धर्मशालामा अमेरिकी संसदीय टोलीको दलाई लामासँग भेट

अमेरिकी पूर्व सभामुख न्यान्सी पेलोसीको नेतृत्वमा भारत भ्रमणमा रहेको अमेरिकी सांसदहरूको टोलीले तिब्बतका निर्वासित धर्मगरु दलाई लामासँग बुधवार धर्मशालामा भेट गरेका छन् । भ्रमणमा रहेका अमेरिकी संसदीय टोलीले निर्वासित तिब्बती संसद्का (जसलाई केन्द्रीय तिब्बती प्रशासन भनिन्छ) प्रतिनिधिहरूसँग पनि भेट गरेको छन्।

पूर्व सभामुख न्यान्सी पेलोसीले धर्मशाला आउन पाउनु धेरै रोमाञ्चक रहेको भन्दै प्रतिनिधिमण्डलको मुख्य ध्यान तिब्बत समस्या  समाधानको पक्षमा वकालत गर्ने कुराको जानकारी दिएकी थिइन्।

भ्रमणमा रहेका प्रतिनिधिमण्डललाई स्वागत गर्न विमानस्थलमा भारतमा रहेका केही तिब्बती शरणार्थीहरूको भीड जम्मा भएको थियो ।

यो भ्रमण अमेरिकी संसद्ले “तिब्बत-चीन विवादको समाधानलाई प्रवर्द्धन गर्ने कानुन” गत हप्ता पारित गरेपछि भएको हो । र यसमा अमेरिकी राष्ट्रपति जो बाइडेनले छिट्टै हस्ताक्षर गर्ने अपेक्षा गरिएको छ।

अमेरिकी प्रसारण स‌ंस्था भ्वाइस अफ अमेरिकाका अनुसार- यो विधेयकले चीनलाई तिब्बती नेताहरूसँग वार्ता गर्न प्रोत्साहित गर्न खोजेको हो जुन २०१० देखि रोकिएको थियो। तिब्बतीहरूको सांस्कृतिक र ऐतिहासिक पहिचानमा तिब्बती जनताको विचारलाई ध्यानमा राखी वार्ताद्वारा सम्झौताको बाटो खोज्नु नै यसको लक्ष्य हो।

निर्वासित तिब्बती संसद्को प्रवक्ता तेन्जिन लेक्क्षेका अनुसार गएका दुई वर्षमा तिब्बत समाधान विधेयक अमेरिकी संसद्मा पारित भएको छ र अब राष्ट्रपति बाइडेनले यसमा चाडै हस्ताक्षर गर्नुहुनेछ ।

दलाई लामालाई पृथकतावादीको रूपमा हेर्ने चीनले भने अमेरिकी संसद्को भ्रमण र सो विधेयकको सम्भावित हस्ताक्षरको पनि कडा निन्दा गरेको छ ।

चीनका विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले प्रेसलाई सम्बोधन गर्दै भने -“हामी अमेरिकालाई चीन विरोधी र पृथकतावादीको प्रतीकका रूपमा रहेका दलाई लामासँग कुनै पनि प्रकारको भेट नगर्न, कुनै पनि मान्यता नदिन र तिब्बत-सम्बन्धित मुद्दाहरूमा आफ्नो प्रतिबद्धताहरूको पालना गर्न, लामासँग कुनै पनि प्रकारको सम्पर्कबाट टाढा रहन र गलत सन्देशहरू पठाउन बन्द गर्न आग्रह गर्दछौँ।”

साथै चिनियाँ प्रवक्ता जियानले अमेरिकालाई तिब्बतलाई चीनको हिस्साको रूपमा मान्यता दिन, तिब्बतको स्वतन्त्रतालाई समर्थन नगर्ने आफ्नो प्रतिबद्धताको सम्मान गर्न र राष्ट्रपति बाइडेनलाई उक्त विधेयकमा हस्ताक्षर नगर्न प्रेस सम्बोधनमा आग्रह पनि गरे।

सन् १९५९ मा तिब्बतमा चिनियाँ शासनविरुद्धको असफल विद्रोहपछि हजारौँ तिब्बतीसहित दलाई लामा भागेर भारत आएका थिए। भारतको भ्रमणमा आएका समयमा अमेरिकी अधिकारी र राष्ट्रपतिहरूसँग दलाई लामाले पहिला पनि भेट गर्दै आएका छन् भने हालका अमेरिकी राष्ट्रपति जो बाइडेनलाई भेट्न बाँकी छ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link