इजरायलमा हमासको हमलामा परी १० नेपाली विद्यार्थीको मृत्यु

हमासले दक्षिणी इजरायलको सेदोत नेगेभको किवुज अलुमिनमा गरेको आक्रमणमा परी १० जना नेपालीको मृत्यु भएको छ।

मृत्यु हुनेमा घोडाघोडी–४ कैलालीका नारायण न्यौपाने, जयपृथ्वी–६ बझाङका गणेशकुमार नेपाली, बाउनिया–३ कैलालीका आशिष चौधरी, लेकाम–५ दार्चुलाका दिपेशराज विष्ट, सपही–६, धनुषाका आनन्द साह र मधुवन–१, सुनसरीका राजेशकुमार स्वर्णकार हुनुहुन्छ। साथै, यस्तै पाँचनली–डोटीका राजन फुलारा, लामिखाल–८ डोटीका पदम थापा, सारदा–३ सल्यानका प्रवेश भण्डारी र मालिकार्जुन–४ दार्चुलाका लोकेन्द्र सिंह धामीको पनि हमलामा परी निधन भएको छ।

हमास आक्रमणमा परी शारदा– २ सल्यानका विधान सेजवाल, दाङको दंगीशरण गाउँपालिका– ३ का रविन डाँगी, कैलालीको टीकापुर नगरपालिका– ९ का धनबहादुर चौधरी र गोरखाको गोरखा नगरपालिका– ८ का हिमाञ्चल कट्टेल घाइते हुनुभएको छ। उहाँहरुको स्थानीय अस्पतालमा उपचार चलिरहेको छ।

सुदूरपश्चिम विश्वविद्यालयमा बिएस्सी एग्रिकल्चर अध्ययन गरी विद्यार्थीहरू ‘लन एन्ड अर्न’ कार्यक्रमअन्तर्गत ११ महिनाका लागि इन्टर्न गर्न एक महिनाअघि मात्रै ४९ जना इजरायल गएका थिए। ४९ मध्ये १० विद्यार्थीको ज्यान गएको हो। एक विद्यार्थी अझै बेपत्ता छन्।

यता परराष्ट्र मन्त्रालयले भने मृतकको सूची सोमबार (आज) सार्वजनिक गर्ने भएको छ। आइबतार परराष्ट्रमन्त्री एनपी साउदे प्रतिनिधिसभामा इजराय घटनाबारे जानकारी गराउनुभएको थियो। उहाँका अनुसार इजरायलमा ४ हजार ५०० नेपाली केयर गिभरका रूपमा कार्यरत छन्। २६५ जना विद्यार्थी इजरायल सरकारको ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत गएका थिए। जसमा कृषि विश्वविद्यालयबाट ११९, त्रिभुवन विश्वविद्यालयबाट ९७ र सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना सहभागी थिए।

परराष्ट्र मन्त्रालयले इजरायलस्थित नेपाली दूतावासलाई नेपालीको उद्धार गर्न, त्यहाँको वस्तुस्थितिको जानकारी गराई सुरक्षित रूपमा रहन इजरायल सरकारले जारी गरेको सुरक्षा निर्देशन तथा नियम पालना गर्नका लागि नेपालीलाई जानकारी गराउन निर्देशन दिएको छ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link