महाभारतको शान्तिपर्वमा भीष्म पितामह र युधिष्ठिर संवादलाई संसारमा नै राजनीतिको दिग्दर्शन मानिन्छ। आजभन्दा ५ हजार वर्षभन्दा पहिलेको राजनीतिक परिवेशलाई आजको आँखाबाट हेर्दा पनि समसामयिक परिवेशसँग पनि जोड्न मिल्ने रहेछ। त्यहाँ भनिने प्रसङ्गलाई विवेचना गर्ने हो भने आज पनि राजाको या सत्ताका शीर्ष र कार्यकारी पदमा बस्नेहरूका लागि मार्गदर्शनका रूपमा लिन सकिन्छ।
हुन त भीष्म पितामहले युधिष्ठिरलाई दिएको उदाहरणहरू कतिपय प्रतीकात्मक नै पाइन्छन् किनभने पशुपक्षीहरूको उदाहरण दिएर राजाले या शासकले गर्नु पर्ने कर्तव्यलाई बोध गराइएको छ।
शान्तिपर्वको अर्थ नै युद्धको समाप्ति पछि, संक्रमणकाल पछिको रूपान्तरणको समय मानिन्छ। युद्ध जहिले पनि विनाशकारी हुन्छ। राज्यका महत्वाकांक्षीहरू मध्ये कसैको जित हुन्छ,कसैको हार हुन्छ तर युद्धका कारणले जुन धनजनको अक्षम्य क्षति भएको हुन्छ, त्यसबाट जनता सधैँ पीडित नै हुने रहेछन्। आधुनिक कालको विश्व इतिहासको अध्ययन गरे पनि युद्धका कारणले रहने तुसले अझै पनि कतिपय देशहरूमा आपसी तनाव बाँकी नै छ। हाम्रै देशको विगत तीन दशकदेखिको अवस्थालाई विवेचनात्मक रूपमा समीक्षा गर्दा पनि र निष्पक्ष भएर सोच्दा पनि पीडितले न्याय पाउन सकेको छैनन् र दण्डहीनताका कारणले द्वन्द्व पीडितले न्याय पाउन सकेका छैनन्। स्वयं युधिष्ठिरमा युद्धको कारणले भएको जनधनको क्षतिमा आफ्ना जिरहले युद्धको थालनी भएको र १८ अक्षौहिणी सेनासहित सबैजसो आफन्तहरूको मृत्यु भएकोले त्यो सबै अन्याय, अत्याचार र परिणामको दोषी आफूलाई नै बढी जबाफदेही ठानेर तड्पिरहेका थिए। उनी मानसिकरूपमा विक्षिप्त जस्तै भएर हस्तिनापुरमा राज्य गर्न नै नजाने सुरमा देखिन्थे। अर्जुन युद्धको सुरुमा नै कायरजस्तै भएर युद्ध नगर्ने पक्षमा रुँदै रुँदै कृष्णका सामु गए र कृष्णले सम्झाए पनि युद्ध गर्नका लागि राजी भए। जस जसले जुन प्रकारको सहयोग र क्षमता देखाए, युद्धको परिणाम पाण्डवको पक्षमा भयो। र युद्धको विभीषिकाबाट बाँकी रहेका प्रजाजनहरू चक्रवर्ती महाराज युधिष्ठिरको राज्यमा न्याय पाइन्छ भन्ने आशाले उनको राज्याभिषेकको चाहना राख्दै थिए तर सम्पूर्ण धनजनको क्षतिमा आफूलाई पापी ठानी युधिष्ठिरमा राजा हुने विचारमा विमोह पैदा हुन थालेको अवस्था थियो। त्यसको निवारणका लागि कृष्णले युधिष्ठिरलाई भीष्म पितामहसँग राजनीति सिक्नका लागि उत्प्रेरित गरे।
प्रजाजनहरू चक्रवर्ती महाराज युधिष्ठिरको राज्यमा न्याय पाइन्छ भन्ने आशाले उनको राज्याभिषेकको चाहना राख्दै थिए तर सम्पूर्ण धनजनको क्षतिमा आफूलाई पापी ठानी युधिष्ठिरमा राजा हुने विचारमा विमोह पैदा हुन थालेको अवस्था थियो। त्यसको निवारणका लागि कृष्णले युधिष्ठिरलाई भीष्म पितामहसँग राजनीति सिक्नका लागि उत्प्रेरित गरे।
युधिष्ठिरलाई राज्यारोहणका लागि तयार हुने वातावरण बनाउनका अर्जुन, श्रीकृष्ण र भीमको मुख्य भूमिका रह्यो। जब युधिष्ठिर राजा हुन तयार भए, अनि कृष्णले भीष्मसँग ज्ञान लिनका लागि लाँदा विभिन्न विषयमा वार्ता भएको पाइन्छ। न्याय सम्पादनका विषयमा, युद्ध सञ्चालनका विषयमा, कर्मचारी छनोटका विषयमा, सेना परिचालनका विषयमा आदि अनेकानेक विषयमा युधिष्ठिरका जिज्ञासाको शान्तिपूर्वक भीष्मले जानकारी दिएका थिए।
एउटा प्रसङ्गमा महाराज युधिष्ठिरले वाण शय्यामा सुतिरहेका पितामह भीष्मलाई सोधे—धेरैजसो कठोर स्वभाव भएका मानिसहरू बाहिर देखिँदा कोमल र शान्त देखिन्छन् र कोही शान्त तथा कोमल स्वभावका मानिसहरू कठोर देखिन्छन्, यस्ता मानिसहरू को कोमल र को कठोर हो भनेर कसरी छुट्टाउन सकिन्छ होला पितामह ? अनि न्याय सम्पादन कसरी गर्ने होला ?
अनि पितामह भीष्म भन्छन्—यस सम्बन्धमा एउटा पुरानो इतिहासको कथा भन्छु सुन युधिष्ठिर, यो एउटा बाघ र स्यालको कथा हो। धेरै पहिलेको कथा हो, कुनै पुरिका नामको एउटा नगरीमा एउटा पौरिक नामका राजा राज्य गर्दथे। राज्य धनधान्यले भरिपूर्ण थियो। तर राजा एकदम क्रुर नीच स्वभावका थियो। सदा अरू प्राणीहरूको हिंसामा लागिरहन्थ्यो। बिस्तारै एक दिन काल पनि आयो र ऊ मर्यो। मरेपछि उसको मनुष्य योनिको पापले स्यालको योनिमा उसको जन्म भयो। तर त्यो स्यालमा पूर्वजन्मको स्मरण भई रहेको थियो। आफ्नो पुरानो धनधान्यको सम्झनाले उसमा यो स्याल जुनीको भावले ग्लानि भयो,खेद मान्न थाल्यो र वैराग्य उत्पन्न भयो। अब उसमा स्यालको जुनी पाएको भए पनि हिंसा नगर्ने र सत्यवादी भएर जीवन निर्वाह गर्ने विचार गर्न थाल्यो। हिंसा छोड्यो, सत्यवादी भयो र जीवनभर सत्यमा अडिने ब्रत लियो। समयमा भोजन गर्ने, समयमा सुत्ने र सबैलाई अहिंसाको अर्ती उपदेश दिन थाल्यो। भोजन पनि पाकेको फल रुखबाट झरेको मात्र खान थाल्यो। उसका बन्धु बान्धव स्यालहरूले उसलाई स्यालको जुनीमा जन्मेपछि मासु खानै पर्छ, यसरी अहिंसात्मक भएर कसरी हुन्छ र भनेर सम्झाउन थाले तर उसले आफूले लिने व्रतबाट टसमस नहुने विचार गरेर अरूलाई पनि त्यस्तै हुन सुझाव दिन थालेको थियो।अरू स्यालहरूले उसलाई भने, ठिकै छ ,तैँले कसैको हिंसा नगर, हामीले बरु तेरोलागि आवश्यक मासुको व्यवस्था गरौँला तर यसो नगर भन्दा पनि उसले मानेन र शाकाहारी नै हुन थाल्यो र रुखबाट झरेका फलफूल मात्र खान थाल्यो। अनि सम्झाउन आउने अरू स्यालहरूलाई उल्टै सम्झाउँदै भन्न थाल्यो—साथीहरू, हामीलाई स्याल जाति भनेर हेपेको पनि यस्तै भएर हो,हामी सिनो खान्छौँ र अरूलाई कसरी ठग्ने भन्ने मात्र सोच्छौँ। हाम्रो जातिको उत्थान गर्ने हो भने अहिंसात्मक हुनुपर्छ र सत्यवादी हुन सक्नुपर्छ। असल स्वभाव र आचरणले मात्र कुलको इज्जत बढ्नेछ र प्रतिष्ठा जगेर्ना गर्न सकिने छ। धर्म कर्ममा मन लगाउनु पर्छ, अरूको हित गर्नुपर्छ। जति पनि असल काम गर्न सकिन्छ, त्यो आत्मशुद्धिले मात्र हुन्छ, त्यसैले सत्यको पक्षमा व्रत धारण गरौँ र सबैको हितमा आफूलाई समर्पण गरौँ। तिमीहरूको धारणा त यति खराब छ कि यो जुनी त गयो गयो,अर्को जुनीमा पनि तिमीहरूको अहिलेको पापले रसातलतिरै धकेलिने छौ।
सत्यवादी,नीतिज्ञ तथा धर्माचरणका रहेको स्यालको चर्चा टाढा टाढासम्म पुग्यो र जङ्गली जनावरहरू उसको दर्शनका लागि आउन थाले। त्यसो त त्यो स्याल मसान घाटमा नै बस्थ्यो तर मासु पनि नखाने, कुनै सिकार पनि नगर्ने र कसैको हिंसा पनि नगर्ने मात्र फलफूल, त्यो पनि रुखबाट पाकेर झरेका मात्र खाने बानीको सर्वत्र चर्चा हुन थाल्यो। यस्तो बयान सुने पछि त्यो वनको राजा बाघले त्यो स्याललाई मन्त्री हुनका लागि अनुरोध गर्यो। र भन्यो, म तिमीलाई मन्त्री बनाउँछु हाम्रो यो जङ्गलको राज्यमा, तर हाम्रो बाघ जातिको मन कठोर हुन्छ, त्यसैले सावधान रहेर आफ्नो कर्तव्य निर्वाह गर्नू अरू कुरामा त मैले सहयोग गर्छु नि।
सत्यवादी,नीतिज्ञ तथा धर्माचरणका रहेको स्यालको चर्चा टाढा टाढासम्म पुग्यो र जङ्गली जनावरहरू उसको दर्शनका लागि आउन थाले। त्यसो त त्यो स्याल मसान घाटमा नै बस्थ्यो तर मासु पनि नखाने, कुनै सिकार पनि नगर्ने र कसैको हिंसा पनि नगर्ने मात्र फलफूल, त्यो पनि रुखबाट पाकेर झरेका मात्र खाने बानीको सर्वत्र चर्चा हुन थाल्यो। यस्तो बयान सुने पछि त्यो वनको राजा बाघले त्यो स्याललाई मन्त्री हुनका लागि अनुरोध गर्यो। र भन्यो, म तिमीलाई मन्त्री बनाउँछु हाम्रो यो जङ्गलको राज्यमा, तर हाम्रो बाघ जातिको मन कठोर हुन्छ, त्यसैले सावधान रहेर आफ्नो कर्तव्य निर्वाह गर्नू अरू कुरामा त मैले सहयोग गर्छु नि।
त्यसपछि स्यालले भन्यो— हे बाघराजा, तपाईँको आश्रयमा रहेका कतिपय जन्तुहरूले यसरी मलाई बाहिरबाट मन्त्री बनाउँदा रिसाउने पनि हुन्छन्, महाराजसँग वैरभाव राख्ने पनि हुन सक्छन्, त्यसैले आफ्नो हित चाहने कुनै पशुलाई राज्यको जिम्मा दिएर तपाईँ आराम गर्नुस्। मेरो स्वभाव कस्तो छ भने सबैको अधिकार र कर्तव्यका बारेमा सोच्ने अनि, कोमल मनले काम गर्ने र अन्य जीवहरूलाई माया गर्ने। आजसम्म जति जना पशुलाई तपाईँले काम दिनु भएको छ, ती सबलेै तपाईँप्रति आभार व्यक्त गर्नेछन्। तर राजालाई पनि त्यस्तै कोमल मनको, हत्या हिंसाप्रति आशक्ति नभएको मन्त्रीको जरुरत परेकाले स्यालले मन्त्री हुन मान्यो।
राजाको वरिपरि रहेका स्वार्थी जमातका लागि त्यो सत्यवादी स्याल आँखाको कसिङ्गर जस्तै भयो तर अन्य जनावरहरूका लागि भने त्यसले, मन्त्रीको सद्बुद्धि, सबैलाई समानताको आँखाले हेर्ने सत्प्रयासले राजा बाघको नाम सुयशको रूपमा लिन थाले। ती चाप्लुसी गर्नेहरूलाई स्यालको धर्म परायणताका कारणले धर्म अनुसार र परम्परागत न्याय सम्पादनको आधारमा गर्ने न्याय र राजालाई सही जानकारी दिने कामको राजाले प्रशंसा गर्न थाले तर स्वार्थी समूहलाई भने पटक्कै मन परेको थिएन किनभने उनीहरूको आफ्नो स्वार्थमा त्यसले धक्का लागेको थियो।
एक दिन राजाबाट आफूहरू अपहेलित भएको सम्झने स्वार्थीहरूले राजाको खानका लागि राखेको मासुको भाग चोरेर स्यालको गुफामा राखे । राजा स्नान गरेर हिजोको मासु खान खोज्दा त मासु छैन। अनि सोध खोज गर्दा कसैले भन्यो, महाराज हजुरको मासुको भाग त मन्त्री स्यालले लिएर गयो। राजा पनि तत्कालै रिसाएर त्यो स्याललाई जसले जहाँ भेट्ने छ,त्यहाँ नै मार्नू भनेर आदेश दिए तर बाघराजाकी आमाले भनिन्—त्यस्तो धर्मात्मा स्याल छ,कहिल्यै मासु पनि खाँदैन,फलफूल पनि रुखबाट झरेका मात्र खान्छ,उसले तेरो भागको मासु खाएको मलाई विश्वास छैन, उसलाई नमार्नू ,बरु माफी मागेर सदाका लागि मन्त्रीकै पदमा राख्नू।
त्यही स्वार्थी समूहभित्र पनि मन्त्री स्याले आफ्ना गुप्तचरहरू राखेको थियो। जब उसले सुन्यो कि राजाले कुनै छानबिन नगरी आफूलाई मार्ने नियत राखेर, मृत्यु दण्ड दिने आदेश थिए तर राजामाताका अनुरोधमा मात्र आफू बाँचेको कुरा थाहा पाए पछि मन्त्री स्याल आफै राजाको दरबारमा गएर भन्यो— म मारिऊँ या नमारिऊँ तर राजाको मनमा मप्रति कुनै छानबिन नै नगरी राजाको भाग मासु चोरेर मेरो गुफामा राखेको षडयन्त्रको कुरै नबुझी र गलत समाचारका आधारमा मार्ने दण्डसमेत दिने राजाको अधीनमा म बस्दिन तर सत्यबाट डगेकाले म अब मन्त्रीको रूपमा पनि रहन्न। यति भनेर स्याल अपमान बोध गर्दै अर्को जङ्गलमा गएर निर्जला व्रत राख्यो र मर्यो।
हे राजा युधिष्ठिर, राजनीतिमा नियतको ठुलो अर्थ रहन्छ। नबुझी कसैलाई दण्डको भागी बनाउन आदेश दिँदा, कार्यान्वयन हुन सकेन भने पनि मनको तुस देखिन्छ र त्यसबाट शासकको मुख्य चाहना भनेको सत्य र असत्य छान्न नसकी अनाहकमा निर्दोष प्राणीले दण्ड पाउने हुन्छ। त्यसैले राजाले बुझेरमात्र दण्ड दिनुपर्छ। नबुझीकनै भए पनि तर देखाउने र बोलिने शब्दले, आदेशले, सङ्केतले मनमा कलुषित भावना रहेछ भन्ने कुराको ज्ञान दिन्छ। एक पटक मनमा गलत धारणा बसेपछि त्यो सधैँ शङ्काको घेरामा हुन्छ। आपसमा शत्रुता बढ्न सक्छ। त्यसैले तिमीले पनि नबुझी कुनै पनि कुराको न्याय दिने कोसिस नगर्नू। कुरा लगाउने स्वार्थी समूह सबै शासकका वरिपरि घुमिरहेका हुन्छन्। को आफ्नो हित चिन्तक हो, को अहित चिताउने हो बुझेर मात्र राजाले काम गर्न सक्नुपर्छ उनीहरूको चाहना भनेको आफ्नो स्वार्थपूर्ति गर्ने तर त्यसबाट आउन सक्ने परिणामको दोषी त राजा या शासक नै हुने हुन्छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
हरिविनोद अधिकारी का अन्य पोस्टहरु:
- शकुनिको बदला
- शकुनिको कूटनीतिक क्षमता
- वैश्विक तापक्रम वृद्धिको दुष्परिणाम र हाम्रो भविष्य
- हिडिम्बाको मोह
- द्रौपदीलाई आफ्नै रूपको चिन्ता
- ब्राह्मण कुमारले विश्व सुन्दरीमाथि जमाए अधिकार
- द्रौपदीको छल
- शिखण्डीलाई लिङ्ग प्रदान, यक्ष स्थूणाकर्ण बने स्त्री
- यसरी भयो शिखण्डीको लिङ्ग परिवर्तन
- दिगो शान्तिका लागि गान्धीको पथप्रदर्शन