पछिल्लो समयमा नेपाली समाजमा मानसिक रोगप्रति संवेदनशील नहुँदा यो विकराल समस्याका रुपमा देखिन थालेको सरोकारवालाहरूले बताएका छन्।
कर्णाल प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको आयोजना तथा सिएमसी नेपालको समन्वय तथा सहकार्यमा फागुन १८ गते वीरेन्द्रनगरमा आयोजित ‘कर्णाली प्रादेशिक मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनैतिक कार्ययोजनाको निर्माण प्रक्रिया र कार्यान्वयको अवस्था विषयक छलफलमा सहभागी सरोकारवालाहरूले मानसिक रोगले समाज भित्रभित्रै प्रभावित भएको बताएका हुन्।
गण्डकी प्रदेश सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री सुशीला सिम्खडाले मानव स्वास्थ्य सबैभन्दा ठूलो सम्पत्ति भएको उल्लेख गर्दै समृद्ध समाज निर्माणका लागि मानसिकरुपमा स्वस्थ नागरिक हुनुपर्छ भन्नुभयो। “खानपिन, वैदेशिक रोजगार र हाम्रो जीवनशैलीका कारण अहिले मानसिक रोग बढ्दै गएको छ,” उहाँले भन्नुभयो, “यसको रोकथाम तथा नियन्त्रणमा सबै तहका सरकारले आवश्यक नीति तथा रणनैतिक कार्ययोजना बनाएर अगाडि बढ्नुपर्दछ।”
त्यसैगरी, लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री राजु खनालले पछिल्लो समय समाजमा मानसिक रोग र दुर्घटनाबाट धेरै मानिसको मृत्यु भएको बताउनुभयो। उहाँले भन्नुभयो, “अहिले मानिसहरू नसर्ने रोगको जोखिममा छन्। यस क्षेत्रमा विशेषज्ञ जनशक्ति उत्पादन गर्नेतर्फ ध्यान दिन जरुरी छ। कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री खड्गबहादुर पोखरेलले ‘डिप्रेसन’का कारण आत्महत्या बढ्दै गएकाले त्यसलाई नियन्त्रण गर्न राज्य गम्भीर हुनुपर्ने बताउनुभयो।
सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशका सचिव डा भोजराज शर्मा काफ्लेले एसियामै स्वास्थ्यमा सबैभन्दा बलियो सञ्जाल भएको देश नेपाल भएको दाबी गर्दै व्यवस्थापनमा सबल पक्ष भनेकै संवेदनशीलता हो भन्नुभयो। मधेस प्रदेशका स्वास्थ्य सचिव डा प्रमोदकुमार यादवले ६३ लाख जनसङ्ख्या भएको मधेसका लागि तीनजना मानसिक रोग विशेषज्ञ जनशक्ति रहेका जनाउनुभयो।
लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव डा जनार्दन पन्थीले मनोपरामर्शदाताबाट समयसमयमा सुझाव लिनुपर्ने बताउनुभयो। स्विस राजदूतावासका प्रतिनिधि प्रतिज्ञा सिम्खडाले सङ्घीयताको मर्मअनुसार मानसिक स्वास्थ्यसम्बन्धी रणनीतिलाई नजिकबाट नियाल्दै आएको बताउनुभयो। कर्णाली प्रदेश अस्पतालका मानसिक रोग विशेषज्ञ डा सुशील समदर्शीले मनोसामाजिक अपाङ्गता भएका व्यक्तिलाई थप सहयोग पुग्नेगरी कर्णाली प्रदेश सरकारले मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीति र कार्ययोजना तयार गरेको बताउनुभयो।
सिएमसी नेपालका प्राविधिक निर्देशक डा पशुपति महतले मानसिक स्वास्थ्यको विद्यमान अवस्था, सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख वृषबहादुर शाहीले प्रदेशस्तरमा मानसिक स्वास्थ्य रणनीतिक कार्ययोजना, कार्यान्वयनका क्रममा देखिएका सबल र सुधार गर्नुपर्ने पक्ष, डा वासुदेव कार्कीले राष्ट्रिय मानसिक स्वास्थ्य नीति, प्रादेशिक स्वास्थ्य तथा मनोसामाजिक रणनीतिक कार्ययोजनाको मस्यौदा र यसका विशेषताका बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- बीस वर्षदेखि सुकुम्बासीको प्रश्न : जग्गा कहिले पाइन्छ ?
- बगेर खेर गइरहेछ भोटको नुन
- गाउँकै अगुवा किसान, गाउँले एफएम दाइ
- नेतन्याहू, ग्यालेन्ट र देइफविरुद्धको आइसिसीको पक्राउ पुर्जी ‘बाध्यकारी’: इयू
- बुढाहाङ सेवामा वढाङमी नाचको रन्को
- कर्णालीमा आमसञ्चार विधेयकबारे छलफल
- सम्मान र पुरस्कारले उत्साहित पूजा
- लेबनानको सार्वभौमिकता उल्लङ्घन गर्ने इजरायलसँगको युद्धविराम स्वीकार्य छैनः हिजबुल्लाह प्रमुख
- इन्जिनियरिङ अध्ययन गरेर ब्लक उद्योगमा स्थापित
- जर्मनीले ‘एआई’ बाट नियन्त्रण गर्न मिल्ने चार हजार ड्रोन युक्रेन पठाउने