
हरिविनोद अधिकारी
पाञ्चालका द्रुपद महाराजको यज्ञबाट धृष्टद्युम्नसँगै द्रौपदीको जन्म नभएको भए र महाभारत महाकाव्यमा द्रौपदीको पात्रता नभएको भए महाभारत युद्ध हुन्थ्यो होला ? कुन्तीबाट महाबली तीन छोराहरू नियोगबाट र माद्रीको कोखबाट पनि दुई वीर सन्तानहरू नजन्मेका भए के महाभारतको युद्ध हुँदैनथ्यो होला र ? गान्धारीका सयभाइ छोराहरू नजन्मेका भए या गान्धारीकै विवाह नै धृतराष्ट्रसँग् विवाह नै नभएको भए ? ….जसरी जो जहाँ जन्मेको भए पनि अर्थात् महाभारतका सबै पात्रहरू आफ्ना आफ्ना ठाउँमा अत्यन्त प्रभावशाली देखिएका छन्। अझ बढी नै चर्चित कुरा के पनि थियो भने यदि चीरहरण नभएको भए युद्ध चर्कन सक्थ्यो होला र ? यदि कर्णको जन्म नै नहुँदो हो भने ….
त्यसो त कृष्णले युद्धको पहिलो दिन नै भनेका थिए—यो युद्ध कसैले लडेर या नलडेर फरक पर्दैन ….म लोकको नाश गर्न बढेको महाकाल हुँ ..यतिबेला यी सबैलाई नष्ट गर्नका लागि प्रवृत्त भएको छु..जो प्रतिपक्षहरूका सेनामा स्थित योद्धाहरू छन्, ती सबै तिमीविना पनि रहँदैनन्, अर्थात् तिमीले युद्ध नगरे पनि यी सबैको नाश हुनेछ…उठ अर्जुन उठ र यश प्राप्त गरेर धनधान्यले सम्पन्न राज्यलाई भोग …यी सबै शूरवीरहरू पहिल्यै मबाट मारिई सकेका छन्, तिमी त मात्र निमित्त बन ….
महाभारतका सबै पात्रहरू युद्धका लागि जन्मेका थिए जस्तो लाग्छ, गणितको सूत्रजस्तै। त्यसमा स्वर्गदेखि पृथ्वीमा आएकी गङ्गादेखि द्रौपदीका पाँच पुत्रहरू, सबै सबै पात्रहरूको काम गराई युद्धका लागि तयारी नै थियो। मानव योनिमा जन्मेपछि मानवोचित काम गर्ने रङ्गमञ्चीय पात्रता पूरा गर्न सबै नै उद्यत रहेको देखिन्छ। चाहे दुर्वासाको वरदान होस् या पाण्डुको नियोगका लागि कुन्ती र माद्रीलाई नियोगका लागि तयार गर्नु। आखिर ती सबैको बाटो विनाशतिर नै गइरहेको थियो। स्वयं व्यास र कृष्णसमेत अनेक बहानामा युद्धोन्मुख थिए।
द्रौपदी केन्द्रीय पात्रका रुपमा देखापरेकी हुन्। उनको जन्म, उनको स्वयंवर, उनको चीरहरण, उनका विभिन्न समयका भूमिकाले उनको पात्रतालाई केन्द्रमा राखेको छ महाभारतमा। लाग्छ, द्रौपदीलाई थाहा थियो उनको अवतरणको महिमा र परिणाम। त्यसैले मैले महाभारतको स्वल्प अध्ययनमा पनि कुन्ती र द्रौपदी जस्ता पात्रहरूको खोजी गरेँ। कुन्ती पहिले नै आत्मला उपन्यासका रुपमा मेरो कृति बनेर आइसकेको छ र अहिले द्रौपदी जो नाटकका लागि भने पनि पाँच नाथकी अनाथिनीको भूमिका निर्बाह गरिन् र अन्ततः स्वर्ग प्रस्थान गर्न हिमालयको बाटो अलप भइन्।
महाभारतले भन्छ, स्वर्ग हिमालयको उसपार छ। त्यहाँ जीवित पुग्न सकिन्छ तर स्वर्गको मोज र ईश्वरीय फाइदा लिन सशरीर सम्भव छैन जस्तो कि स्वर्गका राजा इन्द्रले युधिष्ठिरलाई भनेका छन् नमरी स्वर्ग देखिन्न, पहिले मृत्युलोकको शरीर छोड अनिमात्र स्वर्गमा जान पाइन्छ जहाँ रिस, राग, द्वेष हुनेछैन।
अनि स्वर्ग कहाँ थियो? स्वर्ग र नर्क यसै जुनीमा पाइन्छ भन्ने र तृप्त—अतृप्त चाहनाको प्रतीकका रुपमा आत्मामा रहेको चाहनाको छवि नै स्वर्ग रमाइलो र नर्कको यातना हो। अनि त इन्द्रको स्पष्ट धारणा छ, महाराज युधिष्ठिर तिमी स्वर्गभन्दा माथि जान सक्छौ तर तिमीले गुरुलाई धोखामा राखेर मर्न बाध्य पार्यौ।
कति पात्रहरूले पूर्वजन्मको आफ्नो चाहना सम्झन्थे भने कतिले पूर्व जन्मको पाप या धर्मको प्राप्तिको भागमात्र भोग्न सक्थ तर सम्झदैनथे।
महाभारत अनुपम ग्रन्थ हो जहाँ जे छ त्यो अरु ठाउँमा पनि होला, तर जे छैन त्योचाहिँ कतै छैन भन्ने व्यासको उद्घोषण आफैँमा सत्य साबित भएको छ र केन्द्रपात्रका रुपमा कृष्ण (वसुदेव पुत्र कृष्ण, मत्स्यगन्धापुत्र कृष्ण र कुन्तीको कोखबाट जन्मेको कान्छो छोरो—ती सबैलाई कृष्ण भनिन्थ्यो) र कृष्णाले महाभारतलाई संसारको अनुपम महाकाव्यको रुपमा दर्ता गरेका छन्।
नियति, वातावरणीय परिवेश र उन्मुक्त समय, संसारमा कुन शक्तिशाली? परिस्थितिअनुसार सबैको महत्व आफैँमा रहन्छ जसलाई भाग्यको लेपन लगाइन्छ। द्रौपदी अर्थात् पाँच नाथकी अनाथिनी एउटा कल्पना भित्रको यथार्थ हो र इतिहासको यथार्थमाथिको एउटा कल्पना पनि हो। ऐतिहासिक कल्पनासँग यथार्थलाई तुलनात्मकरुपले दाँज्न खोज्दा यो कृति तयार भएको हो।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
हरिविनोद अधिकारी का अन्य पोस्टहरु:
- अन्त्यमा कहाँ समाहित भइन द्रौपदी?
- कुरुवंश विनाशकः शकुनि
- कुन्तीको सन्देश— युद्धको विकल्प छैन
- प्रजातन्त्र संस्कारको रुपमा विकसित हुनुपर्छ
- युद्धपीडित आमाहरू
- संसद्: जनअपेक्षा र संसदीय दायित्व
- अश्वत्थामाको प्रतिशोध
- श्राप र वरदानबाट किचिएकाहरू
- कर्णका सारथि किन बने महाराज शल्य?
- महाकालीको अवतार मानिएकी द्रौपदी
