वीरगन्जमा ठुलो मात्रामा अवैध औषधि बरामद भएको छ । औषधि व्यवस्था विभागले छापा मारेर सो औषधि बरामद गरेको हो । औषधि व्यवस्था विभाग वीरगन्ज कार्यालयबाट खटेको टोलीले एक गोदाममा छापा मारेर नेपालमा अस्वीकृत रहेको ठुलो परिमाणको भारतीय आयुर्वेदिक औषधि बरामद गरी जफत गरेको छ ।
विशेष सूचनाको आधारमा गएको टोलीले वीरगन्ज महानगरपालिका–१६ नगवा स्थित एक घरको गोदाममा छापा मारेर करिब १५ लाख रुपैयाँ मूल्य बराबरको प्रतिबन्धित आयुर्वेदिक औषधि बरामद गरेको हो ।
वीरगन्जस्थित औषधि व्यवस्था विभागका निमित्त कार्यालय प्रमुख मुकेन्द्र पंजियारको नेतृत्वमा खटिएको टोलीले उक्त औषधि बरामद गरेको थियो । बरामद गरिएको औषधि दुखाई कम गर्नका लागि मालिस गरिने र खाने झोल रहेको निमित्त प्रमुख पंजियारले बताउनुभयो ।
भारत पटनाको श्री वैद्यनाथ आयुर्वेद भवनद्वारा उत्पादित विभिन्न ब्रान्डका १८० वटा कार्टुनमा रहेका ८ हजार बोतल औषधि बरामद गरिएको जनाइएको छ । औषधि जफत गर्नुका साथै ती औषधि भारतबाट अवैध रूपमा वीरगन्जमा ल्याएर भण्डारण गर्ने सिराहा जिल्ला घर भएका हिमालयन सप्लार्यसका व्यवस्थापक मोहम्मद अतिक अनवरलाई नियन्त्रणमा पनि लिइएको पंजियारले जानकारी दिनुभयो ।
औषधि व्यवस्था विभागबाट परीक्षण गर्दा ‘गुड म्यानुफ्याक्चरिङ प्राक्टिस’ मा उक्त कम्पनीद्वारा उत्पादित औषधि अनुपयोगी भएकाले नेपालमा आयात र बिक्री वितरण गर्न औषधि व्यवस्था विभागले प्रतिबन्ध लगाएको छ ।
तर अनवरले उक्त भारतीय कम्पनीको औषधि जानाजान आयात गरेर बिक्री वितरणका लागि भण्डारण गरेको सूचना पाएपछि आवश्यक कारबाही अगाडि बढाइएको जनाइएको छ । बरामद औषधि जफत गर्नुका साथै व्यवस्थापक अनवरलाई पनि नियन्त्रणमा लिएर कारबाहीको प्रक्रिया अगाडी बढाइएको पंजियारले बताउनुभयो । नियन्त्रणमा लिइएका अनवरलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा पठाइएको समेत उहाँले जानकारी दिनुभयो ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- ड्रागन फ्रुटबाट वार्षिक दश लाख आम्दानी
- आज ज्येष्ठ शुक्ल एकादशी: तुलसीको दल राखिँदै
- अमेरिकाले नेपालीका लागि अस्थायी संरक्षण खारेज गर्दै
- प्रतिक्रिया स्वरूप रुसको युक्रेनमाथि आक्रमण
- नयाँ स्वरूपमा फिफा क्लब विश्वकप २०२५
- ट्रम्पद्वारा १२ देशका नागरिकलाई अमेरिका यात्रामा पूर्ण प्रतिबन्ध
- इजरायल -प्यालेस्टाइन गाजा युद्धमा २०० पत्रकार तथा संचारकर्मीको मृत्यु
- बेंगलोरमा ट्रफी परेडका क्रममा भएको भगदौडमा ११ को मृत्यु र ३३ घाइते
- आयात चार अर्ब ७५ करोड, निर्यात ३५ करोड : नेपाल बंगलादेश व्यापार
- सुडानमा चलिरहेको युद्धले चार लाखभन्दा बढी नागरिक विस्थापित
