सर्प बन्न श्रापित राजा नहुषको मुक्ति मार्ग

हरिविनोद अधिकारी

द्वापर युगमा पनि ऋषिहरू स्वर्ग , पृथ्वी र पातालमा जान आउन सक्थे भन्ने महाभारत र पुराणहरूका विभिन्न आख्यान र उदाहरणहरूले देखाएका छन्। महाभारतका विभिन्न पर्वमा गरिएका बयान र व्याख्याले ती कुराहरूलाई सङ्केत गरेका छन्। ऋषिहरू कहिले इन्द्रलाई सुझाव दिन गएका हुन्छन् त कहिले ब्रह्मा, विष्णु र महेश्वरसँग विभिन्न विषयमा , ब्रह्माण्डको हितका लागि वार्ता गर्न गइरहेका पाइन्छन्। यसरी सांसारिक , ब्रह्माण्डीय र विभिन्न योनिका बारेमा जानकारीका लागि ब्रह्मर्षि नारदले सबैतिरको संवादलाई अगाडि बढाएको पाइन्छ। ऋषिहरूको काम भनेको खगोलसहित, स्वर्गसहित, पातालसहित विभिन्न संसार परिभ्रमण गर्ने र कतै पनि अन्याय नहोस् , राजाहरू अन्यायी नहुन र कसैले पनि दुःख नपाओस् भन्ने कुरामा बढी नै ध्यान दिने र त्यो समस्याको समाधान कसरी गर्ने भन्ने विषयमा सधैँ चिन्तित हुने गरेको देखिन्छ। ऋषिकुल परम्परालाई पछि गुरुकुलको रुपमा विकसित गरियो होला। कलियुगमा यो संवाद हुन नसकेको देखिन्छ किनभने जे कारणले मानिसको योनिमा दुःख हुने हो , पछि त्यही कुरामा सबैको ध्यान गयो। सुख र आनन्दको नाममा भोगविलासले प्रश्रय पायो जसले पापको वृद्धि भयो भन्ने मान्यता छ।

त्यसो त धर्म र पापका बारेमा पनि विभिन्न विचार पाइन्थ्यो। तर यहाँ प्रसङ्ग अजरअमर आशीर्वाद पाएका, कल्पकल्पसम्मका प्रत्यक्ष साक्षी अष्टचिरञ्जीवी मध्येका महामुनि मार्कण्डेयको छ। ऋषिहरू सामान्यतया जानकारी दिएर नआउने, अर्थात् तिथि तोकेर नआउने हुनाले उनीहरूलाई विशिष्ट अतिथिको रुपमा स्वीकार गरिन्थ्यो। एउटा ऋषिले अर्को ऋषिलाई सम्मान गर्ने भएकाले, विशिष्ट अतिथिको रुपमा लिने भएकाले र सबै ऋषिमा सबै गुणहरू , सबै प्रकारका क्षमता नहुने भएकाले नै अरुलाई आफूभन्दा जान्ने, असल र गुणवान मान्ने परम्परालाई ऋषि संस्कार भनिएको होला।

जब कुरुकुलमा विग्रह देखियो र पाण्डु महाराजकी छोराहरू पाँचभाइकी साझा रानी (बुहारी) पाञ्चालीसहित छोराहरू युधिष्ठिर, भीम, अर्जुन, नकुल र सहदेव छलकपटमा पारिएर बाह्रवर्ष वनबास र एक वर्ष गुप्तबासका लागि वनतर्फ गएपछि ऋषिहरू, देवता, यक्ष, राक्षस सबैको ध्यान उनीहरूको परिभ्रमणतर्फ केन्द्रित भएको पाइन्छ। मनमा जतिसुकै ताप, रिस, आवेग र प्रतिशोधको भावना भए पनि पाण्डवहरूले पटक्कै त्यस्तो देखाएनन्। अचम्म त के थियो भने राज्यको हालीमुहालीचाहिँ धृतराष्ट्र महाराजका नाममा राजकुमारहरू दुर्योधन, दुःशासन, महारानी गान्धारीका दाजु गान्धार नरेश शकुनि र धृतराष्ट्रका सारथि अधिरथले पालेर राखेको र उनकी पत्नी राधाले लाडप्यार दिएर राखेको , अति बलवान कर्णको थियो तर स्वर्ग, पाताल, आकाश तथा पृथ्वीका राजाहरूको चासोचाहिँ वनबासी पाण्डवहरूप्रति थियो। जोजो महाराज धृतराष्ट्र र उनका पुत्रहरूका पक्षमा थिए, उनीहरूको चासो पाण्डवहरू अब कहिल्यै हस्तिनापुर या इन्द्रप्रस्थ फर्केर आउन नसकून् भन्नेमा थियो भने धर्मप्रति आस्थाहुनेऋषिदेवताहरूको चासो भने (किनभने उनीहरूलाई भविष्यमा पाण्डवहरूको विजयका बारेमा जानकारी थियो) १३ वर्षपछि राज्यसञ्चालन गर्ने चक्रवर्ती नरेशका रुपमा युधिष्ठिर नै आउने भएकाले उनमा असल राजाका गुणहरू विद्यमान हुनुपर्छ भन्ने कारणले वनबासको समय खेर नजाओस् भन्दै पाण्डवहरूलाई उपदेश दिने, दुःख त सबैले पाउँछन् अनि दुःखको फल सुखले परिपूर्ति गर्छ भन्ने समवेदना दिनु पनि थियो। त्यसमा कल्पकल्पका साक्षी महामुनि मार्कण्डेय चासो बढी नै थियो। स्वयं ब्रह्माजीको आशीर्वादले लामो आयु पाएका अष्ट चिरञ्जीवीमध्येका  एक दीर्घायु ऋषि मार्कण्डेय, जो पुष्कर क्षेत्रमा  तपस्यारत थिए, उनी दुईपटक वनबासी पाण्डवहरूसमक्ष उपस्थित भएर पथप्रदर्शन गरेका थिए।

पहिलोपटक द्वैतवनमा आएर उपदेश दिएर गएका महामुनि कहिले फर्कने भन्ने टुङ्गो नभए पनि पाण्डहरूहरूलाई विभिन्न तीर्थाटनपछि पक्कै नै महामुनि आउनु हुनेछ र भोलिको राज्य सञ्चालनका लागि आवश्यक पथप्रदर्शन र उपदेश दिनु हुनेछ भन्ने विश्वास थियो। महाभारतमा दिइएको जानकारीले के थाहा पाइन्छ भने हस्तिनापुरमा कसरी पाण्डवहरूलाई १३ वर्षपछि पनि राज्यबाट वञ्चित गर्ने भन्ने षड्यन्त्र, प्रतिशोध र नकारात्मक सोचाइले मात्र ग्रस्त गरेको पाइन्छ भने पाण्डवहरू यसरी अचानक सजायका रुपमा प्राप्त वनबास र गुप्तबासलाई भावी राज्य सञ्चालनको प्रशिक्षणका रुपमा कसरी सदुपयोग गर्न सकिन्छ भन्नेमा देखिन्थ्यो।

महामुनि आउनु भन्दा पहिले एउटा अचम्मको घटना घट्यो। पातालमा गएर अमृत सेवन गरेपछि माहिला पाण्डवमा दश हजार हात्तीको बल सञ्चित भएको थियो। त्यस्ता भीम एउटा सर्पको चंगुलमा फसेका थिए र उनले कसैगरे पनि त्यो सर्प या अजिङ्गरको बन्धनबाट आफूलाई फुत्काउन सकिरहेका थिएनन्। भएको के थियो भने राजा बृषपर्वाको आश्रममा केही दिन बसेर पाण्डवहरू हिमाली प्रदेशको यात्रामा हिँडेका थिए। बृषपर्वाको राज्यबाट विभिन्न राज्यहरू चीन, तुषार, दरदकुलिन्द देशहरू पार गर्दै हिमालयको  दुर्गम प्रदेशहरू पार गर्दै किराँती राजा सुबाहुको राज्यमा पुगे। यसरी हिमाली भेगमा भ्रमण गर्दा कतिपय खोँच आउँथे, कतिपय एउटा डाँडाबाट अर्को डाँडाहरूसम्म पुग्न मुस्किल परेको बेलामा भीमपुत्र घटोत्कचले सबैलाई बोकेर अर्को डाँडामा पुर्‍याउँथ्यो। एउटा देशबाट अर्को देशमा पुग्न पनि घटोत्कचले आकाशमार्गबाट पुर्‍याउँथ्यो। यसरी विकट हिमाली भेगको भ्रमण गर्दै , विभिन्न प्राकृतिक अनुपम सुन्दरताको अवलोकन गर्दै हिमाली राज्यमा राज्य गर्ने किराँती राजा सुबाहुको राज्यमा पुगे। सुबाहुले जब थाहा पाए कि साधुको भेषमा , वनबासी राजा युधिष्ठिर आफ्नो राज्यमा आएका छन् भन्ने कुरा, उनले भव्य स्वागत गरे। सुबाहुले पाण्डवहरूलाई आफ्नो पहाडी , हिमाली राज्यको अवलोकन गराई रहेका थिए। सुबाहुको राज्यबाट अरुणोदयमा सूर्यको तामाको जस्तो स्वरुप देखेर पाण्डवहरू मोहित भएका थिए। हिमाच्छादित पहाडमा बालसूर्यको किरण पर्दाको मनोरम दृश्य , पहेँलो, रातो, सेतो तथा सप्तरंगीले पाण्डवहरूको मनलाई खुसी तुल्याएको थियो।

सुबाहुको आतिथ्य ग्रहण गरेकै बेलामा युधिष्ठिरले घटोत्कचलाई बिदा गरे किनभने सुबाहुले दिएका विभिन्न रथ, यानहरूका सहयोगमा हिमाली भेगको यात्रा चलेकै थियो। त्यही बेलामा तीर्थयात्री झैँ पाण्डवहरू यमुनाको शिरमा गएर स्नान गर्ने विचारले जाँदै थिए। हिमाली क्षेत्रको विशाखयूप नामको वनमा निवास गरेका थिए। यमुनाको शिरमा जाने लक्ष्य थियो। त्यतै हिमाली क्षेत्रमा घुम्दाघुम्दै पाण्डवहरूको एकवर्ष बितेको उनीहरूलाई थाहै भएन। यमुनाको शिरमा पनि पुगे। अनि उनीहरू जुन बाटो गएका थिए, त्यही बाटो फर्कँदै थिए। वनमा हिमाली वनमा जाँदाको बेलामा हिमाली कन्दरामा भीम भयङ्कर अजिङ्गरका चपेटामा परेका थिए। त्यो महाबली अजिङ्गर भोकले पीडित थियो। त्यो अजिङ्गरको चाल देखेर निर्भयी भीममा अचानक डर पैदा भयो।  तर पछि युधिष्ठिरले भीमलाई छुटाएर आफ्नो गन्तव्यतर्फ लागे। यो एघार वर्षको अन्त्यतिरको कुरा थियो।

जन्मेजय महाराजले वैशम्पायन ऋषिसँग सोधे —महाबली भीम त्यो सामान्य सर्पसँग त्यसरी किन भयभीत हुनुभयो त ऋषिजी ? जबकि उहाँ त कालसँग निर्भय भएर लड्न सक्ने क्षमता राख्नुहुन्थ्यो। अनि त्यस्ता शत्रुहन्ता भीम एउटा हिमाली कन्दरामा फेला परेको सर्पसँग डराएर ,तर्सेर मर्ने भइयो भने बसेको बेलामा कसरी महाराज युधिष्ठिरले देख्नु भयो र छुटाउनु भयो त ? (स्मरणीय छ, अहिले उपलब्ध भएको महाभारत भनेको व्यासले आफूले रचना गरेको जय नामक इतिहासको कथा सुनाएका उनका शिष्यहरू पैल, वैशम्पायन, सुमन्तु, शुकदेव, जैमिनिमध्ये वैशम्पायनले महाराज जन्मेजयलाई उनको जिज्ञासा शान्त पार्नका लागि पहिले व्यासले भनेको कथा फेरि भनेका हुन्। त्यसैले अहिले उपलब्ध महाभारत ऋषि वैशम्पायनले जन्मेजयलाई सुनाएको भागमात्र हो। करोडौँ श्लोकको महाभारत अहिले मात्र १ लाख श्लोकमा मात्र  पाइन्छ। त्यही भित्रको वनपर्वको एउटा प्रसङ्गको यो एउटा कथा हो।)

वास्तवमा त्यो सर्प सामान्य थिएन। त्यो त इन्द्रका आसनमा बसेका पृथ्वीका महाबली राजा नहुषको श्रापित स्वरुप हिमाली कन्दरामा श्रापमुक्त हुने समय कुरेर बसेको थियो। तर अजिङ्गरको योनिमा परिणत भएपछि जुन योनिमा स्वरुप ग्रहण गर्‍यो, त्यही अनुसारको जीवन चक्र चलाउनै पर्ने हुनाले अजिङ्गरको भोक शान्त पार्नका लागि प्राप्त आहारालाई समाउनु पर्ने नै थियो। भीमलाई त्यो कन्दरामा पहाडको गुफा नै ढाकेर त्यस्तो सर्प होला भन्ने नै परेको थिएन। त्यसैले असावधानीमा नै अजिङ्गरले फेला पारको थियो। अजिङ्गर मानव भाषा बुझ्थ्यो, बोल्थ्यो र दोहोरो वार्ता  गर्थ्यो।

त्यो बेलासम्ममा वनबासी पाण्डवहरू फर्केर बृषपर्वाको आश्रममा आएर  नजिक बसिसकेका थिए । त्यहाँको प्राकृतिक छटा पनि कमको थिएन। स्वतन्त्रतापूर्वक विचरण गरे हुने सुरक्षित ठाउँ भएकाले भीम पनि सहज तरिकाले घुम्दै जाँदा अचानक त्यो सर्पको छेउमा पुगेका हुन्।

त्यो सर्पले कस्तो  वरदान पाएको  थियो भने उसले स्पर्श गरेको जुनसुकै प्राणीको चेतना लुप्त हुन्थ्यो। त्यो सर्प साधारण सर्प नभएर स्वर्गका कार्यवाहक इन्द्रका रुपमा राज्य गरेका राजा नहुष थिए जसलाई ऋषि अगस्तिको श्रापले सर्पयोनि तत्काल जानुपर्ने श्राप पाउने बित्तिकै हिमाली कन्दरामा गएर अजिङ्गर भएर बस्नु परेको थियो। त्यही श्रापित नहुषको सर्पयोनि नै त्यो अजिङ्गर थियो। बोल्ने, सुन्ने, दोहोरो वार्ता गर्ने सर्पसँग भीमले अनुनय विनय गरे उनलाई छोड्नका लागि तर उसले आफ्नो पूर्व योनिको कथा त भन्यो, परिचय पनि दियो तर छोड्न मानेन।

जब सबै जम्मा भए तर भीमको अत्तोपत्तो नभए पनि उनको खोजी हुन थाल्यो। युधिष्ठिरचाहिँ बारम्बार भीममाथि पर्ने आघात तथा विपत्तिका कारणले चिन्तित थिए। विभिन्न अमंगल सूचक पनि देखिएकाले युधिष्ठिर धेरै नै चिन्तित देखिन्थे। भीमको खोजी सुरु भयो र उनी अजिङ्गरको चपेटामा परेको थाहा भएपछि युधिष्ठिरले आफ्नो महाबली भाइ भीमलाई आफ्नो बन्धनबाट छोड्न सर्पलाई अनुरोध गरे तर सर्पले बल्ल बल्ल कतिपछि, त्यो पनि दिनको छैठौँ प्रहरमा फेला परेको आहारा नछोड्ने दृढता देखायो तर एउटा सर्त राख्यो —यदि मेरा प्रश्नहरूको सही उत्तर दिने हो भने म सकुशल तिम्रो भाइलाई छोड्ने छु किनभने म पहिलो जुनीमा तिम्रो कुलको पुरानो राजा नहुष हुँ। चन्द्रमाको पाँचौ पीँढीमा जो आयु नामका राजा थिए, म उनकै छोरो राजा थिएँ। मेरो तपस्या र मन तथा इन्द्रियमाथि विजय प्राप्तिपछि मैले तीन लोककै ऐश्वर्य प्राप्त गरी म ऐश्वर्यवान् भएँ, मैले इन्द्रको स्थान पाएँ। तर मेरो ढिटोपनको कारणले र छिटोछिटो इन्द्राणी शचिको समीपमा लैजानका लागि गाली गर्दा भन्न पुगेँछु , कस्तो सर्पजस्तो घिस्रेको?  अनि ऋषि अगस्त्यले मेरो डोली बोक्नु भएको थियो अनि मलाई सर्पयोनिमा तत्कालै गिर्नका लागि श्राप दिनुभएकाले म सर्पयोनिमा छु। तर फेरि मेरो अनुनय विनय पछि ऋषिको आशीर्वादले मेरो यो जुनीमा पनि पूर्व ज्ञान र स्मृति लोप भएको छैन। अब मलाई उद्धार गर्ने काम तिम्रो हो। मेरा प्रश्नहरूको उत्तर दियौ भने म तिम्रो भाइ भीमलाई छोड्ने छु र म पनि मोक्ष भएर फेरि स्वर्गतिर जानै छु।

वनबासी महाराज खुसी भएर प्रश्नहरू सोध्नका लागि उत्प्रेरित गर्दै भने —हे सर्प, आफ्नो इच्छाअनुसारका प्रश्नहरू गर।

अनि सर्पले सोध्यो:

सर्प —राजा , ब्राह्मण को हो ? अनि ब्राह्मणले जान्नै पर्ने कुराहरू केके हुन् ?

युधिष्ठिर —नागराज सुन, ब्राह्मण त्यो हो जसमा सत्य, दान, क्षमा, सुशीलता, क्रूरताको अभाव , तपस्या, दया, यी सद्‌गुण देखिए भने त्यस्तो व्यक्तिमात्रै ब्राह्मण हुनसक्छ भन्ने स्मृतिहरूको ठोकुवा छ। अनि जान्नैपर्ने तत्त्वहरू केके हुन् भने परब्रह्मको ज्ञान जसले मानिसलाई  जुन दुःख र सुखभन्दा टाढा लैजाने हुन्छ , जहाँ पुगेपछि मानिस शोकबाट पार पाएको हुन्छ।

सर्प —महाराज, ब्रह्म तथा सत्य त चार वर्णमा जो सँग पनि हुनसक्छ। वेदले बताएको प्रमाणभूत सत्य, दान, क्रोधरहित , अक्रुरता, अहिंसा र दया त शूद्रमा पनि पाइन्छ, राजा तिम्रो भनाइले त ती गुणहरू भएपछि शूद्र पनि ब्राह्मण हुनसक्छ त ?

युधिष्ठिर —यदि वेद प्रणीत ती गुणहरू जुन मानिससँग छ, त्यो शूद्र हुनै सक्दैन, त्यो नै ब्राह्मण हो।  जन्मले कोही पनि ब्राह्मण या शूद्र हुँदैन। कर्मका आधारमा र गुणको संग्रहका आधारमा ब्राह्मण र शूद्र हुने हो। यदि उपर्युक्त गुणहरू छैनन् भने त्यो ब्राह्मण हुनै सक्दैन र गुणहरूले भरिएको व्यक्ति शूद्रकुलमा जन्मिएको भए पनि त्यो ब्राह्मण नै हो , म उसलाई ब्राह्मणको दर्जामा सम्मान गर्छु। जसरी हिउँमा तातो पन हुँदैन र आगोमा हिउँको चिसोपन हुँदैन, त्यस्तै गुणीमा शूद्रमा हुँदैन र शूद्रतामा ब्राह्मणत्व हुनै सक्दैन।

सर्प —यदि आचारका आधारमा ब्राह्मणको परीक्षा गर्छौँ राजा भने त्यो त कसरी सम्भव होला र वस्तुनिष्ठताका आधारमा ?

युधिष्ठिर —मेरो विचारमा मानिसहरूमा जातिको परीक्षा गर्न साह्रै कठिन छ किनभने सबै जातिको सम्मिश्रण भएर मानव जातिको विकास भएको छ। यस समयमा सबै वर्णको मिश्रणबाट वर्णसंकरको उत्पत्ति भएको छ। बोलचाल, मैथुन प्रवृत्ति, जन्म, मरण यी सबै मानिसहरूमा एकै प्रकारको देखिन्छ। यसको प्रमाण भनेको वेदमा ये यजामहे भनिएको छ किनभने सबै जातिको लागि यज्ञ  होमहोमादि एउटै हो , वेदमा ब्राह्मणका लागि मात्र यज्ञोपचार गरिने भनिएको छैन। जब बालक जन्मन्छ, उपनयनको संस्कार पछिमात्र जाति छुट्याइन्छ। अनि त्यो बेलासम्म जब एउटै मान्छेमात्र हुन्छ बालक भने उसलाई जस्तो कर्म गरायो, त्यस्तै फल दिनेछ। जब बालक जन्मन्छ , सालनाल काटिन्छ, त्यो बेलामा पिता आचार्य भनिन्छ, मातालाई  सावित्री मानिन्छ। अनि कहाँ रह्यो त फरक? यदि वेदाध्ययन गरेर पनि शीलस्वभाव सदाचारी छैन भने त्यो ब्राह्मण हुनै सक्दैन। जोसँग मानवीय संस्कार छ, मानवीयता छ , त्यो ब्राह्मण हुन योग्य हुन्छ सर्पराज।

सर्प —राजा युधिष्ठिर , मलाई थाहा थियो, भीमलाई मैले पक्रेर राखेँ भने तिमी आउने छौ र मेरा जिज्ञासाहरूको उत्तर दिने छौ। अब तिम्रा उत्तरहरूबाट म खुसी भएँ अब म कसरी तिम्रो भाइलाई खानसक्छु र ?

अनि सम्पूर्ण वेदका ज्ञाता , आफ्ना पूर्वज नहुषसँग स्वयं युधिष्ठिरले आफ्ना जिज्ञासा राखेर उत्तर सुन्न चाहे। युधिष्ठिरले सोधेका प्रश्नहरू र सर्पयोनिमा रहेका महात्मा नहुषका जबाफहरू अर्को प्रसङ्गमा। ऋषि अगस्त्यको श्राप मोचन हुने उपाय भित्र यो वार्तालाप पर्ने हुनाले सर्प र युधिष्ठिर वार्तालाप भएको हो। त्यसपछि मात्र राजा नहुष श्रापमोचन भएर स्वर्ग जाने रहेछन्। 

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

हरिविनोद अधिकारी का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link