जापानको ऐतिहासिक शहर हिरोसिमामा आगामी मे मा हुने औद्योगिक सात राष्ट्रहरूको समूह (जी–७) मा आयोजक जापानले आफ्नो निकटतम मित्र राष्ट्रको रुपमा दक्षिण कोरियालाई पनि सहभागि गराउने भएको छ ।
जापानी प्रधानमन्त्री फुमियो किसिदाको मैत्रीपूर्ण आमन्त्रणमा दक्षिण कोरियाका राष्ट्रपति यून सुक योलले सो सम्मेलनमा भागलिने छन् ।
जापानको यो निर्णयलाई निकै महत्वका साथ हेरिएको छ, किनभने जी–७ को बैठकमा प्राय अरु देशलाई सहभागि गराउने गरिदैनथ्यो ।
जापानले यसबारे औपचारिक जानकारी दिएको भने छैन । जापानी टाइम्स लेख्छ–सम्मेलनको मिति तयसँगै अरु देशका नेतालाई र दक्षिण कोरियाका राष्ट्रपतिलाई पनि एकैपटक औपचारिक आमन्त्रण पठाइने छ ।
जापान र दक्षिण कोरिया बीच रणनीतिक साझेदारी बढाउन र पुरानो युद्धकालिन श्रमिक दासता वापतको क्षतिपूर्तिको मामिलालाई टुङ्गयाउन पनि यो आमन्त्रणको निकै महत्व रहेको सो पत्रिकाले उल्लेख गरेको छ ।
उत्तर कोरियाले निरन्तर जारी राखेको ब्यालिसिटक मिसाइल परीक्षणको सन्र्दभमा अमेरिकासँग जापान र दक्षिण कोरियाको त्रीपक्षीय रणनीतिक साझेदारीलाई सबल बनाउन सो अवसरले मद्दत पुग्ने विश्वास जापानी टाइम्सले व्यक्त गरेको छ । अमेरिकाले जापान र दक्षिण कोरिया सहितको नयाँ रणनितिक साझेदारीको अवधारणा अगाडि बढाइरहेको छ । यसबारे पनि जापान र दक्षिण कोरियाको शिर्षस्थ दुई नेताबीच आगामी मार्च मध्यममा टोकियोमा पुन छलफल हुँदै छ । दक्षिण कोरियाली राष्ट्रपति र जापानी प्रधानमन्त्रीबीच हालै भएको भेटघाट पछि यो दुईवटा कदम अगाडी बढेको सो पत्रिकाले जानकारी दिएको हो ।
जापान र दक्षिण कोरियाबीचको यो बढ्दो रणनीतिक घनिष्टताले एसिया प्रशान्तक्षेत्रमा चीन र उत्तरकोरियासँगको सम्बन्धमा थप तनावको वातावरण बढ्ने अनुमान गर्न सकिन्छ ।
जापान, दक्षिणकोरिया र अमेरिकाबीचको दुइपक्षीय र त्रीपक्षीय सैन्य साझेदारी थप मजबुत गराउन जापान र दक्षिण कोरियाले आफ्ना अरु विवादहरू लाई पनि घटाउन थालेका छन् ।
जी सात राष्ट्रहरूमा अमेरिका, संयुक्त अधिराज्य बेलायत, जापान, इटली, जर्मनी, फ्रान्स र क्यानडा रहेका छन् । यसलाई विश्व मानचित्रमा लोकतान्त्रिक गुटपनि भनिन्छ । किनकि औद्योगिक विकासमा अगाडि भएपनि रुस र चिन यस समूहमा छैनन । बहुलवाद र जनप्रतिनिधिमूलक सरकारमा विश्वास गर्ने मान्यतामा प्रतिबद्ध राष्ट्रहरू मात्र यसमा सामेल हुने मान्यता छ । यो समूहमा दक्षिणकोरियाको पनि सहभागिता गराउनु निकै अर्थपूर्ण मानिएको छ ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार