एक दिने संक्रान्ति, दुई दिने गोरु जुधाई

नवदीप श्रेष्ठ/नुवाकोट

माघको पहिलो दिनको पहिचान नुवाकोट र धादिङतिर गोरु जुधाउने पर्वको रुपमा बुझ्न थालिएको छ। पछिल्लो केही वर्षदेखि मेला महोत्सवकै रुपमा एउटै स्थानमा गोरु ल्याएर जुधाउन थालेपछि गोरु जुधाइने मेलाको पहिचान बनेको हो।

कृषि कर्मको प्रयोग हुने गोरु हिउँदको समयमा फुर्सदिला गोरु र फुर्सदिला गोरु धनीहरुले सयौं वर्षअघि देखि नै माघेसंक्रान्तिको दिन गोरु जुधाएर मनोरन्जन लिने गर्दथे। यसै पर्वलाई नुवाकोटको तारुकामा २०६२ सालबाट व्यवस्थित रुपबाट जुधाउन थालेपछि गोरु जुधाई पनि आकर्षणयुक्त पर्व बन्ने पुगेको स्थानीय शिक्षक तथा गोरु जुधाई मेलाका पूर्वअध्यक्ष जनकराज ढुंगानाले बताउनुभयो।

माघेसंक्रान्ति एक दिनको पर्व हो। र, गोरु जुधाउने मेला पनि एक दिन नै हुने गर्दछ। तर, यो वर्ष गोरु जुधाईलाई दुई दिने बनाइएको छ। कतिपयले यसलाई गलत संस्कारको थालनी भएको बताएका छन्। तर, आयोजकले भने गोरुको संख्या धेरै भएकोले एकैदिन जुधाउन नभ्याएको र अरु सांस्कृतिक कार्यक्रमहरु पनि थप गरिएकोले मेलालाई दुई दिने बनाइएको बताउँदै आएका छन्। माघेसंक्रान्ति गोरु जुधाई महोत्सव संरक्षण संस्थाका अध्यक्ष मदन श्रेष्ठले भन्नुभयो ‘गोरु जुधाई भव्य पर्व भएकोले यसलाई कतिपयले साताव्यापी मनाउन पर्छ भनेर कुरा उठाउन थालेका छन्। हामीले दुई दिन विस्तार गरेका हौं।’

कतिले दुई गोरु जुधाउने प्रचलन थालेकोमा विरोध गरेका छन् भने गोरु जुधाई हेर्न आउनु भएका वागमती प्रदेश सभा सदस्य मधुकुमार श्रेष्ठले भने गोरु जुधाउने मेलालाई सातदिने बनाउन पर्ने सुझाव दिनुभएको छ। गोरु जुधाईसम्बन्धी गहन अध्ययन गरि एक दशक अघि नै वृत्तचित्र निर्माण गरेका पुरुषोत्तम लम्सालले गोरु जुधाई दुई दिने बनाउनु संस्कृतिको मजाक भएको बताउनु भएको छ। ‘गोरु जुधाउने चन्दनीको पाटोको रीत संक्रान्ति नै हो, संक्रान्तिको भोलिपल्ट हैन। सर्वथा अनुचित र यो विसंगत अभ्यास हो’ लम्सालले भन्नुभयो।

दर्ता भएका २८ हल गोरुमध्ये एक गते १९ हल गोरु जुधाउने योजना भए पनि १६ हलमात्र गोरु जुधाइएको छ। बाँकी गोरु दुई गते जुधाएर पुरस्कार वितरण गरिने योजना रहेको आयोजकले जनाएको छ। चिल्ला चिल्ला जुरो भएका, मोटा सिङ भएका बलिया र आकर्षक गोरुको घम्साघम्सी हेर्नको लागि हजारौं दर्शकको आइरो लाग्ने तारुकामा यो वर्ष पनि हजारौंको सहभागिता रहेको थियो। गोरु जुधाई मेलालाई भव्य रुपमा विस्तार गर्न दुई दिने बनाइएको माघेसंक्रान्ति गोरु जुधाई महोत्सव संरक्षण संस्थाका अध्यक्ष मदन श्रेष्ठले बताउनुभयो।

फैलदों गोरु जुधाई

तारुकाले २०६२ सालमा व्यवस्थित रुपमा गोरु जुधाउन थालेपछि यसको सिको गर्दै नुवाकोटका अन्य स्थान र धादिङका खाल्टे लगायत क्षेत्रमा पनि हराउँदै गएको गोरु जुधाउने पर्वलाई व्यवस्थित गरेर जुधाउन थालियो। तारुकामा दर्शकको ओइरो लागेपछि गोरु जुधाउने मेला हेर्न पनि मानिसको घुइँचो लाग्दो रहेछ भन्दै लगभग हराइसकेको परम्पराले निरन्तरता पाएको छ।

२०६७ सालबाट बेत्रावतीमा गोरु जुधाइँदै आएको छ। यहाँ यो वर्ष ९ हल गोरु जुधाइएको छ। खेतीपातीमा गोरुको प्रयोग कम हुन थाले पनि जुधाउनकै लागि भनेर एउटामात्र गोरु किनेर मेलामा सहभागिता जनाउने किसानहरु पनि रहेका छन्। नुवाकोटकै पञ्चकन्यामा पछिल्लो पाँच वर्षदेखि गोरु जुधाउन थालिएको छ। लिखुमा पनि पछिल्लो चार वर्षदेखि गोरु जुधाउन थालिएको छ। माघेसंक्रान्तिमा शिवपुरी र  तादी गाउँपालिकामा पनि गतवर्ष गोरु जुधाइएको थियो।

आन्तरिक तथा बाह्य पर्यटकको आउने भएपछि गाउँभरीका गोरु एकै थलोमा भेला पारी जुधाउने मेला धादिङको खाल्टेमा केही वर्षअघि शुरु भएको थियो। यो वर्ष पनि धादिङको विभिन्न स्थानमा गोरु जुधाइएको छ। धादिङको मैदीकोट, धुवाकोट, सल्यानटार, खाल्टेलगायतका स्थान गोरु जुधाइएको छ।

ऐतिहासिकताको अप्रमाणित जामा

कृषि कर्मको लागि पालन गरिएका गोरु हिउँदको फुर्सदिलो समयमा जुधाएर रमाइलो गर्ने परम्परा यो भेगमा धेरै पुरानो हो। नुवाकोटको तारुका, दाङसिङ, झिल्टुङ, बुधसिङ, थानसिङ, रातमाटे लगायतको क्षेत्रमा माघेसंक्रान्तिको दिन गोरु जुधाएर किसानहरुले मनोरन्जन लिने परम्परा सदियौं पुरानो हो। सबैतिर गोरु जुधाउने परम्परा हराउँदै गएको र परम्परा जोगाए पनि एकै थलोमा नजुधाएको कारण हेर्न दर्शकलाई असहज हुन थालेपछि तारुकाले व्यवस्थित रुपमा जुधाउन थालेपछि यसको लोकप्रियता बढेको हो।

तारुकामा गोरु जुधाइने परम्परामा बझाङी राजा जयपृथ्वीबहादुर सिंहको नाम जोडिएको छ। तर, यसको कुनै प्रमाणित तथ्य नभएको इतिहासकार दिनेशराज पन्तले केही वर्षअघि बनाउनु भएको थियो। सिंहको मामाघर तारुका नभएको र उनी आएको बेला गोरु जुधाउन थालिएको कुनै लिखित प्रमाण कतै नभेटेएकोले सो तथ्य गलत भएको पन्तको भनाई थियो। तर, स्थानीयको हवाला दिदैं अहिले पनि सिंहको नाम जोडिदैं आएको छ। मानवतावादी व्यक्तित्वको रुपमा चिनिएको सिंहले गोरु जुधाएर मनोरन्जन लिए होला भन्ने  ठोकुवा गर्ने आधार भेटिदैन। किसानहरु आफू खुशी आफ्नो रमाइलोको लागि थालेको पर्वलाई कुनै राजामहाराजाको नाम जोड्न आवश्यक नभएको कतिपयको स्थानीयको भनाई रहदै आएको छ।

यस्तै, बेत्रावतीको गोरु जुधाईमा नेपाल–तिब्बतबीच भएको बेत्रावती सन्धिको नाम जोड्ने गरिएको छ। उक्त सन्धी भएपछि गोरु जुधाएर रमाइलो गरिएको स्थानीयले बताउने गरेका छन्। यसको पनि कुनै प्रमाण छैन। न त, यो कुरा सन्धीमा नै उल्लेख गरिएको छ। यो पनि गोरु जुधाईलाई जबर्जस्ती ऐतिहासिकताको जामा भिराउने प्रयास हो। बेत्रावती सन्धी वि.सं. १८४९ भदौ ६ गते(सन् १७९२ अगष्ट) मा भएको हो। भदौंमा बेत्रावती सन्धी भएको छ भने माघमा गोरु जुधाइने गरिन्छ। सन्धी हुनासाथ वर्खामा गोरु जुधाएर रमाइलो गरियो होला त ? यो पनि आधारहिन तथ्यको आधारमा गोरु जुधाई परम्परालाई ऐतिहासिकताको जामा पहि¥याउने प्रयासमात्र भएको स्पष्ट हुन्छ।

नियमविहीन प्रतियोगिता

पहिले किसानले रमाइलोको लागि थालिएको गोरु जुधाई अहिले व्यवसायिक भएको छ। प्रतियोगितामा गोरु सहभागी हुनासाथ किसानले पैसा पाउँछन्। धेरै समया जुध्यो भने पैसा पनि धेरै दिने आयोजकले निर्णय गरेपछि किसानहरु गोरु घाइते हुँदा पनि जुधाइरहन लोभिएको देखियो। अझ् जित्यो भने त पुरस्कार पनि पाइने। तर, गोरु जुधाईको एकै किसिमको नियम बनाउन नसकिएको २०६८ र २०७२ मा मेला आयोजक समितिको अध्यक्ष रहेका जनकराज ढुंगानाले बताउनुभयो। यो वर्ष पनि मेलामा आफैं हारजित नभएमा ४५ मिनेटसम्म गोरुलाई जुध्न दिइने नियम बनाइयो। तर, ४५ मिनेटसम्म जुध्न दिइरहनु गलत भएको ढुंगानाको भनाई छ। आफू अध्यक्ष हुँदा बढीमा ३० मिनेटमात्र जुध्न दिएको बताउँदै भन्नुहन्छ ‘४५ मिनेटसम्म गोरु निरन्तर जुध्न सक्दैन। थकाई मारी मारी जुध्न थालेपछि दर्शक पनि दिक्क हुँन्छन्। यो समय खेर फाल्नुमात्र हो। गोरु राम्रासँग १५देखि २० मिनेटभन्दा बढी जुध्न सक्दैन।’

सिंगबाट रगत बगेर गोरु घाइते हुँदा पनि जुध्न दिइरहेको थियो। यो पनि गोरुमाथिको अन्याय भएको ढुंगानाको भनाई छ। एकै थलोमा गोरु जुधाउन थालेको १७ वर्ष भयो तर, पनि एकै खाले नियम भने बनाउन नसकिएको पूर्व अध्यक्ष ढुंगानाले बताउनुभयो।

 

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

नवदीप श्रेष्ठ/नुवाकोट का अन्य पोस्टहरु:
एक दिने संक्रान्ति, दुई दिने गोरु जुधाई
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link