चीनमा सी जिन पिङ तेस्रो कार्यकालको लागि सर्वशक्तिमान् राष्ट्रपति

प्रधानमन्त्रीमा नयाँ अनुहार आउँदै 

छिमेकी राष्ट्र चीनको राष्ट्रपतिमा तेस्रो पाँच वर्षीय कार्यकालको लागि चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव सी जिन पिङ गत शुक्रबार अनुमोदन भएपछि अब दोस्रो शक्तिशाली पद प्रधानमन्त्रीमा पनि नयाँ अनुहार आउने भएका छन् । 

चिनियाँ कम्युनिष्ट पार्टीको स्थायी समितिको निर्णयलाई राष्ट्रिय जनकाङ्ग्रेसले अनुमोदन गरेपछि सी पुनः चीनको आधुनिक सम्राटका रुपमा शक्तिमा दोहोरिएका छन् । 

गहिरो, व्यापक आर्थिक चुनौतीहरू र बढ्दो अमेरिकासँगको तनावपूर्ण सम्बन्धका पृष्ठभूमिमा सीको पुनः सत्तारोहणलाई संसारभरि नै रोचकताका साथ हेरिएको छ  ।

सी सन् २०१२ मा पहिलो पटक कम्युनिष्ट पार्टीको नेतृत्व हुँदै राष्ट्रपति हुन पुगेका थिए । राष्ट्रिय जनकाङ्ग्रेसमा दुई हजार ९५२ सदस्यहरूले एक मतले सीलाई तेस्रो कार्यकालका लागि चुनेका हुन् । 

उमेरले ६९ वर्षीय सी गत अक्टोबरमा चिनियाँ कम्युनिष्ट पार्टीको महासचिवको रुपमा तेस्रो कार्यकालको लागि चुनिएका थिए ।
चिनियाँ संविधानमा दुई कार्यकालका लागि मात्र राष्ट्रपति हुनसक्ने व्यवस्थालाई संशोधन गर्दै पार्टीले सीलाई तेस्रो पटक सत्तामा स्थापित गरेको हो ।

चीनको राष्ट्रपति त्यहाँको २० लाख संख्या रहेको जनमुक्ति सेनाको पनि ‘कमाण्डर इन चिफ’ हुने व्यवस्था छ । यसैले सी विश्वको सर्वशक्तिमान् सेनाको प्रमुख रहेका शासक हुन् । 

जनकाङ्ग्रेसले झाओ लेजीलाई जनकाङ्ग्रेसकाे प्रमुखमा निर्वाचित गरेको छ । यो चीनको तेस्रो शक्तिशाली पद हो । यस अगाडि चिनियाँ कम्युनिष्ट पार्टीको स्थायी समितिले झाओलाई सो पदमा प्रस्तावित गरेको थियो । 

उमेरले ६७ वर्ष पुगेका झाओ चीनको भ्रष्टाचारविरुद्ध निगरानी गर्ने समितिको प्रमुख पनि हुन् । यसैगरी अनुशासन समितिको पनि प्रमुख हुन् । यसैले उनलाई सी जिन पिङको उत्तराधिकारीहरूमा अनुमान गर्न थालिएको छ ।

चीनको उपराष्ट्रपति पदमा भने साङ्घाईका पूर्व पार्टी प्रमुख हान जेइङ चुनिएका छन् । यो मर्यादाक्रममा दोस्रो पद भएपनि अधिकारबिहीन आलङ्कारिक पद मानिन्छ । 

राष्ट्रपति सी, जनकाङ्ग्रेस प्रमुख झाओ र उपराष्ट्रपति हानले जनकाङ्ग्रेसका उपाध्यक्षसँग पदको सपथ पनि लिएका छन्  । राष्ट्रपति सीको तेस्रो कार्यकाल मुख्यरूपमा उनको पूर्णतः एकाधिकार युक्त राजनीतिक शक्तिमा केन्द्रित हुने, सम्भावित विरोधीहरूलाई समाप्त गर्ने र अति राष्ट्रवादको मुद्दालाई थप सुदृढ गर्न केन्द्रित हुने विश्लेषण अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूले गरेका छन् । 

साथै अमेरिकासँगको आर्थिक र सैन्य दुश्मनी बढेर जाने र प्रजातान्त्रिक विश्व व्यवस्थासँग अधिनायकवादी शक्तिको प्रतिस्पर्धा पनि चर्केर जाने विश्लेषण गरिएको छ । 

चीनको राजनीतिक स्थायी समितिमा रहेका अरु छ जना शक्तिसम्पन्न सदस्यहरू पनि राष्ट्रपति सी प्रति अतिनै निकट रहेको रहेको बताइन्छ । पोलिटब्युरोको कूल २४ सदस्य सबै पुरुष हुन् । 

जनकाङ्ग्रेसले चीनका प्रधानमन्त्री ली केकिङलाई पनि परिर्वतन गर्दैछ । उनको ठाउँमा राष्ट्रपति सीका विश्वास पात्र एवं सांघाईका पूर्व पार्टी प्रमुख ली छिङलाई राजनीतिक स्थायी समितिको दोस्रो वरियताको सदस्यकोरुपमा हिजो बिहिबार स्थापित गरिएको छ । त्यसैले अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुमा उनलाई भावि प्रधानमन्त्रीकोरुपमा चर्चा गरिएको छ ।  

 

 

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link