द्रौपदी अर्थात् पाँच नाथकी अनाथिनी—२
पाञ्चाल राज्यकी राजकुमारी, हस्तिनापुर साम्राज्यकी साम्राज्ञी तथा संसारकी सुन्दरीमध्येकी एक द्रौपदीको जीवनचर्या जसरी चल्ने अनुमान थियो, त्यसरी पक्कै चलेन भन्नेकुरा महाभारतमा पाइन्छ। उनी अयोनिजा देखिन्छिन् किनभने उनलाई प्रसव वेदनाबाट जन्माइएको नभई यज्ञबाट फुत्त बाहिर आएको भन्ने जस्तो व्यासले देखाएका छन्।
हस्तिनापुरका राजगुरु तथा आफ्ना विस्मृत तथा अपमानित साथी द्रोणले पाण्डवमध्येका सबैभन्दा ठूला धनुर्धारी अर्जुनमार्फत् आफूसँग लिएको प्रतिशोधको ज्वालामा दन्किएका द्रुपद महाराजका लागि राजगुरु द्रोणाचार्यसँग बदला लिनु नै बाँकी जीवनको उद्देश्य रहेको थियो। शिखण्डी, जसलाई युवराजको रुपमा समाजमा प्रचार गरिएको थियो, उनी क्लीव थिए तर पनि महारथी नै थिए। न पुरुष, न महिला। उनीहरूलाई सौर्यका हिसाबले पुरुषमा गणना गरिँदैन थियो। अर्थात् महिलाजस्तै मानिन्थ्यो। महिलासँग वीर पुरुषले बराबरीमा लड्ने भनेको अपुरुषार्थी मानिन्थ्यो। त्यसैल शिखण्डीलाई महिलाको रुपमा जन्मेर पनि पछि पुरुषत्व प्राप्त गरेकाले उनलाई तेस्रो लिङ्गी वा उभय लिङ्गी वा क्लीव मानिएको थियो। त्यस्तो क्लीव सन्तानबाट द्रोणाचार्य जस्ता महान धनुर्धारी योद्धालाई जितेर शरणागती बनाउनु वा मार्नसक्नु शिखण्डीबाट सम्भव नहुने कुरामा द्रुपद विश्वस्त थिए। त्यसैले शूरवीर पुत्रप्राप्तिका लागि यज्ञ गर्नु पर्ने सुझाव उनले पाए र बीर पुत्र जसले द्रोणाचार्यको वध गर्न सकोस् भनेर यज्ञ गरियो। नभन्दै हातमा तरबार र धनु, शरीरमा कबचसहितको किशोर भनौँ या युवा यज्ञबाट निस्कँदा युवकमात्र निस्किएनन्, सँगै उनकी बहिनी पनि आइन् श्यामवर्णकी सुन्दरी।
एक किसिमले धृष्टद्युम्नलाई आफ्नो जन्मको कारण थाहा थियो। उनको उत्पन्न गर्नका लागि बोलिएका मन्त्रहरूले नै स्पष्ट गरेरमात्र उनको जन्म भएको हुनुपर्छ। कसैलाई नटेर्ने धृष्ट युवाको रुपमा उनको जन्म भएको थियो। अयोनिज पुरुष। त्यो समयमा गुरुहरूमध्ये सबैभन्दा तीक्ष्ण र क्षमतावान राजगुरु भनेको नै कुरु दरबारमा रहेका गुरु द्रोणाचार्य थिए जसलाई सहजीकरण गर्नका लागि राजगुरु कृपाचार्यले सहयोग गरेकै थिए।
कृपाचार्य कौरवको दरबारमा राजगुरुको रुपमा स्थापित थिए र उनकै बहिनी ज्वार्इँ द्रोणाचार्य, कौरव र पाण्डवलाई एउटै पाठशालामा शिक्षा दिनका लागि दरबारबाट नियुक्त गरिएका आचार्य थिए। त्यसताका सबैभन्दा चतुर र तीक्ष्ण गुरुको रुपमा पुजित द्रोणाचार्य पनि आफ्ना अतीतका मित्रका वचन वाणबाट छियाछिया भएको मन लिएर बाँचेका थिए प्रतिशोधको ज्वाला छातीभित्र लुकाएर, भुसभित्रको आगोजस्तै गरी। द्रोणलाई त्यस्तो पात्रको अत्यन्त आवश्यकता थियो जसले द्रुपदलाई पाता कसेर उनको चरणमा ल्याएर घोप्ट्याओस् र आफ्नो इच्छाअनुसारको दण्ड दिन पाइयोस्। उनले पाण्डवमध्ये पनि अर्जुनमा त्यो क्षमता लुकेको देखे र प्राणभन्दा पनि प्यारो छोरो अश्वत्थामाभन्दा पनि विश्वासपात्रको रुपमा सिकाउन थाले युद्धकला, हतियार।
त्यसबेलामा गुरुकुलका आचार्यहरू स्वतन्त्ररुपमा दरबारभन्दा टाढा कतै राजकुमार तथा ऋषिकुमारहरूलाई शिक्षा दिन्थे। शिक्षाको सबै प्रवन्ध सरकारले गथ्र्यो। विद्यार्थीहरूलाई ब्रह्मचर्याश्रमको कडा बन्धनमा राखेर सबै शिक्षार्थीहरूलाई एउटै समान व्यवहार गरिन्थ्यो। सबै शिक्षार्थीहरूले पालैपालो गरेर गृहस्थहरूसँगबाट भिक्षा ल्याएर भण्डारमा दाखिला गर्नुपथ्र्यो। अर्थात् को राजकुमार वा को ऋषिकुमार, सबैलाई एउटै व्यवहार गरिन्थ्यो। त्यसमध्येका तीक्ष्ण र सक्षम विद्यार्थीका रुपमा ऋषिकुमार द्रोण थिए, त्यसैले द्रोणसँग मित्रता गाँस्न सबै जसो शिक्षार्थीमा लालसा रहन्थ्यो जसमा पाञ्चाल कुमारले बाजी मारेका थिए द्रोणसँग मित्रता गाँस्न। उनीहरूका बीचमा मित्रता अत्यन्तै हार्दिक थियो, लाग्थ्यो, त्यो हार्दिकता ब्रह्मचर्याश्रममा मात्र होइन, पछि गृहस्थाश्रम, वानप्रस्थाश्रम र सन्यासाश्रममा समेत रहिरहने छ। आजीवन रहने छ। मित्रता भनेको क्षणिक हुने त कुरै भएन। मित्रता कस्तो त भन्दा द्रोण र द्रुपदको जस्तो भन्ने भनाइ नै थियो गुरुकुलमा। आत्मीय, हार्दिक र धवल सम्बन्ध मानिन्थ्यो उनीहरूका बीचमा।
राजाको गृहस्थाश्रम भनेको राजपाठको समय हो। राजालाई आफू वृद्ध भएको र जनताको सेवामा सक्षम हुन नसकेको जस्तो लाग्ने बित्तिकै वानप्रस्थाश्रममा जाने चलन थियो र ७०वर्षभन्दा बढी हुन लागेपछि सन्यासाश्रममा प्रवेश गरिन्थ्यो। प्रायशः राजाहरू युद्धमा नै मर्थे या आजन्म राजपाठमा नै लाग्न चाहन्थे। तर पनि आदर्श राजाले जनताको चाहनाबमोजिम नै आफ्ना युवा भाइ वा पुत्र वा पौत्रलाई राज्य सुम्पेर वानप्रस्थ जाने चलन थियो।
त्यसैबीच महाराज प्रिषतको स्वर्गारोहण भएपछि युवराज द्रुपदको राजा हुने पालो आयो र उनले राजपाठ सम्हाल्नका लागि गुरुकुलबाट बेलैमा विदा लिए। पहिलेदेखि गुरुकुलमा नै युवराज द्रुपद र ऋषिकुमार द्रोणको भेट भएको थियो सहपाठीको रुपमा। अत्यन्तै गाढा मित्रता भएकाले भावी नरेश द्रुपद बारम्बार आफू राजा भएपछि द्रोणलाई केके दिन सकिन्छ, त्यसको आश्वासन बाँडिरहन्थे। कतिसम्म भने आफू राजा भएपछि मुख्य मन्त्री वा सल्लाहकारका रुपमा समेत द्रोणलाई राख्ने र राज्यको करिब आधी हिस्सासमेत दिएर राख्ने महत्वाकाँक्षाले द्रोणलाई एउटा स्वैरकल्पनाको बाटो देखाउने गर्थ्यो। जसरी हुन्छ जीवनभर दुई साथीहरू नछुट्टिने प्रण बारम्बार गर्थे द्रुपद। द्रोणमा पनि पाञ्चाल नरेश द्रुपदको दरबारमा जाने र पुराना मित्रताका अनुभव साटासाट गरेर युवापनको याद ताजा गराउने इच्छा बारम्बार आउँथ्यो। मौका जो मिलिरहेको थिएन।
कृपाचार्यकी जुम्ल्याही बहिनी कृपीसँग ऋषिकुमारबाट महान धनुर्धारी भएका द्रोणसँग विवाह भयो। द्रोणबाट द्रोणाचार्य भएका ओजस्वी र तेजस्वी ब्राह्मणको चर्चा चारैतिर चलेको थियो। चर्चा चल्नुको कारण थियो, ब्राह्मण आफैँ धनुर्धारी हुँदैनथे, धनुर्विद्यामात्र पढाउँथे। तर द्रोणाचार्य अरु पनि धनुर्विद्याको सिकाइको खोजीमा भौँतारिरहेको बुझिन्थ्यो। मानौँ आफैँ ठूलो धनुर्धारी भएर युद्ध लड्नु छ र कसैलाई जितेर आफ्नो बशमा ल्याउनु छ।
नियतिको खेला सधैँ सरल रेखामा हिँड्दैन। युवा वयको एउटा लय र सुरिलो झन्कार एकैनास जीवनको एकतारेमा झङ्कृत भइरहँदैन। तिनै अभिन्न साथीहरू, द्रुपद र द्रोण पछि एकअर्काका महान शत्रु भए जसका कारणले धृष्टद्युम्न र कृष्णाको उत्पत्ति भयो। द्रुपदलाई द्रोणले युद्धमा मारे अनि धृष्टद्युम्नले द्रोणलाई युद्धमा मारे। कुरु परिवारभित्रको मारामारको त्यो कथाभित्र द्रौपदीको कथा झन विचित्ररुपले गुत्थिएको छ। शिखण्डीको कथा पनि त्यसैगरी जेलिएको छ प्रतिशोधको आगो निभाउनका लागि। द्रौपदीको कथा त्यसैगरी उधिनिएको छ प्रतिशोधको ज्वाला समन गर्नका लागि।
द्रौपदी विश्व सुन्दरी थिइन् भन्ने कुरा पौरस्त्य साहित्यमा धार्मिक र सांस्कृतिक अर्चनामा पञ्च कुमारी या अत्यन्त सुन्दरी महिलाहरूको रुपमा गणना गरिएको छ, कुन्ती, मन्दोदरी, अहिल्या, तारा र द्रौपदीलाई। उनीहरूको विशेषता नै के छ भने यी सबैका एकभन्दा बढी पतिहरू छन्। जस्तो कि कुन्तीका पाण्डु, नियोगका लागि प्रयुक्त सूर्य, धर्मराज, वायु, इन्द्र। मन्दोदरीका राजा रावण अनि पछि विभीषण राजा भएपछि विभीषणकी राज्यलक्ष्मीका रुपमा रानी, अहिल्याका ऋषि गौतम अनि झुक्क्याएर भोग गर्ने स्वर्गका राजा इन्द्र, तारा गुरु वृहस्पतिकी पत्नी पछि गुरुसँग पढ्न आएका चेला चन्द्रसँग लहसिएर बुधको जन्म, अर्की तारा थिइन् रामायणमा वर्णित बाली र सुग्रीवकी पत्नी।द्रौपदीको त कुरै भएन सामाजिक रुपमा नै पाँच राजकुमारहरू युधिष्ठिर, भीम, अर्जुन, नकुल तथा सहदेवसँग पाणिग्रहण नै सम्पन्न भएर पाँच पुत्रहरूको समेत जायजन्म भएको थियो।
द्रौपदीको जीवन सुख र दुःखको भुमरीमै बितेको पाइन्छ महाभारतका कथाहरूले देखाए अनुसार। महाभारतका विभिन्न ठाउँमा देखाइने प्रवृत्तिले भन्छन्, द्रौपदीमा आफू अत्यन्त सुन्दरी भएको घमण्ड थियो र उनले पाँच पतिहरूमध्ये खासमा अर्जुनलाई बढी मन पराउँथिन्। त्यसको कारण हुनुपर्छ, अर्जुनको क्षमतायुक्त सिप र बाहुबलको कारणले उनी अर्जुनसँग विवाहित भएकी थिइन् तर कारणवश पाँच राजकुमारकी रानी हुन पुगेकी हुन्। उनी अन्त्य अवस्थामा जब हिमालयको कन्दरामा सबैभन्दा पहिले लडिन् र सहयोगको अपेक्षा गर्न थालिन्, युधिष्ठिरले भनेछन्, तिमीमा रुपको घमण्ड थियो र हामी पाँच भाइहरूमध्ये अर्जुनप्रति बढी नै मोहित थियौ, त्यसैले तिमी गल्यौ, अब तिम्रो र हाम्रो भेट स्वर्गमा मात्र हुनेछ। क्रमशः
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
हरिविनोद अधिकारी का अन्य पोस्टहरु:
- र अन्त्यमा, महाभारतः तीन कृष्ण, एक कृष्णा र अनुपम महाकाव्य
- अन्त्यमा कहाँ समाहित भइन द्रौपदी?
- कुरुवंश विनाशकः शकुनि
- कुन्तीको सन्देश— युद्धको विकल्प छैन
- प्रजातन्त्र संस्कारको रुपमा विकसित हुनुपर्छ
- युद्धपीडित आमाहरू
- संसद्: जनअपेक्षा र संसदीय दायित्व
- अश्वत्थामाको प्रतिशोध
- श्राप र वरदानबाट किचिएकाहरू
- कर्णका सारथि किन बने महाराज शल्य?
