घोराही उपमहानगरपालिका-१८ घोरदौराबासीले वर्षौँदेखि खानेपानीको समस्या झेल्दै आइरहेका छन्। यहाँ गर्मी मौसममा अझ धेरै खानेपानीको समस्या हुने गरेको छ। आठ किलोमिटर टाढाबाट ल्याइएको पानीको मुहान गर्मी बढेसँगै सुकेपछि समस्या हुने गरेको हो। उपल्लो घोरदौरा निवासी सरस्वती विक घरनजिकैको धारामा पानी सुकेपछि ४५ मिनेट टाढा धरमपानी बाट पानी बोकेर ल्याउने गरेको बताउनुहुन्छ। हरेक दिन खानेपानी जोहो गर्नै समस्या हुने गरेको उहाँले बताउनुभयो। विकले भन्नुभयो, “गर्मी बढेसँगै गाउँमा पानीको सङ्कट हुन्छ।” पानी लिन आउँदा ओरालो भए पनि फर्किंदा डेढ घण्टा उकालो हिँड्नुपर्ने उहाँले सुनाउनुभयो।
घोरदौराकै झिनीगाउँ निवासी सिर्जना भण्डारी वर्षा सुरु भएसँगै खानेपानीको दुःख भएको बताउनुहुन्छ। एउटै धारमा पालो कुरेर पानी भर्दा …
