युद्धपीडित आमाहरू

द्रौपदी अर्थात् पाँच नाथकी अनाथिनी—५५

अब यदुकुल ध्वस्त भएपछि एउटा समयको चक्र पूरा हुनेछ र आफू आफ्नै कुलको सर्वनाश गर्नका लागि आफैँ प्रयुक्त हुँदै थिए। सायद समय नै ईश्वर हो र ईश्वरको असीम कृपा भनेको नियति हो जुन हुनै पर्छ, नभई हुँदैन……

हरिविनोद अधिकारी

त्यो कारुणिक अवस्थाको कल्पना गरौँ। युद्धको समाप्ति भयो भन्ने बेलामा आन्तरिकरूपमा मानसिक युद्ध या द्वन्द्व यसरी सुरु भयो कि हार्ने कौरव पक्षमात्र होइन, जित्ने पाण्डव पक्षसमेत युद्धको परिणामका सम्बन्धमा सकारात्मक हुन सकेनन्। महारानी द्रौपदी पुत्रविहीन भएकी थिइन्। महारानी गान्धारीका सय पुत्र भीम एक्लैले मारेका थिए र उनी पनि पुत्रविहीन भएकी थिइन्।

महारानी गान्धारी जव युद्धस्थलमा निरीक्षणका लागि आइन्, उनलाई श्रीकृष्ण द्वैपायन व्यासले महारानी भनेर सम्बोधन गरेका थिए, तत्काल उनले प्रतिवाद गरिन् र भनिन्—सम्माननीय व्यास महोदय, मलाई अबदेखि महारानी नभनियोस् किनभने अबकी महारानी द्रौपदी हुन्, महाराज युधिष्ठिर हुन् र कुन्ती राजमाता। यस युद्धमा मात्र कुन्तीका पाँच भाइ छोराहरू जीवित रहेका छन्। मेरा सय भाइ सबै मारिए, द्रौपदीका पाँचै भाइ छोराहरू, सुभद्राको एकमात्र पुत्र अभिमन्यु, हिडिम्बाको घटोत्कच, र पाण्डवका अन्य महारानीहरूबाट जन्मेका समेत सबै युद्धका बलीवेदीमा आहूति भएका छन्। अर्जुनका रानीहरूमध्ये उलुपीका छोरा इरावान पनि महाभारतको युद्धमै वीरगति पाए। अर्जुनको वीर पुत्र अभिमन्युको युद्धमा नै वीरगति प्राप्त भएपछि उनकी आमा सुभद्रा हुनेवाला नातिको प्रतीक्षामा छिन् जो ब्रह्मास्त्रका मारले भ्रूण अवस्थामा नै मूच्छित छ।

सायद गान्धारीलाई मणिपुर राज्यको उत्तराधिकारी बभु्रवाहन जो त्यहाँको राजाको रूपमा रहेको छ, त्यसको बारेमा थाहा नभएर होला, त्यससम्बन्धी कुरा गान्धारीले गरिनन्। तर आफ्ना सयभाइ छोराहरूको लास खोज्न एउटी महारानी युद्धमैदानमा आएकी थिइन्। त्यसले द्रौपदीको पुत्रविहीन भएको आलो घाउ चहर्‍यायो र गान्धारीको गोडामा छाँद हालेर रुन थालिन् र भनिन्—महारानी यो युद्धले हामीलाई के दियो ? यतिका राजाहरू मारिए, हजुरका सयभाइ छोराहरू छैनन् र मेरा पनि सबै छोराहरू मारिए। हामी लासैलासको कुरुक्षेत्रबाट नयाँ राज्यको घोषणा गरौँला तर उत्तराधिकारीविहीन हस्तिनापुरको भार बोकेर महाराज युधिष्ठिरले राज्य सञ्चालन गर्नुपर्ने अवस्था सृजना भएको छ। कुन्तीले पनि सुनिरहेकी थिइन्। द्वारकाधीश श्रीकृष्णले पनि सुनिरहेका थिए।

कम्तीमा पनि गान्धारी, कुन्ती, द्रौपदी त आफ्ना सन्तानहरूको बारेमा सम्झँदै रुँदै त थिए तर हस्तिनापुरका सबैभन्दा ठुला मानिस मानिएका भीष्म पितामहका बारेमा रुने सायदै कोही थियो। यो त सत्ताको सामान्य प्रक्रिया नै हो जसले वर्तमानको सामयिक अवस्थामा मात्र केन्द्रित भएर वर्तमानको रक्षा गर्ने गर्छ। वर्तमानको मात्र विश्लेषण गर्छ। युद्धले दिने परिणामका बारेमा सबै दीक्षित नै थिए, सबैले विश्लेषण गरेकै थिए र युद्धमा जो जो होमिए, कौरव र पाण्डवका पक्षमा भनेर, ती आगाको ज्वालामा पुतली झुम्मिएझैँ झुम्मिदै युद्धमा बाँडिएर लडिरहेका थिए। कृष्णको स्पष्ट धारणा थियो, जे भइरहेको छ, त्यो हुनै पर्ने थियो र हुने नै छ। यसमा कसैले चाहेर या नचाहेर केही हुनेवाला छैन। जे हुने हो भएरै छाड्छ।

महाभारत युद्धको परिणाम अपेक्षित नै थियो। पाण्डवको पक्षलाई धर्मको पक्ष मानिएको थियो र उनीहरूको प्राकृतिक हकमा परेको राज्यको भाग नदिने घमण्डले सबै गुमेको अवस्था थियो धृतराष्ट्रका लागि। धृतराष्ट्रको मनमा पाकेर रहेको कुण्ठाले धृतराष्ट्रलाई नै राज्यविहीन बनायो, पुत्रविहीन बनायो। हुन त धृतराष्ट्रका एकसय मात्र छोराहरू थिएनन्, अर्को युयुत्सु नामको राजकुमार पनि थियो जसले पाण्डवको शिविरमा बसेर युद्धमा भाग लिएको थियो। कसरी युयुत्सु पाण्डवका पक्षमा गयो भन्ने पनि रोचक कारण देखिन्छ।

आखिर महाभारतको युद्ध पारिवारिक राज्यबण्डाको कारणले विस्तारित भएर गएको थियो, अन्ततः जे परिणाम आए पनि युद्धले नै छिनोफानो गर्ने सल्लाह भयो भन्ने मानौँ। पाण्डवका पक्षबाट शान्तिदूत भएर आएका वासुदेवको प्रयासले कुनै सकारात्मक परिणाम आएको थिएन। परिवारभित्रको विवाद भएकाले परिवारभित्र को कता लाग्ने, कसलाई कताबाट लड्ने स्वेच्छाले निर्णय लिने गरी छनोटको समय दिइएको बेलामा हस्तिनापुरका राजकुमार युयुत्सुले पाण्डवहरूलाई अन्याय भएको वकालत गरिरहने भएकाले पाण्डवहरूको शिविरमा बस्ने निर्णय गरेका थिए जसरी कि नकुल र सहदेवका मामा मद्र नरेश शल्य कौरवतर्फबाट लड्ने निधो गरिएको थियो जसले १८औँ दिनका दिन कौरवहरूको बाँकी सेनाहरूको सेनापतित्व ग्रहण गरेका थिए किनभने शल्य वहुआयामिक योद्धा थिए। उनी निपुण सारथि पनि थिए भन्ने कुरा महारथी अंग नरेश कर्णको सेनापतित्वमा उनले नै सारथिको काम गरेका थिए।

युधिष्ठिरले आदर्श राजाको कर्तव्य पालनामा कुनै कमी हुन दिएका थिएनन् र पनि स्वाभाविक रूपमा नै प्रतिस्पर्धी भएर ११ अक्षौहिणी कौरव सेना र पाण्डव ७ अक्षौहिणी सेनाहरू जम्मा गरेर लडेको युद्धको आधिकारिक नायक त धृतराष्ट्र र युधिष्ठिर नै थिए। नियतिले जेजे गराएको भए पनि र जता जता डोर्‍याएको भए पनि युद्ध त पाण्डव र कौरवका बिचमा नै भएको थियो। सबैलाई युद्धले कुतकुत्याएको थियो। सबैले युद्धको परिणामलाई परैबाट देखे पनि, अनभूत गरेको भएपनि र इतिहासबाट पाठ सिकेको भए पनि युद्ध भएकै थियो, लाखौँ योद्धाहरू आगाको ज्वालामा पुतली ओइरिए जस्तै युद्धको बलीबेदीमा स्वाहा भएका थिए र केही योद्धाहरूमात्र जीवित रहेको स्पष्ट देखिन्थ्यो।

सबैलाई लाग्थ्यो, द्वारकाधीश श्रीकृष्णले चाहेको भए युद्ध टर्ने थियो। यही धारणा धृतराष्ट्रको मनमा गाडिएर रहेको थियो। धृतराष्ट्रको मनमा पाण्डुका महारथी छोराहरू पक्कै पनि लडेर, मानिस मारेर राज्य लिने छैनन् भन्ने थियो। उनीहरू आदर्शवान छन् तर आफ्ना छोराहरू ढिपी लिने भएकाले उनी आफ्ना छोराहरूको महत्वाकांक्षाको जलपभित्र आफ्नै आकांक्षा प्रतिविम्बित भएको पाउँथे। गान्धारीमा सत्यवादिता थियो, आफ्ना पक्षबाट भएको ज्यादतीको परिणाम पक्कै पनि छोराहरूलाई महङ्गो पर्ने कुरा खुलेआम भन्थिन् र पनि आफ्नो रगतको जित होस् भन्ने भित्री मनसाय लुकाएर राखेकी थिइन्। युद्धको परिणाम आएर युधिष्ठिर महाराजको रूपमा अभिषेक लिँदा पनि पाण्डवहरूले महाराजको रूपमा धृतराष्ट्रलाई नै सम्मान गरिरहेका हुन्थे। यो कुरा भीमलाई मन पर्दैनथ्यो र पनि उनीहरू दाजुको अपमान गर्न पनि सक्दैनथे। गान्धारी त कुन्तीको हेरचाहमा थिइन् र धृतराष्ट्र युधिष्ठिरको प्रत्यक्ष हेरचाहमा बाँचेका थिए जुनसुकै बेलामा पनि दुर्योधनलाई सम्झँदै र एकान्तमा रुँदै। एउटा परीक्षित नामको उत्तराधिकारी पनि हुर्कँदै थियो दरबारमा उत्तराको छोराको रूपमा।

दरबारमा तीनवटी रानीहरू थिए गान्धारी, कुन्ती र द्रौपदी। गान्धारीको मनमा दुर्योधनसहितका १०० भाइमात्र जेहेनमा आउँथे। कुन्तीको मनमा कर्णको वीरता र अभिमन्युको वीरता र उनीहरूको रिक्तताले पिरोलिई राखेको थियो। द्रौपदीका आँखाहरूमा आफ्ना छोराहरूको बीभत्स हत्याको कारणले आँसुको भेल थेगिएको थिएन। तीनओटै रानीहरू महाभारतको युद्धको मूल्याङ्कन आफ्ना आफ्ना तरिकाले मौनरूपमा गरिरहेका हुन्थे। धृतराष्ट्रमा भने दुर्योधनको आवाजको प्रतिध्वनिले सधैँ झकझकाई रहेको हुन्थ्यो। क्रमशः

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

हरिविनोद अधिकारी का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link