कमजोर लोकतन्त्र, महिला र भ्रष्टाचार

अन्तर्राष्ट्रिय महिला दिवस २०२३ विशेष

रामकुमार आचार्य, पूर्व सचिव, नेपाल सरकार

लोकतन्त्रको स्तर भ्रष्टाचारको स्तरको अनुमान गर्न महत्वपूर्ण हुन्छ। विभिन्न अध्ययनहरूले सवल लोकतन्त्र हुँदा भ्रष्टाचार घटेको देखाएका छन्। भ्रष्टाचार विषयका लेखक इन्स्टे डोमिनिकका अनुसार- लोकतन्त्र जति लामो समयसम्म स्थिर हुन्छ त्यत्ति नै भ्रष्टाचार कम हुन्छ। कम्तिमा पनि १०२ बढीमा ४५ वर्षसम्म बिना अवरोध स्थिर रहेको लोकतन्त्रमा भ्रष्टाचार घटेको पाइएको छ। त्यसैगरी लोकतन्त्रका प्रारम्भिक वर्षहरूमा भ्रष्टाचार बढ्ने र ४ देखि १५ वर्षमा क्रमशः घट्दै जाने हुन्छ। उनी भन्छन्- सार्वजनिक अधिकारीसँग सम्पर्क बढाएर भ्रष्टाचार गर्न तम्सिने निजी क्षेत्रलाई नियन्त्रण गर्ने उपायहरू नवोदित लोकतन्त्रमा अभाव हुन्छ। जब लोकतन्त्र स्थिर बन्छ तब स्वतन्त्र बजारको प्रवेश पनि सहज हुँदैजान्छ र प्रतिस्पर्धा बढ्न गई भ्रष्टाचार गर्ने अवसर कम हुँदै जान्छ। समयक्रममा अनुगमन गर्ने संस्थाहरू पनि सवल हुँदै जान्छन्। भाडा खोजाइ प्रवृत्तिका जोखिम पनि बढ्छन्। सारमा भन्नुपर्दा लोकतान्त्रिक संस्थाहरू पूर्णत कामयाब भए भने लोकतन्त्रले भ्रष्टाचार घटाउँछ भने कमजोर लोकतन्त्रले बढाउँछ। सन १९८० देखि २००७ सम्मका १२६ देशका तथ्याङ्कहरू विश्लेषण गरी गरिएको एउटा अध्ययनले लोकतान्त्रीकरण र आमसञ्चारको स्वतन्त्रताले भ्रष्टाचारलाई नकारात्मक प्रभाव पार्ने देखाएको छ।

महिला र भ्रष्टाचार

महिला र भ्रष्टाचारका बिचमा कस्तो सम्बन्ध हुन्छ भन्ने बारेमा विभिन्न अध्ययन भएका छन्। ती अध्ययनका निचोड भने फरक फरक छन्। महिलाहरू पुरुषभन्दा विश्वासलायक, उच्च नैतिक व्यवहार भएका, सार्वजनिक दायित्वप्रति उत्साही (public-spirited) तथा आम हितका लागि बढी चासो राख्ने हुन्छन् भन्ने विभिन्न अध्ययनका निचोडलाई आधार मानेर डेभिड डोल्लर समेतले इमान्दार सरकारलाई प्रवर्द्धन गर्न महिलाहरू प्रभावकारी हुन्छन् कि हुँदैनन् भनेर परीक्षण गरेका छन्। उनीहरूले सकारात्मक निष्कर्ष निकाल्दै संस‌द्मा र सरकारमा महिला प्रतिनिधित्व बढ्दा भ्रष्टाचार घट्छ भन्ने पाएका थिए।

फ्रेडेरिक बोहेमले युफोर संस्थाका लागि लेखेको लेखमा महिला र भ्रष्टाचारका सम्बन्धमा गरिएका विभिन्न अध्ययनको उल्लेख गरेका छन्। उनका अनुसार उक्त अध्ययनहरूको संक्षेपमा भ्रष्टाचारलाई हेर्न दृष्टिकोण घुस खाने र दिने सम्बन्धमा निम्नानुसारका लैंडिक फरक पाइएको छ।

  • भ्रष्ट आचारणप्रति महिलाहरूको सहनशीलता कम हुन्छ तर यो तथ्य लोकतान्त्रिक प्रणालीमा मात्र सत्य हुन्छ एकतन्त्रीय शासन प्रणाली र भ्रष्टाचार आमस्तरमा स्वीकार गरिने समाजमा सत्य हुन सक्दैन।
  • घुस खानेबारे केही प्रासड़िक विषयमा प्रतिक्रिया अपवादबाहेक पुरुष र महिलाका बिचमा कुनै महत्वपूर्ण भिन्नता हुँदैन।
  • महिलाहरू अलि बढी अवसरवादी हुन्छन्। उनीहरू पुरु लिन सक्छन् तर बदलामा भ्रष्ट अनुग्रह (corrupt favour) नदिन अर्थात् घुस खुवाउनेले अपेक्षा गरेको काम नगरिदिन सक्छन्।
  • अनुभूत गरिएको दण्डभारको जोखिम भयो भने महिलाहरूले पुरुषको तुलनामा घुस लिने सम्भावना कम हुन्छ।
  • पुरुषहरूले घुस दिने सम्भावना बढी हुन्छ।
  • पुरुषहरूले दिने घुसको रकम बढी हुन्छ।
  • महिला र पुरुष दुबैले महिलालाई भन्दा पुरूषलाई बढी घुस दिन्छन्।

केही अध्ययनले उपरोक्त प्रकारका निष्कर्ष निकालेका भए पनि धेरैजसो अध्ययनले महिलाहरू अन्तस्करणबाटै पुरुष भन्दा कम भ्रष्ट हुन्छन् भन्ने कुनै प्रमाण नभएको बताएका छन्।

चन्दनकुमार झासमेतका अनुसार रोजगार क्षेत्र क्लेरिकल र उपल्लो तथा निर्णायक पदमा महिलाहरूको प्रतिनिधित्व बढ्दैमा भ्रष्टाचार घट्नमा उल्लेख्य प्रभाव पर्दैन। बरू महिलाहरूले पुरूष सरहको समान हैसियत पाउन सके भने भ्रष्टाचार न्युनीकरणमा योगदान पुग्न सक्छ। राज्य प्रणालीमा महिला प्रतिनिधित्वलाई उदार लोकतन्त्रका संस्थाहरूले भरथेग नगरे भ्रष्टाचार नियन्त्रण हुन सक्दैन।

 

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

रामकुमार आचार्य, पूर्व सचिव, नेपाल सरकार का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link