आइएनएस प्रतिनिधि
गोरखा-चालु आर्थिक बर्षको चार महिना बितिसक्दा गोरखाका स्थानीय तहको विकास बजेट खर्च दर ज्यादै न्यून छ। तलबभत्ता लगायतका सञ्चालन बजेट मनग्य खर्च गरेका कतिपय पालिकाको विकास निर्माणमा खर्च गर्नुपर्ने बजेट खर्चदर सुन्य रहेको पाइएको छ।
चुमनुब्री गाउँपालिकाले चालु आर्थिक बर्षका लागि ३२ करोड ६० लाख रुपैयाँको बजेट तथा कार्यक्रम सार्वजनिक गर्यो। तर मङ्सीर महिना बितिसक्दा विकास बजेटतर्फ कत्तिपनि खर्च नभएको गाउँपालिकाका प्रमुख भीमसेन श्रेष्ठले जानकारी दिए। सञ्चालन खर्चतर्फ भने १९.४८ प्रतिशत बजेट खर्च भइसकेको छ।
धार्चे गाउँपालिकाले चालु बर्षका लागि तय गरेको रु. ३१ करोड १६ लाख बराबरको बजेट तथा कार्यक्रममध्य पहिलो चार महिनामा जम्मा १९.४ प्रतिशत खर्च गरेको छ। ३३ प्रतिशत समय अवधि बितिसक्दा सो पालिकाले कार्यक्रम तर्फ भने कूल विकास बजेटको एक प्रतिशत मात्र खर्च गरेको प्रमुख प्रशासकीय अधिकृत रामबहादुर अधिकारीले जानकारी दिनुभयो।
यी दुई पालिकाले मात्र होइन, गोरखाका अधिकांश स्थानीय तहले तलब भत्ताबापत खर्च हुने चालुतर्फको बजेट खर्च गरेपनि विकास बजेट खर्च गर्न सकेका छैनन्।
चालुतर्फको बजेटको अनुपातमा कार्यक्रमतर्फको बजेट गर्न नसक्नुमा जनप्रतिनिधि र कर्मचारी दोषी रहेको सर्वसाधारणको टिप्पणी छ। जसरी पनि काम गर्नुपर्छ भन्ने सोचको अभावमा स्रोत भएर पनि परिचालन हुन नसकेको नागरिक साझा सवालका संयोजक स्थानेश्वर दुवाडी बताउँनुहुन्छ। ‘आर्थिक बर्षका तीनभागको एकभाग समय वितिसकेको छ। यतिबेला धमाधम योजना सम्झौता भएर काम सुरु भइसकनु पर्ने बेला हो’, दुवाडी भन्नुहुन्छ, ‘हामीलाई सर्वसाधारणले विकास निर्माणको काम गर्नका लागि नागरिकले भोट दिएका हुन् भन्ने जनप्रतिनिधिलाई महशुस हुनुपर्ने हो। सरकारले हामीलाई विकास निर्माणको काम गर्नकै लागि खटाएको हो भनेर कर्मचारीले सोच्नुपर्ने हो। तर उनीहरु दुवै पक्षको गैरजिम्मेवारी देखियो।’ जसरी पनि काम गर्नुपर्छ भन्ने सोचेर काम गरेमा अपेक्षित विकास हुने उहाँको टिप्पणी छ।
भीमसेन थापा गाउँपालिकाको चालु आर्थिक बर्षको बजेट ६१ करोड ३८ लाख रुपैयाँमध्य पहिलो चार महिना समाप्त हुँदासम्म विकास निर्माणतर्फको बजेट जम्मा ३.५४ प्रतिशत मात्र खर्च गरेको छ। तलब भत्ता तथा कार्यालय सञ्चालनतर्फ भने २०.३८ प्रतिशत बजेट खर्च भएको लेखापाल महेन्द्र शर्माले जानकारी दिनुभयो। शर्माका अनुसार अहिलेसम्म कूल बजेटको जम्मा १३.२४ प्रतिशत खर्च गरिएको छ।
आरुघाट गाउँपालिकाले यसबर्ष ५४ करोड ८५ लाख रुपैयाँको बजेट तथा कार्यक्रम निर्माण गर्यो। जसमध्य साउनदेखि कात्तिकसम्मको अवधिमा १३.७८ प्रतिशत खर्च गरेको छ। प्रमुख प्रशासकीय अधिकृत एकदेव खनालका अनुसार चालुतर्फ २०.५८ र पुँजीगततर्फ ५.४१ प्रतिशत मात्र खर्च गरिएको छ ।
अजीरकोट गाउँपालिकाले चालु आर्थिक बर्ष सञ्चालन गर्न ४६ करोड ६९ लाख रुपैयाँको बजेट तथा कार्यक्रम सार्वजनिक गरेको थियो। जसमध्य प्रथम चौमासिकमा तलबभत्ता तथा कार्यालय सञ्चालनतर्फ २५.३ प्रतिशत खर्च गरिसकेको छ भने विकास बजेटतर्फ जम्मा ९.५ प्रतिशत खर्च गरेको पालिकाका प्रमुख फणिन्द्र धितालले जानकारी दिनुभयो।
कार्यक्रम छनौट गरी सर्भे, डिजाइन स्टिमेटको चरणमा रहेकाले विकास बजेटको खर्चदर कम देखिएको चुमनुब्री गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमसेन श्रेष्ठले जानकारी दिनुभयो।
‘अहिले हाम्रो पालिकामा योजनाहरुको सर्भे गर्ने, स्टिमेट गर्ने चरणमा छौं’, श्रेष्ठ भन्नुहुन्छ, ‘अब धमाधम योजना सम्झौता भएर कार्यक्रम सुरु हुन्छन्। त्यसपछि खर्च दर बढेको देखिन्छ।’ भौगोलिक बिकटताका कारण पनि निर्धारित समयमा अपेक्षाकृत खर्च प्रगति हुन नसकेको उनको भनाइ छ। चुमनुब्री गाउँपालिका हिमाली क्षेत्रमा पर्छ।
कर्मचारीको अभाव, नयाँ नियुक्त भएका कर्मचारीहरुमा अनुभवको कमि, समयमा अख्तियारी नआउने र निकासा नहुने गरेकाले पनि पहिलो चौमासिकको विकास बजेटमा प्रगति कम भएको धार्चे गाउँपालिकाका प्रमुख सन्तोष गुरुङको तर्क छ। ‘यसबर्ष त झन् कोरोना महामारीका कारण ढिला भएको हो’, सन्तोषले भन्नुभयो, ‘बल्ल त उपभोक्ताको अभिमुखीकरण सकिएर सम्झौता सुरु भएको छ। बहुबर्षे योजनाको काम भने निरन्तर भइरहेको छ।’
कोभिडका कारण खर्च दर अपेक्षित हुन नसकेको अजीरकोट गाउँपालिकाका प्रमुख फणिन्द्र धितालको टिप्पणी छ। ‘यतिञ्जेल धेरै काम भइसक्नु पर्ने हुन्थ्यो तर कोभिडका कारण गर्न सकिएन’, फणिन्द्रले भन्नुभयो ‘पालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई नै कोभिडले छोयो। उहाँलाई ठिक भयो, फेरि लेखा अधिकृतलाई कोरोना भयो। उहाँहरु निस्केर आउनु भयो फेरि कन्ट्याक ट्रेसिङ गर्दा फेरि छ जना प्राविधिकलाई देखियो।’ कोरोना महामारीले यसबर्ष धेरै नै बिथोलेको फणिन्द्रले बताउनुभयो।
गोरखा नगरपालिकाले चालु आर्थिक बर्ष सम्पन्न गर्नेगरी ९९ करोड रुपैयाँको बजेट तथा कार्यक्रम सार्वजनिक गरेको थियो। बर्षको प्रथम चौमासिक अवधि सकिँदा नगरपालिकाले कूल बजेटको २०.२३ प्रतिशत खर्च गरेको छ।
सुरुको चार महिनामा भएको यो खर्च दर स्वभाविक रहेको नगरपालिकाका मेयर राजनराज पन्तको तर्क छ। ‘अवधिको हिसाबले ३३ प्रतिशत समय सकिएपनि सुरुको चरणमा योजना छनोट प्रक्रिया, उपभोक्ता समिति गठन, सर्भे, डिजाइन, इस्टिमेट, टेण्डर प्रक्रिया आदिले धेरै समय लिनेहुँदा खर्चदर कम देखिने गर्छ’, मेयर पन्त भन्नुहुन्छ, ‘भर्खर निर्माणको काम तथा कार्यक्रमहरु सुरु भएको हुन्छ। कतिपयको निकासा भैसकेको पनि हुदैन त्यसैले जुन दरमा खर्च भएको देखिएको छ, त्यसलाई अन्यथा मान्न मिल्दैन।’ दोस्रो र अन्तिम चौमासिकमा प्रगति दर सन्तोषजनक हुने उहाँले बताउनुभयो।
त्यस्तै पालुङटार नगरपालिकाले चालु आर्थिक बर्ष बिनियोजन गरेको ७७ करोड ६६ लाख रुपैयाँ बजेटमध्य पहिलो चौमासिक अवधिमा जम्मा १५.१५ प्रतिशत खर्च गरेको जनाएको छ।
शहीद लखन गाउँपालिकाले चालु आर्थिकबर्षका लागि घोषणा गरेको ६२ करोड रुपैयाँको बजेट तथा कार्यक्रममध्य प्रथम चौमासिक अवधिमा १२ करोड रुपैयाँ खर्च गरेको छ। यो कूल बजेटको २० प्रतिशत रहेको गाउँपालिकाले जनाएको छ।
त्यस्तै गण्डकी गाउँपालिकाले १३ प्रतिशत बजेट खर्च गरेको जनाएको छ।
बारपाक सुलीकोट गाउँपालिकामा चालु आर्थिक बर्षका लागि करिब ६० करोड रुपैयाँ प्राप्त भयो। जसमध्य सुरुको चार महिनामा ११ करोड ३४ लाख रुपैयाँ खर्च भएको छ।
सञ्चालन खर्चतर्फ आठ करोड ६२ लाख र कार्यक्रमतर्फ तीनकरोड २८ लाख रुपैयाँ खर्च भएको प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीले जानकारी दिनुभयो। उहाँका अनुसार यो खर्च कूल बजेटको १८ प्रतिशत हो।
बारपाक सुलीकोट गाउँपालिकामा गतबर्ष भन्दा यो बर्ष भएको खर्च तुलनात्मक रुपमा राम्रो भएको गाउँपालिकाका प्रमुख विष्णु भट्ट बताउँनुहुन्छ। ‘गतबर्ष यो अवधिमा ६ प्रतिशत मात्र प्रगति भएको थियो। अहिले यो दर बढेर १८ प्रतिशत भयो। यसरी तुलनात्मक रुपमा हेर्दा खर्च दर त बढेको छ तर सोचेजति अझै हुन सकिरहेको छैन’, भट्ट भन्नुहुन्छ, ‘१२ महिनामा चार महिना भनेको ३३ प्रतिशत अवधि हो। यसमा २५ प्रतिशत खर्च गर्न सक्छौँ भन्ने लक्ष्य राखेका थियौँ तर सकिएन। त्यसैले अपेक्षित प्रगति गर्न सकिएन।’
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- आदालतद्वारा रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश, समर्थकबीच खुसीको माहोल
- उत्तरी सिरियामा टर्कीए र कुर्दिश सेनाबीच झडप, ३७ जनाको मृत्यु
- खोटाङकाे बुइपामा कोक, जुस, वियरलगायत आयातित पेयपदार्थमा प्रतिबन्ध
- अमेरिकाको लस एन्जेलसमा भीषण आगलागी, अहिलेसम्म पाँच जनाको मृत्यु
- सूर्यदर्शन सहकारी बचत अपचलन : प्रतिवादीहरूको थुनछेक बहस जारी
- भूकम्पको मनोवैज्ञानिक असर कायमै, संयम अपनाउन आग्रह
- पाथीभरासहित ताप्लेजुङका उच्च हिमाली क्षेत्रमा हिमपात
- हमासलाई ट्रम्पको चेतावनी
- लस एन्जलिसको डढेलो तीव्र गतिमा फैलिँदै, हजारौँ मानिस घर छाडेर भागे
- ट्रम्पको होटल अगाडि च्याटजीपीटी एआईमार्फत विस्फोट गराइएको थियो साइबरट्रक