लाङटाङ : जहाँ भोट माग्न उम्मेदवार पुग्दैनन्

नवदीप श्रेष्ठ/नुवाकोट

निर्वाचनको मिति नजिकिँदै गर्दा उम्मेदवारहरूलाई मतदाता कहाँ पुग्न भ्याइ नभ्याई छ। घरदैलो, टोल भेला, आमसभा, कोणसभा, र्‍याली अनेक कार्यक्रमको लागि उम्मेदवार र उम्मेदवार आवद्ध पार्टीका सक्रिय कार्यकर्ताको दौडधुप चलिरहेको छ। उम्मेदवारहरू सकेसम्म हरेक टोल त्यो पनि भए कम्तीमा वडासम्म भए पनि एक पटक पुग्ने तालिका बनाएर दगुरिरहेका छन्। तर, रसुवाको गोसाइँकुण्ड गाउँपालिका –४ लाङटाङ क्षेत्र यस्तो वडा हो, जहाँ मत माग्न उम्मेदवार कहिल्यै पुगेका छैनन्।

यो पटकको निर्वाचनमा पनि कुनै उम्मेदवार लाङटाङवासी समक्ष अनुहार देखाउन पुगेका छैनन्। ‘उम्मेदवार भोट माग्न आउँछन् भन्ने आस पनि छैन’ क्यान्जिङका स्थानीय ग्याल्बो तामाङ भन्नुभयो।

रसुवाको सबैभन्दा दुर्गम स्थान हो– लाङटाङ। स्याफ्रुबेँसीबाट दुई दिनको पैदल यात्रापछि मात्र लाङटाङ पुग्न सकिन्छ। पर्यटकीय आकर्षणको केन्द्र हिमाली क्षेत्र लाङटाङमा मतदाता कम भएको कारण पनि उम्मेदवारहरूको प्राथमिकतामा नपरेको हो। ‘आउन जान टाढा, मतदाता थोरै भएकोले पनि उम्मेदवारको प्राथमिकतामा लाङटाङ नपरेको हो’ वडाअध्यक्ष डिण्डु लामा जाङ्वा तामाङले भन्नुभयो ‘यहाँको मतले हारजितको धेरै अर्थ नराख्ने भएकोले नै होला। उम्मेदवारको चासोमा नपरेको।’ उम्मेदवार नआए पनि उम्मेदवारको प्रतिनिधिको रुपमा पनि जिल्लाबाट पार्टीका अरु नेता कार्यकर्ताहरू लाङटाङ पुग्दैनन्। राजनीतिक दलका स्थानीय कार्यकर्ताहरूले नै जाँगर चलेमा आफ्ना उम्मेदवारको लागि मत मागिदिने गरेका छन्।

२०७० र २०७४ को निर्वाचनमा पनि कोही उम्मेदवार मत माग्न लाङटाङ पुगेनन्। स्थानीय निर्वाचनमा अध्यक्षका उम्मेदवारहरू समेत मत माग्न लाङटाङ पुग्दैनन्। थोरै भोटको महत्व धेरै हुने स्थानीय निर्वाचनमा समेत पालिकाका अध्यक्षका उम्मेदवारहरू यहाँ नआएको स्थानीय ग्याल्बो तामाङले बताउनुभयो।

लाङटाङ, गुम्बाडाँडा, क्यान्जिन, मण्डप लगायतको बस्ती रहेको यो वडामा एक सय २० वटा जति घर रहेको छ। प्रदेश निर्वाचन क्षेत्र नं. १ पर्ने लाङटाङ क्षेत्रमा एक सय ८२ पुरुष र एक सय ८९ महिला गरी तीन सय ७१ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय रसुवाका सूचना अधिकारी झविन्द्र बेलबासेले जानकारी दिनुभयो। मतदाताको संख्या चार सयको नजिक भए पनि बढीमा दुई सय मत खस्न सक्ने वडाअध्यक्ष तामाङको प्रक्षेपण रहेको छ। रोजगारी, पढाईको कारण धेरै युवाहरू काठमाडौंतिरै रहेका छ। आउन जान टाढा र खर्च समय धेरै लाग्ने भएको कारण पनि चुनावमा उनीहरु नआउने वडाअध्यक्ष तामाङले भनाई छ। ‘यतै बसिरहेकाहरुले मात्र हो भोट खसाल्ने। संघ र प्रदेशको चुनावमा भोट हाल्ने कमै हुन्छन्’ वडाअध्यक्ष तामाङले भन्नुभयो ‘स्थानीय चुनावमाचाहिँ हामी आफैले मिलाएर मतदाताहरूलाई ल्याउने गरेका छौं। स्थानीयमा अलि धेरै भोट खस्छ।’

जितेपछि आउँछन्

चुनावअघि भोट माग्न कुनै उम्मेदवार लाङटाङ नपुगे पनि जितेपछि भने जाने गरेका छन्। २०७० मा संविधान सभाको दोस्रो निर्वाचनमा निर्वाचित भएपछि जनार्दन ढकाल हेलिकप्टरमा लाङटाङ पुग्नु भएको थियो। २०७४ मा निर्वाचित भए पनि सांसद मोहन आचार्य पनि आकाशमार्ग हुँदै लाङटाङ पुग्नु भएको थियो। ०७४ मा निर्वाचित भएपछि धन्यवाद दिन पुग्नु भएको आचार्यले अर्को निर्वाचनमा गाडी चढेर आउने बाचा गर्नु भएको थियो। तर, त्यो अहिलेसम्म पुरा नभएको क्यान्जिनका स्थानीय ग्याल्बो तामाङले बताउनुभयो। ‘आचार्यले पाँचमा लाङटाङ आउने सडक बनाउने छु। म आफैं अर्को निर्वाचनमा गाडी चढेर आउँछु भन्नुभएको थियो। सडक खन्ने सुरसार छैन’ ग्याल्बोले भन्नुभयो।

लाङटाङ अर्थात समस्याको अग्लो चाङ

लाङटाङ हेर्दा सुन्दर देखिन्छ। दुई दिने पाहुनाहरूले ‘स्वर्गको टुक्रा’ नै भन्छन्। अग्ला पहाडहरू छन्, अग्ला हिमालहरू छन्। तर, ति अग्ला हिमालहरू भन्दा अग्ला मान्छेका दुःखका हिमालहरू छन्, पीडा र सकसका पहाडहरू ठिङ्ग उभिएका छन्। कोही बिरामी परेर तत्काल राम्रो अस्पताल लैजान पर्‍यो भने आकाशमार्गको विकल्प छैन। हेलिकप्टर चार्टर गर्दा एक लाख ५० हजार रुपैयाँसम्म खर्च पर्छ। करोडौँको बिजुली बेच्ने जिल्ला भए पनि यहाँ राष्ट्रिय प्रसारण लाइनको बिजुली बत्ती छैन। एक सय किलोवाटको लघुजलविद्युत (माइक्रो हाइड्रो) छ। त्यसको पनि भर छैन, बिग्रिएपछि बन्न कति दिन लाग्ने पत्तो हुन्न।

लाङटाङ आउने पर्यटकीय पदमार्गको स्तरोन्नतीको लागि धेरै पटक आवाज उठाउँदा पनि कतैबाट सुनुवाई नभएको वडाअध्यक्ष तामाङको भनाई छ। ‘ठाउँठाउँमा पदमार्गको सुधार गर्नु पर्छ। आफै वडाअध्यक्ष भएर पलिकाबाट पनि योजना पार्न सकिएन। हरेक वर्ष बाढी पहिरोले बर्खामा धेरै समस्या हुन्छ। बर्खामा पनि हिड्न सक्ने पदमार्ग बनाउन पर्छ’ वडाअध्यक्ष तामाङले भन्नुभयो ‘रिङचे नजिकै र बम्बुभन्दा तल पहिरो गईरहन्छ। त्यहाँ वैकल्पिक बाटो बनाउन पर्छ। पालिकाले पनि चासो दिएनन्। सांसदहरुले पनि ध्यान दिदैंनन्।’

ठाउँठाउँमा रहेको काठेपुलहरु जिर्ण छन्। ति पुलको ठाउँमा झोलुङ्गे पुल बनाउन पर्ने छ। दोभानमा भूकम्पको कारण जिर्ण भएको पुलको पुनर्निर्माण हुन सकेको छैन। एउटा ठाउँको हाटेलबाट अर्को ठाउँको होटेलभएसम्मको दुरी धेरै रहेको छ। बीचबीचमा ओत लाग्ने ठाउँ नभएकोले ‘रेष्ट पोइन्ट’हरु अत्यावश्यक रहेको छ।

स्थानीय ग्याल्बो तामाङ भन्नुहुन्छ ‘भूगोलले सुन्दरतासँगै सकस पनि दिएको छ। सकसलाई विकासले सहज बनाउने ठाउँ हुँदाहुँदै पनि कसैले केही गरेनन्।’

 

 

 

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

नवदीप श्रेष्ठ/नुवाकोट का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

प्रबन्ध सम्पादक: राजेश घिमिरे

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link
Powered by Social Snap