छन्।
धार्मिकीकरण हुने प्राय: ठाउँ सार्वजनिक स्थल हुन्। यी जग्गाहरू विभिन्न माध्यमबाट प्राप्त गरिएका हुन्छन्। परम्परादेखि धार्मिक स्थलको रूपमा रहँदै आएको ठाउँलाई विस्तार गर्न वरिपरिको जग्गा राज्यले नै दिएको पनि हुनसक्छ। वा, धार्मिक स्थलको रूपमा सुरू गर्न राज्यले उपलब्ध गराएको पनि हुन्छ। यस अवस्थामा त्यहाँ निर्माण संरचनाका लागि निश्चित आर्थिक अनुदान पाएको पनि हुनसक्छ। त्यसपछि त्यहाँ समूह विशेषको वर्चश्व कायम हुन पुग्छ। व्यक्ति विशेषले दानमा दिएको वा किनेको जग्गामा मन्दिर, स्तूप, विहार वा यस्तै केही धार्मिक स्मारक बनेको पनि नपाइने होइन। भलै दानमा प्राप्त पैसाले किनेको जग्गामा भव्य गुम्बा बनाएको र निजी सम्पत्तीका रूपमा रहेकै किन नहोस्, स्वभावत: त्यो सार्वजनिक महत्वको हुन्छ। बौद्ध धर्मको मूल्य मान्यताअनुसार पनि गुम्बा वा विहार प्रवेशमा कसैमाथि कुनै पनि बहानामा भेदभाव गर्न मिल्दैन। सुरक्षाको कारण देखाइ गुम्बाहरूमा आफ्नाबाहेक अरूलाई प्रवेश निषेध गर्नु तर्कसङ्गत कुरा होइन। चोरी र डकैतीको भय तिनीहरूलाई हुन्छ जसले धनसम्पत्ति सञ्चय गरेको हुन्छ। बौद्ध भिक्षु तथा भिक्षुणीले अपरिग्रहको स्वभाव विकास गर्नुपर्ने कुरामा बुद्धले जोड दिएका छन्। आवश्यकताभन्दा बढी कुनै पनि कुरा नजोड्नु नै अपरिग्रह हो। सरसामानको सञ्चयले तृष्णा बढाउने हुँदा तृष्णा क्षय नै बौद्ध धर्मको मुख्य ध्येय मानिन्छ। यसअनुसार बौद्ध गुम्बा तथा विहारहरू धनसम्पत्तिको सञ्चय स्थल नभएर तृष्णा क्षयको उपयुक्त स्थल हुन्। तृष्णा क्षयका लागि मानिसहरू ठूलाठूला महल वा राजदरबार नै छाडेर पनि विहारमा बस्न आउने बौद्ध इतिहास पाइन्छ। विहार तथा गुम्बाहरू नै वैभवपूर्ण हुने तथा सांसारिक जीवनका लागि आकर्षणको कुरा हुने हो भने यसले बुद्ध शिक्षासँग तारतम्य राख्दैन। विहार तथा गुम्बाहरूमा चोरी वा डकैती गर्न आउने संभावनाको डर भनेको धनसम्पत्तिको संग्रह नै हो। चोरी, ठगी, डकैती आदि दुष्कर्ममा संलग्नको मनस्थिति परिवर्तन गर्न सक्षम हुनुपर्ने भिक्षु तथा भिक्षुणीहरू स्वयं तृष्णालाई मलजल गर्नु तथा भय र त्रासमा बस्नु भनेको बुद्धको उपदेशलाई आत्मसात गर्न नसक्नु हो।
पर्यटकलाई प्राकृतिक दृश्यावलोकन गराउन उपयुक्त ठाउँहरू पर्यटकीय स्थल हुन् तर यस्ता स्थलहरू धार्मिक प्रयोजनमा लगाइएका छन्। धार्मिक स्थलहरूको विकास नै धर्मको विकास मान्नेहरू पनि होलान् तर त्यसमाथि अनेकौं प्रश्न गर्न सकिन्छ। उदाहरणका लागि बौद्ध विहार वा गुम्बा भिक्षु भिक्षुणीले आरामसँग जीवन जिउने ठाउँ नभएर साधनास्थल हुन्। अँध्यारो वा एकान्त कोठामा बसेर ध्यान साधना गर्नका लागि पर्यटकीय संभावनाको स्थलमा भव्य र वैभवपूर्ण भवन आवश्यक हुँदैन। आजभोलि यस्तो भन्दा आपत्ति जनाउने भिक्षु–भिक्षुणीहरू पनि पाइन्छन्। यसले आजभोलिका बौद्ध भिक्षु–भिक्षुणीहरू वैराग्यको विकास गरी आध्यात्मिक साधना गर्न नभएर सांसारिक जीवनतर्फ आकर्षित हुन थालेको अर्थमा लिन सकिन्छ र यो मूलत: बौद्ध धर्ममा आएको विकृति हो।
पर्यटकीय स्थलका रूपमा विकास गर्न सकिने ठाउँमा होटेल तथा रिसोर्टहरू बन्नसके पर्यटन उद्योगको विकास हुनसक्थ्यो। यस दृष्टिबाट हेर्ने हो भने, पर्यटन उद्योगको विकास गरी आयआर्जन गर्न सकिने ठाउँ धार्मिक आस्था वा विश्वासको नाममा मठमन्दिर तथा गुम्बाहरूले ओगटेर प्रतिकूल असर पारिरहेको छ। धार्मिक क्षेत्र हुने वित्तिकै त्यसमाथि राज्यको पहुँच पनि कम मात्रै हुने गर्दछ। धार्मिक क्षेत्रका रूपमा विकास भएको ठाउँमा स्वभावत: अर्को धर्मले पनि त्यहाँ वा त्यसकै वरिपरि आफूलाई जमाउने कोसिस गर्ने गरेको पाइन्छ। यो भनेको भविष्यमा कलहका लागि बीउ रोप्नु पनि हो। हालसम्म जति पनि ठाउँ धार्मिकीकरण भएको छ, त्यसमाथि हस्तक्षेप गर्न नसके पनि राज्यले अबका दिनमा ठोस नीति लिएर नियन्त्रण तथा नियमन गर्नु जरूरी छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
बसन्त महर्जन का अन्य पोस्टहरु:
- मानवअधिकार रक्षाको लडाइँ र गौतम बुद्धको शिक्षा
- गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र ‘मुंगेरीलाल की हसीन सपनेँ’
- किन र कसरी विकास भयो बौद्ध धर्म–दर्शनका अनेकौं सम्प्रदायहरू ?
- सुमेधदेखि गौतम बुद्धसम्मको दीर्घ यात्रा: बौद्ध दर्शनको आधारभूत ज्ञान
- नेवार समाजमा छोरी
- सत्यमोहन जोशीसँगका सम्झना
- किन हुन सकेन विज्ञानको कसीमा राखेर धामीझाँक्रीको अध्ययन?
- दसैंमा पशुुबलि
- तीर्थ हो टुकुचा, कहाँ हराएको थियो र भेटिनलाई?
- गणतन्त्रमा कैलासकूट राज–भवनको खोजी