महेन्द्रनगरमा रहेको शालिक तोडफोडको विरोध सहिद भीमदत्त पन्तको ९८औँ जन्मजयन्ती आइतबार मनाइएको छ । सहिद भीमदत्त पन्त स्मृति प्रतिष्ठानका कार्यवाहक अध्यक्ष हरिप्रसाद जोशीले सहिद पन्तको शालिकमा तोडफोड गरी क्षति पुर्याउनेमाथि हदैसम्मको कारबाही हुनुपर्ने बताउनुभयो। दलित, किसान, गरिबका नेता पन्तको शालिक तोडफोड गरी इतिहास मेटाउने परिपञ्च रचिएको उल्लेख गर्नुहुँदै उहाँले त्यस्ता तत्व विरुद्ध एकजुट भएर उभिनुपर्ने बताउनुभयो ।
प्रतिष्ठानका सचिव कर्णबहादुर चन्दले अमर सहिद पन्तले अनुसरण गरेको विचार अहिले पनि उत्तिकै सान्दर्भिक रहेको विचार व्यक्त गर्नुभयो । शालिक तोडफोड गरेर सहिद पन्तको अपमान गरिएको उहाँले बताउनुभयो ।
समाजका शोषक सामन्त विरुद्ध आन्दोलन गरी निमुखाको अधिकार स्थापित गर्ने कार्यमा संलग्न सहिद पन्त सच्चा क्रान्तिकारी भएको उहाँले चर्चा गर्नुभयो । सहिद पन्तकै पथमा अगाडि बढ्दै अहिले लोकतान्त्रिक गणतन्त्रसम्म आइपुगेको उहाँको भनाइ छ ।
भीमदत्त नगरपालिकाका प्रवक्ता महेन्द्र खड्काले तोडफोड गरिएको शालिक पुनःनिर्माणको कार्य चाँडै अगाडि बढाइने बताउनुभयो । शोषक सामन्तलाई परास्त गर्ने क्रान्तिकारी नेता पन्त इतिहासको पानामा सधैँ अमर रहिरहने उहाँले बताउनुभयो ।
नेकपा एमाले सुदूरपश्चिम प्रदेश समिति उपसचिव नरबहादुर विकले श्रमजीवी, सर्वहारा वर्ग, किसान र निमुखाको आवाजका रुपमा रहेका नेताका विचार शालिक तोडिदैमा मेटिएर नजाने बताउनुभयो । यसै अवसरमा महाकाली प्रादेशिक अस्पताल र बेदकोट वृद्धाश्रममा फलफूल वितरण गरिएको छ ।
सहित पन्त विसं १९८३ मङ्सिर १० गते डडेल्धुराको कारीगाउँमा जन्मनुभएको हो । सुदूरपश्चिममा तत्कालीन व्यवस्थाविरुद्ध उहाँले ‘कि त जोत हलो, कित छोड थलो, यदि हैन भने अब छैन भलो’ भन्ने नाराका साथ जोताहा किसानको पक्षमा क्रान्ति गर्नुभएको थियो । तत्कालीन सरकारले उहाँलाई विसं २०१० साउन १७ गते डोटीको बुडरमा हत्या गरेको थियो ।
उहाँको टाउकोलाई काटेर डडेल्धुरा खलङ्गाको टुँडिखेलमा केही दिन झुण्ड्याइएको थियो । भीमदत्त पन्तको सम्मान गर्दै सरकारले २०७२ फागुन १९ गते सहिद घोषणा गरेको थियो । सहिद पन्तले किसान क्रान्ति सुरु गरेका जिल्लाको ब्रम्हदेव, बेलौरी र महेन्द्रनगरमा शालिक रहेको छ ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- मोटर चलेको १५ वर्षपछि मनाङमा सार्वजनिक बस सेवा सञ्चालन
- सेकुङ ताल संरक्षणको पर्खाइमा
- इजरायली आक्रमणमा गाजामा ४१ जनाको मृत्यु
- गाउँका बूढापाकाले मात्र धानेका घुम्ती गोठको परम्परा
- पानी पर्नाले किसानलाई राहत
- विद्युत् सेवा अवरुद्ध हुँदा उपभोक्ता समस्यामा
- आज बिहानैदेखि सरकारका वेभसाइटहरु डाउन
- आगलागी हुँदा पाँच परिवारको विचल्ली
- जसले न्याय खोज्दाखोज्दै प्राण त्यागिन्
- राष्ट्रपतिले आह्वान गरे संसद् अधिवेशन
