अन्त्यमा कहाँ समाहित भइन द्रौपदी?

द्रौपदी अर्थात् पाँच नाथकी अनाथिनी—५८

जिते स्वर्गपुरीको राज, मरे चपरी मुनिको बास। अर्थात् युद्ध जिते हस्तिनापुर सबै आफ्नै हुने , हारे या मरे वीर गतिको लागि स्वर्ग त पाइने पाइने …….

हरिविनोद अधिकारी

युद्धमा मृत्यु हुने या मारिने सम्भावना अत्यधिक रहन्छ। तर कतिपय वीरहरूमा आफ्नो वीरताप्रति यति विश्वास हुन्छ कि हार्ने कुरा सोच्न पनि सक्दैनन्। तर समय, परिस्थिति र वातावरणीय परिवेशसँगै युद्धले नयाँ मोड लिन्छ भन्ने कुरा महाराज धृतराष्ट्रले नबुझ्ने कुरै थिएन। कौरव सेनाका सेनापति भीष्म पितामह मानिए पनि पितामह कसको पक्षमा लडिरहेका थिए? हस्तिनापुरका शासकका पक्षमा। हस्तिनापुरको शासक को थियो? धृतराष्ट्र। अनि कौरव सेनाको नायक त धृतराष्ट्र मानिने नै भए। जतिसुकै विवाद भए पनि प्रतिज्ञा, श्राप र वरदानले किचिएका, दबिएका पात्रहरू युद्धरुपी रङ्गमञ्चमा आफ्ना आफ्ना भूमिका निर्बाह गरिरहेका थिए। यसमा स्वयं भीष्म पितामहले आफू एउटा निरीह पात्रमात्र रहेको स्वीकार गरेका थिए। महाभारतको युद्ध एउटा निहुँ थियो, तर आगाको लप्काको रातो, पहेलो किरणले पुतलीलाई लोभ्याएकाले होला, पाण्डव र कौरवका पक्ष विपक्षमा लड्न भनेर त्योबेलाका सबै राज्यहरूले आफ्ना राजा, राजकुमार, अत्यन्त शूरवीर योद्धाहरू पठाएका थिए। सबैलाई सके युद्ध जितेर धृतराष्ट र युधिष्ठिरलाई बधाई दिँदै खुसी मनाउँदै आफ्ना आफ्ना राज्यतर्फ जाने विचारमा थिए। नभए युद्धमा वीरगतिको आशा त सबैमा थियो। युद्धमा वीरगतिप्रति नै धेरै लालायित थिए किनभने सबैको मनमा लागेको थियो, धर्म जता छ, युद्धमा जित पनि उतैको हुनेछ।

दुर्योधनमा पनि त आशा त कम तर जिद्दी धेरै थियो।  सकेसम्म जितेर हस्तिनापुरको राजको आशा। नभए क्षत्रिय गुण नै हो वीरगति प्राप्त गर्ने। तर दुर्योधनलाई पाण्डवहरूले जित्ने कुरामा त्यति विश्वास थिएन र त ११ अक्षौहिणी सेनाको जोहो गरेका थिए पाण्डवहरूको भन्दा ४ अक्षौहिणी बढी। द्वारकाधीश श्रीकृष्णले समेत आफ्नो शक्तिशाली नारायणी सेना कौरवका पक्षमा इमान्दारिताका साथ लड्न खटाएका थिए। तर आफू भने निहत्था अनि अर्जुनको सारथिका रूपमा युद्धमा निष्क्रिय योद्धाका रूपमा देखापरेका थिए। सम्पूर्ण युद्ध तर श्रीकृष्णकै रणनीति र योजनामा लडिएकोमा कुनै शङ्का कसैलाई थिएन। श्रीकृष्णको रणनीतिको चक्रव्यूहभित्र नै युद्धको प्रारम्भिक अवस्थादेखि नै सुरु भएको मान्न सकिन्थ्यो।

महाभारतको युद्धले विजयी तथा पराजित दुवैमा अमिट छाप छोडेको थियो। विजयी भनेका पाण्डुका छोराहरू र पराजित भनेका महाराज धृतराष्ट्र। तर युद्धले सबैलाई स्थायीरूपमा चिथोरेको थियो। १०० भाइको संख्याका छोराहरूले वीरगति पाएकाले गान्धारी र धृतराष्ट्र बढी चिन्तित जस्तो लागे पनि कुन्तीका पनि प्यारो छोरो कर्ण, प्यारा नातिहरू सबै गुमेका थिए अर्थात् वीरगतिको बाटो समाएका थिए। द्रौपदीका पनि पाँच छोराहरूसहित सुभद्रापुत्र अभिमन्युले समेत वीरगति प्राप्त गरेका थिए। सुभद्राको हृदयमा परेको चोटले रातभरि सुत्न सक्ने अवस्था उनमा थिएन। यी सबै गुमाएर पनि राज्याभिषेक गर्न बाध्य युधिष्ठिरमा समेत कुनै ओज थिएन। सबै चिन्तित र विषादमा भए पनि एकजना भने अत्यन्त खुसी थिए, ती थिए हस्तिनापुरका युवराजको पदवी सम्हालेका वीरवर भीमसेन। उनमा एउटै कुराले सन्तोष दिएको थियो, उनले पाञ्चालीलाई दिएको वचन पूरा गर्न सकेका थिए। कुरो राम्रो नभए पनि महाराज धृतराष्ट्रका १०० भाइ छोराहरूको हत्या आफ्नै हातबाट गर्न भ्याएका थिए र दुःशासनको छातीको रगतले पाञ्चालीको खुला कपालमा तेल लगाएजस्तै गरी भिजाउन सकेका थिए। विकर्णको हत्याका बेलामा भने भीमसेनको हात पनि कामेको थियो तर आफ्नो प्रतिज्ञा पूरा गर्न परिवारको युद्ध भएकाले जो पनि भीमको सीमाभित्र आए, ती सबै मारिएका थिए।

अपमान, विषाद र प्रतिशोधको परिणाम नै त थियो महाभारतको युद्ध। द्रौपदीलाई पछि पटरानी, बडामहारानीको रूपमा गद्दीनसिन हुँदा एउटा कुरा सम्झँदा पनि आङ् सिरिङ्ग हुन्थ्यो—के सखा कृष्णले भनेजस्तै कर्णले पाण्डवहरूलाई साथ दिएका भए उनी पनि कर्णकी अङ्कशायिनी हुन सक्थिन्? कर्णले राज्य सञ्चालन गर्ने मौका पाउँथे होलान्? अनि अर्जुनले त्यो क्षण सहन सक्थे होलान्? यदि त्यो क्षण आएको भए के युद्ध टर्थ्यो होला र? यदि युद्ध टरेको भए दुर्योधनहरू कतिदिनसम्म चुप लागेर बस्थे होलान्? अनि आफ्नो चीरहरणको त्यो दुःखद क्षण सम्झँदा लाग्थ्यो, यदि चीरहरण नहुँदो हो त भीमले धृतराष्ट्रका सय भाइ छोराहरू मार्ने प्रण गर्थे होलान्? शूरवीर पाँच भाइ पाण्डवकी साझा पत्नी अनाथझैँ निरीह भएर श्रीकृष्णसँग लाज जोगाउनका लागि मौन प्रार्थना गर्नु परेको त्यो क्षण।

द्रौपदीलाई के पनि थाहा थियो भने काम्पल्यमा कर्णको उपस्थितिको मुख्य कारण थियो, दुर्योधनको गुन तिर्नु। अर्थात् शिक्षा ग्रहणपश्चात् भएको प्रायोगिक परीक्षामा सूतपुत्रका कारण प्रतिस्पर्धामा भाग लिन नपाउँदा धृतराष्ट्रका तर्फबाट कर्णलाई दुर्योधनले अङ्ग देशको राजा घोषणा गरेर हस्तिनापुरअन्तर्गतको रजौटा बनाएर प्रतिस्पर्धा गर्न योग्य बनाएको थियो। कर्णलाई थाहा थियो, काम्पल्यमा राखिएको सर्त दुर्योधनले पूरा गर्न सक्दैनन्, आफूले अयोनिजा याज्ञसेनीको स्वयंवर गर्ने र दुर्योधनलाई द्रौपदी उपहारस्वरूप चढाउने।

आखिर त्यो धनु उठाएर प्रत्यञ्चा चढाएर सर्त बमोजिमको घुमिरहेको माछाको आँखामा वाण सन्धान गरेर निसाना लगाउन सक्ने अर्जुन र कर्णबाहेक अरु कोही हुनै सक्दैनथे। अर्जुन यो लोकमा नभएको कारणले कर्णले आफ्नो साथी दुर्योधनलाई उपहार चढाउने त्योभन्दा ठुलो अवसर कहिले पो पाउने हो र?

द्रौपदीलाई त्यो क्षण याद थियो, जब श्रीकृष्णको सल्लाहमा सूतपुत्रसँग स्वयंवर र विवाह नगर्ने दृढता देखाएकी थिइन् र यो पनि स्पष्ट थिएन कि उनको स्वयंवर यसैपटक हुनेछ या कहिल्यै हुनेछैन। विवाह यो  जुनीमा हुनेछ या हुनेछैन। अचानक ब्राह्मणकुमार उठेर धोती सम्हाल्दै धनुनिर गएका मात्र के थिए, अचानक चट्याङ् परेझैँ धनु उठाउनु, वाण सन्धान गर्नु र आकाशमार्गमा घुमिरहेको माछाको आँखामा वाणको सुइरो गाडिनु ….। अनि त्यही ब्राह्मणकुमारको गलामा स्वयंवरको माला पहिर्‍याउने विधि सुरु हुनु। काकताली हो या योजनाबद्ध हो, उनले थाहा पाउनै सकिनन्। सर्तअनुसारको परिणाम आएकाले स्वयंवर हुनै पर्थ्यो। भयो। सँगै उनको जेहेनमा अनेक अतीतका डोबहरू सलबलाएका थिए र पनि अनुशासित राजकुमारीले राज्यले भनेको मान्नै पर्थ्यो। मानिन्।

अनेक अवस्थाबाट गुज्रँदा पनि महाराज धृतराष्ट्रमा सदैव कुण्ठा थियो र आफू पराजित राजा भएकाले युधिष्ठिरको दरबारमा बस्दा कारागारभन्दा बढी कष्ट मानेको अनुमान लगाउन सकिन्थ्यो। कुन्तीको समस्या दोहोरो थियो, एक त छोराहरूले युद्ध जितेर राज्यलक्ष्मी हात पारेका थिए भने अर्कोतिर मानसिकरूपमा उद्वेलित जेठाजु र जेठानी दिदी गान्धारीको सेवासुश्रूषा गर्नु थियो। दरबारमा भन्दा वाहिर वनमा सन्न्यासाश्रमको रूपमा बस्न चाहने धृतराष्ट्र र गान्धारीको चाहनालाई नै कुन्तीले आफ्नो कर्तव्य मानेकी थिइन् र वनमा जाँदा सँगै गइन् जुनकुरामा युधिष्ठिरको विमति थियो। र पनि राजमाताको चहकभन्दा उनले निरीह पराजित राजाको मान राख्नका लागि सँगै गएकी थिइन्।

जब द्वारकाधीशले यो संसारको रङ्गमञ्चको नाटक समाप्त गरेर, यदुवंशको नाश आफैँले गर्ने उपाय तयार गरेर,  परमधाम गएको कुराले युधिष्ठिरलाई ठुलो पश्चाताप भयो र सबैभन्दा ठुलो काल हो, कालको वशमा जानैपर्छ भनेर हस्तिनापुरको राजतिलक अर्जुन र सुभद्राको नाति, अभिमन्यु र उत्तराको छोरो परीक्षितलाई दिएर अर्थात् परीक्षितको राज्याभिषेक गरेर मृत्युको मुखमा जानका लागि हिमालयतर्फ पाँचैभाइ र द्रौपदी हिँडेको हस्तिनापुरबासीले देखे र रुन कराउन थाले। एकपटक द्यूतक्रीडामा हारेर दुर्योधनले वनबास र अज्ञातबासका लागि बाध्य पारेको देखेका हस्तिनापुरबासीहरू अहिले स्वेच्छाले फेरि कहिल्यै नफर्कने गरी हिँड्न लागेको दृश्यले कारुणिक अवस्था सृजना गरेको थियो। युधिष्ठिर आफैँले आफैँलाई पूर्व राजाको रूपमा र आफ्ना भाइ तथा पत्नी द्रौपदीलाई जानाजान मृत्युको मुखमा लिएर जाँदै थिए। साथमा एउटा कुकुर पनि थियो। अर्थात् ७ जना प्राणीहरूको समूह स्वर्गारोहणका लागि हस्तिनापुरबाट प्रस्थान गर्‍यो।

हस्तिनापुरबाट घुम्दैघुम्दै अरब सागरको छेउसम्म पुगेर समुद्रमा बिलीन भएको द्वारकाको दर्शन गरेर फेरि पूर्व नै फर्की उत्तरतिरको हिमालयअभिमुख भएर जाँदै थिए। सबै सँगै थिए। सबैभन्दा अगाडि युधिष्ठिर, त्यसपछि भीम, अर्जुन, नकुल, सहदेव र द्रौपदी अनि कुकुर जाँदै थिए। हिमालयको त्यो विकट र चिसो ठाउँमा द्रौपदी हिँड्न नसक्ने भएर लडिन् र कारुणिक स्वरमा सहयोग मागिन्। भीमले यसको जानकारी युधिष्ठिरलाई दिए। युधिष्ठिरले सहज तरिकाले भने—हामी पाँचभाइमध्ये अर्जुनलाई बढी मन पराउने भएकीले, पक्षपातपूर्ण व्यवहारका कारणले सबैभन्दा पहिले हिमालयको कठोर भूमिमा लडिन्। अनि सहदेव पनि एकछिनपछि लडखडाए र लडे। अनि भीमले भने—महाराज, हामी सबैको सेवा गर्ने सहदेव हिंड्न नसकेर लडे। किन त यिनले सहन सकेनन् र लडे? अनि युधिष्ठिरले भने—उनमा घमण्ड थियो, म धेरै विद्वान हुँ, म जत्ति अरुमा ज्ञान छैन भन्ने। त्यसैले उनी पनि लडे। त्यसपछि नकुल भाइको विरहले रुँदै फर्कँदै हेर्दै थिए, उनी पनि लडखडाएर पछारिए। अनि भीमले जोडसँग चिच्च्याएर सोधे—महाराज, नकुल पनि लडे, उठ्नै सकेनन्। अनि युधिष्ठिरले भने—उनमा मजति राम्रो सुदर्शन कोही पनि छैन भन्ने घमण्डले उनी पनि अब लडे, उठ्न सक्दैनन्। त्यसैगरी धुरन्धर धनुर्धर , अर्जुन पनि पछारिए र भीम झन विह्वल भएर दाजुलाई सुनाए—जसले सपनामा पनि झुठ बोलेन, कसैको अहित गरेन, त्यस्ता पराक्रमी वीर अर्जुन पनि लडे। अनि युधिष्ठिरले पछिल्तिर नफर्कीकनै भने—उनमा पनि गाण्डीव धनुको घमण्ड थियो, म जति धनुर्धर कोही पनि छैन भन्ने घमण्डका कारणले उनी पनि नउठ्ने गरी लडेका हुन्।

वीरवर भीम पनि लडखडाए र भने —दाजु, अब म पनि हिँड्न नसक्ने भएँ। कसरी हिमालय पार गर्ने होला? अनि युधिष्ठिरले पछिल्तिर नफर्कीकनै भने—तिमी पनि धेरै खान्थ्यौ, आफ्नो बलको घमण्ड गर्थ्यौ। अनि तिमीले पनि हिमालय पार गर्न सकेनौ। अर्थात् हिमालयको खोँचमा सबै कालका मुखमा परे र यमराजका पाहुना हुनका लागि गए। अब बाँकी भनेका युधिष्ठिर र उनीहरूसँग हस्तिनापुरदेखि आएको कुकुर थियो। अब बाँकी रहेका युधिष्ठिरलाई लिन स्वर्गबाट विमान आयो र विनम्रताका साथ विमानमा चढेर जीवित नै स्वर्ग जानका लागि अनुरोध गरेकै के थिए, उनले पनि भने—ममात्रै जान्न। यति धेरै कष्टका साथ मसँगै आएको कुकुरलाई छोडेर म स्वर्ग जान्न। यदि कुकुर पनि जान पाउँछ भने म जान्छु, होइन भने आफ्ना अन्त्यकालसम्म यही मित्र कुकुरसँग रहनेछु। फेरि स्वर्गको दूतले सम्झाए—कुकुर अशुद्ध प्राणी हो, उसले छोएको त राक्षसको मुखमा पर्छ, देवताको भागमा पर्दैन, त्यसैले ढिपी नगर्नुस् महाराज, तपाईँको पुण्यले जिउँदै स्वर्ग जान पाउने अपूर्व मौका पाउनु भएको छ। तर कुकुर भने लान पाउनु हुन्न।

युधिष्ठिरले पनि भने—त्यसो भए स्वर्गका देवदूतहरू जानुस्, म जान्न। साथ नछोडी आजसम्म यो हिमालयको कन्दरासम्म आएको प्राणीलाई एक्लै छोडेर म स्वर्ग जान्न। यति भन्दानभन्दै कुकुर त धर्मराजको स्वरूपमा प्रकट भयो र धर्मराजले भने—युधिष्ठिर, यो पनि परीक्षा नै थियो तिम्रो धर्मवादिता र सत्यका पक्षमा। यो परीक्षा पनि उत्तीर्ण भयौ। यहाँ स्मरणीय छ, धर्मराजका अवतारका रूपमा युधिष्ठिर र विदुर कुरुवंशमा थिए। युधिष्ठिरका भौतिक पिता धर्मराज या यमराज नै हुन्।

युधिष्ठिरले देवदूतलाई सोधे—मेरा दाजु कर्ण, भाइहरू भीमसेन, अर्जुन, नकुल, सहदेव तथा हामी सबैकी प्रिया द्रौपदी अनि हाम्रा छोराहरू जहाँ छन्, मलाई त्यहीँ लिएर जानू। युधिष्ठिरलाई के लागेको थियो भने ती सबै स्वर्गमा आरामसँग रहेका होलान्। देवदूतले भने पनि —सबै स्वर्ग आइसकेका छन्। उनीहरू मर्त्यलोकमा मर्ने बित्तिकै स्वर्ग आएका छन्।

जब युधिष्ठिर स्वर्ग पुर्‍याइए, त्यहाँ त दुर्योधन र उनका भाइहरू स्वर्गमा आरामसँग हाँसी खुसी बसेका रहेछन्। अनि उनले भने—म आफ्नै परिवारसँग, भाइहरू, द्रौपदी तथा उनका छोराहरू र अन्य छोराहरूसँग बस्छु। अनि युधिष्ठिरलाई स्वर्गबाट अन्यत्र लगियो फोहोर बाटो, फोहोर नदीको किनारै किनार अन्धकारको छेडो हुँदै। युधिष्ठिरले फेरि भने—धृतराष्ट्रका पापी छोराहरूलाई स्वर्ग, मेरा निरपराध भाइ तथा रानी द्रौपदीलाई यता? यस्तो फोहोरी ठाउँ अर्थात् नरकतर्फ? किन? के कारणले?

त्यतिबेरसम्म युधिष्ठिर पृथ्वीको शरीरमा नै थिए। मर्त्यलोकको रिस, द्वेष, अहंकार र प्रतिशोधको भावनाले छोडेको थिएन। अनि देवदूतले भन्यो—हामी त आदेश बमोजिम गर्ने हो, हामीलाई हजुरलाई यसैगरी यता लैजानु भनेको छ। यति भन्दानभन्दै हल्ला आयो—महाराज हामी यता छौँ। नरकतर्फको दुर्गन्धित ठाउँमा हजारौँ, लाखौँ मानिसहरूको कर्कश आवाज आयो। सबैले कराउन थाले—महाराज, तपाईँ त्यो ठाउँमा उभिई रहनुस्। हामीलाई अहिले त सुगन्धित हावा आयो, मधुर शीतल हावाले आनन्द दिएको छ। अनि देवदूतहरू भन्न थाले—अब फर्कनु पर्छ, यहाँ बसिरहन पाइँदैन। युधिष्ठिरले फेरि भने—म जहाँ मेरा मानिसहरू छन्, त्यहीँ बस्छु, यहीँ ठाउँ नै मेरालागि स्वर्गभन्दा राम्रो हुनेछ किनभने निरपराध मेरा मानिसहरूलाई यहाँ राखेकाले म यहीँ नै बस्छु।

त्यो अन्धकार, दुर्गन्धित ठाउँमा अचानक तिर्मिराउने उज्यालो भयो। अघिको केही पनि थिएन। न दुर्गन्ध थियो, न हल्ला थियो, न नदीपारि कोही थिए, न दुर्गन्धले भरिएको नदी थियो। थियो न मन्दाकिनी नदी, गंगाको शीतल जलको नदी।

धर्मराज र इन्द्र प्रकट भए। धर्मराजले फेरि भने—यो पनि तिम्रो परीक्षा नै थियो। तिमी यो परीक्षामा पनि उत्तीर्ण भयौँ। पहिलो परीक्षा द्वैत बनको त्यो पोखरीमा थियो जहाँ तिम्रा भाइहरूले मेरो यक्षरूपको प्रश्नको उत्तर नदिई पानी खान खोजेर अर्धमृत भएका थिए। तिमीले मेरा प्रश्नहरूको उत्तर दियौ।  जब मैले सोधेँ, तिम्रा चारभाइ नै मृत छन्, कसलाई जीवित बनाउँ, अनि तिमीले भन्यौ — नकुललाई जीवित बनाउनुस्। मैले कारण सोधेँ—किन? अनि तिमीले भन्यौ, म कुन्तीतर्फको छोरो जीवितै छु, माद्री आमाको छोरो जीवित होस्। अनि सबै जीवित भए।

दोस्रो कुकुरलाई छोडेनौँ, बरु स्वर्ग नआउने अडान लियौ। अनि यो तेस्रो परीक्षा थियो, यसमा पनि तिमी उत्तीर्ण भयौ। तिमीले पनि धोखाले छलेर गुरु द्रोणाचार्यको हत्याको मतियार भएकाले  तिमीलाई इन्द्रले मायाको जालो विछ्याएर नर्कको झलक देखाएका हुन्। नर्क पहिले आएर स्वर्ग जानु नै सकारात्मक पक्ष हुनेछ।

अब हिँडौँ स्वर्ग तिर। तर यो मर्त्यलोकको शरीर भने छोड्नु पर्छ। अर्थात् नमरी स्वर्ग देखिन्न। अनि युधिष्ठिरले पनि मर्त्यलोकको शरीर छोडे र स्वर्गको नियमअनुसार दिव्य रूपमा परिणत भए। इन्द्रले आफ्ना आसन नजिकै राखे। त्यसपछि उनमा कुनै रिस, राग, द्वेष रहेन तर पनि आफ्ना कता छन् भन्ने मनमा खुलदुली भने रहेको थाहा पाएर इन्द्रले भने— महामना भीष्म आफ्ना वसुहरूको साथमा कर्तव्यमा खटिई सकेका छन्। अभिमन्यु चन्द्रमामा विलीन भइसकेका छन्। कर्ण ११ आदित्यले घेरिएर तेजका साथ सूर्यको आराधनामा छन्। कुन्ती र माद्री महाराज पाण्डुको सेवारत छन्। मर्त्यलोकबाट आएका कोही पनि शरीरका रूपमा रहँदैनन् मात्र छविका रूपमा। आफ्नो पुण्यको भाग खान्छन् र प्रकृतिको नियमअनुसार र तोकेको ठाउँमा जान्छन्। एकछिन अघि महाराजले राखेको जिज्ञासा थियो, मेरा भाइहरूचाहिँ नर्कमा, तर दुर्योधनचाहिँ कसरी स्वर्गमा? वास्तवमा सबै नै स्वर्गका लागि नै खटिएका हुन् तर स्वयं धर्मराजलाई पनि नर्कको भ्रमण गराउने आदेश आएकाले पठाएको मात्र हो। सबै स्वर्गमा छन्। धृतराष्ट्र गन्धर्व राजाको रूपमा र गान्धारी गन्धर्व रानीको रूपमा विराजमान छन्। तपाईँका भाइहरू भीम मरुतगण घेरिएर वायुमा सामेल हुँदैछन्। उता श्रीकृष्ण आफ्नो विग्रहरूपमा हुनुहुन्छ र अर्जुन उनको सेवामा तल्लिन छन्। आखिर नारायणको सेवामा नरले बस्नु त पर्‍यो नै। अश्विनी कुमारमा नकुल र सहदेव सामेल हुँदैछन् भने द्रौपदीका पाँच भाइ छोरहरू गन्धर्व कुमारका रूपमा स्वर्गमा रहने छन्। महाभारतको युद्धमा जति पनि मारिएका योद्धाहरू छन्, सवैको वीरगति प्राप्त भएकाले स्वर्गमा बास हुनेछ। अझ यदुवंशीहरू सबै देवताहरू थिए, ती सबै आफ्ना आफ्ना विभागमा खटिए।

अन्तमा स्वर्गका राजा इन्द्रले भने—यो तेज जुन छ नि, त्यो माथि रहेकी महालक्ष्मी, स्वर्गकी राज्यलक्ष्मीको हो, द्रौपदी महाकाली, महासरस्वतीको स्वरूपलाई आफैँमा समाहित गरेर महालक्ष्मीको रूपमा विराजमान भएकी छिन्। समाप्त।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

हरिविनोद अधिकारी का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link