युक्रेनले रुसको ठुलो भूभाग कब्जामा लिएको दाबी गरेको छ । युक्रेनका एक जना उच्च अधिकारीले भूभाग कब्जामा लिएको पुष्टी गरेका हुन् ।
युक्रेनका एक जना उच्च कमान्डरले आफ्नो फौजले रुसको एक हजार वर्ग किलोमिटर भूभाग नियन्त्रणमा लिएको बताएका छन्। कमान्डर ओलेक्जान्डर सीर्स्कीले युक्रेनले कुर्स्क क्षेत्रमा आफ्नो कारबाही जारी रहेको बताएका छन्। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अरू देशमा युद्ध निम्त्याएको रुसभित्रै युद्ध पुगेको बताएका छन्।
तर रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देशको इलाकाभित्र प्रवेश गरेको बदलामा युक्रेनलाई ‘समुचित जबाफ दिने’ चेतावनी दिएका छन्। युद्ध सुरु भएयता युक्रेनी फौज पहिलो पटक रुसी भूभागको ३० किलोमिटरभित्र पसेको विवरणपछि राष्ट्रपति पुटिनले त्यस्तो बताएका हुन्।
युक्रेनको आक्रामक कदमपछि राष्ट्रपति पुटिनले क्षेत्रीय गभर्नर र सुरक्षा अधिकारीहरूसँग महत्त्वपूर्ण बैठकहरू गरेका छन्। पुटिनले एउटा बैठकमा रुसी फौजले ‘दुस्मनलाई लखेट्ने’ बताएको समाचारहरूमा जनाइएको छ।
युक्रेनी फौज गत मङ्गलवार प्रवेश गरेको रुसको कुर्स्क क्षेत्रका गभर्नरले युक्रेनी फौजले २८ वटा गाउँ नियन्त्रणमा लिएको बैठकमा बताएका छन्। गभर्नर एलेक्सी स्मिरनोफले बैठकमा युक्रेनी फौज आफ्नो क्षेत्रको १२ किलोमिटरभित्र रहेको जानकारी दिए।
बीबीसीका एकजना संवाददाता भन्छन्, “गभर्नरले जब युक्रेनी फौज रुसको कति भित्रसम्म पसेका छन् भन्नेबारे बोल्न थाले राष्ट्रपति पुटिनले उनलाई बीचमै रोके। र, मानिसहरूलाई कसरी सहयोग गरिँदै छ भन्नेमा केन्द्रित हुन आग्रह गरे।”
गभर्नर स्मिरनोफका अनुसार एक लाख २१ हजार मानिसलाई उनीहरूको घरबाहिर पठाइएको छ। र, थप ५९ हजारलाई पठाउनुपर्नेछ। आफ्ना १२ जना सर्वसाधारण मारिनुका साथै १२० भन्दा बढी घाइते भएका उनले जनाएका छन्।
रुसभित्र युक्रेनको प्रवेशले धेरैलाई आश्चर्यचकित बनाएको बताउँदै बीबीसीका अर्का संवाददाता भन्छन्, “यो एक ठूलो कदम हो। तर सम्भावित जोखिमपूर्ण पनि। तर किएभले यो वर्ष मस्कोको पक्षमा अघि बढिरहेको द्वन्द्वको गतिलाई यसले परिवर्तन गर्न सक्ने आशा गरेको देखिन्छ।”
रुसले सन् २०२२ मा युक्रेनमाथि आक्रमण सुरु गरेयता युक्रेनी सेना रुसी भूभागमा सबैभन्दा भित्रसम्म पुगेको यो पहिलो घटना हो। रुसको रक्षा मन्त्रालयले आफ्नो फौज र युक्रेनी सेनाबीच टोल्पिनो र ओब्बेस्चे कोलोडेज् गाउँमा लडाइँ भइरहेको जनाएको छ।
रुसको कुर्स्क क्षेत्रमा युक्रेनी सेना प्रवेश गरेको छैटौँ दिन सीमाभन्दा ३० किलोमिटर भित्रसम्मका गाउँ पुगेको हो। रुसी विदेश मन्त्रालयकी प्रवक्ता मारिआ जाखारोभाले “रुसको शान्त जनसङ्ख्यालाई धम्की दिएको” आरोप किएभमाथि लगाएकी छन्।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो फौजबाट रुसी भूभागमा आक्रमण भएको स्वीकार गरेका छन्।
एक सम्बोधनका क्रममा जेलेन्स्कीले रुसले कुर्स्क क्षेत्रबाट यो बर्खा याममा मात्रै २,००० आक्रमण आफ्नो देशतर्फ गरेको बताए। “तोप, मोर्टार, ड्रोन र क्षेप्यास्त्र आक्रमण पनि भएको अभिलेख हामीले राखेका छौँ। यी प्रत्येक यस्ता आक्रमणले जबाफ पाउँछन्,” किएभबाट देशवासीलाई सम्बोधन गर्दै जेलेन्स्कीले भने।
एक जना युक्रेनी वरिष्ठ अधिकारीले हजारौँ सैनिकहरू उक्त कारबाहीमा संलग्न भएको बताएका छन्।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- बीस वर्षदेखि सुकुम्बासीको प्रश्न : जग्गा कहिले पाइन्छ ?
- बगेर खेर गइरहेछ भोटको नुन
- गाउँकै अगुवा किसान, गाउँले एफएम दाइ
- नेतन्याहू, ग्यालेन्ट र देइफविरुद्धको आइसिसीको पक्राउ पुर्जी ‘बाध्यकारी’: इयू
- बुढाहाङ सेवामा वढाङमी नाचको रन्को
- कर्णालीमा आमसञ्चार विधेयकबारे छलफल
- सम्मान र पुरस्कारले उत्साहित पूजा
- लेबनानको सार्वभौमिकता उल्लङ्घन गर्ने इजरायलसँगको युद्धविराम स्वीकार्य छैनः हिजबुल्लाह प्रमुख
- इन्जिनियरिङ अध्ययन गरेर ब्लक उद्योगमा स्थापित
- जर्मनीले ‘एआई’ बाट नियन्त्रण गर्न मिल्ने चार हजार ड्रोन युक्रेन पठाउने