जलवायु परिवर्तनले पारेको नकारात्मक असरका बारेमा विश्वको ध्यान तान्नका लागि संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस यही कात्तिक १२ गते नेपाल आउन लाग्नु भएको बताइएको छ। यसकै लागि महासचिव गुटेरेसलाई पोखरा तथा अन्नपूर्ण बेस क्याम्प (एबीसी) मा लाने कार्यक्रम राखिएको हो। इजरायल-प्यालेष्टिन युद्धका कारण भ्रमण रद्द हुनु अगाडीको कार्यक्रमा महासचिव गुटेरेसलाई सगरमाथा आधार शिविर पनि लाने कार्यक्रम थियो। तर अहिले त्यो योजना कार्यक्रमबाट हटाइएको छ। चारदिने भ्रमणका क्रममा महासचिव गुटेरेसलाई पाटन दरबार स्क्वाएर क्षेत्र तथा लुम्बिनी पनि घुमाइने कार्यक्रम छ।
महासचिव गुटेरेसलले नेपालको सङ्घीय संसदको दुबै सदनलाई यही कात्तिक १४ गते मङ्गलबार अपराह्न ४ बजे सम्बोधन गर्ने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ।
महासचिव गुटेरेसको नेपाल भ्रमणका क्रममा शान्ति प्रक्रियालाई टुङ्गोमा पु¥याउने तथा मुलुकमा दिगो शान्ति कायम गर्नेजस्ता शान्ति प्रक्रियासँग सम्बन्धित विषयले प्राथमिकता पाउने उहाँले बताउनुभयो। यसैगरी जलवायु परिवर्तन, दिगो विकास र अति कम विकसित राष्ट्रहरूको मुद्दाले समेत प्राथमिकता पाउने बताइएको छ।
यसअघि शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्तको जिम्मेवारीमा रहँदा सन् २००७ मा गुटेरेसले नेपालको भ्रमण गर्नुभएको थियो। त्यतिबेला उहाँले झापामा रहेका भुटानी शरणार्थी शिविरमा भ्रमण गर्नुका साथै नेपालका प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला तथा अन्य उच्च पदस्थहरूसँग भुटानी शरणार्थीको समस्या समाधानका उपायका बारेमा छलफल गर्नुभएको थियो।
यसपटक चाहिँ उहाँ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को मैत्रीमूर्ण निमन्त्रणामा उहाँ नेपालको औपचारिक भ्रमणमा आउन लाग्नु भएको हो। प्रधानमन्त्री प्रचण्डले न्युयोर्कमा गत असोजमा सम्पन्न संयुक्त राष्ट्रसङ्घको ७८औँ साधारणसभा र इलटीको रोममा गत साउनमा सम्पन्न राष्ट्रसङ्घीय खाद्य प्रणालीसम्बन्धी शिखर सम्मेलनमा सहभागी हुनेक्रममा महासचिव गुटेरेसलाई नेपाल भ्रमणको निमन्त्रणा गर्नुभएको थियो।
प्रधानमन्त्री प्रचण्डको निमन्त्रणा स्वीकार गरी यसअघि राष्ट्रसङ्घीय सचिवालयले असोजमा भ्रमण हुनेगरी कार्यतालिका सार्वजनिक गरेको भए पनि प्यालेस्टाइनका हमास समूहद्वारा इजरायलमा गरिएको आक्रमणपछि महासचिव गुटेरेसको भ्रमण स्थगित भई कात्तिक १२ गतेदेखि हुन लागेको हो।
महासचिव वान की मुनको कार्यकालपछि सन् २०१७ देखि महासचिवको जिम्मेवारीमा रहनुभएका गुटेरेस अहिले दोस्रो कार्यकालका लागि कार्यरत हुनुहुन्छ। सन १९७० र ८० को दशकमा तत्कालीन महासचिवले नेपालको भ्रमण गरेको र पछिल्लोपटक सन् २००८ मा महासचिव वान की मुनपछि गुटेरेसको भ्रमण हुन लागेको संयुक्त राष्ट्रसङ्घले जानकारी गराएको छ।
सन् १९४५ मा पोर्चुगलको लिस्वनमा जन्मनुभएका गुटेरेस भौतिक शास्त्र तथा इलेक्ट्रीकल इन्जिनियर विषय अध्ययन गरी केही वर्ष प्राध्यापन पेशामा संलग्न हुनुहुन्थ्यो। सन् १९९५ देखि २००२ सम्म पोर्चुगलको प्रधानमन्त्रीको जिम्मेवारी संहालिसक्नुभएका ७४ वर्षीय महासचिव गुटेरेस एक अनुभवी राजनीतिज्ञ र कूटनीतिज्ञका रुपमा परिचित हुनुहुन्छ। उहाँ सन् १९९९ देखि २००५ सम्म सोसलिस्ट इन्टरनेसनलको अध्यक्ष समेत हुनुहन्थ्यो।
नेपालको औपचारिक भ्रमणका क्रममा महासचिव गुटेरेसले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री प्रचण्डसँग शिष्टाचार भेट गर्नुहुनेछ। यसैगरी पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुख राजनीतिक दलका नेताहरूसँग समेत उहाँले भेटघाट गर्नुहुने कार्यक्रम छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक लाग्दैन : अदालत
- पाकिस्तानमा विषाक्त धुवाँका कारण एकै दिनमा १५ हजारभन्दा बढी सङ्क्रमित
- राष्ट्रपति पौडेल र अजरबैजानका राष्ट्रपतिबीच भेटवार्ता
- कोप–२९ मा नेपालको जलवायुजन्य हानिनोक्सानीबारे चर्चा
- महिलाका लागि आम्दानीको आधार बन्दै घोँगी व्यापार
- पर्यटकीय गन्तव्य बन्दै सरुवाडाँडाको झोलुङ्गे पुल
- कोप२९ मा नेताहरूको मतभेदबीच उत्सर्जनलाई लिएर कडा चेतावनी
- वार्ताका लागि राष्ट्रसङ्घका आणविक प्रमुख इरान प्रस्थान
- दाङबाङ गाउँ
- सडक पुनर्निर्माण नहुँदा च्याङथापूवासी प्रभावित