वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ६.३२ प्रतिशत

मुलुकको कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा धेरै हिस्सा बागमती प्रदेशको ३६.१ प्रतिशत र सबैभन्दा थोरै कर्णाली प्रदेशको ४.१ प्रतिशत

उपभोक्ता मुद्रास्फीति विश्वव्यापी रुपमा भएको इन्धन तथा खाद्य वस्तुको मूल्यवृद्धि, आपूर्ति प्रणालीमा आएको व्यवधान तथा नेपाली मुद्रा अमेरिकी डलरसँग अवमूल्यन भएको कारणले आर्थिक वर्ष २०७८/७९ को पछिल्ला महिनाहरूमा मुद्रास्फीतिमा चाप रह्यो। यद्यपि आर्थिक वर्ष २०७८/७९ को शुरुवाती महिनाहरूमा न्यून मुद्रास्फीति रहेको कारण वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ६.३२ प्रतिशतमा रह्यो। अघिल्लो वर्ष यस्तो मुद्रास्फीति ३.६० प्रतिशत रहेको थियो।

नेपाल राष्ट्र बैंकले हालै जारी गरेको २०७८/७९ को वार्षिक प्रतिवेदन अनुसार  गत वर्षमा खाद्य तथा पेय पदार्थ समूह र गैर–खाद्य तथा सेवा समूहको वार्षिक औसत मुद्रास्फीति क्रमश: ५.६९ प्रतिशत र ६.८३ प्रतिशत रहेको छ। अघिल्लो वर्षमा यी समूहहरूको वार्षिक औसत मुद्रास्फीति क्रमश: ५.०० प्रतिशत र २.५१ प्रतिशत रहेको थियो।

गत वर्षमा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत घ्यू तथा तेल र दाल तथा गेडागुडी र गैर–खाद्य तथा सेवा समूह अन्तर्गत यातायात र शिक्षा उपसमूहको मुद्रास्फीति अघिल्लो वर्षको तुलनामा उल्लेख्य रुपमा बढ्न गएको छ। गत वर्षमा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति काठमाडौं उपत्यकामा ५.७३ प्रतिशत, तराईमा ६.४१ प्रतिशत, पहाडमा ६.८७ प्रतिशत र हिमालमा ६.०७ प्रतिशत रहेको छ। अघिल्लो वर्ष यस्तो मुद्रास्फीति काठमाडौं उपत्यकामा ३.३३ प्रतिशत, तराईमा ३.६८ प्रतिशत, पहाडमा ३.८७ प्रतिशत र हिमालमा २.८७ प्रतिशत रहेको थियो।

केन्द्रीय तथ्याङ्क विभागका अनुसार आर्थिक वर्ष २०७८/७९ मा देशको यथार्थ कुल गार्हस्थ्य उत्पादन आधारभूत मूल्यमा ५.४९ प्रतिशत र उत्पादकको मूल्यमा ५.८४ प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान छ। अघिल्लो वर्ष त्यस्तो वृद्धिदर क्रमश: ३.८३ प्रतिशत र ४.२५ प्रतिशत रहेको थियो।

केन्द्रीय तथ्याङ्क विभागको प्रारम्भिक अनुमान आर्थिक वर्ष २०७८/७९ को ९ महिनाको तथ्याङ्कमा आधारित भएको र गत आर्थिक वर्षको अन्तिम चौमासमा कोभिड–१९ संक्रमणमा कमी आएसँगै आर्थिक गतिविधिले गति लिएकोले आर्थिक वृद्धिमा सुधार आउने देखिएको छ। समीक्षा वर्षमा कृषि क्षेत्रको उत्पादन २.३० प्रतिशतले वृद्धि भएको र गैर–कृषि क्षेत्रको उत्पादन ६.८८ प्रतिशतले वृद्धि भएको अनुमान गरिएको छ। अघिल्लो वर्ष कृषि क्षेत्रको उत्पादन २.८५ प्रतिशत तथा गैर–कृषि क्षेत्रको उत्पादन ४.२६ प्रतिशतले वृद्धि भएको थियो।

नेपाल राष्ट्र बैंकले हालै जारी गरेको २०७८/७९ को वार्षिक प्रतिवेदन अनुसार, समीक्षा वर्षमा गैर–कृषि क्षेत्र अन्तर्गत उद्योग क्षेत्रको उत्पादन १०.१९ प्रतिशत र सेवा क्षेत्रको उत्पादन ५.९३ प्रतिशतले वृद्धि हुने अनुमान छ। अघिल्लो वर्ष उद्योग क्षेत्र ४.५१ प्रतिशतले वृद्धि भएको थियो भने सेवा क्षेत्रको वृद्धिदर ४.१९ प्रतिशत रहेको थियो। समीक्षा वर्षमा कुल गार्हस्थ्य उत्पादनमा कृषि, उद्योग तथा सेवा क्षेत्रको अंश क्रमश: २३.९५ प्रतिशत, १४.२९ प्रतिशत र ६१.७६ प्रतिशत रहेको छ। अघिल्लो वर्ष कुल गार्हस्थ्य उत्पादनमा यी क्षेत्रहरूको अंश क्रमश: २४.९० प्रतिशत, १३.६९ प्रतिशत र ६१.४१ प्रतिशत रहेको थियो।

नेपाल राष्ट्र बैंकले हालै जारी गरेको २०७८/७९ को वार्षिक प्रतिवेदन अनुसार, प्रदेशगत आर्थिक वृद्धि तुलना गर्दा आर्थिक वर्ष २०७८/७९ मा मुलुकको कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा धेरै हिस्सा बागमती प्रदेशको ३६.१ प्रतिशत र सबैभन्दा थोरै कर्णाली प्रदेशको ४.१ प्रतिशत रहेको अनुमान छ। वृहत औद्योगिक वर्गीकरणको आधारमा समीक्षा वर्षमा कुल गार्हस्थ्य उत्पादनमा प्राथमिक क्षेत्र (कृषि तथा वन,  मत्स्यपालन र खानी तथा उत्खनन्), द्वितीय क्षेत्र (उत्पादनमूलक उद्योग, विद्युत्, ग्याँस तथा पानी र निर्माण) तथा तृतीय (सेवा) क्षेत्रको अंश क्रमश: २४.५ प्रतिशत, १३.७ प्रतिशत र ६१.८ प्रतिशत रहेको छ। अघिल्लो वर्ष कुल गार्हस्थ्य उत्पादनमा यी क्षेत्रहरूको अंश क्रमश: २५.५ प्रतिशत, १३.१ प्रतिशत र ६१.४ प्रतिशत रहेको थियो।

कृषिको कुरा गर्दा आर्थिक वर्ष २०७८/७९ मा कृषि उत्पादन २.३० प्रतिशतले वृद्धि भएको अनुमान छ। अघिल्लो वर्ष कृषि क्षेत्रको उत्पादन २.८५ प्रतिशतले बढेको थियो। आर्थिक वर्ष २०७८/७९ मा बेमौसमी वर्षाका कारण धान उत्पादनमा कमी आएकोले कृषि क्षेत्रको उत्पादनको वृद्धिदरमा केही कमी आएको हो।  नेपाल राष्ट्र बैंकले हालै जारी गरेको २०७८/७९ को वार्षिक प्रतिवेदन अनुसार, उद्योगको क्षेत्रमा समीक्षा वर्षमा उद्योग क्षेत्रको वृद्धिदर १०.१९ प्रतिशतले वृद्धि हुने अनुमान रहेको छ। अघिल्लो वर्ष यस्तो वृद्धिदर ४.५१ प्रतिशत रहेको थियो। कोभिड–१९ महामारीको असर कम भएसँगै औद्योगिक क्षेत्रमा गत वर्षभन्दा केही सुधार हुने अनुमान रहेको छ।

समीक्षा वर्षमा उद्योग क्षेत्रअन्तर्गत खानी तथा उत्खनन क्षेत्र ८.१५ प्रतिशतले वृद्धि हुने अनुमान छ। अघिल्लो वर्ष यस क्षेत्रको उत्पादन ७.५० प्रतिशतले वृद्धि भएको थियो। उत्पादनमूलक उद्योगको उत्पादन ६.१४ प्रतिशतले वृद्धि हुने अनुमान रहेको छ। अघिल्लो वर्ष यस्तो उत्पादन ४.१४ प्रतिशतले वृद्धि भएको थियो। अघिल्लो वर्ष २.५७ प्रतिशतले वृद्धि भएको विद्युत्, ग्यास स्टीम तथा एयर कण्डिसनिङको उत्पादन समीक्षा वर्षमा ३६.६७ प्रतिशतले वृद्धि भएको छ। अघिल्लो वर्ष १.४९ प्रतिशतले वृद्धि भएको पानी आपूर्ति, ढल निकास, फोहोर व्यवस्थापन तथा उपचार गतिविधिहरूको उत्पादन समीक्षा वर्षमा ०.७२ प्रतिशतले वृद्धि हुनेअनुमान छ। त्यसैगरी, समीक्षा वर्षमा निर्माण क्षेत्र ९.५१ प्रतिशतले वृद्धि भएको छ। अघिल्लो वर्ष निर्माण क्षेत्र ५.१९ प्रतिशतले बढेकोथियो। सेवा क्षे  त्रमा समीक्षा वर्षमा सेवा क्षेत्र ५.९३ प्रतिशतले वृद्धि हुने अनुमान रहेको छ। अघिल्लो वर्ष यस क्षेत्रको वृद्धिदर ४.१९ प्रतिशत रहेको थियो। कोरोना सङ्क्रमण दर नियन्त्रणमा आएसँगै थोक तथा खुद्रा व्यापार, यातायात तथा भण्डारण, आवास तथा खाद्य सेवा लगायतका क्षेत्रमा आएको सुधार तथा विस्तारले गर्दा चालु आर्थिक वर्षमा सेवा क्षेत्रको उत्पादन वृद्धि हुने प्रारम्भिक अनुमान रहेको हो।

नेपाल राष्ट्र बैंकले हालै जारी गरेको २०७८/७९ को वार्षिक प्रतिवेदन अनुसार, समीक्षा वर्षमा सेवा क्षेत्र अन्तर्गत थोक तथा खुद्रा व्यापार र मोटर तथा मोटरसाइकलको मर्मत क्षेत्र ९.१२ प्रतिशतले वृद्धि भएको छ। अघिल्लो वर्ष यो क्षेत्र ५.७४ प्रतिशतले वृद्धि भएको थियो। अघिल्लो वर्ष आवास तथा खाद्य सेवा गतिविधि क्षेत्र १०.७३ प्रतिशतले वृद्धि भएकोमा समीक्षा वर्षमा ११.४२ प्रतिशतले वृद्धि भएको छ। त्यसैगरी, अघिल्लो वर्ष ४.४३ प्रतिशतले वृद्धि भएको यातायात तथा भण्डारण क्षेत्र समीक्षा वर्षमा ४.५४ प्रतिशतले बढ्ने अनुमान छ। समीक्षा वर्षमा सूचना तथा सञ्चार क्षेत्र ३.५८ प्रतिशतले, वित्तीय तथा बीमा क्षेत्र ६.०६ प्रतिशतले, रियल स्टेट क्षेत्र ३.८२ प्रतिशतले, व्यवसायिक, वैज्ञानिक र प्राविधिक क्षेत्र ३.७८ प्रतिशतले, प्रशासनिक र समर्थन सेवा क्षेत्र ४.४० प्रतिशतले, सार्वजनिक प्रशासन र रक्षा; अनिवार्य सामाजिक सुरक्षा क्षेत्र ४.०५ प्रतिशतले, शिक्षा क्षेत्र ४.०८ प्रतिशतले एवम्मानव स्वास्थ्य र सामाजिक कार्य क्षेत्र ६.९१ प्रतिशतले वृद्धि भएको छ। अघिल्लो वर्ष उक्त क्षेत्रहरूको वृद्धिदर क्रमश: १.७७ प्रतिशत, ४.०५ प्रतिशत, २.२५ प्रतिशत, २.३७ प्रतिशत, २.३० प्रतिशत, ३.३८ प्रतिशत, ३.९२ प्रतिशत र ६.६० प्रतिशत रहेको थियो। कला तथा मनोरन्जन; अन्य सेवा गतिविधिको उत्पादन ३.७९ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष यस क्षेत्रको वृद्धिदर ३.३८ प्रतिशत रहेको थियो।

बचत तथा कुल राष्ट्रिय खर्चयोग्य आयका क्षेत्रमा आर्थिक वर्ष २०७७/७८ मा कुल गार्हस्थ्य उत्पादनमा कुल उपभोगको अंश ९२.२९ प्रतिशत रहेकोमा समीक्षा वर्षमा ९०.७३ प्रतिशत रहेको अनुमान छ। आर्थिक वर्ष २०७८/७९ मा कुल राष्ट्रिय खर्चयोग्य आय १०.७९ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष यस्तो आय ९.२५ प्रतिशतले बढेको थियो। समीक्षा वर्षमा कुल गार्हस्थ्य उत्पादनमा कुल राष्ट्रिय खर्चयोग्य आयको अनुपात १२२.६७ प्रतिशत रहेको छ। अघिल्लो वर्ष यस्तो अनुपात १२५.५९ प्रतिशत रहेको थियो।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ६.३२ प्रतिशत
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link