लोक र आचार छाडेको लोकतन्त्र

भित्र पसिसके पछि पनि ‘जनताको सेवक’ हैन ‘जनताको शासक हौँ’ भन्ने अहम् र दम्भले भरिएका प्रशासकहरू साक्षात् सिंह झैँ छन्– सिंहदरबारमा।

आखिर ‘जन्मले नेता बन्ने तिम्रो तन्त्र हामीलाई मान्य छैन’ भनेर नै हामीले लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था रोजेका हौँ। अहिले लोकतन्त्र त पायौँ तर यसको प्रयोग गर्ने पद्धति न पर्याप्त मात्रामा अरुबाट सिक्न सक्यौँ न आफैले मौलिक प्रकारको लोकतान्त्रिक पद्धतिको विकास गर्न सक्यौँ। हामीले भन्ने  गरेको लोकतन्त्रको कैयौँ पक्षहरूमा विकृततन्त्रको ऐजेरु मौलाएको हुँदा लोकतन्त्ररूपी वृक्ष होइन त्यही विकृतिको ऐजेरुलाई नै लोकन्त्रकारूपमा चित्रित गर्ने गरिंदै छ। अर्को परीक्षित उत्तम विकल्प उपस्थित नहुदाँसम्म लोकतान्त्रिक प्रणालीको विकल्प छैन र यदि यसको विकल्प केही छ भने त्यो केवल उन्नत लोकतान्त्रिक परिपाटी नै हो। यस्तो लोकतन्त्र भनेको समाजवादका आदर्शहरू बोकेको जनकेन्द्रित (पिपलसेन्टर्ड) र सहभागितामूलक (पार्टीसिपेटरी) लोकतन्त्र हो। जसलाई नेपालका धेरैजसो राजनीतिक दलहरूले लोकतन्त्र र समाजवाद दुवैका विशेषता निहित परिपाटिका रूपमा कल्पना गरेका छन्।

लोकतान्त्रिक समाजवाद वा समाजवादी लोकतन्त्रतर्फको यात्रा लोकतन्त्रको परिमार्जन, विकास र सुदृढीकरणबाट मात्र सम्भव छ। वर्तमानको कलिलो लोकतन्त्रमाथि आन्तरिकरूपमा उग्रवामपन्थ र घोरदक्षिणपन्थी अनि बाह्यरूपमा साम्राज्यवाद र क्षेत्रीय प्रभुत्ववादको निरन्तर आक्रमण भइरहेको हुनाले लोकतन्त्रका पक्षधर शक्तिहरूले यसमाथिको ध्वंसात्मक आक्रमणबाट प्रतिरक्षा गर्नुपरेको छ। साथसाथै यसमा निहित बन्न पुगेका विकृतिहरूबाट रक्षाका निम्ति रचनात्मक आलोचना पनि गर्नु परेको छ। आवधिक निर्वाचन लोकतन्त्रको प्राण भएको सन्दर्भमा प्रतिनिधिसभा र प्रदेशसभाको आसन्न निर्वाचनको सन्दर्भमा लोकतन्त्रका समेट्न नसकिएका उपयोगी पक्षहरूको अवलम्बन एवं जगेर्ना र यसका कृतिहरूबारे पर्याप्त समीक्षा गर्नु आजको आवश्यकता हो। नेपालमा लोकतान्त्रिक परिपाटीको स्थापना र अभ्यासका क्रममा यसमा वितृष्णा पैदा हुने गरी देखापरेका केही विकृतिहरूको समीक्षा यस आलेखमा प्रस्तुत गरिएको छ।

उच्च ओहोदामा तामझाम राजतन्त्रको झल्को 

हाम्रो वर्तमानका राष्ट्रप्रमुख, उपराष्ट्रप्रमुख र प्रधानमन्त्री लगायतका उच्च पद र ओहदाहरू लोकतन्त्रको मूल्य र मान्यता बमोजिम जननिर्वाचित हुन्। लोकतान्त्रिक गणतन्त्रात्मक संविधान बमोजिम निर्वाचित हुनुको नाताले जनतासँगको अटुट र अक्षुण्ण सम्बन्ध कायम हुनुपर्दछ तर सुरक्षा र मानसम्मानका नाममा उनीहरूलाई जनताबाट अलगथलग र टाढा पारिएको महसुस हुन्छ। राष्ट्रप्रमुखको कार्यालयमा सर्वसाधारणका लागि दक्षिण गेट प्रयोग गर्नुपर्ने तर ‘ठूला मान्छे’ का लागि मूलगेट खुल्लै हुने कुराले नेपाली नेपाली बीच गरिएको वर्गीय विभेदले मन अमिलो हुन्छ। कतिपय समारोहहरूमा पोशाक मापदण्ड (ड्रेसकोड) को व्यवस्था गरिएको हुन्छ। पोशाक लगाउने कुरा व्यक्तिको निजी, र सामर्थ्यमा आधारित कुरा हो। आफ्नो जेजस्तो छ फाटेको वा च्यातिएको नै किन नहोस् त्यस्तो पहिरनमा आफ्नै मुलुकका राष्ट्रप्रमुखलाई भेट्न किन नपाउने? आफ्नो राष्ट्रप्रमुख उपराष्ट्रप्रमुख र जनताका बीचमा विभेद गर्ने यो परिपाटी किन ?

राष्ट्रप्रमुख र उपप्रमुख र प्रधानमन्त्री लगायतका उच्चपदस्थका व्यक्तिहरूको सवारीमा गरिने यातायात बन्दले जनतालाई अपमानित (ह्युमिलिएट) र निरीह बनाइएको महसुस हुन्छ। यहाँ जनताको निर्वाध आवागमनको मौलिक अधिकार खोई? के सुरक्षा चुनौती भएरै हो यतिका अगुवा पछुवा, स्कट र कार्केडहरू? यस लेखकलाई लाग्छ यो वर्तमान नेतृत्वको सुरक्षा चुनौती भन्दा पनि यो पहिलेको राजतन्त्रात्मक युगको निरन्तरता बोकेको परिपाटी मात्र हो। अझ आम जनताले आफ्ना राष्ट्रप्रमुख, उपराष्ट्रप्रमुख र सरकारप्रमुख जस्ता व्यक्तिहरूलाई भेट्टाउने, सुझाव दिन  पाउने गुनासो सुनाउने, खुसियाली प्रकट गर्ने लगायतका जनइच्छाहरू सुरक्षाका नाममा खडा गरिएको कर्मचारीतन्त्र पर्खाल भएर विभाजक बनेको हुने गर्दछ। यो लोकतान्त्रिक राष्ट्रप्रमुख र सरकारप्रमुख लगायतका उच्च ओहोदामा पुगेका व्यक्तिका लागि र स्वयम् लोकतान्त्रिक परिपाटीका लागि सुहाउने विषय होइन। यसमा जनकेन्द्रित लोकतान्त्रिक आचार र संस्कार अवलम्बन गरिनु आवश्यक छ।

सहरभित्रबाट बग्ने खोलाको पानी हेरेर शहर कति सफा छ भन्ने थाहा हुन्छ भनिए झैँ देशको प्रमुख प्रशासनिक केन्द्रका प्रशासकहरूसँग भेट्न हुने हैरानी र उनीहरूको रुखो शासकीय व्यवहारले हाम्रो लोकतन्त्रको संस्कार कस्तो रहेको छ भन्ने कुरा राम्ररी उजागर गर्दछ।

मञ्च व्यवस्थापन र सम्मानमा वर्गीयता

दलहरूद्वारा आयोजित सभासम्मेलनहरूमा मञ्चको इन्जिनियरिङ विभेदकारी हुने गर्दछ। कतिपय कार्यक्रम र स्थानहरूमा यस्ता मञ्चहरू खर्चिला र भड्किला हुने गर्दछन्। मञ्च भित्रको फर्निसिङ्को अर्को पाटो छ जहाँ मूल नेतृत्वलाई महँगो मेञ्चको व्यवस्था गरिएको हुनु र उक्त मूल नेतृत्व भन्दा तलकालाई केही कमसल हुनु, तल श्रोतागणलाई भने सामान्य कुर्सी हुनु अझ भवन बाहिरको खुला चौरमा कार्यक्रम गरिएको भए त तल धुले चौरमा बस्ने बाध्यता हुने गर्दछ। आजकाल मञ्चमा आसीन नेतृत्वलाई बोतलबन्द पानी वा अन्य चिसो पेयको व्यवस्था हुनु र तल भुँइमा बस्ने श्रोताका लागि पानीको व्यवस्था बिरलै होला। व्याज लगाउने, खादा ओढाउने, अझ… किलोको माला लगाउने जस्ता भड्किला, आदरसूचक होइन चाकडी सूचक तथाकथित सम्मानका झाँकीहरू कसरी लोकतान्त्रिक संस्कारमा पर्दछन्?

मञ्च व्यवस्थापनको सन्दर्भमा हाम्रो इन्जिनियरिङ् दर्शन सामन्तवाद, पुँजीवाद वा राजतन्त्रात्मक साम्यवाद (इमपेरियल कम्युनिजम) बाट निर्देशित हुनुका साथै नेतामुखी छ। मञ्चको निर्माण भनेको नेतृत्वका लागि आसन व्यवस्थापन हो तर खै त श्रोता वा आम जनताका लागि ? खै त श्रोता वा जनताका लागि लोकतन्त्रमा ध्यान पुर्याइएको? यो जनतालाई बेवास्ता र नजरअन्दाज गरिएको विषय हो। तसर्थ जनकेन्द्रित र सहभागितामूलक लोकतन्त्रमा सभा–सम्मेलन कक्षभित्रको ऊर्ध्वरेखीय (भर्टिकल) मञ्चहरू भत्काएर क्षैतिजिक  (होरिजेन्टल) आसन व्यवस्थापन गरिनुपर्दछ। जहाँ अण्डाकार स्वरूपमा आसन व्यवस्थापन गरिनुपर्दछ ताकि श्रोताका रूपमा उपस्थित जनता र नेतृत्वले आफू एउटै वर्गमा पर्दछु भन्ने महसुस गरुन्। खुला मैदान वा चौरमा आयोजित कार्यक्रम छ भने त्यहाँ केवल एउटा वक्ताका निम्ति सम्भाषणका बेलामात्र उभिएर बोल्नका निम्ति उच्च स्थानको व्यवस्था गर्न सकिन्छ अरु सबै नै जनतासँगै बसून् ताकी जनता र नेता बीचको दूरी कम हुन सकोस्। जनकेन्द्रित लोकतन्त्रमा अग्ला मञ्चहरू भत्काइन योग्य छन्।

अर्कोतर्फ खादाले छोपिएर, अबिरले पोतिएर, मालाले पुरिएको अवस्थामा अझ … केजीको मालाले ढाकिएको अवस्थामा आफूलाई सम्मानित भएको मूर्खतामा रमाउने नेतृत्वको आत्मरतिको विवेचना गर्दा यो केवल शक्तिको उन्माद र प्रशस्तिको लिप्साको मनोवैज्ञानिक स्वीकृतिबाहेक अरु के हुन सक्ला र? लोकतान्त्रिक र आचारिक नेतृत्व आफू जनताको प्रतिनिधि भएको हुँदा सम्मानको नाममा जनताको जीवनसँग दूरी राख्ने कुनै पनि भड्किला हर्कतहरूमा सहभागी वा मतियार हुनुहुँदैन। के खादाको ठाउँमा र मालाको ठाउँमा केवल हातमा सामान्य फूलको थुङ्गा अर्पिएर सम्मान गर्न सकिन्न? खादा त्यो चाहे सुतीबाट बनोस् चाहे अन्य रेसाहरूबाट यसले नत जाडो ढाक्छ नत सौन्दर्य नै बढाउँछ, नत समारोह पछि यो कुनै काममा उपयोगी हुन्छ। बरु खादाको साटो स्थानीय श्रम र सीपले बनेको कुनै हस्तकलाको वस्तु सम्झनाको चिनो स्वरूप उपहार दिए पछिसम्म उपयोगी हुन सक्ला।

नेतृत्वले भन्न सक्नु पर्दछ मलाई खादा नओढाउ, मलाई व्याज नलगाउ, मलाई लगाइदिने मालाको लागि पनि खर्च नगर, ठूलो माला लगाउने काम त गर्दै नगर। मेरा  खातिर भड्किलो मञ्च नबनाउ, मलाई आम जनता भन्दा पृथक देखाउने प्रयास नगर। म जनताको साथी हुँ, सेवक हुँ, सहजकर्ता हुँ तर शासक हैन। मलाई त्यहाँका आम जनताको दिनचर्या र जीवनस्तर भन्दा भिन्न हुनुछैन र म भिन्न पनि छैन। अझ दलहरूले लोकतान्त्रिक आचार बनाएर लागू गर्नु पर्दछ जहाँ जनताले नेतालाई आफ्नै वर्गका प्रतिनिधि भएको महसुस गरुन्।

आफ्नै घरबाट दल सञ्चालन

दल भित्रको आन्तरिक लोकतन्त्रतर्फ विचार गर्दा यो हात्तीको देखाउने र चपाउने दाँत भिन्न भए झैँ केही परिदृष्यहरू देखिन्छन्। महत्वपूर्ण निर्णय गर्नुपर्दा दलको कार्यालयमा होइन निजी निवासबाट, दलको सचिवालयबाट होइन निजी सचिवालयबाट, अझ, किचेन क्याबिनेटबाट हुने गरेको देखिन्छ। जब पार्टी सचिवालयका पदाधिकारी र सदस्यहरूले नै निजी सचिवालयका व्यक्तिहरूको चाकडी गर्नुपर्ने हुन्छ उक्त पार्टीको दुर्दशा त्यहीँबाट सुरु भएको हुन्छ। उक्त दल यो अवस्थामा वास्तविक रूपमा संस्थागत दल नभएर केही व्यक्तिहरूको सहयोगमा बनेको एक निजी कम्पनी झैँ प्रतीत हुन्छ। ठीकलाई ठीक र बेठीकलाई बेठीक भन्न सक्ने समालोचनात्मक चेतना अझै बाँकी भएका कार्यकर्ताहरू जो नेतृत्वको सम्मान गर्छन्, नेतृत्वको कमी औंल्याउँदै त्यसमा सकारात्मक सुधारका लागि सुझाव दिन्छन् तर चाकडी गर्दैनन्, तिनीहरू विस्तारै दलको निर्णायक ठाउँबाट पाखा पारिँदै गएका हुन्छन्।

जब पार्टी सचिवालयका पदाधिकारी र सदस्यहरूले नै निजी सचिवालयका व्यक्तिहरूको चाकडी गर्नुपर्ने हुन्छ उक्त पार्टीको दुर्दशा त्यहीँबाट सुरु भएको हुन्छ। उक्त दल यो अवस्थामा वास्तविक रूपमा संस्थागत दल नभएर केही व्यक्तिहरूको सहयोगमा बनेको एक निजी कम्पनी झैँ प्रतीत हुन्छ।

जब एउटा दल विधिविधान भन्दा पनि एक व्यक्तिको निजी विचार, इच्छा र आग्रहले चल्न थाल्छ यो दलभित्र सञ्चालित राजतन्त्रात्मक अभ्यास हो। जब कुनै दलको सदस्य दलद्वारा अघि सारिने विचार र नीति निर्माणमा, त्यसको कार्यान्वयनमा र मूल्याङ्कनमा सहभागी हुने मौका पाउँदैन र अरुका निर्णयहरूमा यन्त्रवत् ताली पड्काउनु पर्ने एक कर्मी माहुरी वा कमारो झैँ हुनुपर्दछ त्यो राजनीतिक दलको पतन बाहेक अर्को के विकल्प हुन सक्ला र ? लोकतान्त्रिक संस्कार भनेको नीतिमुखी संस्कार हो। कुनै पनि नेतृत्व सर्वगुण सम्पन्न हुँदैन तसर्थ उसको प्रशंसा भनेको उसले ल्याएको ठीक नीति र कार्यक्रमको हो– व्यक्तिको होइन। तसर्थ प्रशंसा र आलोचना निश्चित विषयमा आधारित (इस्युबेस्ड) हुनुपर्दछ, कुनै व्यक्तिको समग्र जीवनको होइन। अत दल भित्रको आन्तरिक लोकतन्त्र सुदृढ हुनुपर्दछ र सम्पूर्णरूपमा नियमद्वारा सञ्चालित हुनुपर्दछ। यो लोकतान्त्रिक आचारको मुद्दा हो।

सामाजिक सञ्जालमा चाकडी 

लोकतन्त्रले ल्याएको खुलापन र सञ्चार प्रविधिको बढ्दो पहुँचसँगै हाल सामाजिक सञ्जाल (सोसल मिडिया)मा सम्मानका नाममा चाकडी गर्ने नयाँ प्रवृत्तिको सुरुआत भएको छ। खासै व्यक्तिको जन्मदिन नमनाउने परम्परागत नेपाली समाजमा मूलत: फेसबुकले जन्मदिनको अस्पष्ट स्मृतिलाई जाग्रित गर्दै लगेसँगै सम्मानका नाममा नेतृत्वको जन्मदिनको शुभकामना लेख्ने चलनको सुरुआत भएको छ। यस्तो शुभकामना अमुक उद्देश्यको कार्य सिद्धि गर्ने मनसायले नेतृत्वको ठूलो तस्बिर र प्रशस्तिको भाषा उल्लेख गर्दै पोष्ट गर्ने प्रचलन तीब्र बनेको छ। आफ्नो लक्षित नेताको जन्मदिन मात्र हैन निजका परिवारका सदस्य समेतको जन्मदिन, विवाह, स्वास्थ्यलाभका र मृत्यु घटनाहरू पोस्ट गरी आफू सम्बन्धित नेतृत्व र उनको परिवारका सदस्यबाट समेत अनुमोदित हुँदै बढ्ता चाकडीको मुसे दौडमा राम्रो अङ्क पाउने होडबाजी गरिएको पाइन्छ ।

यस्तो शुभकामना छुट्टै म्यासेन्जरबाट, इमेलबाट वा एसएमएसबाट पनि दिन नसकिने होइन तर भक्त अनुयायीहरू नेतृत्व र नेतृत्वका अनुरागी समूहको झुन्ड नै तयार एवं परिचालित हुनेगरी फेसबुकबाट पोस्ट गर्दछन्। यसरी ‘त्वमेव माता च पिता त्वमेव…त्वमेव सर्वम् मम देव देव’ को श्लोकको अन्तर्यझैँ नेतृत्वको प्रशंसा गरे्पछि प्रशंसक भक्तहरूसँग सम्बन्धित नेतृत्व खुसी नहुने कुरै भएन। अब कार्यकर्ताहरूको कार्यदक्षता, जनप्रियता, क्षमता, योग्यता हैन सामाजिक सञ्जालबाट प्रेषित भक्ति, र दर्शन भेट नै उसको मूल्याङ्कनको प्रमुख मापदण्ड हुने भयो। आफूलाई लोकतान्त्रिक भन्ने नेतृत्वले र स्तुति र स्तोत्रहरूबाट आफूलाई निरपेक्ष वा अलग राख्नु पर्ने होइन? भक्ति मार्गमा होइन कर्म मार्गमा जोड दिनुपर्ने होइन? खै त लोकतान्त्रिक आचारको प्रवर्द्धन यो क्षेत्रमा ?

दलभित्रको आन्तरिक लोकतन्त्रको तहमा नेतृत्व र कार्यकर्ताका बीचमा होस या निर्वाचित जनप्रतिनिधि र निर्वाचन क्षेत्रका मतदाता आम जनताका बीचमा होस नियमित सम्वाद, सुझाव र गुनासो सुनुवाइका लागि औपचारिक र स्थापित संस्थागत व्यवस्था र अभ्यास गरिएको छैन। दलको आन्तरिक लोकतन्त्रतर्फ हेर्दा मूलत केन्द्रीय र क्षेत्रीय नेतृत्वसँग दलका सदस्यहरूको भेटघाट र अन्तरक्रिया, अपेक्षा र सुझावको सुनुवाइ नेतृत्वको इच्छामा निर्भर छ।

 

लोक छोडिँदो लोकतन्त्र

लोकतन्त्र भनेको ‘लोक जोडिएको तन्त्र’ हुनुपर्नेमा ‘लोक छोडिएको तन्त्र’ बन्न पुगेको छ। राजा राज्य गर्ने नभएर रजाइँ गर्ने भएकै कारणले राजतन्त्र हामीकहाँ राजतन्त्र बिदा भएको थियो। नीति निर्माणमा नायकत्व गर्नुपर्ने नेतृत्व र जनताबीच दूरी बढ्दो छ। दलभित्रको आन्तरिक लोकतन्त्रको तहमा नेतृत्व र कार्यकर्ताका बीचमा होस या निर्वाचित जनप्रतिनिधि र निर्वाचन क्षेत्रका मतदाता आम जनताका बीचमा होस नियमित सम्वाद, सुझाव र गुनासो सुनुवाइका लागि औपचारिक र स्थापित संस्थागत व्यवस्था र अभ्यास गरिएको छैन। दलको आन्तरिक लोकतन्त्रतर्फ हेर्दा मूलत केन्द्रीय र क्षेत्रीय नेतृत्वसँग दलका सदस्यहरूको भेटघाट र अन्तरक्रिया, अपेक्षा र सुझावको सुनुवाइ नेतृत्वको इच्छामा निर्भर छ।

अझ केन्द्र र प्रदेशका अधिकांश जननिर्वाचित प्रतिनिधिहरू जनताको पहुँच क्षेत्रबाट उम्किएर शहरमा हराउन पुग्छन्, आफ्नो नजिक पाउनु जनताका लागि दुर्लभ कुरा हुन पुगेको छ। यसरी लोक जोडिएको भन्दा पनि लोक छोडिएका कारण लोकतन्त्रमाथि जनताको वितृष्णा बढ्ने सम्भावना छ।

सिंह ज्युँदै छ– सिंहदरवार भित्र

भनिन्छ सिंह शब्द हिंसाबाट विपर्याय भई बनेको हो, अर्थात् सिंह हिंस्रक हुन्छ र त्यो हिंसाको प्रतीक पनि हो। सिंहदरबार अहिले पनि जनमुखी छैन। जनताप्रति सिंहदरबारको घोर अविश्वास छ। नेता, जनता र कार्यकर्ता त्यहाँभित्र प्रवेश गर्नका निम्ति छुट्टै प्रवेशद्वारको व्यवस्था गरिएको छ। सर्वसाधारणको प्रवेशका लागि दक्षिण गेटमा स्टिलको बारमा लाइन लागेर भित्रको आदेश कान थापेर घण्टौँ पर्खनु पर्दछ। कहिले परिचयपत्र नमिलेका कारण आफ्नो राष्ट्रको मुख्य प्रशासनिक भवनमा प्रवेश गर्नै नपाई फर्किनु पर्दछ। निश्चित व्यक्तिलाई भने सलाम ठोकेर भित्र पठाउने सिंहदरबार जनतालाई भने अपराधीलाई झैँ खानतलासी गर्दछ। मानौ जनताहरू सबै नै अपराधी वा आतङ्ककारी हुन्।

सिंहदरबार छिर्न इजाजत (लाइसेन्स) पाएका सम्माननीय र माननीयज्यूहरू आफ्नै गाउँ क्षेत्रबाट सिंहदरवारमा आएका जनताहरूले पाएको यो हैरानी थाहा पाउँदा पाउँदै पनि यो व्यवहारले रत्ति पनि नदुख्ने ‘के मेरा प्रजाहरूले अघाउञ्जेल दुई छाक दूधभात पनि खान पाएका छैनन्?’ भनेर राजाले सोध्ने गर्थे अरे भन्ने राजाको अनभिज्ञताका सम्बन्धित उखानमा रहेको गैर जिम्मेवारीपनाको अन्तर्य निहित भएको पाइन्छ। यी माननीय र सम्माननीयहरूले जनताको हुर्मत र अपमान भन्दा पनि त्यो हुर्मतको प्रतिछोर (अर्को छेउ) मा लुकेको आफ्नो तथाकथित सम्मानमा मख्ख परेर आफूलाई विशिष्ट देखाउने मूर्खतापूर्ण र लज्जास्पद अभिमान प्रदर्शन गरिरहेका हुन्छन्। सिंहदरवारको गेटमा प्रवेशमा वर्ग छ। सरकारी झन्डावाल गाडी, अरु सरकारी गाडी, महँगा निजी गाडी, सामान्य गाडी, मोटरसाइकिल, र पैदल यात्रीहरूमाथि सिंहदरवारले गर्ने व्यवहार बिल्कुलै फरक छ।

पैदलयात्री, अझ गाउँबाट पहिलोपटक आएको रहेछ भने त्यो थप निगरानी, आदेश र नियन्त्रणले गर्दा कतै बाटो बिराएर सहर पसेको कुनै जङ्गली जनावर झैँ हुर्मत लिइएको र लखेटिएको हुन्छ। अझ भित्र पसिसके पछि पनि ‘जनताको सेवक’ हैन ‘जनताको शासक हौँ’ भन्ने अहम् र दम्भले भरिएका प्रशासकहरू साक्षात् सिंह झैँ छन्– सिंहदरबारमा। सहरभित्रबाट बग्ने खोलाको पानी हेरेर शहर कति सफा छ भन्ने थाहा हुन्छ भनिए झैँ देशको प्रमुख प्रशासनिक केन्द्रका प्रशासकहरूसँग भेट्न हुने हैरानी र उनीहरूको रुखो शासकीय व्यवहारले हाम्रो लोकतन्त्रको संस्कार कस्तो रहेको छ भन्ने कुरा राम्ररी उजागर गर्दछ। अझ चाकडी, चाप्लुसी, भ्रष्टाचारी, कमिसनका कुरा थप रहस्यमय छन् र अनुसन्धान गर्न लायक पनि छन्। यो राष्ट्रको एक सम्मानित नागरिकले अपमानित भएर सिंहदरबारमा भित्र छिरेर निस्कँदा जसरी मनमा अमिलो हुन्छ त्यो सिंहदरबार भित्रको सिंहको आक्रमण हो। हाम्रो लोकतन्त्रले खै सिकाउन खोजेको लोकतान्त्रिक आचार र संस्कार ?

व्यवस्था बदलियो तर बदलिएन नोकरशाहीतन्त्र   

हाम्रो लोकतान्त्रिक परिपाटी भनिएको तन्त्रमा घुसखोरी, कमिसनखोरी, भ्रष्टाचारी, दम्भी र घमण्डी हाकिमहरूको बिगबिगी छ। जनताको सेवक हैन जनता कज्याउने शासकका रूपमा आफूलाई विशिष्ट सम्झने हाकिमहरू छन्। सेवाग्राहीहरूले आफ्नो अधिकार बमोजिमको सेवा प्राप्त गर्न पनि डराएर प्रत्येक कर्मचारी र हाकिमको चाकडी गर्नुपर्ने परिपाटीको अन्त भएको छैन। ढिलासुस्तीको कुरै नगरौँ, हाकिम प्रसन्न नभए जनताको काम बन्नेवाला छैन। नेपालमा अनेक कानूनका फन्दाहरूले छिटो छरितो सेवा नै अवरुद्ध हुन पुगेको छ। यस्तो लाग्छ कि कतिपय छरिएका कानूनहरू समेटेर अब एकीकृत र चुस्त कानून बनाउनुपर्ने मात्र हैन कतिपय कानूनको क्युरेसन गर्नुपर्ने पनि अवस्था आइसकेको छ। एकखाले कर्मचारीहरूको ध्याउन्न नै कसरी कमाउने? भन्नेमै रहेको छ। हाम्रो व्यवस्था बदलिए तापनि नोकरशाही मनोवृत्ति ज्युँका त्युँ  छ र यो लोकतान्त्रिक हैन शोषणतान्त्रिक एवं उत्पीडनतान्त्रिक छ।

 

खुलेआम घुसखाने कर्मचारीहरू छन्, सोको निगरानी र नियन्त्रण छैन। कमिसनका कैयौँ काण्डहरू पर्दाफास भैरहेका छन्, घटेका छैनन् बरु बढ्दा छन्। कतिपय स्थानमा कर्मचारी र बिचौलिया मात्र हैन राजनीतिक नेतृत्वको समेत मिलेमतो (सेटिङ्) गरेर त्यहाँ भ्रष्टाचार र अन्यायपूर्ण हर्कतहरू सञ्चालन भएका हुन्छन्। आफ्नो जन्मजात भाषा र भेषभूषा भन्दा भिन्न भाषी र संस्कृति भएका जातीय समुदायका इलाकामा पुगेका कतिपय हाकिमहरूले त्यहाँका जनता र उनीहरूको भाषा, भेषभुषा र संस्कृतिलाई होच्याउने, गाली गर्ने र आत्मसम्मानमा समेत चोट पुर्‍याउने प्रवृत्ति देखाएको, सो बमोजिमको व्यवहार गरेको भन्ने जनगुनासाहरू आइरहेका छन्। राज्यप्रति वितृष्णा फैलाउने व्यक्तिलाई नरम रूपमा छुट किन भइरहेको छ?

 

खुलेआम घुसखाने कर्मचारीहरू छन्, सोको निगरानी र नियन्त्रण छैन। कमिसनका कैयौँ काण्डहरू पर्दाफास भैरहेका छन्, घटेका छैनन् बरु बढ्दा छन्। कतिपय स्थानमा कर्मचारी र बिचौलिया मात्र हैन राजनीतिक नेतृत्वको समेत मिलेमतो (सेटिङ्) गरेर त्यहाँ भ्रष्टाचार र अन्यायपूर्ण हर्कतहरू सञ्चालन भएका हुन्छन्। आफ्नो जन्मजात भाषा र भेषभूषा भन्दा भिन्न भाषी र संस्कृति भएका जातीय समुदायका इलाकामा पुगेका कतिपय हाकिमहरूले त्यहाँका जनता र उनीहरूको भाषा, भेषभुषा र संस्कृतिलाई होच्याउने, गाली गर्ने र आत्मसम्मानमा समेत चोट पुर्‍याउने प्रवृत्ति देखाएको, सो बमोजिमको व्यवहार गरेको भन्ने जनगुनासाहरू आइरहेका छन्। राज्यप्रति वितृष्णा फैलाउने व्यक्तिलाई नरम रूपमा छुट किन भइरहेको छ? लोकतन्त्रमा यो एक गम्भीर प्रश्न बनेर खडा भएको छ।  यस्तो अवस्थाको अन्त्यको लागि खै लोकतान्त्रिक आचार र नैतिकताको प्रबर्द्धन कर्मचारीतन्त्र भित्र?

गाली होइन लोकतान्त्रिक आचार 

जसले वर्तमान संविधानलाई मान्दैन, वर्गीय जातीय र क्षेत्रीय रूपमा अर्कै राज्यसत्तामा परिवर्तन गर्ने ध्येय राखेको छ उसका लागि गालीको स्थान हुनसक्छ। उनीहरूका निम्ति कतिपय दलहरू दुस्मनको, वा प्रतिद्वन्द्वीको कित्तामा पर्ने होलान् तर वर्तमानको संविधानलाई आत्मसात गरेका दलहरू एकापसका प्रस्पिर्धी, प्रत्याशी, विपक्षी वा प्रतिपक्षको हैसियत भित्रका नै हुन्। यो अवस्थामा यस्ता दलहरूसँगको सम्बन्ध भनेको स्वास्थ्य प्रतिस्पर्धा (फेयर कम्पिटिसन) र सहयोग (कोअप्रेसन) को हो। हाल लोकतन्त्रका नाममा एकअर्का बीच गाली, लाञ्छना र आक्षेप, आरोप, प्रत्यारोप, तिरस्कार, घृणा, असहयोग, व्यँङ्गहान्ने, छेड्हान्ने, होच्याउने, खुइल्याउने र मजाक उडाउने जस्ता प्रवृत्तिबाट कायम छन्। लाग्छ यो प्रवृत्तिले हाम्रा तीन पुस्ता खुइल्याई सक्यौँ र भर्खरै गर्भस्थ शिशुको वंशाणु भित्र पनि गालीको स्मृति बोकेका क्रोमोजमहरू निर्माण भइरहेकाछन्। अब खुइलिन कोही बाँकी छैन।

खरायोका लागि सिंह जन्मजात दुस्मन भएझैँ मानिसका लागि मानिस जन्मजातरूपमै दुस्मन हुन सक्दैन। भनिन्छ ‘हरेक मित्र भित्र शत्रु लुकेर रहेको हुन्छ भने हरेक शत्रु भित्र मित्र छोपिएर रहेको हुन्छ।’ अर्जुन दृष्टिबाट हेर्दा शत्रु प्रवृत्तिबाट आफ्नो प्रतिरक्षा गर्दै मित्रु प्रवृत्तिसँग सहकार्य गर्नु लोकतान्त्रिक आचार हो। लोकतान्त्रिक ढाँचा अन्तरगतका राजनीतिक प्रतिस्पर्धामा गाली हैन आफूले यस कारणले आफ्नो प्रतिस्पर्धी भन्दा राम्रो गर्दै छु र राम्रो गर्ने छु भनेर जानु पर्ने हो। प्रतिस्पर्धीलाई समेत आफ्नो नेतृत्वको प्रणाली भित्र स्थान र मान दिने प्रणाली हो लोकतन्त्र। प्रतिस्पर्धीलाई आफ्नो नीति, योजना र कार्यक्रमहरूको कार्यान्वयनका निम्ति नैतिकरूपले आह्वान गर्ने हो। प्रतिस्पर्धीका नीति, योजना र कार्यक्रम भित्र रहेका कमीहरू औँल्याउने हो र उसलाई परिमार्जनका निम्ति उत्प्रेरित गर्ने हो।

अझ आफ्नो प्रतिस्पर्धी दुर्जनको रूपमा देखापर्यो भने पनि आचार र नीतिपरायण नेतृत्वले उसलाई पहिले सम्मान व्यक्त गर्नु पर्दछ। संस्कृतको नीतिशतकमा उल्लेख भएझैँ:

दुर्जनम् प्रथमम् वन्दे सज्जनम् तदनन्तरम:।

मुख प्रक्षालनेतपूर्व गुद प्रक्षलनेत यथा:।।

अर्थात् सज्जनलाई भन्दा पहिला दुर्जनलाई नमस्कार गर्नु, जसरी बिहानै उठेर मुख धनुभन्दा अघि चाक छुइन्छ। गाली गर्ने प्रतिस्पर्धी माथि शान्त र सन्तुलित अवस्थामा रहेको नेतृत्वको यो भन्दा ठूलो विजय अरु के हुन सक्ला र ? हाम्रो पूर्वीय शास्त्रका अनुसार कुनै व्यक्तिले लगातार ३ पटक भन्दा बढ्ता एउटै गाली दोहोर्‍याई रह्यो भने दुनियाँबाट उसले आफैँ मानसिक सन्तुलन गुमेको व्यक्तिको उपाधि पाइसकेकै हुन्छ, उसका लागि अरु थप केही गर्नु पर्दैन। लोकतान्त्रिक नेतृत्व गालीवन्त होइन लोकतान्त्रिक आचारले भरिएको नीति परायण हुनुपर्दछ।

लोकतान्त्रिक आचारको प्रवर्द्धन

माथि उल्लेखित यावत सवालहरूको सकारात्मक निरूपणका निम्ति लोकतान्त्रिक आचार र नैतिक मानकहरूको प्रवर्द्धन गरिनुपर्ने आजको ज्वलन्त आवश्यकता हो। यसका लागि दलका नेता तथा कार्यकर्ताहरूमा प्रशिक्षणमा आचारिक कक्षाहरू सञ्चालन गरिनुपर्ने होइन? दलहरूद्वारा दिइने प्रशिक्षण पाठ्यक्रममा आचारिक र नैतिक मानकहरूको छुट्टै खण्डको व्यवस्था गरिनु पर्ने होइन? कुन दलले यो कार्य गरिरहेका छन् अहिले? यो एक गम्भीर चासोको विषय हो ।

(लेखक समाजशास्त्र तथा मानवशास्त्र विषयका अध्येता र भाषा विज्ञान विषयका अनुसन्धाता हुन्।)

***

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

रघुनाथ अधिकारी ‘निलमशेखर’ का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

प्रबन्ध सम्पादक: राजेश घिमिरे

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link
Powered by Social Snap