महाभारतकालीन विराट राजाको सालो किच्चकको दरबार रहेको विश्वास गरिएको भद्रपुर नगरपालिका–३ स्थित किच्चकबधस्थलमा पुरातत्व विभागको टोलीले आठौँ चरणको उत्खनन गरेको छ ।
उत्खनन गर्दा पुरातात्विक महत्वको ‘दरबारको जग’ भेटिएको पुरातत्वविद् उद्धव आचार्यले जानकारी दिनुभयो । उहाँको नेतृत्वमा पुरातत्व विभागबाट आएको चार सदस्यीय टोलीले यही फागुन २५ गतेदेखि किच्चकबध स्थलमा उत्खनन तथा संरक्षणको कार्य निरन्तर गरिरहेको छ ।
विभागका अधिकृत नवराज अधिकारीले किच्चकबध स्थलमा विसं २०५८ देखि विभागले आचार्यको नेतृत्वमा उत्खनन गरिरहेको बताउनुभयो । उहाँका अनुसार यसपटक जारी उत्खननका क्रममा तीन मिटरभन्दा गहिरो जग र केही प्राचीन सामग्रीहरू भेटिएका हुन् । भेटिएको जगको इँटाहरू विगतमा फेला परेका इँटासँग मिल्दोजुल्दो छ ।…
