अश्वत्थामाको प्रतिशोध

द्रौपदी अर्थात् पाँच नाथकी अनाथिनी—५४

महाभारतमा श्राप र आशीर्वादको भारी बोकेका पात्रहरू भेटिन्थे र आफैँ ती श्राप र वरदानबाट किचिएर समाप्त भएका थिए ……

हरिविनोद अधिकारी

पछि महारानीका रूपमा सम्मानित द्रौपदीको प्रारम्भिक अवस्था पनि राजकुमारीको मात्र थिएन, महाराज द्रुपदले आफ्ना लागि भविष्यको धरोहरको रूपमा लिएका थिए। महाराज द्रुपदका छोराको रूपमा जनमानसमा समेत स्वीकार गरिएका तर जन्मले छोरीको रूपमा रहेका शिखण्डीले पाएको वरदानप्रति द्रुपद ढुक्क थिए कि उनको र अर्जुनको संयुक्त आक्रमणबाट मात्र कुरु शिरोमणि शन्तनुनन्दन देवब्रत धराशायी हुनसक्थे। तर कसरी? हो त्यसैले पनि राजकुमारीबाट महारानी भइसकेकी द्रौपदीको मनोविश्लेषण जरुरत छ किनभने उनको मनका भाव पढ्न सक्दामात्र महाभारतको युद्धको पृष्ठभूमि, तयारी र हारजितको चित्र छर्लङ्ग पार्छ।

महाभारत युद्धको परिणामलाई मनन गर्दा एउटा कल्पना बारम्बार गरिन्छ कि यदि स्वयंवरमा त्यस्तो जटिलतम सर्त नराखिएको भए द्रौपदीको वरण कसरी हुन्थ्यो होला? र कसले उनको वरमाला प्राप्त गर्थ्यो होला? यदि त्यही जटिल सर्तमा समेत अवस्थामा त्यो स्वयंवरमा कर्णले आफ्नो क्षमता देखाउन पाएको भए त अर्जुन आफ्नो ठाउँबाट उठ्नु भन्दा पहिले नै सर्त पूरा भइसकेको हुन्थ्यो। यदि माछाको आँखामा वाणले वेधन गर्नुपर्ने सर्त कर्णले पूरा गरेका भए द्रौपदी कर्णको हुनु पर्थ्यो  कि पर्दैन थियो? पक्कै कर्णको गलामा वरमाला लगाउन बाध्य हुनै पर्थ्यो । यदि द्रौपदीले कर्णको गलामा वरमाला पहिर्‍याउने अवस्था आएको हुन्थ्यो भने महाभारतको कथाले कुन रूप लिन्थ्यो होला? महाराज द्रुपदले आफ्नी छोरी याज्ञसेनीको हात कर्णको हातमा राखेर कन्यादान दिन्थे होलान् र द्रौपदी खुरुखुरु आफू सूतपुत्रको गलामा माला पहिर्‍याएर अंग नरेशको धेरै रानीमध्ये एक रानीको रूपमा हस्तिनापुरमा आउने थिइन्। उनको एउटै पति कर्णमात्र हुन्थे र उनको न त रूपको चर्चा हुन्थ्यो, न त उनको बौद्धिक क्षमताको चर्चा हुन्थ्यो, न त उनका कारणले श्राप र वरदानको शृङ्खला सुरु हुन्थ्यो। द्रौपदीका कारणले धृतराष्ट्रका पुत्रहरूसँग विवाद पनि हुँदैनथ्यो, धृतराष्ट्रका सय छोराहरूको कालका कारणमा पाण्डुनन्दन भीमको कुनै भूमिका हुँदैनथ्यो। न द्रौपदीले बाह्रवर्षसम्मको वनबास र एकवर्ष गुप्तबासको दुःखद समयको निर्बाह गर्नु पर्थ्यो, न त द्रौपदीको चर्चा नै हुन्थ्यो। सायद महाभारत युद्धको महानायिकाको रूपमा उनको गणना पनि हुँदैनथ्यो र उनका राजसी भूमिकाका कारणले महाकाव्यमा स्थान पनि पाउँदैनथ्यो जस्तो कि कर्णका अनगिन्ति महारानीहरूको त्यो समयमा कुनै भूमिका देखिएको थियो। न दुर्योधनका रानीहरूको नै युद्धको कारण र परिणाममा नै भूमिका देखिएको थियो।

त्यसो त द्रौपदीको रूपको कुरा त्यो समयमा चर्चाको विषय थियो किनभने उनी अयोनिजा याज्ञसेनी थिइन् र जन्मदा नै वयस्का नारीको रूपमा पृथ्वीमा अवतरित भएकी थिइन्। गुरुकुलमा सबैभन्दा तीक्ष्णबुद्धिका अध्येता द्रोणसँगको शत्रुताका कारणले द्रोणको राजसी अहंकार तोड्न, आफ्नो गुमेको आधा राज्य र उनको हत्या गर्न समेत सक्ने खालको पुत्र प्राप्तिका लागि पुत्रेष्टि यज्ञ गरिएकोमा त्यही यज्ञबाट कृष्णा जन्मेकी थिइन्। अनेक ताडना र अपमान सहेर पाण्डवहरूसँगको सम्बन्धलाई सहजीकरण गर्दै अगाडि बढेकी द्रौपदीको पनि त्यो बेलामा सबै घमण्ड चुरचुर भयो जब युद्ध जितिसकेको अवस्थामा, कर्ण—शल्य—दुर्योधनको अन्त्यको कारणले पाण्डव शिविरमा हर्षोल्लास छाएको बेला, जहाँ अब कुनै शत्रु बाँकी नरहेको आत्म घोषणा गरेकै बेलामा, पाञ्चाल शिविरमा अचानक बज्रपात परेको थियो जहाँ पाण्डवहरूका पक्षमा सेनापतिको कार्यभार सम्हालेका धृष्टद्युम्न, कुरु शिरोमणि भीष्म पितामहको शरशय्याका लागि कारण बनेका र भीष्ममाथि तीक्ष्ण वाण चलाएका शिखण्डी, पाण्डवहरूका महारथी पाँचै जना पुत्रहरूको सुतेकै बेलामा बीभत्स हत्याले नयाँ परिणामको साक्षात्कार गर्नु परेको थियो।

विजयको उन्माद मनाएर मस्त निद्रामा रहेका महारथीहरूको हत्याका मुख्य योजनाकार र कार्यरूप दिनेमा थिए द्रोणाचार्य पुत्र अश्वत्थामा। आफूलाई पढाएका, सिकाएका गुरु द्रोणको ध्यानमा रहेका बेलामा टाउको काट्ने धृष्टद्युम्नको हत्याको कारण स्वयं अश्वत्थामा बन्न चाहन्थे र बने पनि। जुनसुकै कारणले द्रुपदसँग वैमनश्यता भएको भए पनि धृष्टद्युम्नले गुरुघात गरेको कुरा उनका पुत्र अश्वत्थामाका लागि सह्य थिएन र आफ्ना पिताजीको हत्याको बदला लिने घोर प्रतिशोधको भावनामा झुल्सिएका महारथी अश्वत्थामाका लागि समयको चयन त्यस्तै बेलामा पर्‍यो जुनबेलामा पाञ्चाल शिविरमा भाते निद्रामा महारथीहरू थिए। अश्वत्थामाको रिस त युधिष्ठिरसँग पनि थियो किनभने नमरेको आफ्ना बारेमा धर्मको नाममा, सत्यवादिताको नाममा युधिष्ठिरले अश्वत्थामाको हत्याको हल्ला फिँजाउन सकेकाले पुत्र विषादका कारणले समाधिका लागि ध्यानमग्न हुँदा धृष्टद्युम्नले टाउको छिनाएर हत्या गरेका थिए।

द्रोणाचार्यका लागि वरदान थियो चिरञ्जीवी पुत्र। तिनै अश्वत्थामाको मृत्युले विह्वल भएका द्रोणचार्यको मात्र मृत्यु अवश्यंभावी थियो। अरुको कुरामा विश्वास नलागेर युधिष्ठिरको मुखबाट सुन्न चाहन्थे, गुरु अश्वत्थामाको मृत्यु भएकै हो। युधिष्ठिर भावी राजा हुने स्वार्थवश भन्न करलाग्यो—हे गुरु, मानिस हो कि हात्ती हो त तर अश्वत्थामा नामको प्राणीको मृत्यु त भएकै हो। हात्ती भन्ने बेलामा बाजा बजाएर आवाज सुन्न नसकिने बनाइएको थियो। त्यसैले जब अश्वत्थामाले युधिष्ठिरको असत्यवादिता (किनभने अश्वत्थामा जीवित नै त थिए) र युद्धको नियम विपरीत हतियार फालेर आँखा चिम्लेर ध्यानमग्न भएका गुरुको टाउको काट्ने धृष्टद्युम्नको हत्या गर्नु नै थियो।

आफूहरूलाई कुनै पनि हालतमा नमार्ने प्रण गरेका गुरुको हत्याका लागि त्यतिसम्म निचतम व्यवहार गर्ने पाण्डवहरूलाई मार्ने भित्री लालसा राखेका अश्वत्थामाका लागि त्यतिबेर अचम्म लाग्यो जब उनले धृष्टद्युम्न र शिखण्डीको हत्या गरे र हेर्दा पाण्डवहरू निस्फिक्री सुतिरहेका देखे। मौका यही हो भने सुतेकै अवस्थामा बीभत्स हत्या गरे तर ती पाण्डव थिएनन्, उनीहरूका पुत्रहरू थिए जो द्रौपदीबाट जन्मेका थिए। लुकेरै पाण्डवहरूलाई पनि सहजै मार्न पाउँदा उनलाई लाग्यो, युद्ध अब पो लडियो र जितियो।

भनिन्छ, बीभत्स तरिकाले सुतेकै ठाउँमा मारिएका पाण्डवहरू थिएनन्, ती त पाण्डवहरूका महारथी पाँच छोराहरू पो रहेछन् भन्ने कुरा दुर्योधनले पत्ता लगायो र भन्यो, अब बरबाद भयो नि अश्वत्थामा, अब कोही पनि बाँकी रहेनन् भावी पुस्ता किनभने पाण्डवहरूका पुत्रहरू पनि सबै मारिए, हाम्रा पनि सबै मारिए। अब वृद्ध पुस्तामात्र बाँकी रह्यो जोसँग पुनरुत्पादन गर्ने अब क्षमता रहेन।

खैलाबैला भयो, पाञ्चाल शिविरको बीभत्स दृश्यले महाभारतको युद्धमा कसको जित भयो भनेर भन्न पनि गाह्रो भयो। युद्धका लागि सधैँ आफ्ना पाँच पतिहरूलाई घोचिरहने द्रौपदीले युद्धपश्चात् के पाइन्? माइतीविहीन संसार, पुत्रविहीन संसार। कुन्तीले कर्णजस्तो छोरो मरेको सुन्नुपर्‍यो, युद्धलाई आफ्ना कुण्ठाको निकास मानेर आफ्नो नाममा एकलौटी हस्तिनापुरको राज्य कब्जा गर्न चाहने धृतराष्ट्रले के पाए युद्धपश्चात्? सय भाइ छोराहरूको मृत्यु। पाण्डवहरूका सबै रानीहरू मार्फत् जन्मेका सबै सन्तानहरू त्यही युद्धको बलीवेदीमा होमिए। मणिपुरमा रहेको बभ्रुवाहनको यहाँ वास्ता गरिएन तर अरु सबै त मारिए नै, भीमसेनको हिडिम्बामार्फत् जन्मेको पुत्र घटोत्कचसमेत मारिए। कोही बाँकी रहेनन्। मात्र बाँकी रह्यो अर्जुनको सुभद्रापट्टिबाट जन्मेको अभिमन्युको मृत्युपश्चात् उत्तराको गर्भमा हुर्किएको भ्रूण। भावी राजकाज गर्ने भनेर त्यही भ्रूणप्रति सबैको आशा बन्यो।

युद्धका बारेमा श्रीकृष्णले युद्धभूमिमा नै अर्जुनलाई भनेका थिए—यहाँ कोही भएर या नभएर केही हुनेवाला छैन, जे हुनु छ, त्यो भएरै छाड्छ। तिमीले युद्ध गर या नगर। हामी सबै निमित्त नायक मात्र हौँ, नियतिले सबै कुरा आफैँ गर्नेछ। समयको वहावलाई न कसैले रोक्न सक्यो, न समयको छालको मारबाट कोही बच्न सकेको छ। आत्माको चिरस्थायित्व हुन्छ, जसले यो बुझ्छ, ऊमात्र भवसागरबाट पार पाउँछ …..।

कोही पनि बलबान छैन, कोही पनि कमजोर छैन र समयका अघिल्तिर कालको पनि केही लाग्दैन भन्ने कृष्ण आफैँ गान्धारीलाई श्राप दिन उत्प्रेरित गर्दै समयको गर्भमा विलीन हुन द्वारका प्रस्थान गरे हस्तिनापुरबाट सहज तरिकाले। भन्दै हिँडे, कुरुकुलसँग संसार ध्वस्त भयो, साहित्य ध्वस्त भयो, इतिहास ध्वस्त भयो, संस्कृति ध्वस्त भयो। अब यदुकुल ध्वस्त भएपछि एउटा समयको चक्र पूरा हुनेछ र आफू आफ्नै कुलको सर्वनाश गर्नका लागि आफैँ प्रयुक्त हुँदै थिए। सायद समय नै ईश्वर हो र ईश्वरको असीम कृपा भनेको नियति हो जुन हुनै पर्छ, नभई हुँदैन। क्रमशः

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

हरिविनोद अधिकारी का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link