सेवाग्राहीलाई किन ‘धम्कीपूर्ण’ फोन गर्दैछन् नेपाली दुतावास अमेरिका कर्मचारी?

अमेरिकामा नेपालको मनी अर्डर र चेक लुटकाण्ड

टेक्सास,अमेरिका / अमेरिकाको टेक्सास वरपर रहेका सयौं नेपालीले वासिङ्गटन डीसी स्थित नेपाली दुतावासका कर्मचारीको धम्कीपूर्ण फोनबाट आफुहरु प्रताढित बनेको गुनासो गरेका छन्।

दुतावासका कर्मचारीले इमेल र फोन मार्फत नयाँ मनी अर्डर किन नपठाएको भन्दै व्यक्तिगत रुपमा नै भन्ने गरेको पनि उनीहरुले बताएका छन्।

नेपाली दुतावासको आयोजनामा गैर नेपाली संघ (एनआरएनए) अमेरिका टेक्सास च्याप्टर, नेपाली समाज टेक्सास लगायतका स्थानीय संघ संस्थाको सहकार्यमा डिसेम्बर १५ देखि २० सम्म घुम्ति कन्सुलर सेवा संचालन गरिएको थियो।

सो क्रममा एक हजार भन्दा बढी नेपाली र नेपालीमुलका अमेरिकनले सेवा लिएको बताइएको थियो। शिविरबाट राहदानी, एनआरएनए कार्ड लगायत दुतावासबाट प्रदान गरिने सेवा स्थातीय स्तर उपलब्ध गराइएको थियो।

तर कार्यक्रम सकिए पछि डीसी फर्कनु अगाडि नेपाली दुतावासका कर्मचारीको जिम्मामा रहेको मनी अर्डर र चेक राखिएको झोला गाडि तोडफोड गरि लुटिएको थियो। महत्वपूर्ण काजपत्र सहितको झोला पार्किङ्गको गाडिमा छोडेर कर्मचारी रेष्टुरेन्टमा गएको समय सो घटना भएको बताइएको थियो।

सो घटना पछि अमेरिका स्थित नेपाली दुतावासले हराएको मनी अर्डर रद्द गरि नयाँ बनाएर पठाउन सेवाग्राहीलाई सार्वजनिक रुपमा अपिल गरेको थियो।

कर्मचारीको लापरवाहीले घटना हुने अनि सेवाग्राहीलाई दुख दिने भनेर उही समयमा दुतावासको विज्ञप्तिको आलोचना भएको थियो।

तर, अहिले दुतावासका कर्मचारी एक कदम अगाडि बढेर मनी अर्डर रद्द गरेर नयाँ किन नपठाएको, पासपोर्ट र एनआरएनए कार्ड तत्काल चाहिदैन भन्दै धम्कीपूर्ण रुपमा सेवाग्राहीलाई फोन गर्न पुगेको बताइएको छ।

सेवाग्राहीले दुतावासका कर्मचारीका कारण आफुहरुले थप रकम क्षति बेहोर्नु पर्ने र तनाव पनि बढेको गुनासो गरेका छन्। कतिपय सेवाग्राही तत्काल राहदानी नविकरण गर्नु पर्ने अवस्थामा रहेको पनि बताइएको छ।

‘मनी अर्डर रद्द गर्दा ३० डलर भन्दा बढी शुल्क तिर्नु पर्ने रहेछ, फेरि त्यो रद्द गरिएको रकम अहिले तत्काल फिर्ता हुने पनि होइन’ टेक्सासका एक सेवाग्राहीले भने, ‘उनीहरु (दुतावासका कर्मचारी) ले गल्ति गर्ने अनि हामीले आर्थिक र मानसिक क्षति बेहोर्नु पर्ने?’

नाम सार्वजनिक गर्दा आफु निसानामा परिने त्रास पनि उनले ब्यक्त गरे। ‘हामीले त्यही बेला बेनामको मनी अर्डर किन भनेर पनि प्रश्न गरेका हौ तर सुनुवाइ नै भएन, अहिले मनी अर्डर रद्द गर्न जानु पर्यो, नयाँ बनाउनु पर्यो, सबैको आ आफ्नै काम छ, हुलाक जानु पर्यो, नयाँ मनी अर्डर नपठाए तत्काल काम बन्दैन भनेर फोन आएको छ, यो त अन्याय भएन, बोलौ निसानामा परिएलाकी हाम्रो काजगपत्र त्यही छ ?’

‘दिएको पैसा हराउने अनि फेरि पठाइनस भने काजग बन्दैन भन्ने यो कस्तो चलन’ ? उनी प्रश्न गर्छन।

नेपाली दुतावास स्थित मिशनका उप प्रमुख कुमारराज खरेलले सेवाग्राहीलाई चाँडो भन्दा चाँडो सुविधा सुचारु गर्ने उदेश्यले पुरानो मनी अर्डर रद्द गरेर नयाँ पठाउन अनुरोध गरेको तर धम्की नदिएको बताए।

‘जसले रद्द गरेर नयाँ मनी अर्डर पठायो उसले सेवा पाइरहेको छ, सुचारु भइरहेको छ।’ उप प्रमुख खरेलले भने, ‘रद्द गर्नका लागि फोन गरेको सत्य हो हामीले विनम्र पूर्वक स्पस्ट शब्दमा पुरानो मनी अर्डर रद्द गर्नुस्, हामीले दोहोरो शुल्क मागेको होइन यो एउटा दुर्घटनाको कुरा भयो त्यसबाट तपाईहरुलाई पनि असर परेको छ नेपाल सरकारलाई राजश्व पनि नोक्सान भएको छ भनेका हौं।’

खरेलले आफुहरुले कसैलाई बाध्य नपारेको दावी गरे। ‘जो जसले मनी अर्डर रद्द गरेर नयाँ पठाउनु भयो उहाँहरुले सेवा पाउदै गर्नु भएको छ हामीले कसैलाई बाध्य गरेका छैनौ।’

मनी अर्डर रद्द गर्दा पनि शुल्क लाग्ने रहेछ अनि रद्द नगर्नेले सुविधा नपाउने त ? भन्ने प्रश्नमा उप प्रमुख खरेलले नर्मल अवस्था नभएकाले समय लाग्ने जवाफ दिए।

‘त्यो कुरा पहिला त अनुशन्धान सकिनु पर्यो प्रहरीले तिमिहरुको हराएको पैसा यति रिकभर भयो यति भएन भन्नु पर्यो त्यसका लागि पनि समय लाग्ने भयो, अर्को कुरा नेपाल सरकारले निर्देशन गर्ने कुरा आउछ यो नर्मल अवस्था भएन यसमा केही समय लाग्न सक्छ हामीहरुको प्रयास चाँडो गर्ने छ।’

हामीले गल्ती गर्यौ अब तपाईले छिटो सुविधा पाउने हो भने फेरि दुख गर भने जस्तो भएन र  भन्ने प्रश्नमा उप प्रमुख खरेलले भने, ‘त्यस्तो होइन अनुसन्धानको टुङ्गो नलागे सम्म माथिल्लो निकायबाट निर्देशन नभए सम्म हामीले कसरी गर्न सक्छौ र हाम्रो उद्देश्य ढिला नगरौ भन्ने नै छ।’

घटनालाई चै दुतावसले कसरी लिएको छ भन्ने अर्को प्रश्नमा उपप्रमुख खरेल खुल्न चाहेनन्। ‘छानबिन अनुसन्धान भन्ने कुरा ह्युस्टन प्रहरीले गरिरहेको छ, नेपाल सरकारको आन्तरिक प्रोसेसमा हुने कुरा त्यो भइनै हाल्छ त्यसको बारेमा अहिले मैले तपाईलाई केही भन्न सक्दिन्।’

सेवाग्राहीले भने दुतावासका कर्मचारी आफ्नो कमजोरी लुकाउन सेवाग्राहीलाई दुख दिने नियतमा रहेको गुनासो गरेका छन्।

घुम्ति शिविर आयोजनामा सहकार्य गर्ने स्थानीय संस्था मध्ये नेपाली समाज टेक्सासका अध्यक्ष राजेन्द्र वाग्ले दुतावासले सेवाग्राहीलाई व्यक्तिगत रुपमा नै फोन गरेर नयाँ मनी अर्डर पठाउ नत्र सेवा रोकिन्छ भन्नु आपत्ति जनक भएको बताए।

‘सेवाग्राहीले तत्काल सेवा सुविधा पाउनु पर्छ, पासपोर्ट नबनाए हामी नेपालमा मन्त्रालय सम्म पुग्छौ घरघरमा फोन गरेर जनतालाई दवाव दिन मिल्दैन्’ वाग्लेले भने, ‘हामी सबै संघ सस्थाका प्रतिनिधिको बैठक बस्यौ हामी संयुक्त रुपमा दवावमूलक ज्ञापन पत्र बुझाउदै छौं।’

‘जसले घण्टौ लाइन बसेर पैसा दिएर, रसिद लिएर घर गएको अवस्थामा दुतावासले रसिद हराए पछि यसमा सेवाग्राहीको गल्ति छैन दुतावासको लापार्वाहीले भएको हो’ वाग्लेले अगाडि भने, ‘तैपनि हामीले सहयोग होस भनेर केही हप्ता कुर्यौ मिलेसम्म मनी अर्डर क्यान्सिल गर्न भन्यौ तर अहिले व्यक्तिगत रुपमा नै चार पाँच पटक सम्म फोन गर्ने नयाँ मनी अर्डर पठाउनु होइन भने तपाईको पासपोर्ट आउदैन भन्ने भए पछि हिजो बैठक बसेका छौ हामी तत्काल सेवाग्राहीको काम अगाडि बढाउन पर्छ भन्नेमा छौ।’

वाग्लेले दुताबासले नै घटनालाई संवेदनशिल रुपमा लिएको नदेखिएनको बताए। ‘राजदुत आफैले चासो लिएर फिल्डमा उत्रिएको भए प्रहरीलाई दवाव हुने थियो।’ उनले भने।

वाग्लेले खाली मनी अर्डर किन मागियो भन्ने पनि प्रश्न उब्जिएको बताए। ‘अब मनी अर्डर रद्द गर्दा पनि शुल्क लाग्छ, मान्छेको काम हुन्छ कमर्चारीले गल्ति गर्ने अनि जनतालाई दुख दिन मिल्छ, राजस्व त जसले गल्ति गरेको हो त्यहीबाट लिनु पर्छ, दोस्रो पटक पठाएको मनि अडर पनि हरायो भने कस्ले जिम्मा लिने।’

यस्तै प्रवासी मञ्च अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापाले कर्मचारीको गल्तिमा सेवाग्राहीले दुख पाउन नहुने बताए।

‘कर्मचारीको लापरवाहीले सेवाग्राहीले दुख पाउन हुदैन, कुन तहको कर्मचारीबाट लापरवाही भएको छ यहाँ विभिन्न शंका पनि उब्जिएको छ। जनताको काम तत्काल हुनु पर्यो दुतावासबाटै काम हुन्छ भने हुन्छ हुदैन भने माथिल्लो निकाय जान बाध्य हुन्छौ।’ थापाले भने।

उनले नेपालमा मन्त्रीमण्डल विस्तार हुना साथ आफुहरुले यसबारेमा कुरा उठाउने प्रतिक्रिया दिए। ‘हामीले उपप्रधान तथा अर्थमन्त्री बिष्णु पौडेल सँग कुरा राखी सकेका हौ, उहाँले विभागिय मन्त्रीलाई कुरौ भन्नु भएको छ,हामी कुरा गर्छौ, सेवाग्राही कुनै पनि हालतमा मर्कामा पर्नु हुदैन।’

यस्तै नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति सुभाष घिमिरेले दुतावासको कदमलाई  गैरजिम्मेवारीपूर्ण एवं असंवेदनशील भनेका छन्।

‘संबन्धित सबैले बुझ्नै पर्ने कुरा के हो भने कसैले पनि आफूलाई आवश्यक नपरी कुनै कागजात बनाउने झमेला गर्दैन।’ सभापति घिमिरेले अगाडि भने, ‘त्यस्तो आवश्यक कागजात चोरी भएर आफ्नो नितान्त संवेदनशील परिचयात्मक सूचना समेत छरपस्ट भएर चिन्तामा परेका नेपालीजनको पीडामा मल्हम लगाउनुपर्ने समयमा दुतावासबाट पीडितहरूले पुनः शुल्क पठाए मात्र कागजात बनाउने प्रक्रिया अघि बढाउने भन्ने जवाफ गैरजेम्मेवारीपूर्ण एवं असंवेनशील छ । त्यसलाई यथाशीघ्र सच्याउन हामी दुतावास समक्ष जोडदार माग गर्दछौं ।’

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
सेवाग्राहीलाई किन ‘धम्कीपूर्ण’ फोन गर्दैछन् नेपाली दुतावास अमेरिका कर्मचारी?
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link