कुन्ती, द्रौपदीका मनमा पनि लागेको थियो, अन्यायविरुद्ध युद्ध होस् र श्रीकृष्णको सहयोग पाएर युद्ध जितिन्छ र अधर्मको नास हुनेछ ………

हरिविनोद अधिकारी
युद्ध मैदानमा कुन बेला सेनाहरू जान्छन्? कुनबेला युद्ध सुरु हुन्छ? कुनबेला हतियारहरूको गर्जनले युद्धभूमि थर्थराउँछ? जब मानसिक रूपमा पीडित र पीडक पक्षहरू आफ्नो जितको दुन्दुभि बजेको कल्पना गर्न थाल्छन्, अनि युद्ध साँच्चै सुरु हुने अवस्थामा पुग्छ। महाभारतमा को पीडित पक्ष हो र को पीडक पक्ष हो भन्न यसकारणले गाह्रो छ कि मुख्य पात्रहरू सबै आफूलाई पीडित ठानेका छन्। कतिपयको पीडक परिभाषित छैनन् भने कतिपयले पीडकको पहिचान गरेर युद्धको लागि तयारी गरेका पाइन्छन्।
महाभारतमा पात्रहरू पूर्वजन्ममा परेका श्राप र आशीर्वादको भारी बोकेर महाकाव्यमा पात्रता परीक्षण गरिरहेका पाइन्छन्। जस्तो कि शिखण्डिनी या शिखण्डीको अवस्था। उनलाई शन्तनुनन्दन भीष्मसँग बदला लिनु नै छ, त्यो पनि उनको इच्छामृत्युको कबचलाई उधारेर मृत्युशय्यामा सुताउनु छ र उनको मृत्यु पर्खेर बसेको पीडाको मलम लगाएर अघिल्लो जुनीको प्रतिशोध पूरा गर्नुछ। त्यसका लागि उनले वरदान पाएकी थिइन् र अहिले स्त्री योनिबाट पुरुष योनिमा परिवर्तन भएर युद्ध मैदानमा जाने योग्यता प्राप्त भएको छ महारथीको रूपमा।
हस्तिनापुरको शासनसँग कुनै पनि सर्तमा मिल्ने गरी यदि शान्ति प्रस्ताव पारित भयो र युद्धबाट पाण्डवहरूले मुख फर्काए भने के गर्ने भन्नेमा राजकुमारीबाट राजकुमार बनेका शिखण्डीसँग समयलाई दिने जबाफ केही पनि छैन तर उनलाई प्राप्त वरदानले भन्छ, कुरुवंशीय राज परिवारको बेमेलले विश्व युद्ध हुन्छ जसमा भीष्मसँग दुई जुनी पहिलेको अम्बाले प्रतिशोध लिने समय आउने छ। त्यो कुरा स्वयं भीष्म पितामहलाई पनि थाहा थियो, मेरो कालको कारण द्रुपदकी पुत्री भएर जन्मिएकी शिखण्डिनी नै हुनेछिन्। भीष्मका आँखामा शिखण्डी महिला नै हुन् र उनको युद्धको नैतिक नियममा उनी महिलासँग युद्ध गर्ने छैनन् जस्तोसुकै विकट अवस्थामा पनि। त्यसैले पाण्डवहरूलाई युद्ध मैदानमा रहेको शिविरमा आफूलाई परास्त गर्नका लागि पाण्डवहरूको शिविरमा रहेका शिखण्डीलाई अगाडि लगाएर युद्ध गर्नू, त्यसो भए म हतियार उनलाई चलाउने छैन र मलाई घाइते बनाएर परास्त गर्न सकिने छ। द्रौपदी नै त्यसका लागि सक्रिय भएकी थिइन् किनभने शिखण्डी द्रौपदीकी दिदी भनौँ कि दाजु भनौँ, महाभारतको युद्धमा भीष्मको काल हुन पाइयोस् भन्ने जिजीविषाले युद्धको मोर्चा सह्मालेका थिए।
द्रौपदीलाई युद्धको रण मैदानमा पाण्डवहरूका पक्षमा श्रीकृष्ण भएमात्र पनि पाण्डवहरूको जित निश्चित भन्ने दृढतामा थिइन्। यो दृढता कुन्तीमा पनि थियो र हस्तिनापुरमा बसेर छोराहरूको विजयको खबर सुन्ने लालसामा थिइन्। कम बोलेर आफ्ना अभीष्टता पूरा गर्न खप्पिस कुन्तीको पनि अन्तिम भरोसा भदाहा श्रीकृष्णमा नै थियो। द्रौपदी र कुन्तीको विश्वास कृष्णप्रति यतिसम्म थियो कि युद्ध पनि हुन्छ, पाण्डवहरूले पनि जित्छन् र यो युद्धले संसार तहस नहस हुनेछ। तर युद्ध अपरिहार्य थियो। फेरि सबैको मुखमा एउटै कुरा थियो, यदि कृष्णले चाहेमा युद्ध रोकिन पनि सक्छ र पाण्डवहरूले आंशिकरूपमा राज्य प्राप्त गर्नेछन् यदि दुर्योधनमा मति फेरिएको खण्डमा। तर परिस्थिति यस्तो बन्दै थियो कि कौरव र पाण्डवहरूका लागि भनेर विभाजित योद्धाहरूको संख्या १८ अक्षौहिणी पुगेको थियो जसमा पाण्डवहरूका पक्षमा मात्र ७ अक्षौहिणी मात्र जम्मा हुने अनुमान गरिएको थियो। त्यसो त वृष्णि सेनाको मुख्य बाहिनी नारायणी सेनाको रूपमा सङ्गठित थियो जसलाई दुर्योधनले कृष्णसँग मागेका थिए। त्यसको बदलामा एकजना कृष्णमात्र अर्जुनको निःशस्त्र सारथि हुने गरी भागबन्डा भएको थियो। अचम्म, पाण्डवहरू पनि खुसी थिए किनभने श्रीकृष्ण उनीहरूसँगै छन्, दुर्योधन पनि खुसी थियो उसले संसार प्रसिद्ध नारायणी सेनाको साथ पाएको थियो जवकि पाण्डवहरूसँग निहत्था श्रीकृष्णमात्र परेका थिए। कृष्णको प्रतिज्ञा थियो कि पारिवारिक सम्बन्धी कुरुवंशीहरूको राज्य विवादमा उनी हतियार चलाउने पक्षमा थिएनन्।
त्यसो त कृष्णले शान्तिदूतको पनि भूमिका निर्बाह गरेका थिए। एउटा कुराचाहिँ देखिन्छ, कुनै पनि राजनीतिक, सुरक्षा र सन्धिसम्बन्धी वार्ताका समयमा वार्ताका लागि आवश्यक र उपयुक्त दूतलाई कुनै पनि प्रकारको भयबाट मुक्ति दिइएको थियो। महाभारतमा हस्तिनापुरका तर्फबाट पाण्डवहरूसँग वार्ताको लागि आएका शकुनि पुत्र उलूक र सारथि सञ्जय, पाण्डवहरूका तर्फबाट गएका पाञ्चालका पुरोहित तथा शान्तिदूत श्रीकृष्णलाई अभय प्रदान गरिएको थियो। जब दुर्योधनले श्रीकृष्णलाई पक्राउ गर्नका लागि आदेश दिएको थियो, त्यो बेलामा राजसभामा कोलाहल यसकारणले भएको थियो कि राजदूतमाथि अभद्र व्यवहार त गर्नु हुँदैन भने कता पक्राउ गर्नु र? त्यहाँ श्रीकृष्णले आफ्नो विराटरूप पनि देखाएका थिए र सुरक्षितरूपमा आफू त्यो राजसभाबाट बाहिर गएका थिए। त्यसबेलामा पनि कूटनीतिक दूतलाई अभय वरदान दिएर, उसले जे सन्देश ल्याएको छ, त्यसको अभिव्यक्त गर्ने स्वतन्त्रता दिइएको र दूतको जीवन रक्षा र अभिव्यक्ति रक्षाको सुरक्षा प्रदान गरिनु पर्ने राजनीति थियो भन्ने देखिन्छ। १३ वर्षको कष्टकर जीवन व्यतीत गर्दा पनि युधिष्ठिर महाराजको भूमिकामा नै देखिन्छन् र हस्तिनापुरले उनलाई अर्कै राज्यको महाराजाको रूपमा मानेको देखिन्छ जवकि द्यूतक्रीडामा हारेपछि युधिष्ठिर राज्यविहीन पूर्व राजाको रूपमा मात्र थिए।
युद्धको तयारी भयानक रूपले दुवैतर्फ हुँदै थियो तर बाहिर अरुका लागि, बाहिरी समाजको र भोलिको पुस्तालाई दिग्भ्रमित गराउने गरी युद्ध जसरी पनि नहोस् भन्ने चाहना देखाउने काम पनि हुँदै थियो। आज पनि समाज त्यो युद्धमा को धर्मको पक्षमा, सत्यको पक्षमा थियो र को थिएन भन्नेमा विवाद हुनसक्छ। तर युद्ध बाध्यताले आफूले स्वीकार गर्नुपरेको भनेर भावी पुस्ताको सुपाच्यका लागि युद्ध हामी चाहँदैनौ, अर्कोपक्षको ढिपीले हामील लड्न बाध्य भयौँ भन्ने देखाउन चाहन्थे। तर युद्धमा अर्को पक्षलाईँ जितेर आफ्नो राज्य कायम गर्न दुवै समूह चाहन्थे। हस्तिनापुरमा राज्य गरिरहेको संस्थापन पक्षलाई युद्ध घोषणा गर्न सहज थियो किनभने परम्परागत वैभव, सेना, हतियार खरखजाना सबै त्यहाँ थियो तर वनबासी, गुप्तरूपमा लुकेर बसेका पाण्डवहरूलाई सबै नयाँ तयारी आवश्यक थियो।
युद्ध हुन्छ, युद्ध हुँदैन। युद्ध टर्यो, अब राज्यको मोह पाण्डवहरूले छोडेको गलत भाष्य बनाउन दुर्योधनहरू तल्लिन थिए। त्यो मनोवैज्ञानिक युद्ध चलाउने काममा संस्थापन पक्षलाई सहज यसकारणले थियो कि राज्यका सबै सुविधा उनीहरूसँगै थियो। १३ वर्षदेखि जनतासँग प्रत्यक्ष सम्पर्क नभएका पाण्डवहरू जनताको पहिलो पुस्ताको स्मृतिमा मात्र थियो र उनीहरू शूरवीर थिए, खपेर सर्त मानेका मात्र हुन्, अन्याय खपेर पनि सर्तका जालमा फसेका हुन् भन्ने कथाचाहिँ भारतवर्षभर फैलिएको थियो। दुर्योधनहरूप्रति त्यसैले पनि जनताको आदर र सम्मान देखिँदैनथ्यो। मत्स्यदेश र पाञ्चाल देशमात्र पाण्डवहरूका पक्षमा खुलेर देखिएका थिए। विस्तारै राजाहरू, राज्यहरू पाण्डवहरू जीवित रहेछन्, उनीहरूले न्याय पाउनु पर्छ र उनीहरूमात्र राज्य गर्न सक्ने सक्षम राजाका सन्तान हुन् भन्ने सकारात्मक सन्देश भने उनीहरूका पक्षमा फिँजिएको थियो।
विराटनगरको नजिकैः रहेको उपप्लव्यमा नै सम्पर्क ठाउँ भएकाले पाण्डवहरूसँग लाग्नेहरू स्वतःस्फूर्तरूपमा सम्पर्कमा आउन थाले र युद्धमा जस्तोसुकै सहयोग चाहिन्छ, दिने बाचा थपिन थाल्यो। यसैबिच नयाँ जानकारी आयो कि मद्रदेशबाट भानिजहरू नकुल र सहदेवको सहयोगका लागि राज्य पुनर्स्थापना गराउन त्यहाँका महाराज शल्य युद्धका लागि आवश्यक सम्पत्ति, सेना र हतियार लिएर आउँदा उनलाई बाटा बाटामा सम्मानसाथ बास बसाउँदै, ख्वाई पियाई ल्याएकोमा धन्यवाद दिन चाहँदा त त्यो काम दुर्योधनले गरेका रहेछन्। शल्य अलमलमा परे र युधिष्ठिरलाई सबै कुरा बताए। मद्र नरेश शल्य स्वर्गीय महारानी माद्रीका दाजु थिए र आफ्ना दुखित भानिजहरूलाई राज्य फिर्ता दिलाउन मद्रदेशबाट लामो बाटो आएका थिए तर परिस्थिति कस्तो बन्यो भने उनले पाण्डवहरूका विरुद्धमा युद्ध गर्नु पर्ने अवस्था आयो। पाण्डवहरूको शिविरमा यसबारे ठुलो विमर्श भयो जसमा स्वयं शल्य सरिक थिए। कौरवसँग रहेर पनि पाण्डवहरूलाई कसरी सहयोग गर्न सकिन्छ भनेर व्यापक छलफल हुँदा एउटा गोप्य सहमति भयो— कौरवको सेनामा सबैभन्दा डरलाग्दा योद्धा भनेका कर्ण नै हुन्। अर्जुनले श्रीकृष्णजस्तो सारथि पाउने सौभाग्य पाए भने कर्णका लागि पनि त्यस्तै सारथि आवश्यक पर्नेछ र कर्णको साहसमाथि हतोत्साही गराउने गरी सारथिको भूमिकामा महारथी शल्यको उपयोग गरिनु पर्ने निर्णयलाई शल्यले स्वीकार गरे र भने—कौरवहरूको शिविरमा बसेर मैले युद्ध गरेर विश्वास दिलाउन पनि युद्ध त इमान्दारिताका साथ लड्नु पर्ने हुन्छ, त्यसबेलामा कतिपय योद्धाहरूलाई मैले मार्नुपर्ने पनि हुन्छ, त्यसका लागि मलाई माफी दिनुपर्छ। कर्णले त भीष्म पितामहको नायकत्वपछि मात्र युद्धमा जाने अनुमति पाउने छन् र उनको नायकत्वमा सेनाको परिचालन हुन थालेपछि मैले सारथिको भूमिका निर्बाह गर्नेछु। विश्वास गर्नुस्,, म आफ्नो लडाकु नेतालाई हतोत्साही यसरी गर्नेछु कि अर्जुनलाई जित्न त्यति सजिलो छैन किनभने अर्जुन साक्षात् नर हुन् र कृष्ण साक्षात् नारायणका अवतार हुन्। युद्ध उनीहरूले जित्नेछन्।
युद्धमा प्रत्यक्ष लडेर भन्दा पनि शत्रुको शिविरमा हतोत्साही गराउने भूमिकाबाट पनि युद्ध जित्न सहज हुने रहेछ। नभन्दै द्रोणाचार्यको मृत्युपछि कर्णको सेनापतित्वमा भएको युद्धमा शल्य महाराजले सारथिको काम गरे जसले बारम्बार कर्णलाई अपमानित गरिरहे र भने—अर्जुनलाई जित्न त्यति सजिलो छैन किनभने जहाँ कृष्ण छन्, त्यतैको विजय अवश्यंभावी छ, तिमीहरूले राज्य अधर्मको सहारामा कब्जा गरेका थियौ नि। क्रमशः
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
हरिविनोद अधिकारी का अन्य पोस्टहरु:
- र अन्त्यमा, महाभारतः तीन कृष्ण, एक कृष्णा र अनुपम महाकाव्य
- अन्त्यमा कहाँ समाहित भइन द्रौपदी?
- कुरुवंश विनाशकः शकुनि
- कुन्तीको सन्देश— युद्धको विकल्प छैन
- प्रजातन्त्र संस्कारको रुपमा विकसित हुनुपर्छ
- युद्धपीडित आमाहरू
- संसद्: जनअपेक्षा र संसदीय दायित्व
- अश्वत्थामाको प्रतिशोध
- श्राप र वरदानबाट किचिएकाहरू
- महाकालीको अवतार मानिएकी द्रौपदी
