जलवायु परिवर्तनमा नेपालले चालेका कदम प्रशंसनीयः महासचिव गुटेरेस

कोभिड–१९ पछि उत्पन्न भएको अन्तर्राष्ट्रिय आर्थिक सङ्कट र जलवायु परिवर्तनको जोखिममा नेपाल पनि परेको उल्लेख गर्दै संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले जलवायु परिवर्तनको असर र जोखिममा रहेको नेपाललाई विकसित राष्ट्रले सहयोग गर्नुपर्ने बताउनुभयो ।

नेपालको चारदिने औपचारिक भ्रमणमा रहनुभएका उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग सिंहदरबारमा भेटवार्तापछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै विश्वमा शान्ति स्थापना र बहुपक्षीय समस्या समाधानका लागि नेपालले उल्लेख्य भूमिका खेलेको पनि जनाउनुभयो ।

“नेपालले पछिल्लो २० वर्षमा शान्ति स्थापनाका साथै राजनीतिक व्यवस्था परिवर्तनमा सकारात्मक उपलब्धि हासिल गरेको छ । आगामी दिनमा नेपालले जलवायु परिवर्तन र दिगो विकासको लक्ष्य हासिल गर्न चालेका कदम पनि प्रशंसनीय छन्”, उहाँले भन्नुभयो ।

महासचिव गुटेरेसले भम्रणका क्रममा नेपालका हिमाली भेगको अवलोकन गर्ने र जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पारेकोे गम्भीर असरलाई आफैँले अवलोकन गर्ने जनाउँदै जलवायु परिवर्तनका कारण प्रभावमा परेका समुदायसँग भेट्ने बताउनुभयो ।

नेपालले अल्पविकसितबाट विकासशील मुलुकमा स्तरोन्नति हुन गरेका प्रयास प्रशंसायोग्य रहेको बताउनुभएको छ ।

महासचिव गुटेरेसले नेपालको सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्‍याउँदा अन्तर्राष्ट्रिय मापदण्ड र सर्वोच्च अदालतको फैसलाका आधारमा पीडित, तिनका परिवार र समुदायमा शान्ति र न्यायको प्रत्याभूति दिलाउनपर्नेमा जोड दिनुभयो ।

महासचिव गुटेरेसले नेपालमा आफ्नो भ्रमणले राष्ट्रसङ्घ र नेपालबीचको आपसी सम्बन्ध र सहकार्यलाई थप मजबुद बनाउने विश्वास व्यक्त गर्नुभयो । महासचिव गुटेरेसले आफूले पोखरा र लुम्बिनीको भ्रमण गर्ने जनाउँदै भगवान् गौतम बुद्धले शान्तिका लागि दिएका उपदेश आजको अशान्त र समस्याग्रस्त विश्वका लागि सबैभन्दा धेरै उपयोगी सावित हुने बताउनुभयो । महासचिव गुटेरेसले नेपालमा अन्तर्राष्ट्रिय सहयोग बढाउन पहल गर्ने विश्वास पनि दिलाउनुभयो ।

 “नेपाल विश्वको मित्र बनेको छ । त्यसैले विश्वका सबै राष्ट्र अब नेपालको अशल मित्र बन्नुपर्छ । आपसमा सहकार्य र सहयोगले त्यो सम्भव हुन सक्नेछ” महासचिव गुटेरेसले भन्नुभयो । महासचिव गुटेरेसले इजरायल र प्यालेस्टाइनबीचको जारी युद्धका सन्दर्भमा कहिल्यै पनि नागरिकको हत्या, अपहरण र यातना दिने काम कुनै पनि हालतमा न्यायिक हुन नसक्ने स्पष्ट गर्दै गाजाको स्थिति झन खराब हुँदै गइरहेकामा दुःख व्यक्त गर्नुभयो ।

“मलाई दुःख लागेको छ तत्काल मानवीय उद्धारका लागि अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गर्दै गर्दा इजरायलले आफ्नो सैनिक कारबाही बढाएको छ”, महासचिव गुटेरेसले भन्नुभयो, “कुनै पनि पक्षले युद्धसम्बन्धी अन्तराष्ट्रिय कानुन र मान्यताको पालना, मानवीयता र आफ्ना दायित्वको सम्मान र पालना गर्नुपर्छ । युद्धका समयमा नागरिकको सुरक्षालाई कसरी ध्यान दिने भन्ने मानवीय कानुन र अभ्यासको पालना अपरिहार्य हुन्छ ।”

“मलाई दुःख लागेको छ तत्काल मानवीय उद्धारका लागि अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गर्दै गर्दा इजरायलले आफ्नो सैनिक कारबाही बढाएको छ”, महासचिव गुटेरेसले भन्नुभयो, “कुनै पनि पक्षले युद्धसम्बन्धी अन्तराष्ट्रिय कानुन र मान्यताको पालना, मानवीयता र आफ्ना दायित्वको सम्मान र पालना गर्नुपर्छ । युद्धका समयमा नागरिकको सुरक्षालाई कसरी ध्यान दिने भन्ने मानवीय कानुन र अभ्यासको पालना अपरिहार्य हुन्छ ।”

गाजा क्षेत्रमा विश्वका झण्डै २० लाख मानिस आवास, खाद्यान्न, खानेपानी र स्वास्थ्य उपचारबाट वञ्चित भइरहेको बताउँदै उहाँले सबै प्रकारका युद्धको बिराम गरी अपहरणमा परेकालाई सुरक्षित फिर्ता गर्न र जोखिममा रहेका गाजाका नागरिकलाई तत्काल उद्धार उपलब्ध गराउन सरोकारवाला सबै पक्षसँग आह्वान गर्नुभयो ।

उहाँले इजरायलमा हमासको आक्रमणमा परी मृत्यु भएका १० जना नेपालीका  परिवारप्रति शोक व्यक्त गर्दै अहिलेसम्म बेपत्ता रहेका विपीन जोशीको सुरक्षित उद्धारको अपेक्षा गर्नुभयो ।

महासचिव एन्टोनियो गुटेरेसले गाजामा बन्धक बनाइएका सबैलाई निःसर्त तत्काल रिहा गर्न आह्वान गर्नुभएको छ ।

महासचिव गुटेरेसले सामाजिक सञ्जालमा “म नेपालबाट गाजामा बन्दी बनाइएका सबैलाई निःसर्त एवम् तत्काल रिहा गर्न आह्वान गर्दछु । सर्वसाधारणको हत्या, उनीहरुमाथि हुने आक्रमण र अपहरणलाई कदापि न्यायोचित मान्न सकिँदैन” लेख्नुभएको छ ।

नेपालका विपिन जोशीलाई हमासले बन्धक बनाएको आशङ्का गरिएको छ । आतङ्कवादी समूह हमासले इजरायलमा गरेको आक्रमणपछि जोशी सम्पर्कविहीन भएका छन् । उक्त आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको मृत्यु भएको छ । उक्त समूहले गत असोज २० गते इजरायलमाथि भीषण आक्रमण गरेको थियो ।

यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको चारदिने औपचारिक भ्रमणबाट राष्ट्रसङ्घ र अन्तर्राष्ट्रिय समुदायसँग नेपालको सम्बन्ध थप मजबुद बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

महासचिव गुटेरेससँग आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको औपचारिक भेटवार्तापछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिनुहुँदै प्रधानमन्त्री दाहालले अन्तर्राष्ट्रिय क्षेत्रसँग सम्बन्ध विस्तार तथा सहजीकरण गर्न यो भ्रमणले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

उक्त छलफल नेपालको शान्ति प्रक्रिया, जलवायु परिवर्तन, अल्पविकसित मुलुकबाट स्तरोन्नति र दिगो विकासलगायतका विषयमा केन्द्रित भएको प्रधानमन्त्री दाहालले बताउनुभयो । “निकै सौहार्दपूर्ण वातावरणमा दुईपक्षीय हितका र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्त्वका विषयमा विश्वासका साथ हामीले छलफल गर्‍यौँ । मुख्यरुपमा जलवायु परिवर्तनको विषयमा गम्भीररुपमा चर्चा भयो”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “नेपालमा जलवायु परिवर्तनका नकारात्मक असरको न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय समुदायमा संयुक्त राष्ट्रसङ्घको महासचिवको हैसियतले उहाँले खल्नुभएको भूमिकाको उच्च प्रशंसा गर्‍यौँ ।” जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि आगामी दिनमा राष्ट्रसङ्घलगायत द्विपक्षीय तथा बहुपक्षीप अन्तर्राष्ट्रिय निकायबाट सहयोगको अपेक्षा गरेको प्रधानमन्त्री दाहालले बताउनुभयो ।

त्यस्तै, नेपालको शान्ति प्रक्रिया चाँडै टुङ्गिने विश्वास पनि प्रधानमन्त्री दाहालले व्यक्त गर्नुभयो । “अन्तिम चरणमा रहेको नेपालको शान्ति प्रक्रियालाई टुङ्ग्याउनका लागि अन्तर्राष्ट्रिय समुदाय र संयुक्त राष्ट्रसङ्घको महासचिवको हैसियतले उहाँको महत्त्वपूर्ण भूमिका रहने विश्वास हामीले लिएका छौँ”, उहाँले भन्नुभयो ।

नेपालको आर्थिक विकास र समृद्धिका बारेमा पनि छलफल भएको प्रधानमन्त्री दाहालले बताउनुभयो । नेपाल अल्पविकसित मुलुकबाट स्तरोन्नति हुनेक्रममा रहेकाले यो प्रक्रिया सहज बनाउन तथा तोकिएको समयमा दिगो विकास लक्ष्य हासिल गर्नका लागि सहयोग गर्न पनि प्रधानमन्त्री दाहालले राष्ट्रसङ्घ महासचिव गुटेरेससँग आग्रह गर्नुभयो ।

 “असाध्यै सकारात्मक छलफल भएको छ । यहाँको राजनीतिक उतारचढाव र शान्ति प्रक्रियाबारे उहाँलाई राम्रो थाहा छ । मौसम परिवर्तनका असरबारे पनि छलफल भयो”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “विश्व शान्ति निर्माणका लागि नेपालको शान्ति सेनाले खेलेको भूमिकाको पनि उहाँले मुक्तकण्ठले प्रशंसा गर्नुभयो । हामीले पनि हाम्रो योगदानको सम्मान होस् भन्ने विषय राख्यौँ ।”

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link