नेपाल फोटोग्राफी समिट हुने

आगामी चैतको पहिलो साता नेपालगंजमा नेपाल फोटोग्राफी समिट गरिने भएको छ । अन्तरालको आयोजना र व्यवस्थापनमा हुने यस समिटमा देशभरवाट १ सय ११ जना फोटो पत्रकार र फोटोग्राफरहरु सहभागी हुनेछन् ।

‘नेपालको फोटोग्राफीको विकासमा यो समिट कोशेढुंगा सावित हुनेछ’ समिटका परिकल्पनाकार अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले भने – ‘समिटमा फोटोग्राफीमा सक्रिय नयाँ पुस्ता देखि अग्रज व्यक्तित्वहरुको अभूतपूर्व जमघट हुनेछ ।’

तेस्रो नेपालगंज फोटो फेस्टिवलको सन्दर्भ पारेर आयोजना गर्न लागिएको फोटोग्राफी समिट संभवत नेपालमै पहिलो पटक हो ।

विभिन्न विधामा स्वतन्त्र ढंगले फोटोग्राफी गरिरहेका फोटोग्राफरहरु र संचारमाध्यममा कार्यरत फोटो पत्रकारहरु एकै थलोमा भेला भएर अन्तरक्रिया गर्नेछन् ।

‘रिल वाला’ क्यामेरादेखि अहिलेको अत्याधुनिक डिजिटल प्रविधीका क्यामेरा, गोप्रो देखि ड्रोन चलाइरहेको पुस्ताको एकै ठाउँको जमघटले देशव्यापी सन्देश दिने विश्वास गरिएको छ ।

समिटका अवसरमा अन्तरक्रिया, समूह छलफलहरु, फोटोग्राफीका चुनौतीहरुवारे कार्यपत्र प्रस्तुति, अनुभव सेयरिङ्ग, धार्मिक र पर्यटकीय स्थल भ्रमण र फोटोग्राफी लगायतका कार्यक्रमहरु आयोजना हुनेछन् । जसलेगर्दा यस क्षेत्रको पर्यटन प्रवद्धनमा समेत टेवा पुग्ने विश्वास गरिएको छ ।

समिटमा ११ जना अग्रज फोटोपत्रकार र फोटोग्राफरहरु विशेष अतिथीको रुपमा सहभागी हुनेछन् भने देशका विभिन्न स्थानवाट ५० जना सहभागी हुन पाउनेछन् जसकालागि नाम दर्ता गर्नुपर्नेछ । यसैगरी ५० जना स्थानीय (प्रशिक्षार्थी समेत) सहभागी हुनेछन् ।

‘नेपाल फोटोग्राफी समिट नेपालको जुनसुकै कुनामा रहेर फोटोग्राफी गरेका व्यक्तित्वहरुको साझा फोरम वन्नेछ’ अन्तरालका जयनारायण शाहले भने – ‘समिटले अनुभवको आदानप्रदान मात्रै गर्ने छैन, आपसी भाइचारा समेत अभिवृद्धि गर्नेछ ।’

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link