द्रौपदी अर्थात् पाँच नाथकी अनाथिनी —२९
महाराजलाई जब त्यही डुङ्गामा बहाना लिएर वारपार गराउने केटी नै चाहिने भए पछि भने महाराजलाई एउटा समस्या नैतिकरुपमा टड्कारो देखियो—युवराजको बिहे गरेर कुरुवंशको अविच्छिन्न वंशतन्तु वृद्धि गर्नु पर्ने बेलामा महाराज स्वयं विवाहको लागि आतुर हुनुले नयाँ समस्या देखिएकै थियो तर त्यो समस्याको समाधान भने युवराज देवब्रतले मात्र गर्नसक्थे। विवाह योग्य छोरो भएको ठाउँमा बाबुले नै छोरालाई केटी नै नखोजी आफैं बिहे गर्न लागिपरेको कथाले महाभारतमा नयाँ रोचकता थपेको पाइन्छ। पिता शन्तनुको धीवर कन्याको एकमात्र दर्शनले विवाह नगरी नहुने बेला पनि आयो, तर अरुका आँखा भने युवराजको बिहेको लागि पर्खेर बसेका थिए। महाराजको विहेको ढिपीले त्यसबेलामा नयाँ बाटो खनेको जस्तो हुन लाग्यो ……..
महाराज शन्तनुको ढिपीले नभन्दै कुरुवंशीको इतिहासले नयाँ मोड लिएको पाइन्छ। महाराज प्रतीपका अरु छोराहरू देखिँदैनन् शन्तनु बाहेक। शन्तनुका पनि गङ्गाले छोडेपछि विवाह नै गर्ने विचार लिएका थिएनन् र गङ्गाले जिम्मा लिएर लगेको छोरो फर्केर आउने विश्वासका साथ राजगद्दी खालि नहुने धारणाले पनि महाराज शन्तनु साधुको जस्तो व्यवहार गरेर बसेका थिए। अर्थात् गृहस्थ साधुको रुपमा। राजाको रुपमा उनी न्यायप्रेमी, सत्यवादी र कुरुवंशको प्रतिष्ठा राखेर राज्य गरिरहँदा अचानक युवराज फर्केर आएपछि कुरुवंशको राज्य निरन्तर रहने भएकाले पनि राजा शन्तनु ढुक्क देखिन्थे। तर नियतिको लेखा, मत्स्यगन्धासँगको साक्षात्कारले उनको वृद्धावस्थामा विवाह गर्ने चाहना जाग्यो। युवराजको विवाह गर्ने बेलामा राजा जसरी पनि त्यही धीवर कन्याको चाहले छटपटाउन थाले।
कति यात्रु आउँछन् कति। सबैको मनोभावना बुझ्न डुङ्गा तार्नेलाई मुस्किल हुन्छ, त्यस्तै भएको थियो मत्स्यगन्धालाई पनि। अचानक पराशर ऋषिसँग भेट भएको कारणले योजनासुगन्धा भए पनि उनले यो रहस्य गोप्य राख्नु आवश्यक थियो र त गोप्य नै थियो। तर उनमा त्यो जन्मने बित्तिकै आमाको माया ममता नखोजी, आमा मत्स्यगन्धा र बाबा पराशरलाई बदनाम हुन नदिई एकान्तबास गएका कृष्णका कारणले पनि रहस्य रहस्य नै रहेको थियो। आमा बनेकी मत्स्यगन्धाले पनि उनले सम्झना गरेको बेलामा तत्काल आउने बाचा गरी अलप भएका कृष्ण अर्थात् वेदव्यासले पनि त्यसपछि कुनै याद गरेका थिएनन्, आमाले पनि याद गरेकी थिइनन् भन्ने कुरा धेरैपछि उनीहरूको पुनर्मिलनले देखाउँछ। मात्र मत्स्यगन्धालाई स्मरणमा थियो, महर्षि पराशरसँगको संसर्गले एकजना पुत्र जन्मेको थियो, त्यसपछि आफ्नो माछाको गन्ध अत्तरमा बदलिएको हो अनि आफैं योजनासुगन्धा भएको बुझेकी थिइन्।
राजाको ढिपीलाई दाशराज निषादले मौको फाइदा लिन खोज्यो र भन्यो—मेरी छोरीको प्रतिष्ठा रानीको हुनुपर्छ, छोरीको सन्तानलाई राजाको दरबारमा राजकुमारको दर्जा पाउनु पर्छ, त्यतिमात्र होइन त्यो राजकुमारले राज्यको उत्तराधिकारीको हैसियत पाउनु पर्छ। राजा न त यी सर्तहरू नमान्न सक्थे, न मान्न सक्थे। आफूसरहको उत्तराधिकारी छोरो देवब्रत दरबारमा थियो। सुयोग्य विद्वान, अत्यन्त राम्रो रुप, निपुण लडाकु र न्यायप्रेमी युवराजको प्रतिष्ठा जनताका तर्फबाट पाएको थियो। राजा पनि यस्तो छोरोको उत्तराधिकारमा राज्य सुम्पन पाइने हुँदा खुसी पनि थिए तर अचानक राजाको सुकेको मन हरियो भएर पलाउन थाल्यो र नयाँ रानीको आवश्यकता महसुस गर्न थालेको कुरा जनताले पनि थाहा पाउन थाले किनभने राजा दाशराजको घरको चक्कर लगाउन थाले मानौँ त्यो मत्स्यगन्धा या योजनागन्धा नभई बाँच्नै नसक्ने जस्तो गरी।
यो कुरा एककान, दुईकान, मैदान भनेजस्तै भयो। राजाको गोप्य चाहनाले सार्वजनिक हुने मौका पाउन थाल्यो किनभने दाशराजका लागि यो सुवर्ण मौका थियो, राजदरबारमा साइनो गाँस्ने र आफ्नै नातिले कुरुवंशीय चक्रवर्तित्वको नेतृत्व गरेर हस्तिनापुरको राज्य सित्तैमा पाउने। न कुनै बल गर्नु पर्ने, न कुनै कूटनीतिक प्रयास गर्नुपर्ने, न कुनै युद्ध गर्नुपर्ने तर राजाको कामुक चाहनाले अचानक हस्तिनापुरको राज्य आफ्नो परिवारको नियन्त्रणमा आउने अर्थात् छोरी बडामहारानी हुने र भावी नाति भारतवर्षको अकण्टक राजा हुने। यसका लागि राजालाई परेको समस्या भनेको युवराजको पद कसरी दिने भन्ने नै थियो। जब राजाको यो बाध्यकारी परिस्थितिलाई युवराज देवब्रतले महसुस गरे, उनले मातृभूमिको लागि पितृभक्त हुने सुवर्ण मौका हातमा आएको झल्झल्ती देखे। अनि युवराज देवब्रतले आफैँ गएर पिता महाराजका लागि केटीको हात मागे। दाशराज छक्क पर्नु स्वाभाविकै थियो किनभने युवराजले छोरी मन पराएको भए पनि भारत देशको राजगद्दी उनकै छोरीको सन्तानले पाउने थियो तर युवा राजकुमार बाबुको लागि केटीको हात माग्न आएका थिए र दाशराजका सबै सर्तहरू मान्न तयार थिए। दाशराजले शङ्का व्यक्त गरे, अहिले राजाका लागि केटी पाउनका लागि सर्त मानेको जस्तो गरेको हुनुपर्छ, पछि तिम्रो विवाह गरेपछि त तिम्रै सन्तानले राज्य पाउने छन्। अनि देवब्रतले भीष्म प्रतिज्ञा गरे, म ब्रह्मचर्याश्रममा नै रहने छु, विवाह गर्ने छैन। यदि मैले विवाह नै नगर्ने भीष्म ब्रत लिएँ भने मेरा सन्तान हुने संभावना नै हुनेछैन। यसरी पिताका लागि पुत्रले त्याग गरेको अनुपम उदाहरण पाइन्छ। त्यसपछि राजा शन्तनुले योजनागन्धासँग विवाह गर्ने भए र रानी भइन् धीवर कन्या मत्स्यगन्धा, योजनासुगन्धा कन्या अनि भइन् सत्यवती। सत्यसँग अब उनको बारम्बार साक्षात्कार हुन थाल्यो, जीवनको यथार्थ सत्यसँग। बल्ल सत्यवती भन्ने नामसँग तादात्म्यता देखियो।
वृद्ध राजा शन्तनु, युवराज देवब्रत जसले भीष्म प्रतिज्ञा गरेर आफ्नो नाममा भीष्म पनि जोडे लोकका लागि। महारानी सत्यवती। सम्पूर्ण राज्य सञ्चालनको भार लिएकै थिए देवब्रतले। उनले परशुराम जस्ता गुरुसँग शस्त्रास्त्रको शिक्षा लिए। परशुराम जसलाई विष्णुका अवतार मानिन्छ र तीन राममध्ये एक राम मानिन्छ। एक राम मर्यादा पुरुषोत्तम श्री राम जो महाराज दशरथका जेठा छोरा थिए, अर्का राम जो बन्चरोलाई आफ्नो इष्ट अस्त्रको रुपमा प्रयोग गर्थे, परशुराम। अर्का राम भनेका बलराम जसलाई श्रीकृष्णावतारमा शेषनागका अवतारका रुपमा शास्त्रमा वर्णित छन् बलराम। विष्णुको अवतारमा शेषनाग र लक्ष्मीको साथ छुट्दैन भनिन्छ।
सत्यवतीसँग विवाह पश्चात् महाराज शन्तनुको सम्पूर्ण समय युवती रानीसँग बित्यो। अनि रानी सत्यवतीका दुई छोराहरू जन्मिए। त्यसो त राजासँग विवाह गर्नुभन्दा पहिले नै उनी वयस्क ब्राह्मणकी माता भइसकेकी थिइन् तर छोरासँग न त सम्पर्क थियो, न त उनले सम्झने कोसिस नै गरेकी थिइन्। उनले सम्झेकी पनि थिइनन् भन्ने आधार के थियो भने सम्झे पछि उनी आमाको अघिल्तिर आउने प्रण गरेर छुट्टिएका थिए र त्यो पाराशर बालक आमासँगबाट गए पछि भेट्टिएको थिएन। राजासँग विवाह हुनुभन्दा पहिले उनलाई छोराको सम्झना पनि जरुरी थिएन किनभने सार्वजनिक रुपमा छोरासँगको भेट र सार्वजनिकीकरणले उनको कुमारित्वमाथि प्रश्न उठ्थ्यो र राजासँगको विवाह भङ्ग हुने सम्भावना थियो। देवांश उपरिचरकी छोरीमा त्यो दैवी गुण र क्षमता हुने नै भयो जसको परिणाम पछि महाराज शन्तनुको निधन पछि, अझ विचित्रवीर्य निःसन्तान नै दिवंगत भएपछि देखिएको थियो।
वृद्ध महाराजका तर्फबाट दुई भाइ छोराहरू जन्मिए, चित्राङ्गद र विचित्रवीर्य। चित्राङ्गद जन्मनु भन्दा पहिले नै सत्यवती दुईओटा परिपक्व छोराहरूकी आमा भइसकेकी थिइन्। एउटा आफैँले जन्माएको तर समाजमा भन्न नमिल्ने, अर्को गङ्गाबाट जन्मेका छोरा युवराज देवब्रत। आफूभन्दा सानो उमेरकी भए पनि, निषाद पुत्री भए पनि र आफैँले मागेर विवाह गरेकी कन्या भए पनि देवब्रतले सत्यवतीलाई गङ्गा सरह मान्यता दिई रहे, महारानीको प्रतिष्ठा दिई रहे। तर सत्यवतीले महाराज हुँदा पनि राज्यका बारेमा देवब्रतलाई नै राजाको रुपमा व्यवहार गरिन्, शन्तनुको निधन पछि त उनका लागि राज्यको मुख्य खम्बा नै उनै थिए र हस्तिनापुर भनेको देवब्रत र देवब्रत भनेको हस्तिनापुर बुझिन्थ्यो।
महाराज शन्तनुको निधन पछि देवब्रतले भाइ चित्राङ्गदलाई महाराजको राजगद्दीमा राखे जस्तो कि एउटा युवराज राजाको निधनपछि राजा हुनेगर्छ। यसकारणले पनि उनले बचन पूरा गरे जुन निषाद राज दाशराजलाई वचन दिएका थिए। सत्यवती भने कुरुवंशको चलनमा व्यवधान नआओस् भन्ने चाहन्थिन् र राजाको रुपमा देवब्रत नै रहून् र हस्तिनापुरको रक्षाकबच भएर रहून् भन्ने ठान्थिन्। उनलाई के कुरा थाहा थियो भने यो देवब्रतले दिएको बचन अनुसार विवाह गर्नेछैन, आफ्ना दुई भाइ छोराहरूलाई भाइभन्दा पनि राजाको व्यवहार गर्ने छ र आफू सेनापति जस्तै भएर राज्यको रक्षा गरिरहने छ। सत्यवती र महाराज शन्तनुको विवाह पहिले सर्त त्यही थियो र त्यसमा उनको कुनै कमी देखिएको थिएन। सत्यवती जहिले पनि आफूलाई अपराधी जस्तै महसुस गर्थिन् किनभने उनकै कारणले एउटा सक्षम राजा, सक्षम सेनापति र सक्षम न्यायप्रेमी राजकुमार राजा हुनबाट पन्छियो, भावी सन्तान उत्पादन गर्नबाट आफूलाई पन्छायो। यसले भारतवर्षलाई राज्य सञ्चालनमा ठुलो क्षति हुने अनुमान गर्थिन् तर अब त्यसको क्षतिपूर्ति सम्भव थिएन र समयको पोल्टामा आफूलाई र आफ्नो साम्राज्यलाई सुम्पिइन्।
सत्यवतीले आफ्नो जीवनको असली परीक्षा सुरु भएको मानेकी थिइन्, उनलाई आफ्ना चिचिला छोराहरूको अपरिपक्व बुद्धिले गर्दा कसरी भावी दिनमा यत्रो साम्राज्य सञ्चालन गर्न सकिएला भन्ने कुराले चिन्तित हुन्थिन्। तर देवब्रतको उपस्थितिले ढुक्क हुन्थिन् र राज्यका सबै कुरामा आमा र छोराले संयुक्तरुपमा निर्णय लिन्थे। चित्राङ्गद राजा त थिए तर आमा र दाजुको छायामा कतै हराएका थिए। चित्राङ्गद क्षमता र अनुक्रमका कारणले राजा भएका थिएनन्, कामुक राजाको क्षणिक उन्माद पूरा गर्नका लागि एउटा पितृभक्त, मातृभूमि भक्त र कुरुवंशको रक्षाका लागि अथक खट्ने एकजना राष्ट्रवादी, कुशल प्रशासक तथा न्यायप्रेमी राजकुमारको कृपाले राजा भएका थिए। उनीहरू त रमाइलो गर्ने, मोजमज्जाका लागि यताउता घुमिरहने गर्थे। त्यस्तै क्रममा चित्राङ्गद यक्षसँग भेट भयो। चिनजान हुँदा चित्राङ्गद यक्षले कुनै एउटा चित्राङ्गद मात्रै रहनु पर्ने घमण्ड गर्यो र युद्धका लागि लल्कार्यो। राजाको रुपमा राजा चित्राङ्गदले युद्धको चुनौती स्वीकार गरे तर उसको क्षमता अघिल्तिर राजा चित्राङ्गको केही लागेन, उनको हत्या भयो। अनि राजगद्दीमा विचित्रवीर्यको पालो आयो र राजा भए। भारतवर्षका राजाको रुपमा राज तिलक विचित्रवीर्यले लगाए। सत्यवती राजमाताको रुपमा खुसी हुने कि रोएर जीवन बिताउने भन्ने द्विविधामा राजमाताको पदवी टाउकोमा बाँधेर राजदरबारमा छटपटिएर बसेकी हुन्थिन्। यी सबै मनोविज्ञान बुझेर पनि सेनापतिका रुपमा, हस्तिनापुरका अभिभावक देवब्रत चुपचाप आफ्नो कर्तव्य पूरा गर्दैथिए र उनका लागि पनि ठुलो चुनौती थपिएको थियो, विवाह नहुँदै चित्राङ्गदको मृत्यु हुनु अनि विचित्रवीर्यको अपरिपक्वता अनि सानो उमेरको राजा। शत्रु राज्यहरू जमजमाएका थिए यही बेला हो भारतमा आक्रमण गर्ने र आफ्नो वर्चस्व फिर्ता गर्ने। क्रमशः
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
हरिविनोद अधिकारी का अन्य पोस्टहरु:
- शकुनिको कूटनीतिक क्षमता
- वैश्विक तापक्रम वृद्धिको दुष्परिणाम र हाम्रो भविष्य
- हिडिम्बाको मोह
- द्रौपदीलाई आफ्नै रूपको चिन्ता
- ब्राह्मण कुमारले विश्व सुन्दरीमाथि जमाए अधिकार
- द्रौपदीको छल
- शिखण्डीलाई लिङ्ग प्रदान, यक्ष स्थूणाकर्ण बने स्त्री
- यसरी भयो शिखण्डीको लिङ्ग परिवर्तन
- दिगो शान्तिका लागि गान्धीको पथप्रदर्शन
- किन आयो शिखण्डीमा मर्ने चाहना?