अमेरिकामा पछिल्लो १०० वर्षमा पहिलोपटक मानिसको औसत आयुमा ठूलो गिरावट आएको छ। अब त्यहाँका मानिसको औसत आयु घटेर ७६ वर्ष पुगेको छ।
पछिल्ला २–३ वर्षअघि औसत आयु ७९ वर्ष थियो। सन् १९०० को सुरुवातदेखि अमेरिकामा उपलब्ध उत्कृष्ट चिकित्सा व्यवस्था र औषधिका कारण मानिसको अपेक्षित आयु लामो बनेको थियो। तर पछिल्ला केही वर्षमा यसमा गिरावट आउन थालेको छ। यसमध्ये एउटा कारण कोभिड पनि हो।
२०२० मा कोभिड महामारी कैयौँ देशमा राजनीतिक मुद्दा नै बन्यो। तर अमेरिकामा भने यसको राजनीतिकरण अन्तभन्दा बढी भयो। त्यहाँ केही मानिस भ्याक्सिन लगाउन मानेका थिएनन् भने केहीले कोभिडसम्बन्धी नियमको विरोध गरेका थिए।
यदि जनसंख्याको अनुपातमा हेर्ने हो भने कोभिड महामारी फैलिएपछिको तीन वर्षमा अन्य धनी देशको तुलनामा धेरै मानिसले ज्यान गुमाए। अमेरिकामा अहिलेसम्म कोभिडबाट मृत्यु हुनेको संख्या १० लाख नाघेको छ। पछिल्ला केही वर्षमा त्यहाँ असमयमै मृत्यु हुनुको मुख्य कारण कोभिड नै हो। तर यसका अरु पनि कारण छन्। सन फ्रान्सिस्कोका प्रेसिडियो ग्र्याजुएट स्कुलका प्रोफेसर जेरेमी नेयका अनुसार आयको सीधा सम्बन्ध अपेक्षित आयुसँग हुन्छ। प्रोफेर जेरेमी असमानताका विषयमा शोध गर्नुहुन्छ।
जेरेमी भन्नुहुन्छ, ‘आय, आवास, शिक्षा र हिंस्रक अपराधजस्ता मुद्दाको प्रभाव हाम्रो आयुमा पर्छ। यदि तपाईं पिछडिएको या हिंसाग्रस्त इलाकामा बस्नुहुन्छ भने तपाईं ६५ वर्ष मात्र बाँच्न सक्नुहुन्छ। तर राम्रो ठाउँमा बस्नुहुन्छ भने ८५ वर्षसम्म बाँच्न सक्नुहुन्छ। अर्थात् यी चिजले तपाईंको आयुलाई २० वर्ष घटाइदिन सक्छ। यही कारणले पछिल्लो चार दशकमा अमेरिकाका भिन्दाभिन्दै क्षेत्रमा औसत आयु २० वर्षको फरक देखिएको छ।’
जेरेमीको मान्यता छ– अमेरिकाका अन्य क्षेत्रको औसत आयुमा फरक हुनाको कारण ती क्षेत्रमा उपलब्ध हुने स्वास्थ्य सेवा पनि हो। त्यहाँ गरिब जनतालाई स्वास्थ्य सेवा प्रदान गर्न ६० वर्षअघि मेडिकएड कार्यक्रम सुरु गरिएको थियो। २० वर्षअघि राष्ट्रपति बाराक ओबामा शासनमा यो योजना विस्तार गरी धेरैभन्दा धेरै मानिसलाई यसबाट लाभ दिने गरी प्रावधान ल्याइएको थियो। यो प्रावधान लागू गर्न हरेक राज्यलाई स्वतन्त्र अधिकार थियो। १० अमेरिकी राज्यले यो योजना लागू गर्न मानेनन्।
‘जुन राज्यले योजना लागू गरे त्यहाँ प्रत्येक एक लाखमा २०० जनाको ज्यान बच्यो,’ जेरेमी भन्नुहुन्छ, ‘साथै असामयिक मृत्यु दर पनि ५० प्रतिशतले घट्यो। यो एउटा केन्द्रीय योजना हो। तर जुन राज्यले यसलाई लागू गरेनन्, त्यहाँका मानिसको औसत आयुमा प्रभाव परेको छ।’
शोधकार्यबाट पत्ता लागेको छ– गरिब समुदायका मानिसको औसत आयु कम छ। त्यस्तै, अश्वेत अमेरिकी मानिस र ल्याटिन अमेरिकी मूलका हिस्पेनिक समुदायका मानिसको औसत आयु गोरा अमेरिकी मानिसको तुलनामा कम छ।
त्यसैगरी, आय र नश्लको पनि औसत आयुसँग सम्बन्ध हुने जेरेमीको भनाइ छ। अश्वेतहरुको आय गोरा अमेरिकी मानिसको भन्दा कम छ। उनीहरु गोरा मानिसको तुलनामा ५ वर्ष कम बाँच्छन्।
यसबाहेक औसत आयु घट्नुको अर्को कारण हो, अपराध र जेल सजाय। ‘समाजमा असमानताको प्रभाव पनि मानिसको आयुमा परेको हुन्छ,’ जेरेमी भन्नुहुन्छ, ‘फ्लोरिडा राज्यका ती क्षेत्रमा औसत आयु बढी छ, जहाँ मानिसहरु राम्रो खान्छन्, एक्सरसाइज गर्छन्। तर युनियन काउन्टीमा स्थिति खराब छ। राज्यकै ठूलो जेल पनि त्यहाँ छ। जो जेलमा बस्छन्, तीमध्ये केही मानिस कम आयुमै मृत्युको सिकार बन्छन्।’
त्यसैगरी औसत आयु घट्ने तेस्रो कारण युद्ध हो। विगत २० वर्षमा अमेरिका, इराक र अफगानिस्तानबीच लामो समयसम्म युद्ध चल्यो। त्यसअघि भियतनाममा २० वर्षसम्म युद्ध चल्यो, जहाँ ५८ हजार अमेरिकी मानिसले ज्यान गुमाए। त्यसको असर अहिले अमेरिकी समाजमा परेको छ।
-बिबिसीबाट
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- घुम्टोमा घण्टाघर: मर्मतसम्भार शीघ्र पूरा गर्न वीरगञ्जवासीको माग
- के रेबिज खोप चौबिस घण्टाभित्र लगाइसक्नुपर्ने हो ?
- बेलायतमा नेपाली भजन महोत्सव
- उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपातको सम्भावना
- रेसुंगा विमानस्थलबाट सातामा तीन पटक उडान हुने
- गौतमबद्धका कालजयी उपदेश र मार्गदर्शनलाई आत्मसात् गर्न राष्ट्रपतिद्वारा आग्रह
- दही र महीको माग बढ्दै
- चितवनको कान्दामा दुई घण्टा बोकेर हाते ट्रयाक्टर पुर्याउँदा…
- रुरु क्षेत्रमा ‘शालिग्राम महोत्सव’
- सेती नदी जलविद्युत् आयोजना निर्माण सम्पन्न
