सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–४ मेलडाँडामा व्यावसायिक सुन्तलाखेती सुरुआत गरिएको छ। जेठ २६ गते एक कार्यक्रमका बीच निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधिसभा सांसद माधव सापकोटाले सुन्तलाको बिरुवा रोपेर व्यावसायिक सुन्तलाखेतीको सुरुआत गर्नुभयो।
त्यसअवसरमा सापकोटाले सुन्तलाखेतीबाट आर्थिक अवस्था सुधार र स्थानीयस्तरमा रोजगारी सिर्जना गरी युवाको पलायन रोक्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले मेलडाँडाबाट सुरु भएको नमुना खेतीलाई क्रमशः विस्तार गरेर वडा नं ३ र ४ मा विस्तार गरिनपर्नेमा जोड दिनुभयो।
बलेफी गाउँपालिका अध्यक्ष गङ्गाबहादुर तामाङले नगदेबाली र सहकारीको संयोजनमा हुने सामूहिक खेतीका लागि गाउँपालिकाको तर्फबाट सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले कृषि उत्पादनसहित पर्यटन प्रवर्द्धनको उद्देश्य पूरा गर्न प्रदेश एवं सङ्घीय सरकारले सिँचाइ र सहज आवतजावतका लागि सिँडी निर्माण गर्न सहयोग गर्नुपर्ने बताउनुभयो।
काठमाडौँ विश्वविद्यालयबाट कृषि विज्ञानमा विद्यावारिधि गरिरहेका शोधार्थी गोविन्द पाठकले सुन्तला रोप्ने तरिका र उपचार विधिका विषयमा जानकारी दिनुभएको थियो। बलेफी गाउँपालिकाका कृषि अधिकृत सुवास अधिकारीले भूगोल सुहाउँदो भएकाले पालिकालाई पकेट क्षेत्र बनाउन सहयोग गर्ने बताउनुभयो। वडा न ४ का अध्यक्ष सुर्जे तामाङले सबै मिलेर व्यावसायिक खेती सफल पार्नुपर्ने धारणा राख्नुभयो।
सहकारी संस्थाका अध्यक्ष हरि तामाङका अनुसार जेठ २६ गते खोकु जातका दुई हजार सुन्तलाका बिरुवा रोपिएका छन्। बलेफी–४ ले प्रधानमन्त्री स्वरोजगार कार्यक्रममार्फत सुन्तला रोप्न खाल्डो खन्ने, पत्कर सङ्कलन र झाडी सुधारको काम गरेको थियो।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- युक्रेनले रुसमाथि गर्यो हालसम्मकै ठूलो आक्रमण
- तामाखानी : उत्खननको पर्खाइमा
- पीएसजीले जित्यो च्याम्पियन्स लिगको उपाधि
- रियल मड्रिड: विश्वकै सबैभन्दा मूल्यवान् फुटबल क्लब
- महाकाली करिडोर : उन्नतिको बाटो खोल्दै
- बजेटमा समावेश भएसँगै दूधकोशी आयोजना अघि बढ्ने विश्वास
- बाढीले कोशी राजमार्गमा हानी : यातायात अवरुद्ध
- आप्रवासीको कानुनी मान्यता खारेज गर्न ट्रम्पलाई अदालतद्वारा अनुमति
- बस्तीमा बाढी पस्दा २२ घर डुबानमा
- बालमैत्री घोषित जिल्लामा बालविवाहले ‘निरास’ बनाएका जिन्दगी
