महाभारतका १८ पर्वमध्ये भीष्मपर्वमा संकलित महाभारत युद्धमा अर्जुनका सारथि बनेका भगवान् श्रीकृष्णले आफ्ना शिष्य महारथी अर्जुनको विषादको अन्त्य गरी फेरि युद्धमा फर्कन र कर्ममा फर्कनका लागि युद्धस्थलमा नै दिएको उपदेशलाई नै वेदव्यासले लिपिबद्ध गरेको भागलाई हामीले श्रीमद्भगवतगीता भनेका हौँ। त्यसैलाई हामीले सहज भाषामा गीता भनेका हौँ। गीताको अर्थ गीत हो। प्रशंसाको गीत हो। त्यसका कर्मको प्रशंसामा गीत गाइएको छ। जीवनमा कर्मयोगको प्रयोगका बारेमा उदाहरणस्वरूप बताइएको छ। जीवनको सूक्ष्मातिसूक्ष्म तरिकादेखि स्थूल स्वरूपको विराटस्वरूपको दर्शन गराइएको छ, प्रदर्शन गरिएको छ।
गीताको महत्व आफ्ना आफ्ना तरिकाले व्याख्या गरिँदै आइएको छ शताब्दियौँदेखि। कसैले यसलाई अनिश्वरवादी दर्शनका रूपमा लिएका छन् भने कसैले यसलाई ईश्वरवादको अनुपम ग्रन्थका रूपमा लिएको पाइन्छ। प्रकृति र पुरुषको सम्मिलनलाई जीवनको रूपमा व्यक्त गर्दै, जीवनमा गर्नुपर्ने नैतिक पक्षलाई सजीव तरिकाले र जीवनको अनन्त सक्षमताको अस्तित्वलाई विराटस्वरूपको उदाहरण मान्दै यसको अर्थ लगाउन सकिन्छ।
महाभारतको अंश भए पनि महाभारतलाई इतिहासका रूपमा लिँदा पनि यो भागलाई, ७०० श्लोकलाई, बेग्लै ग्रन्थका रूपमा मानियो र यो अझै शताब्दियौँसम्म मानिने लक्षण देखिँदै छ। किनभने गीतामा भनिएका सूत्रको व्याख्या अनेकानेक तरिकाले गरिँदैछ। गरिइरहने छ पछिसम्म पजि। किनभने जीवन रहस्यले भरिएको छ र जीवनका रहस्य झन्झन् जटिल हुँदै जाँदा थप अर्थको आवश्यकता पर्नेछ।
गीताका बारेमा पहिलेदेखि आजसम्म पनि एउटै व्याख्या छैन र धारणा छैन। वैष्णवीय तन्त्रसारमा गीतालाई यसरी परिभाषित गरिएको छ ः
सर्वोपनिषदो गावो दुग्धा गोपालनन्दनः।
पार्थोवत्सः सुधीर्भोक्ता दुग्धं गीतामृतं महत्।।
(अर्थ—उपनिषद्हरू गाई हुन्। ग्वालाको छोरो गोपालनन्दन कृष्ण दूध दुहुनेवाला हुन्। अर्जुन बाच्छो हुन्, बुद्धिमान मनुष्यहरू दूध पिउनेहरू हुन् र अमृतरूपी गीता अमृतस्वरूप स्वादिलो दूध हो।)
पौरस्त्य संस्कृतिमा गीतालाई आध्यात्मिक र पूजनीय ग्रन्थका रूपमा नै मानिएको छ। आधुनिक विश्वमा आफूलाई गीताको प्रभावले जीवनमा देखापरेको अँध्यारो बेलामा उज्यालो प्राप्त गर्न र परेका सबै समस्याहरूको समाधानमा प्रकाशपथको काम गीताले नै गरेको मान्ने व्यक्ति भारतका राष्ट्रपिता तथा अहिंसावादी आन्दोलनका प्रणेता मोहनदास करमचन्द गान्धी अर्थात् महात्मा गान्धी हुनुहुन्थ्यो। महात्मा गान्धीले आफ्नो पुस्तक यंग इन्डियामा भन्नुभएको छ— ‘स्वयं भगवान नारायणले जुन उपदेश अर्जुनलाई दिएका छन्, जसलाई प्राचीन मुनि व्यासले महाभारतका बीचमा संकलित गरेका छन्, जसले अद्वैत ज्ञानको अमृत बर्साउँछ, पुनर्जन्म हुन दिँदैन, त्यही १८ अध्यायवाला आमा भगवती गीताको म ध्यान गर्दछु। ….यो प्रसिद्ध गीता शास्त्र सम्पूर्ण वैदिक शिक्षाहरूको तत्वार्थको सारसंग्रह हो, यसबाट प्राप्त शिक्षाको ज्ञानले सबै मानवीय महत्वाकांक्षाको सिद्धि गर्नेवाला छ। …मलाई भगवद्गीताको अध्ययनमा यस्तो सान्त्वना मिल्छ कि जुन बाइबलको एक प्रसंग सर्मन द माउन्टमा पनि मिल्दैन। निराशा मेरो मनमा जब पहाडजस्तै गरी खडा हुन्छ। समस्याको समाधान हुने कतै कुनै प्रकाशको किरणसमेत देखिँदैन। आफू एक्लो भएको महसुस गर्न थाल्छु, तब म गीताको शरणमा पुग्छु। गीताको कुनै न कुनै श्लोकमा पनि म विषम परिस्थितिमा पनि आशाको किरण देख्न थाल्छु र अनायाश मुस्कुराउन थाल्छु किनभने मैले बाटो पहिल्याएको हुन्छु, बाटो देखेको हुन्छु। …मेरो जीवन बाह्य विपत्तिबाट त जहिले पनि भरीभराउ नै छँदैछ तर ती विपत्तिहरूबाट गीताको प्रेरणाले आफ्नो कुनै दृश्यमान, अमिट चिन्ह नछोडी समस्या समाधान भएका छन्। त्यसको सारा श्रेय भगवद्गीतामा शिक्षाको कारणले नै हो।’
भारतका महान् दार्शनिक तथा पौरस्त्य शास्त्रका विद्वान ( जो पछि गणतन्त्र भारतमा राष्ट्रपति पनि भए) डाक्टर सर्बपल्ली राधाकृष्णनले भगवद्गीता नामक ग्रन्थ लेखी त्यस ग्रन्थको परिचयको सुरुमै लेख्नुभयो— ‘यो कुनै गुह्य ग्रन्थ होइन, जो विशेष दीक्षित वर्गका लागि लेखिएको होस्। तर उनीहरूका लागि पक्कै सहयोगी हुनेछ। यसले सहायता प्रदान गर्नेछ जो अनेक परिवर्तनशील वस्तुहरूको क्षेत्रमा भट्किएर हिँडिरहेका छन्। गीताले त्यो वास्तविकताको अधिकतम गहिराइमा स्पर्श गरेको छ जहाँ मनुष्य संघर्ष गर्छ, विफल हुन्छ र फेरि संघर्ष गर्छ र सफल हुन्छ र आफ्नो असफलतामाथि विजय प्राप्त गर्छ। शताब्दियौँदेखि नै करोडौँ हिन्दूहरूलाई यो महान ग्रन्थले शान्ति प्राप्त गराइरहेको छ।’
निराशा मेरो मनमा जब पहाडजस्तै गरी खडा हुन्छ। समस्याको समाधान हुने कतै कुनै प्रकाशको किरणसमेत देखिँदैन। आफू एक्लो भएको महसुस गर्न थाल्छु, तब म गीताको शरणमा पुग्छु। गीताको कुनै न कुनै श्लोकमा पनि म विषम परिस्थितिमा पनि आशाको किरण देख्न थाल्छु र अनायाश मुस्कुराउन थाल्छु किनभने मैले बाटो पहिल्याएको हुन्छु, बाटो देखेको हुन्छु। …मेरो जीवन बाह्य विपत्तिबाट त जहिले पनि भरीभराउ नै छँदैछ तर ती विपत्तिहरूबाट गीताको प्रेरणाले आफ्नो कुनै दृश्यमान, अमिट चिन्ह नछोडी समस्या समाधान भएका छन्। त्यसको सारा श्रेय भगवद्गीतामा शिक्षाको कारणले नै हो।
-महात्मा गान्धी
गीताको प्रभाव संसारभर धेरै परेको छ। यो प्रारम्भिक समयमा चीन र जापानसम्म फैलिएको थियो र पछि पश्चिमा देशहरूमा फैलिएको हो। भनिन्छ,बौद्धधर्मको महायानशाखाका दुई ग्रन्थ महायानश्रद्धोपत्ति(महायानमा श्रद्धा जागरण) र सद्धर्मपुण्डरीक (सच्चा धर्मकमल) मा गीताको गहिरो प्रभाव परेको छ।
जर्मन धर्मका अधिकृत भाष्यकार जे डब्लु होअरले जर्मन धर्ममा गीताको महत्वपूर्ण स्थान दिनुभएको छ। उहाँले गीतालाई एक अनश्वर महत्वको ग्रन्थ भनेर भन्नुभएको छ। उहाँको विचारमा गीताले हामीलाई केवल गंभीर अन्तर्दृृष्टिमात्र प्रदान गर्दैन, यसले सबै समयमा सबै प्रकारको धार्मिक जीवनका लागि यो प्रामाणिक छ। उनको विचारमा गीताले इन्डो—जर्मन धर्मको मूल प्रकृति र उसको आधारभूत विशेषताको सम्बन्धमा पथ प्रदर्शन गर्छ। हामीलाई यसले जीवनको अर्थको हल गर्न केही भनेको छैन, तर जीवनमा कर्म गर्न,कर्म खोजेर पत्ता लगाउन र कर्म गरेर जीवनका समस्याहरू समाधान गर्दै जान प्रेरणा दिन्छ।
गीतामा कर्मको सन्देश जीवन दर्शनप्रति आधारित छ। गीता चाहन्छ– कर्ममा पदार्पण गर्नुभन्दा पहिले कर्म के गर्ने, के नगर्ने पत्ता लगाउनुपर्छ। अझ त्यो भन्दा पहिले जीवनको अर्थ सम्झिनुपर्छ। यो विचार किन जरुरी छ भने जीवनमा कर्म गर्ने हो,जीवन भनेको आत्मा हो र आत्माको दर्शनबाट नै कर्मयोग दर्शन आएको हो। नैतिक कर्म भनेको अनुभूतिजन्य हुन्छ। शंकराचार्य जसले गीताको भाष्य गरी सरलीकरण गर्ने कोसिस गरे र त्यसको प्रचार गरे, उनको कथनमा गीताको उद्देश्य हामीलाई बन्धनबाट छुटकारा पाउने उपाय सिकाउनु हो, केवल कर्म गर्ने मात्र प्रेरणा दिनका लागि होइन—शोकमोहादिसंसारकर्मनिवृत्यर्थ गीता शास्त्रम्, न प्रवर्तकम्।
शोधकर्ता, विद्वान सलील ज्ञवालीको पूर्वीय सभ्यता—विश्वविख्यात विद्वानहरूको दृष्टिमा (नेपाली भाषामा अनुवादक प्राध्यापक डाक्टर गोविन्दराज भट्टराई हुनुहुन्छ) यो अनुवाद ग्रेट माइन्ड्स् अन इन्डियाको नेपाली अनुवाद हो। डाक्टर भट्टराईको सुललित भाषा र विषयको गहिराइमा पुग्ने बानीका कारण मूलग्रन्थ जत्तिकै मिठासपूर्ण रहेको छ। श्रीयुत सलील ज्ञवालीले पूर्वीय सभ्यताका बारेमा खोजी गरेको समुद्रबाट मैले गीताका बारेमा भनिएका केही मोतीका दानाहरू मात्र टिपेको छु। गीताका बारेमा केही पश्चिमा र पूर्वीय विद्वानहरूका धारणा यहाँ राख्ने धृष्टता गरेको छु।
ब्रिटिस इन्डियाका प्रथम गभर्नर लर्ड वारेन हेस्टिङ्स् जो भारतीय वा पौरस्त्य साहित्यबाट अत्यन्तै प्रभावित हुनुभएको थियो। उहाँ गीताको बारेमा भन्नुहुन्छ— ‘भगवद्गीता एक महान् मौलिक चिन्तनको निष्पादन एवम् लोकोत्तर धारणा अनि अतुलनीय प्रकृतिका तर्क र शब्दले युक्त ग्रन्थ हो जो सम्पूर्ण ज्ञात मानव धर्महरूमा एक मात्र अपवाद हो भनेर म घोषणा गर्दछु।’
जर्मन दार्शनिक विल्हेल्म भोन हुम्बोल्टले भनेका छन्—कुनै पनि मानव भाषामा विद्यमान सम्भवतः सर्वाधिक उदात्त एकमात्र दार्शनिक गीत—गीता नै हो।
महान अमेरिकी दार्शनिक हेन्री ड्याभिड थोरोले गीताका बारेमा भने —प्रत्येक विहान म आफ्नो विचार शक्तिले भगवद्गीताको भव्य र विश्वोत्पत्तिविषयक ब्रह्माण्ड दर्शनमा स्नान गर्दछु। त्यतिखेर यसका तुलनामा आधुनिक जगत् र यसको साहित्य अत्यन्त निरीह र तुच्छ लाग्दछन्।
अस्ट्रियन लेखक तथा दार्शनिक, सामाजिक एवम् आध्यात्मिक चिन्तक रुडोल्फ स्टेइनरका विचारमा भगवद्गीताजस्तो लोकोत्तर उदात्त सिर्जनालाई राम्ररी बुझेर त्यसमा प्रवेश गर्न हामीले आफ्ना आत्मालाई पनि त्यसैमा समर्पण गर्नु जरुरी छ।
आयरल्यान्डका साहित्यिक पुनर्जागरणका महान अग्रणी चिन्तक ए ई जर्ज रसेलले गीता र उपनिषद्लाई एकै ठाउँमा जोडेर भन्छन्— भगवद्गीता र उपनिषद्मा विद्वत्ता अनि ज्ञानका ईश्वरीय परिपूर्णता देखिन्छ भन्ने म ठान्दछु किनभने तिनका स्रष्टाहरूले ती कृति लेख्नुभन्दा पहिले शान्तचित्तले अतीतका भावपूर्ण जीवनलाई स्मृतिचित्रमा उतारेको हुनुपर्दछ साथै तिनीहरूको सङ्कुल संघर्षले युक्त छायाझैँ बितेका अनेक कुराहरूलाई, ती घटना र वस्तुलाई त्यसरी अनुभव गरेको हुनुपर्छ जसलाई अन्तरात्माले सुनिश्चित गर्दछ।
स्विस कवि तथा उपन्यासकार (नोबेल पुरस्कार विजेता, १९४६) हर्मन हेस्सेले भन्नुभएको छ— ‘गीताको आश्चर्य भन्नु नै जीवन विषयक ज्ञानको सुन्दर रहस्योद्घाटन हो, जसले गर्दा दर्शनलाई धर्मका रूपमा पुष्पित हुन सहयोग पुर्याउँछ।’
एस्टोनियाका प्रसिद्ध चिन्तक, ग्रहतारा नक्षत्रको संस्कृतिवारे चिन्तन गर्ने प्रथम विद्वान काउन्ट हर्मन केसरलिङ्ले भगवद्गीताका बारेमा भन्नुभएको छ— ‘भारतवर्षले आजसम्म हामीले थाहा पाएको गम्भीरतम आधिभौतिकी जन्माएको छ। दर्शनमा पश्चिममाथि भारतको अतुलनीय श्रेष्ठता स्थापित छ र महाभारतबाट निःसृत कविता साथै भगवद्गीता सायद विश्व साहित्यकै सुन्दरतम रचना हुनुपर्छ।’
भारतका पूर्वप्रधानमन्त्री तथा प्रकाण्ड विद्वान् पण्डित जवाहरलाल नेहरूले भगवद्गीताका सम्बन्धमा आफ्नो धारणा यसरी व्यक्त गर्नुभएको छ— ‘भगवद्गीता खासगरी मानव आत्माको आध्यात्मिक अस्तित्वबोधसँग जोडिएको छ। यो एउटा त्यस्तो कर्मका लागि गरिएको आह्वान हो जसले आध्यात्मिक प्रकृति तथा ब्रह्माण्डका अझ महत्तम उद्देश्यलाई हृदयंगम गर्दै जीवनका बाध्यता र कर्महरू पूरा गर्दछ।’
प्रसिद्ध अंग्रेजी उपन्यासकार एल्डौस हक्स्लेले भगवद्गीता आध्यात्मिक विकासको अत्यन्तै व्यवस्थित विवरण हो, मानवजातिको लागि यो चिरस्थायी महत्वको रत्न हो, अर्थात् यो आजसम्ममा निर्मित आध्यात्मिक सारतत्व बोकेको सर्वाधिक स्पष्ट र व्यापक(आध्यात्मिक) सारांश हो भन्नुभएको छ।
जुलियस रोबर्ट ओपेनहाइमर जसलाई अणुबमको पिता पनि भनिन्छ, उहाँले गीता अध्ययन मिहिन तरिकाले गर्नुभएको थियो र उहाँले नै हो कृष्णको त्यो भनाइलाई साथीहरूसमक्ष भन्नुभएको थियो— ‘म महाकाल हुँ। म सबैलाई संहार गर्न आएको हुँ र सबै कालको मुखमा स्वतः परेका छन्। कसैले कसैलाई मार्नु पर्दैन, स्वतः मरिसकेका छन्।’ तिनै ओपेनहाइमरले गीताका बारेमा भनेका रहेछन्— ‘भारतवर्षको महान् साहित्यिक निधि भगवद्गीताले हामीलाई प्रदान गरेको रहस्यपूर्ण अनुभूतिको चकित पार्ने वर्णनका सान्निध्यमा राख्दा पाश्चात्य सभ्यताको महान वैज्ञानिक उपलब्धि पनि अत्यधिक भयप्रद लाग्दछ।’
(पूर्वीय सभ्यता विश्वविख्यात विद्वानहरूको दृष्टिमा भन्ने पुस्तक र त्यसका मूल लेखक सलील ज्ञवालीजी र अनुवादक प्राध्यापक डाक्टर गोविन्दराज भट्टराईजीप्रति आभार व्यक्त गर्दछौँ।)
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
हरिविनोद अधिकारी का अन्य पोस्टहरु:
- शकुनिको बदला
- शकुनिको कूटनीतिक क्षमता
- वैश्विक तापक्रम वृद्धिको दुष्परिणाम र हाम्रो भविष्य
- हिडिम्बाको मोह
- द्रौपदीलाई आफ्नै रूपको चिन्ता
- ब्राह्मण कुमारले विश्व सुन्दरीमाथि जमाए अधिकार
- द्रौपदीको छल
- शिखण्डीलाई लिङ्ग प्रदान, यक्ष स्थूणाकर्ण बने स्त्री
- यसरी भयो शिखण्डीको लिङ्ग परिवर्तन
- दिगो शान्तिका लागि गान्धीको पथप्रदर्शन