ग्रीन कार्डको प्रलोभनमा पारी मानब बेचबिखन गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
मानब बेचबिखन अनुसन्धान ब्युरोले काठमाडौंको गौरीघाटबाट एक जनालाई पक्राउ गरेको एसपी गौतम मिश्रले जानकारी दिए।
पक्राउ पर्नेमा झापा कमल गाउँपालिका-१ का ५४ वर्षीय बुद्धिराज न्यौपाने छन्।
उनले एक जना महिलालाई मौरिससमा मासिक ७० हजार रुपैयाँ कमाइ हुने कुकको काममा लगाइदिने भनेर प्रलोभनमा पारेका थिए। केही समय काम गरेपछि ग्रिन कार्ड समेत पाइने प्रलोभनमा पारेपछि ती महिला मौरिसस जान तयार भएकी थिइन्।
महिलाले बुद्धिराज न्यौपानेलाई २ लाख ५० हजार रुपैयाँ बुझाएको एसपी मिश्रले बताए।
उक्त रकम बुझाएपछि ती महिलालाई बुद्धिराजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुर्याए। त्यसबेला उनले मौरिसस लेखिएको क्याप समेत लगाउन दिएर फोटो खिचेर मौरिससका नागरिकलाई पठाएका थिए।
ती महिला २०८० माघ १३ गते नेपालबाट भारतको नयाँ दिल्ली हुँदै मौरिसस पुगिन्। विमानस्थलमा मौरिसियन पुरूषले त्यही क्यापको आधारमा चिनेर लिन आएका थिए। मौरिसियन नागरिकसँग गएपछि उनी मानब बेचबिखनमा परेको खुलेको हो।
ती मौरिसियन नागरिकले पीडित महिलालाई आफूले बुद्धिराज न्यौपानेबाट खरिद गरेको बताएका थिए। त्यसपछि ती महिलालाई दैनिक १७/१८ घण्टा काम गर्न लगाएको, समयमा खाना खान र तलब समेत नदिई श्रम र यौन शोषण गरेको खुलेको हो। केही समयपछि पीडित महिला त्यहाँबाट भागेर पोर्चुगल पुगेकी थिइन्।
त्यहाँ रहेका नेपाली नागरिकहरूको सहयोगमा उनी असार २० गते नेपाल फर्किएकी थिइन्। नेपाल फर्किएसँगै उनले ब्युरोमा जाहेरी दिएकी थिइन्।
जाहेरी परेपछि ब्युरोले उनलाई पक्राउ गरेको हो। थप अनुसन्धानका लागि हिरासतमा राख्न प्रहरीले काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको अनुमति पाएको छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- ड्रागन फ्रुटबाट वार्षिक दश लाख आम्दानी
- आज ज्येष्ठ शुक्ल एकादशी: तुलसीको दल राखिँदै
- अमेरिकाले नेपालीका लागि अस्थायी संरक्षण खारेज गर्दै
- प्रतिक्रिया स्वरूप रुसको युक्रेनमाथि आक्रमण
- नयाँ स्वरूपमा फिफा क्लब विश्वकप २०२५
- ट्रम्पद्वारा १२ देशका नागरिकलाई अमेरिका यात्रामा पूर्ण प्रतिबन्ध
- इजरायल -प्यालेस्टाइन गाजा युद्धमा २०० पत्रकार तथा संचारकर्मीको मृत्यु
- बेंगलोरमा ट्रफी परेडका क्रममा भएको भगदौडमा ११ को मृत्यु र ३३ घाइते
- आयात चार अर्ब ७५ करोड, निर्यात ३५ करोड : नेपाल बंगलादेश व्यापार
- सुडानमा चलिरहेको युद्धले चार लाखभन्दा बढी नागरिक विस्थापित
