गुल्मी पाल्पा, र स्याङ्जाको सङ्गमस्थल रिडीको रुरु क्षेत्रमा छ दिनसम्म लाग्ने माघे सङ्क्रान्तिको मेला सुरु भएको छ । रुरु क्षेत्रमा माघे सङ्क्रान्तिमा स्नान गरेमा पुण्य प्राप्त हुने जनविश्वास छ । काली गण्डकीमा स्नान गर्ने र तानसेन नगरपालिका–१४, अर्गलीतर्फ रहेको ऋषि केशव मन्दिरमा रहेको रुरु कन्याको दर्शन गर्ने प्रचलन रहेको अर्गलीका शोभाकर न्यौपानेले बताउनुभयो । नेपालका विभिन्न स्थानका साथै भारतबाट समेत श्रद्धालु भक्तजनहरू रुरु क्षेत्रमा स्नान र रुरु कन्याको दर्शन गर्न आउने गरेका छन् ।
ऋषि केशव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष परशुराम भट्टराईका अनुसार- ‘जेठी, माहिली र कान्छी गरी तीन दिनसम्म कालीगण्डकीमा नुहाउने र ऋषि केशव मन्दिरमा दर्शन गर्ने परम्परा रहेको छ, नेपालमा रहेका चार धाममध्ये प्रख्यात रहेको एक रिडी धाममा आएर कालीगण्डकीको सङ्गम श्रीकृष्ण गण्डकीमा नुहाएर तर्पण गरे पितृ पक्षले मोक्ष पाउने धार्मिक विश्वास रहेकाले पनि मानिसहरूको घुइँचो लाग्ने गरेको हो।’
मेलाको पहिलो दिन बिहानैदेखि कालीगण्डकी नदीमा स्नान गरी हृषीकेश मन्दिरमा पूजा अर्चना गर्नेको घुइँचो लाग्ने गरेको छ । कालीगण्डकी नदीमा स्नान गरी हृषीकेशको दर्शन गर्दा चार धाम गए बराबरको पुण्य प्राप्त हुन्छ भन्ने विश्वासले पनि पश्चिम नेपालका विभिन्न जिल्लाका साथै भारतका विभिन्न स्थानबाट भक्तजन यो मेलामा आउँछन् ।
माघे सङ्क्रान्तिको अवसरमा कालीगण्डकीमा स्नान गर्न र ऋषीकेशव मन्दिरको दर्शन गर्नका लागि गुल्मी लगायत पाल्पा, स्याङ्जा, अर्घाखाँची, प्युठान, बागलुङ, रुपन्देही, नवलपरासी दाङ, कपिलवस्तु चितवन, काठमाडौँ, पर्वत लगायत जिल्ला तथा छिमेकी मुलुक भारतबाट समेत श्रद्धालुहरू यस क्षेत्रमा आउने स्थानीय गोकर्ण ज्ञवालीले बताउनुभयो।
यस क्षेत्रमा माघेसङ्क्रान्ति बाहेक ठुलो एकादशी, प्रत्येक सङ्क्रान्ति, ग्रहण एकादशी, औँसी एकादशीमा गण्डकीमा स्नान गरी ऋषि केशको दर्शन गर्न श्रद्धालु भक्तजनको ठुलो भीड लाग्ने रुरु क्षेत्र मेला व्यवस्थापन समितिले जनाएको छ।
धार्मिक र सांस्कृतिक रुरु धामलाई धार्मिक पर्यटनसँग जोड्न परम्परागत रूपमा चल्दै आएको माघे सङ्क्रान्ति मेला सुरु भएको छ । रिडीको गुल्मीतर्फको भागमा रुरु फ्रेन्ड्स क्लब र एफसी क्लबको संयुक्त आयोजनामा सांस्कृतिक कार्यक्रमसहित बाल उद्यान, कृषि मेला प्रदर्शनी हस्तकलाका सामानको प्रदर्शनीसहित मेलाको भव्य तयारी गरिएको रुरु फ्रेण्ड्स क्लबका अध्यक्ष शोभित थापाले बताउनुभयो ।
माघ सङ्क्रान्तिको अवसरमा कालिगण्डकी नदीमा गङ्गा आरती (गण्डकी आरती) पनि हुने भएको छ । रिडी मेलामा राडी, पाखी, ढक्की, कपडा, डोको, नाङ्लो बेच्न छिमेकी जिल्लासहित रुकुम, रोल्पा, पर्वत, जुम्ला, बुटवल, भैरहवा, भारतको रूपेडियाबाट समेत व्यापारी आएका छन्। यहाँ आएर स्नान र दर्शन कार्य सम्पन्न गरेमा देह पुण्य हुने, मुक्ति प्राप्त हुने विश्वास छ । यस क्षेत्रमा मृतकहरूको अस्तु सेलाउन पनि मानिसहरू आउने गर्दछन् ।
त्यसो त पाल्पा क्षेत्रमा पनि मेलाको तयारी छ भने स्याङ्जा क्षेत्रमा भलिबल प्रतियोगितासहितको मेला लाग्ने भएकाले यो वर्ष गुल्मी स्याङ्जा र पाल्पामा लाग्ने विविध मनोरञ्जनसहितको मेला अवलोकन गर्न रुरु धाममा निर्माण सम्पन्न भएको तीन मुखे पुलले विशेष महत्त्व राख्ने छ ।
मगर समुदायले माघे सङ्क्रान्तिका दिनमा रुरु क्षेत्रका साथै कालीगण्डकी र खोला किनार धारामा पितृलाई श्रद्धासमेत गर्छन् । रुरु क्षेत्रको धार्मिक तथा सांस्कृतिक महत्त्व भएकाले मेला भर्न विभिन्न स्थानबाट आउने गर्छन् । पाल्पातर्फ रहेको प्रसिद्ध ऋषि केशव मन्दिरमा स्याङ्जा र गुल्मीमा मेला भर्न आउने दर्शनार्थी स्थान गरिसकेपछि पूजा गर्न घुइँचो लागेको छ ।
रुरु गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले मेलाको स्थानीय उत्पादन र कृषिलाई महत्त्व दिएको बताउनुभयो । स्वदेशी उत्पादन रुकुमका राडी पाखीलाई विशेष आतित्थ्यताका साथ स्वगत गरिएको छ, मनोरञ्जनको लागि पिङ झुला र राष्ट्रिय स्तरमा ख्याति प्राप्त कलाकारको आगमन रहेको छ । उहाँले रुरु क्षेत्रको धार्मिक तथा सांस्कृतिक महत्त्व रहेकोले यस पावन भूमिमा आएर दर्शन गर्न सम्पूर्णलाई आग्रह गर्नुभयो । उहाँले यस पटक रुरु क्षेत्रमा सन्ध्याकालीन गण्डकी आरती हुने बताउनुभयो ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- बीस वर्षदेखि सुकुम्बासीको प्रश्न : जग्गा कहिले पाइन्छ ?
- बगेर खेर गइरहेछ भोटको नुन
- गाउँकै अगुवा किसान, गाउँले एफएम दाइ
- नेतन्याहू, ग्यालेन्ट र देइफविरुद्धको आइसिसीको पक्राउ पुर्जी ‘बाध्यकारी’: इयू
- बुढाहाङ सेवामा वढाङमी नाचको रन्को
- कर्णालीमा आमसञ्चार विधेयकबारे छलफल
- सम्मान र पुरस्कारले उत्साहित पूजा
- लेबनानको सार्वभौमिकता उल्लङ्घन गर्ने इजरायलसँगको युद्धविराम स्वीकार्य छैनः हिजबुल्लाह प्रमुख
- इन्जिनियरिङ अध्ययन गरेर ब्लक उद्योगमा स्थापित
- जर्मनीले ‘एआई’ बाट नियन्त्रण गर्न मिल्ने चार हजार ड्रोन युक्रेन पठाउने