आचारसंहिता उलङ्घन गर्दै नुवाकोटका जनप्रतिनिधिहरू

नवदीप श्रेष्ठ/नुवाकोट

स्थानीय तहका जनप्रतिनिधिहरूले पद तथा साधन स्रोतको सम्भावित दुरुपयोगलाई रोक्न निर्वाचन आयोगले स्थानीय तहका जनप्रतिनिधिहरूका लागि कडा आचारसंहिता बनाएर लागू गरेको छ। स्थानीय पालिकाका प्रमुखहरूले आफ्नो पालिकाको स्रोत साधनलाई चुनावी हतियारको रुपमा प्रयोग गर्न रोक्न आयोगले आचारसंहिता बनाए पनि त्यसको पूर्णपालना नभएको पाइएको छ।

जिल्लाका विभिन्न स्थानीय तहका जनप्रतिनिधिहरूले आचारसंहिता उलङ्घन गरेको पाइएको छ। जिल्ला आचारसंहिता अनुगमन समितिमा नुवाकोटमा आचारसंहिता उलङ्घनका आठ वटा उजुरी परेको छ। मुख्य निर्वाचन अधिकृत संयोजक रहने आचारसंहिता अनुगमन समितिमा उजुरी परेको बाहेक अन्य गतिविधि अनुगमन गरी आचारसंहिता उल्लङ्घनकर्ताहरूलाई कारवाहीको प्रयास नगरेको गुनासो पनि आइरहेको छ। तर, उजुरी परेको बाहेक अन्य गतिविधिहरूलाई पनि नजिकबाट नियालिरहेको समितिका आचारसंहिता अनुगमन अधिकृत रामकृष्ण पुडासैनीले बताउनुभयो।

समितिमा उम्मेदवारले आर्थिक सहयोग गरेको, स्थानीय तहका जनप्रतिनिधिहरूले आफ्नो पालिका भित्र चुनावी प्रचारप्रसारमा हिँडेको, सामग्री वितरण गरेको, उद्घाटन, शिलान्यास गरेको, कर्मचारी नियुक्त गरेको लगायतका आठ वटा उजुरी परेको अनुगमन समितिका सदस्य तथा जिल्ला निर्वाचन अधिकारी जयप्रसाद गौतमले बताउनुभयो। अधिकांश उजुरी स्थानीय तहका जनप्रतिनिधिसँग सम्बन्धित रहेको पनि गौतमको भनाई छ।

उजुरीपछि अनुगमन गरिएको र कमजोरी पाइएकोले लिखु गाउँपालिकाका अध्यक्ष ध्रुव श्रेष्ठलाई सचेत समेत गराइएको समितिले जनाएको छ। यस्तै, नेकपा एमालेको तर्फबाट नुवाकोट क्षेत्र नं. १ का उम्मेदवार बद्री मैनालीले क्यान्सर पीडित महिलालाई पैसा दिएको उजुरी परेको थियो। उक्त उजुरीको निर्वाचन आयोगले नै स्पष्टीकरण सोधेको थियो। उक्त स्पष्टीकरणमा उम्मेदवार मैनालीले आचारसंहिता लागू हुनु अघि नै आर्थिक सहयोग गरेको स्पष्टीकरण बुझाएको समितिका एक सदस्यले बताएका छन्। तर, मैनालीले उम्मेदवारी मनोनयन पछि नै आर्थिक सहयोग वितरण गर्नु भएको थियो।

लिखु गाउँपालिकाका अध्यक्ष ध्रुव श्रेष्ठले वडा नं. ५ को भेडाचौरमा स्वास्थ्य इकाईको भवन उद्घाटन गर्नु भएको थियो। उक्त उद्घाटनको निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको थियो। उजुरीपछि निर्वाचन अधिकृतको कार्यालयले स्थलगत अनुगमन गर्दा स्वास्थ्य संस्थाको नयाँ भवनबाट हालसालैबाट सेवा सञ्चालन गरिएको पाइएको तर, गाउँपालिका अध्यक्षले उद्घाटन गरेको ‘भरपर्दो’ प्रमाण फेला नपरेको समितिले उन्मुक्ति दिएको छ।

यस्तै, विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठ र उपमेयर प्रभा बोगटीले आचारसंहिता विपरित आफैं उपस्थित भएर कात्तिक १७ गते बागमती प्रदेश सरकार मातहत पूर्वाधार विकास कार्यालयमार्फत सञ्चालन हुने सडक योजनाको शुभारम्भ गराउनु भएको थियो। मेयर श्रेष्ठ र उपमेयर बोगटीले संयुक्त रुपमा विदुर नपा–१ को बान्द्रे–बोगटीगाउँ–डाँडागाउँ सडकको शुभारम्भ गराएका हुन्। उजुरी परेको खण्डमा आचारसंहिताबाट जोगिन भरपर्दो प्रमाण नहोस् भन्ने आशयले ब्यानर र शिलालेख नराखी आयोजनाको सूचनापाटी वाचन गरी सडक शिलान्यास गरिएको थियो। विदुर नगरपालिकाको फेसबुकमा तस्वीर सार्वजनिक गरिएको थियो। फेसबुकमा तस्वीर राखिएको केही मिनेटमै हटाइएको थियो।

निर्वाचन आचारसंहिता अनुसार स्थानीय तहका जनप्रतिनिधिहरूले आफ्नो स्थानीय तहभित्र कुनै पनि दलका उम्मेदवारको पक्षमा मत माग्न र मत माग्ने कार्यक्रम लगायत चुनावी सभा समारोहमा समेत हिड्न प्रतिबन्ध लगाएको छ।  तर, विदुर नगरपालिकाका मेयर श्रेष्ठ, उपमेयर बोगटी लगायत विभिन्न वडाका वडाअध्यक्षहरू चुनावी सभा र घरदैलोमा सहभागी भईरहेका छन्।

तादी गाउँपालिकाका अध्यक्ष सन्तमान तामाङले पनि आफ्नै पालिका भित्रको चुनावी कार्यक्रममा आचारसंहिता विपरित सहभागी भईरहेका छन्। स्थानीय तहका प्रमुख उपप्रमुख तथा वडाअध्यक्ष सदस्यहरू पनि चुनावी कार्यक्रममा सहभागी भइरहेको पाइएको छ। सरकारी कर्मचारीहरू, शिक्षकहरूले पनि दलगत उम्मेदवारको पक्षमा मत माग्न सहभागी भइरहेको तस्वीरहरू सामाजिक सञ्जालमा देखिएका छन्।

स्थानीय तहका जनप्रतिनिधिले आफ्नो पालिका भित्र कुनै चुनावी कार्यक्रममा सहभागी हुन समेत नपाइने र अर्को पालिकाको चुनावी कार्यक्रममा सहभागी हुन पाए पनि सरकारी स्रोत साधनको प्रयोग गर्न नपाइने व्यवस्था रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय नुवाकोटका आचारसंहिता अनुगमन अधिकृत रामकृष्ण पुडासैनीले बताउनुभयो।

जिल्लामा आचारसंहिता उल्लङ्घनका घटना फाट्टफुट्ट भएको पाइएको र त्यसलाई तत्काल आचारसंहिता अनुसारका काम गर्न निर्देशन दिइएको र गम्भीर प्रकृतिका उजुरीमाथि कारवाहीको लागि आयोगमा पठाउने गरिएको अधिकृत पुडासैनीको भनाई छ।

आवरण तस्बिर: विदुर नगरपालिकामा मेयर राजन श्रेष्ठ र उपमेयर प्रभा बोगटी सडक शुभारम्भ गराउँदै।

 

 

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

नवदीप श्रेष्ठ/नुवाकोट का अन्य पोस्टहरु:
आचारसंहिता उलङ्घन गर्दै नुवाकोटका जनप्रतिनिधिहरू
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link