द्रौपदी अर्थात् पाँच नाथकी अनाथिनी-२४
द्रौपदीको जन्मका बारेमा विभिन्न मत राख्ने विद्वानहरू पनि छन् तर हामीले महाभारतले जे भन्छ, त्यसैलाई मान्नु पर्ने हुन्छ। द्वापर युगमा वा महाभारतकालीन युगमा अनेक तरिकाले पात्रहरूको जन्म भएको घटना वर्णित छ। जस्तो कि निषाद पुत्री मानिने, पछि महारानी अनि राजमाता भएकी मत्स्यगन्धा वा योजनागन्धा या सत्यवती जे भनौँ उनको जन्म माछाको पेटमा प्राप्त भएको मानिएको छ। उपरिचर वसुले जब सम्झिए कि मेरी पत्नीले आज ऋतुस्नान गरेकी छे, उनले तत्काल उनका लागि बच्चा पाउने व्यवस्था गर्न आफ्नू शुक्राणु चरामार्फत् पठाउँदा बिचमा बाजले झम्ट्यो र त्यो शुक्र नदीमा खस्यो। कुनै स्त्री माछाले त्यो निल्यो र गर्भिणी भयो। कुनै दिन निषाद राजले माछा जालमा पार्दा जालमा परेको माछाको असामान्य पेट देखेर चिर्दा ज्युँदी बच्ची देखापरी, जसको शरीरबाट स्वाभाविक रुपमा माछाको गन्ध आउँथ्यो। त्यो बच्चीलाई धीवरले आफ्नी बच्चीका रुपमा ग्रहण गर्यो र गन्धका आधारमा उनको नाम मत्स्यगन्धा राखिएको थियो। त्यो माछाको गन्ध यति कडा थियो कि त्यो गन्ध एक योजनसम्म बास्ना आउँथ्यो, त्यसैले योजनागन्धा पनि भनिएको थियो।
ती नवजात कन्याको शरीरबाट माछाको सुगन्ध या गन्ध आउँथ्यो। भनौँ बास्ना आउँथ्यो। त्यो उनको परिचय थियो। जब दाशराज नामक धीवरले पालेकी मत्स्यगन्धा हुर्कँदै गई, उसले बाबुको डुङ्गा वार पार गर्ने काम सघाउँथी। ऊ वयस्क हुँदै गई र आउने जानेले पक्कै पनि उसलाई आँखा गाड्थे नै। अर्थात् उपरिचर वसुकी छोरी दिनानुदिन राम्री हुँदै हुर्कँदै थिई। हिमाली नदीको निर्मल चिसो जल, तातो बालुवाको स्पर्श, धीवरका पति पत्नीको अति मायासहितको लालन पालन रहेकाले मृग सावकझैँ उसको चुरीफुरी हेर्न लायक थियो। जसले पनि त्यो बच्ची स्वर्गकी परी नै हो भन्ने ठान्थे। वास्तवामा वसु त स्वर्गका विभिन्न कोणका रक्षकहरू नै त हुन् पनि। वसु भनेको आठको समूह मानिन्छ। आठ दिशाका रक्षक भन्दा पनि हुन्छ। ती मध्येका एक उपरिचर थिए। उनकी सन्तान मत्स्यगन्धा राम्री त हुने नै भइन्। नियतिको गणितमा ती कुरुवंशकी बडामहारानी हुनका लागि उनको जन्म गराइएको थियो र कुनै अप्सरालाई श्राप परेर उनले माछाको पेटमा बसेर यो संसार देख्नु थियो।
महाभारतका महिला पात्रहरूमा सबैभन्दा वरिष्ठ पात्र मत्स्यगन्धा नै हुन्। उनका छोरा वेदव्यासले लेखेको जय नामक ग्रन्थ या महाभारत महाकाव्यमा आफ्नी आमाको बारेमा सविस्तार वर्णन गर्ने नै भए। मत्स्यगन्धा- योजनागन्धा हुँदै मगमग बास्ना आउने नयाँ अवतारमा योजनागन्धाको जन्म भएको थियो पराशर ऋषिका तर्फबाट द्वीपमा कृष्ण वर्णको बालकको जन्म भएपछि।
सदाझैँ बाबुलाई डुङ्गा चलाएर यात्रु वारपार गराउन पालो दिन आएकी वयस्का अति रुपवती मत्स्यगन्धाले एकजना ऋषिलाई पारि तार्नु पर्ने भयो। जब रुपवती कन्या मत्स्यगन्धा एकसुरले बहाना चलाउन थाली, जब उसको निधारमा पलाएको पसिना मोती दाना जस्तै देखिएको थियो। उसका आधामात्र कपडाले छोपेको शरीर या भनौँ अर्धनग्न स्वरुपमा उसका जवानीका चिन्हले बाहिर चियाइ रहेका थिए। त्यो निस्फिक्री कन्यालाई केही मतलब पनि थिएन किनभने यो उसको दैनिकी नै थियो। उसमा जबानीको भावना भित्र कतै थियो होला तर यो बस्तीमा ऊ मृग सावकझैँ बुरुक्क बुरुक्क उफ्रेर आफ्नो मन मुताबिक यताउता गरिरहन्थी। अरु यात्रु त निषादको डरले त्यो कन्यातर्फ आँखा उठाएर पनि हेर्न सक्दैनथे। यदि कसैले त्यो मत्स्यगन्धातर्फ खराब नियतले हेरेमात्र पनि उसको जीवन लीला दाशराजका तर्फबाट समाप्त हुने थियो भन्ने कुरा त्यो क्षेत्रमा सबैलाई थाहा थियो। दाशराजलाई पनि कताकता आभास थियो कि यो कन्या सामान्य मत्स्यपुत्री मात्र होइन, अनुमानमात्र थियो।
एकदिन जब त्यो बाटो हुँदै महर्षि पराशर कतै जाँदै थिए, डुङ्गा वारपार गर्ने पालो मत्स्यगन्धाको नै थियो। विहानको बेलामा दाशराज सायद माछा मार्न पनि गएको हुँदो हो या पालो दिने छोरी भएपछि आराम गर्न पनि घरमा बसेको हुँदो हो।
नियतिको गणितमा जे हुनु थियो, भएर नै छोड्ने हो। मातृप्रधान दाशराजको परिवारमा यो कन्या सबैकी आँखाकी नानी थिई। सायद जबानीले पनि उसलाई बिस्तारै आफ्नो कब्जामा लिन थालेको पनि थियो कि ?
उसको डुङ्गामा ती ऋषि बसे। उनलाई हतार थियो, अरु यात्रु त्यहाँ थिएनन्, त्यसैले महर्षिले छिटै पारि लैजानका लागि जोड गरे। त्यो बेलामा पनि नदी तारेको भाडा लिइन्थ्यो कि ? अर्थात् डुङ्गा भरि हुने यात्रुको पैसा त एकजनाबाट लिन मिल्दैनथ्यो होला तर महर्षिको श्रापका डरले पनि ती कन्या एक्लै ऋषिलाई पारि लैजान तयार भई। नदीको चौडाइ पनि लामै थियो, पानीको बहाव पनि कडा नै थियो जसले गर्दा बहाना चलाउन उसका मांसपेशी कसिएर चलाउँदै थिए। अचानक ऋषिको ध्यान उसका अर्धनग्न शरीरमा गाडियो, शारीरिक वासनाले ध्यान त कता मोडियो मोडियो। अनि ऋषिमा तत्कालै सहबासको चाहना बढेर आयो। लामो चौडाइमा बिचमा सानो टापु जस्तै ठाउँ थियो जसको छेकारो काटेर डुङ्गा लैजानु थियो। जसै छेकारो काट्ने कला प्रयोग गर्न थाली, बहानालाई कलात्मक तरिकाले पानी काट्ने काममा प्रयोग गर्न थाली, ऋषि पराशरले धीवरकन्याको हात च्याप्प समाएर आफूमा असह्य काम वासनाले प्रताडित गरेकाले त्यही टापुमा डुङ्गा बिसाउन कर गर्न थाले। धीवर कन्याले आजसम्म कसैले त्यस्तो प्रस्ताव राखेको थाहै पाएकी थिइन। अनि भनी कि वारिपारि त मानिसहरूले देख्दैछन् ऋषिवर ? अनि तत्काल ऋषि पराशरले नदीको वरिपरि बाक्लो हुस्सू उत्पन्न गराए, डुङ्गालाई सानो टापु जस्तो ठाउँमा बाँध्न लगाए र आफ्नो रतिराग पूरा गरे। अर्थात् तत्काल पुत्ररत्न जन्माए जो चारै वेद हातमा लिएर जन्मेको थियो र वेदका मन्त्रहरू जप्दै द्वीपमा जन्मिएको थियो कृष्णवर्णको वयस्क युवा। जसलाई पाउने त्यही उपरिचर वसुकी छोरी मत्स्यगन्धा थिई। ऋषि पराशरले पनि उसको नाम कृष्ण राखे, कस्तो कृष्ण भने जसले द्वीपमा या टापुमा जन्म लिएको थियो। कृष्ण द्वैपायन। धीवर कन्याको छोरो भए पनि ऊ जन्मसिद्ध ब्राह्मणको रुपमा गणना गरियो।
बादल या हुस्सूको बाक्लो पर्दाले कसैले पनि देखेनन्, ऋषिले आफ्नो तपस्याको बलले उनमा झन राम्री झन राम्री हुने आशीर्वाद दिए र चारकोशसम्मको माछाको गन्ध अब अत्तरको जस्तो बास्ना आउने बनाए। अचानक समागम भयो, बच्चा जन्मियो, झन राम्री भएर देखिई, शरीरमा माछाको गन्धको साटो अत्तरको बास्ना पो आउन थाल्यो। क्रमशः
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
हरिविनोद अधिकारी का अन्य पोस्टहरु:
- शकुनिको बदला
- शकुनिको कूटनीतिक क्षमता
- वैश्विक तापक्रम वृद्धिको दुष्परिणाम र हाम्रो भविष्य
- हिडिम्बाको मोह
- द्रौपदीलाई आफ्नै रूपको चिन्ता
- ब्राह्मण कुमारले विश्व सुन्दरीमाथि जमाए अधिकार
- द्रौपदीको छल
- शिखण्डीलाई लिङ्ग प्रदान, यक्ष स्थूणाकर्ण बने स्त्री
- यसरी भयो शिखण्डीको लिङ्ग परिवर्तन
- दिगो शान्तिका लागि गान्धीको पथप्रदर्शन