वैदिक कालमा सबै समान थिए भनिन्छ। वैदिक सभ्यतालाई परिमार्जन गरेको कुरा पुराणहरूले भनेका छन्। पुराणहरूलाई पञ्चम वेद किन भनेको रे भने वेद सूत्रबद्ध रूपमा थियो, त्यसको विशद व्याख्या गर्न र उदाहरणसहित व्यावहारिक रूपमा स्पष्ट पार्न पुराणहरूमार्फत सचेत गराइएको मानिन्छ। श्रीमद्भगवत गीतालाई उपनिषद्को मर्मलाई व्याख्यात्मक तरिकाले बताइएको र श्रीकृष्णले विश्वरूप देखाउन तयार गरिएको मानिन्छ। अतः पौराणिक कालमा सभ्यताको जुन विकास भएको मानिन्छ, त्यही कुरा पुराणले जनतासमक्ष प्रस्तुत गरेको हो जसलाई शौनकादि ऋषिहरूले संसारभर प्रचार गरे भनिन्छ।
वैदिक काल होस् या पौराणिक काल होस्, त्यस बेलामा सबै मानिसहरू आपसमा बराबरी थिए। उनीहरूको अवस्थालाई उनीहरूको कर्मका आधारमा विभाजित गरिएको हुन्थ्यो। शर शय्यामा सुतिरहेका भीष्म पितामहलाई महाराज युधिष्ठिरले विनम्रताका साथ सोधे—पितामह, कर्म र भाग्यमा कुन श्रेष्ठ हो? अर्थात् दैव(भाग्य) र पुरुषार्थमा कुन श्रेष्ठ हो ? भीष्म पितामहले पनि पुरानो प्रसङ्ग जोडेर यही कुरा कुनै बेलामा लोक पितामह ब्रह्माजीसँग उनकै मानस पुत्र महर्षि वशिष्ठले सोधेका रहेछन्—भगवन्, प्रारब्ध र मनुष्यको प्रयत्नमा कुन श्रेष्ठ हो ?
ब्रह्माजीले भनेछन्—विना बीजले केही पनि उत्पादन या पैदा हुन सक्दैन। वीजले नै वीज उत्पन्न गर्छ,अनि त्यही वनस्पतिमा फूल फुल्छ अनि त्यसैमा फेरि फल लाग्छ, त्यही फलमा वीज रहन्छ, यो क्रम निरन्तर रहन्छ। किसान खेतमा जे रोप्छ, त्यही फलाउँछ, त्यही फल्छ। त्यही अनुसार फल प्राप्त हुने हो। यसै प्रकार पाप या पुण्य जे गरेको छ, त्यही प्राप्त हुने हो। जसरी कुनै वीज नछरी या नरोपी कुनै फल प्राप्त गर्न सकिँदैन, त्यस्तै हो कर्म विना प्रारब्धले मात्र केही हुँदैन। प्रारब्धले पनि विना पुरुषार्थ केही दिन सक्दैन। दैव या भाग्यले के पो गर्न सक्छ र ? त्यसैले कर्म गर्नेले मात्र राम्रो या नराम्रो आफैँ भोग्ने हो। भाग्य भनेको फल प्राप्त गर्ने र त्यसको गूढार्थ मात्र हो। फल प्राप्त गर्न त कर्म गर्नै पर्छ, कर्म नै छैन भने प्रारब्धले कसरी फल दिन सक्छ र ? पुरुषार्थी मानिसको मात्र वा कर्मशील व्यक्तिको मात्र प्रारब्ध बन्न सक्छ, प्रारब्ध छ भन्ने कुरा पनि कर्मले मात्र देखाउँछ। विना कर्म प्रारब्ध कसरी कुनै मानिसको छेउमा आउन सक्छ र ? त्यसैले हे वशिष्ठ, पुरुषार्थ र भाग्यमा जहिले पनि पुरुषार्थ नै श्रेष्ठ हो। व्यक्ति जन्मँदै केही पनि हुँदैन,कर्मका आधारमा उसको जात या श्रेणी विभाजित हुँदै जाने हो। उसको क्षमताका आधारमा र कर्मका आधारमा ब्राह्मण, क्षत्री, वैश्य या शूद्र भनेर विभाजित गरिने हो।
अनि युधिष्ठिरले सोध्ने नै भए कि कसरी पुरुषार्थले भाग्यको निर्धारण गर्छ र ? भीष्म पितामहले क्षत्रीको कुलमा जन्मेका राजा विश्वामित्र पछि कर्मशीलका कारणले ब्राह्मण योनिमा परिवर्तन भएका थिए भनेर युधिष्ठिरलाई सम्झाएका थिए। कर्मले प्रारब्धलाई डोर्याएको हुन्छ भन्ने मान्यतामा भीष्म पितामह देखिन्छन्।
आजभन्दा पाँच हजार वर्ष अघिको समाजलाई आजको समाजको चेतना र वर्गीय समताको आधारमा दाँज्न मिल्दैन तर आजभन्दा पनि त्यो बेलामा, महाभारतकालीन समाजमा सामाजिक परिवेश झन् प्रगतिशील देखिन्छ। त्यो बेलामा मानिसलाई कुलको आधारमा विभाजित गर्दा पनि उसको क्षमतालाई ध्यानमा राखेर उसको कर्मका आधारमा उसलाई ब्राह्मण,क्षत्री, वैश्य या शूद्रका रूपमा श्रेणीबद्ध गरिएको हुन्थ्यो। राजा हरिश्चन्द्रले जब चाण्डाल गर्ने कामको जिम्मा पाएका थिए, त्यो बेलामा उनको गणना चाण्डालको रूपमा भएको थियो। हाम्रो क्षेत्रमा ब्राह्मण, क्षेत्री, वैश्य र शूद्र भनेर मानिसहरूलाई चार श्रेणीमा बाँडिएको रहेछ। यो चलन मान्ने भनेको हाम्रो क्षेत्रमा हो र संसारभर जहाँ जहाँ विजय पताका फैलाएको पाइन्छ पौराणिक कालमा, ती ठाउँहरूमा सनातन धर्म मान्नेहरू, वैदिक धर्म मान्नेहरूमा यो जातीय श्रेणी रहेछ, जसको बाछिटा आजसम्म पनि बाँकी छ। त्यति मात्र होइन, आज त सामाजिक न्यायका नाममा जातीय विभाजन गरेर आरक्षणको व्यवस्था गरिएको छ। त्यसो हुनुमा चाहिँ हिजोका दिनमा भएको असामाजिक कार्यको क्षतिपूर्तिका लागि हो। जातीय परम्पराले रोपेको विषको वीज आजसम्म हाम्रो समाजमा छँदै छ र जन्मका आधारमा अझै पनि हाम्रो समाजमा जातीय पहिचान छ जबकि मानिस सबै एकै हुन् भन्ने आधारभूत मानव अधिकारका आधारमा राज्यले व्यवहार गर्छ,विभेद गर्न पाइँदैन भन्ने सिद्धान्त प्रतिपादित गरिएको छ संविधानका धाराहरूमार्फत, मौलिक अधिकारहरूमार्फत।
युधिष्ठिरले पनि त्यस बेलाको राजनीतिलाई कसरी समानताका आधारमा सञ्चालन गर्ने भन्ने जिज्ञासा लिएर भीष्म पितामहसमक्ष गएका थिए। पितामहले पनि कर्मले कसरी विश्वामित्र क्षत्रिय कुलमा जन्मेर पनि ब्राह्मणत्व प्राप्त गरेर राजर्षिका रूपमा गणना भए भन्ने उदाहरणीय प्रसङ्ग व्यक्त गरेका छन्। त्यसो त राजनीतिक जटिलताले र मानवीय मूल्याङ्कनको जटिलताले व्यक्तिको वस्तुगत मूल्याङ्कन हुन नसक्ने भएपछि कुलका आधारमा र त्यो कुलको सदस्यका नाताले जातिको गणना हुन थालेको पाइन्छ। त्रेता युग र द्वापर युगसम्म आउँदा जन्मका आधारमा जातिको गणना गर्ने सहज तरिका अपनाएको देखिन्छ। त्यसैको पृष्ठभूमिमा युधिष्ठिरले सोधेका छन्—पितामह, ब्राह्मणले ब्राह्मणीसँग विवाह गरेर जन्मेका बाहेक अरू क्षत्री, वैश्य र शूद्र कसरी ब्राह्मण योनिमा परिवर्तन हुन सक्थे र ? महात्मा विश्वामित्र कसरी क्षत्रिय कुलमा जन्मेर पनि ब्राह्मण भए ?
युधिष्ठिरको यो प्रश्न र पितामहको उत्तर महाभारतको अनुशासन पर्वमा पाइन्छ। पितामहले पनि तत्कालीन राज्य परिचालनको परम्परालाई स्पष्ट पार्न भन्न थाले —हे युधिष्ठिर, सुन क्षत्रिय कुलमा जन्मेर, राजाको छोरा राजा विश्वामित्र पछि कसरी ब्रह्मर्षि भए भनेर। भरत वंशमा एक अजमीढ नामका राजा थिए, उनको छोरो जन्हु भए जसले गङ्गाजीलाई आफ्नो छोरी बनाएका थिए (त्यसैले गङ्गाजीको नाम जाह्नवी भएको हुनुपर्छ), जन्हुका छोरा सिन्धु दीप,सिन्धु दीपका छोरा बलाकाश्व, उनको छोरो वल्लभ भए जो धर्मराज जस्तै न्यायी थिए, धर्म भीरु थिए। वल्लभका छोरा कुशिक तथा कुशिकका छोरा महाराज गाधि भए। महाराज गाधिका कुनै पुत्र थिएनन्, उनले वनमा गएर यज्ञानुष्ठान गर्थे पुत्र प्राप्तिका लागि। तर यज्ञका प्रतापले छोरो होइन, सुन्दर छोरी जन्मिइन् जसको नाम सत्यवती थियो।
अनुपम सुन्दरी राज कन्या सत्यवतीको रूप त्यो बेलामा यति चर्चामा थियो कि च्यवन ऋषिका पुत्र ऋषि ऋचीकले गाधि महाराजसँग उनको हात मागे। गाधि महाराजले पनि ऋषि ऋचीकसँग एक हजार श्याम कर्णे घोडाको माग गरे शुल्कका रूपमा छोरीको विवाह गर्नका लागि। महान् ऋषि च्यवन पुत्र ऋचीकले पनि भगवान् वरुणसँग आफ्नो अप्ठेरो देखाएर त्यस्ता एक हजार श्याम कर्णे घोडा मागे जो वायुको जस्तो गतिमा दौडन सकुन्, चन्द्रमा समान कान्तिवान् हुन् र एउटा कानचाहिँ निक्खरा कालो होस् भनेर जलका स्वामी अदिति नन्दन वरुण देवतासँग उनले मागे। जलका स्वामी अदिति नन्दन वरुणले पनि ऋषि ऋचीकले चाहेको बेलामा घोडा आफै आउने वरदान दिए अर्थात् घोडा दिए। श्याम कर्णे घोडा कस्ता हुन्थे भने सम्पूर्ण शरीर चन्द्रमाको जस्तो श्वेत रूपमा तर एउटा कान मात्र कालो हुन्थ्यो। त्यसपछि मुनि ऋचीकले कुनै स्थानमा पुगेपछि घोडाको लागि वरुण देवताको ध्यान गरे, नभन्दै एक हजार श्याम कर्णे घोडा प्रकट भए जसलाई आज पनि अश्व तीर्थ भनिन्छ। वास्तवमा महाराज गाधिले सम्झेका थिए कि युवा ऋषिले कसरी यो अप्ठेरो सर्त पूरा गर्लान् र ? यदि सर्त पूरा गर्न नसके त आफ्नी अति सुन्दर छोरी उनलाई दिनै परेन। तर जब एक हजार श्याम कर्णे घोडा शुल्क स्वरुप मुनि ऋचीकले महाराज गाधिलाई सुम्पिए,उनले ऋषिको श्रापबाट बच्न छोरीको विवाह युवा ऋषिसँग गरे, ब्रह्मर्षिले पनि वैदिक विधिअनुसार सत्यवतीको पाणि ग्रहण गरे र महाराजा गाधिले पनि छोरीलाई विभिन्न आभूषणसहित ब्रह्मर्षिको घरमा पठाए। क्षमतावान्, तपस्वी मुनि पाएपछि राजकुमारी पनि बहुत खुसी भइन् र उनले पनि ऋषि ऋचीकलाई खुसी तुल्याइन्। एक दिन ऋषि खुसी भएर सत्यवतीलाई वरदान दिनका लागि वरदान माग्न उत्प्रेरित गरे। सत्यवती खुसी भएर आमालाई सबै कुरा भन्न गइन्, माता हजुरका ज्वाइँ मुनि ऋचीक खुसी भएर मलाई वरदान माग्न भन्नु भएको छ, के मागौँ ? महारानीले भनिन्, तपस्वी ऋषिले जे पनि दिन सक्छन्, त्यसैले मेरा लागि पनि एउटा छोरो माग्नु पर्ने जस्तो छ, त्यही माग्दे न त मलाई चाहिँ एउटा छोरो। तत्काल सत्यवती ऋषि समक्ष गइन् र वरदानका लागि आफूलाई र आमालाई एउटा एउटा छोरो वरदानका रूपमा दिन आशीर्वाद मागिन्। ऋषिले पनि बुझे, त्यसैले उनले भने —तिम्रो लागि दिने वरदान सफल हुनेछ, माताका लागि पनि मैले दिएको वरदान सफल सिद्ध हुनेछ। मेरा वरदानका कृपाले तिमीले पनि छोरो पाउने छौ, महारानीले पनि छोरो पाउनु हुनेछ। मैले आमा र छोरीको लागि फरक फरक चरुको व्यवस्था गरेको छु। ऋतु स्नानपछि मैले दिएको चरु खाएर तिमीले गुलरको रुखमा अङ्कमाल गर्नू र मातालाई मैले दिएको चरु खाएर पिपलको रुखलाई अङ्कमाल गर्नू भन्दै चरुसमेत सत्यवतीलाई सुम्पिए।
खुसी हुँदै आमालाई सबै कुरा सुनाइन् र चरु पनि दिइन्। तर महारानीले छोरीलाई भनिन्, छोरी पक्कै पनि तिमीलाई दिएको चरु अरू राम्रो होला, त्यसैले तिमी र म साटौँ, तिम्रो चरु म खान्छु र गुलरको रुखमा अङ्कमाल गर्छु र तिमीले मेरो भागको चरु खाऊ र पिपलको रुखमा अङ्कमाल गर। आमाको भनाइलाई छोरीले नाइँ भन्न सकिनन् र कसरी पो थाहा होला ऋषिलाई भन्ने नै प¥यो होला।
तर सिद्धि प्राप्ति गरेका ऋषि ऋचीकले सत्यवतीको हाउभाउ र उनको शरीरबाट आउने तेजलाई विचार गर्दा खिन्न भएर भने, तिमीले गल्ती गरिसकेको थाहा पाएँ किनभने मैले तिम्रो चरुमा ब्रह्म तेजको व्यवस्था गरेको थिएँ र महारानीको चरुमा क्षत्रिय तेजको क्षमता सङ्गृहीत गरेर दिएको थिएँ। अब तिम्रो पेटबाट क्षत्रिय तेजको छोरो जन्मने छ र माताको पेटबाट ब्रह्म तेजसहितको बालक जन्मने छ र पछि कर्म र पुरुषार्थ गरेर क्षत्रीबाट ब्राह्मण हुनेछ र तिम्रो सन्तानचाहिँ क्षत्रिय गुणसहितको हुनेछ। सत्यवती अब रुन कराउन थालिन् र पतिसँग माफी माग्दै मेरो छोरो ब्रह्म तेजकै होस्, ब्राह्मणको जस्तै कर्म गरोस् भन्ने वरदान माग्न थालिन्। अनि मुनि ऋचीकले भने, मेरो ध्यान र तपस्याको फल खेर त जाँदैन, ठिकै छ तिम्रो छोरोचाहिँ ब्राह्मणजस्तै होला तर उसको छोरोचाहिँ क्षत्रिय तेजयुक्त हुनेछ। तर तिम्रो भाइचाहिँ क्षत्रीबाट ब्राह्मणमा आफ्नो कर्मका बलले पदार्पण गर्नेछ। ऋचीक ऋषिका छोरा जमदग्नि चाहिँ ब्राह्मण नै व्यवहार गर्ने भए तर जमदग्नि पुत्र परशुराममा क्षत्रिय स्वभाव आयो र २१ पटकसम्म विश्व घुमेर क्षत्रीहरूको नाश गरे। तर विश्वामित्रले सयौँ वर्ष तपस्या गरेर आफ्नो क्षत्रिय योनिबाट ब्राह्मण योनिमा आफूलाई लैजान सफल भए। कर्मको कारणले विश्वामित्र क्षत्रीबाट ब्राह्मण हुन सकेका हुन्। त्यसपछि विश्वामित्रका सन्तानहरू सबै नै ब्राह्मणको कुलका रूपमा स्थापित भए।
युधिष्ठिरलाई भीष्म पितामहले भन्छन्, हे युधिष्ठिर पुरुषार्थले भाग्यलाई डोर्याउँछ। जस्तो कि विश्वामित्रले पुरुषार्थले र भाग्यको या प्रारब्धको खेलले ब्राह्मण हुने मौका पाए, यदि पछि पनि ब्राह्मणले गर्ने कर्तव्य नगरेका भए क्षत्रीबाट ब्राह्मणमा पदार्पण हुने थिएनन्।
उपर्युक्त पौराणिक उदाहरण र आख्यानबाट के कुराको जानकारी पाइन्छ भने, सन्देश दिइएको पाइन्छ भने जन्मँदाको कारणले भन्दा पनि कर्मको कारणले भाग्यलाई पनि बदल्न सकिन्छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
हरिविनोद अधिकारी का अन्य पोस्टहरु:
- शकुनिको बदला
- शकुनिको कूटनीतिक क्षमता
- वैश्विक तापक्रम वृद्धिको दुष्परिणाम र हाम्रो भविष्य
- हिडिम्बाको मोह
- द्रौपदीलाई आफ्नै रूपको चिन्ता
- ब्राह्मण कुमारले विश्व सुन्दरीमाथि जमाए अधिकार
- द्रौपदीको छल
- शिखण्डीलाई लिङ्ग प्रदान, यक्ष स्थूणाकर्ण बने स्त्री
- यसरी भयो शिखण्डीको लिङ्ग परिवर्तन
- दिगो शान्तिका लागि गान्धीको पथप्रदर्शन