सुद्धिकरण चलाउँदै गर्दा पत्रकारकै गाडीमा भेटियो लागुऔषध

नेपाल पत्रकार महासंघले आफ्नो केन्द्रीय समिति बैठक र राष्ट्रिय मिडिया सम्मेलनले सदस्यता शुद्धीकरण अभियानलाई थप प्रभावकारी बनाउने प्रस्तावलाई सर्वसहमतिबाट पारित गर्दै घोषणापत्र जारी गरेको भोलिपल्ट पर्सा प्रहरीले प्रेस लेखेको गाडीबाट ठुलो मात्रामा लागुऔषध बरामद गरेको छ। पर्सा इनर्वा प्रहरी चौकिबाट खटेको  प्रहरी टोलीले परीक्षणको क्रममा वीरगञ्ज स्थित रजनजयन्ती चोकबाट उक्त गाडी सहित एक युवकलाई पक्राउ गरेको छ। प्रहरीले ‘टी मिडिया प्रा.लि. द्वारा सञ्चालित ‘निगरानी अनलाइन डटम’ को गाडीबाट ठुलो मात्रामा लागूऔषध बरामद गर्नुका साथै चालकलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा मकवानपुर जिल्ला हेटौंडा उप–महानगरपालिका – ४ निवासी गोपाल स्याङ्गतान रहेका छन्। बा ७ च ४६४२ नम्बरको प्रेस लेखेको सेन्ट्रो कारमा भारतीय सिमावर्ती सहर रक्सौलबाट  लागुऔषध लोडगरी ल्याइरहेको अवस्थामा प्रहरीले चालक र गाडीलाई नियन्त्रमा लिएको हो।भारतबाट वीरगञ्जतर्फ आइरहेको अवस्थामा चेकजाँचको क्रममा लागुऔषध सहित चालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकीले जानकारी दिनुभयो। गाडीबाट २४० थान नाईट्रोभेट ट्याब्लेट, १०० एमएलको १९८ बोत्तल ओनेरेक्स र नेपाली ६५ हजार रुपैयाँ नगद सहित स्याङ्गतानलाई नियन्त्रणमा लिइएको नायव प्रहरी उपरिक्षक बुढाथोकीले  बताउनु भयो।
सिमावर्ती भारतीय शहर रक्सौलबाट नेपाल आएको गाडीमाथि शङ्का लागेर प्रहरीले रोकी रितपूर्वक परीक्षण गर्दा लागूऔषध र नगद बरामद भएको प्रनाउ बुढाथोकीको भनाई छ। स्याङ्गतानको साथबाट निगरानी अनलाइनद्वारा जारी गरिएको प्रेस कार्ड पनि बरामद भएको छ। लागूऔषध र नगद सहित स्याङ्गतानलाई नियन्त्रणमा लिएर उनिमाथि लागूऔषध सम्बन्धि मुद्दा दर्ता गरि अदालतबाट म्याद थप गर्ने प्रक्रिया अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। ‘निगरानी अनलाइन डटकम’ हेटौंडा मूख्य कार्यकाल भई ‘टी मिडिया नेटवर्क प्रा.लि.’ द्वारा सञ्चालित छ। मिडियाका अध्यक्ष आदर्श सिंह थोकर छन्।

यसबीच नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको आठौँ बैठक नवलपरासीको रामग्राम र ‘राष्ट्रिय मिडिया सम्मेलन’ रुपन्देहीको लुम्बिनीमा सम्पन्न भएको छ। २०७९ चैत १६–१७ गते सम्पन्न केन्द्रीय समिति बैठक र राष्ट्रिय मिडिया सम्मेलनले सदस्यता शुद्धीकरण अभियानलाई थप प्रभावकारी बनाउने प्रस्तावलाई सर्वसहमतिबाट पारित गर्दै यो घोषणा जारी गरेको छ।

१. नेपाल पत्रकार महासंघलाई क्रियाशील पत्रकारको साझा संगठनका रुपमा विकास गर्न सदस्यता शुद्धीकरण अभियानलाई थप प्रभावकारी बनाउन यो सम्मेलन प्रण गर्दछ। सदस्यता शुद्धीकरणका लागि तयार मापदण्डलाई प्राप्त सुझावलाई समेटेर अन्तिमरुप दिने र प्रस्तावित तालिका अनुसार नै काम गर्ने प्रतिवद्धता जनाउँदछ।

२. पत्रकारितामा लामो समयदेखि क्रियाशील नभएका र अन्य पेशामा लागेकाहरुलाई सदस्यता परित्यागका लागि यो सम्मेलन आग्रह गर्दछ। त्यसरी सदस्यता त्याग गरेको लिखित जानकारी गराउने सदस्यलाई सम्मानसहित विदाइ गर्ने र जनप्रतिनिधि, सरकारको पूर्णकालीन कर्मचारीको सदस्यता स्वतः समाप्त हुनेगरी काम थाल्न तीनवटै समितिलाई यो सम्मेलन निर्देश गर्दछ।

३. विधानको दफा ५ को उपदफा (८) अनुसार आउँदो महाधिवेशन भन्दा ६ महिना अगाडीसम्म कायम सदस्यले मात्रै महासंघको आउँदो चुनावमा मतदानमा भाग लिन पाउने व्यवस्थालाई थप प्रभावकारी ढंगले कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गर्दछ।

४. नेपालको संविधान २०७२ ले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पूर्ण प्रत्याभूत गरेपनि त्यसपछि गठन भएका तीनवटै तहका सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक हकलाई पूर्णतः कार्यान्वयनमा ल्याउन बनाउनु पर्ने सञ्चार सम्बद्ध कानूनहरु नबनेकोप्रति नेपाल पत्रकार महासंघको यो सम्मेलन गम्भीर चासो र चिन्ता व्यक्त गर्दछ।

नागरिक अधिकार, प्रेस स्वतन्त्रता, सूचनाको हक सुनिश्चितासहितको प्रेसमैत्री कानून निर्माणका लागि यो सम्मेलन पुनः माग गर्दछ। साथै, संविधानअनुसार बन्नुपर्ने सञ्चार सम्बद्ध निकायको गठन तथा पूर्णताका लागि पनि सरकारको ध्यानाकर्षण गराउँदछ। राजनीतिक दललाई पनि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारको संविधान प्रदत्त अधिकारलाई कार्यान्वयन गर्न आग्रह गर्दछ।

५. श्रमजीवी पत्रकार ऐनलगायतका विद्यमान कानूनअनुसारका न्यूनतम पारिश्रमिक, सेवा सुविधालगायत प्राप्तिबाट श्रमजीवी पत्रकारहरु बञ्चित भइरहेका छन्। यो सम्मेलन ऐनको पूर्ण कार्यान्वयन, समय सापेक्ष न्यूनतम पारिश्रमिकको वृद्धि र तोकिएका सेवा सुविधाहरू पूर्ण कार्यान्वयनका लागि सरकार र सम्बन्धित सञ्चार गृहलाई आग्रह गर्दछ। साथै दबाब, आन्दोलन र कानूनी उपचारलगायतका ट्रेड युनियन अभ्यासलाई थप प्रभावकारी बनाउने प्रण गर्दछ।

६. सञ्चारमाध्यमको दिगो र भरपर्दो ढंगले सञ्चालन गर्नका लागि समानुपातिक विज्ञापन प्रणालीलाई तत्काल लागू गर्न माग गर्दै यो सम्मेलन स्थानीय सरकार मातहतको निकायको विज्ञापन स्थानीय सञ्चारमाध्यमलाई र प्रदेश सरकार मातहतको विज्ञापनलाई प्रदेश अन्तरगतका सञ्चार माध्यममा दिनेगरी व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गर्दछ।

७. पत्रकार आचारसंहिताको पूर्ण पालना गर्दै जिम्मेवार र मर्यादित पत्रकारिता गर्न सबै सञ्चारकर्मीलाई पुनः आह्वान गर्दै यो सम्मेलन पेशागत दक्षता अभिवृद्धि गर्न तालिम तथा वृत्ति विकासका लागि सञ्चालन गर्दै आएका कार्यक्रमलाई अभियानकै रुपमा अघि बढाउने घोषणा गर्दछ।

८. गौतम बुद्धको जन्मस्थल लुम्बिनी, अस्तुधातू मध्येको एक अस्तुधातू रहेको नवलपरासीको रामग्राम, कपिलवस्तुको तिलौराकोट, बुद्धको मावली स्थल देबदह क्षेत्रको प्रचार प्रसार, सम्बर्धन, संरक्षण र आवश्यक पूर्वाधार विकासका लागि लुम्बिनी विकासको गुरुयोजना पूर्ण कार्यान्वयनका लागि सबै तहका सरकार तथा लुम्बिनी विकास कोषलाई यो सम्मेलन आग्रह गर्दछ।

अनिल तिवारी/वीरगञ्ज
चन्द्रकान्त खनाल/रुपन्देही

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link