सोमबार बिहान युक्रेनको राजधानीमा शृङ्खलाबद्ध धेरै विस्फोट भएका छन् र राजधानीका बासिन्दाहरूलाई बम आश्रय स्थलहरूमा पठाइएको छ ।
किएभका मेयर भिटाली क्लिट्स्कोले आपत्कालीन सेवाहरूलाई किएभको होलोसिभस्की जिल्लामा बोलाइएको बताउनुभयो । उहाँका अनुसार शेभचेनकिभ्स्की जिल्लामा भग्नावशेषमा खसेर एक व्यक्ति घाइते भएका छन् ।
“हरेक कुराको जवाफ हुनेछ, दुश्मनले यो महसुस गर्नेछ”, आक्रमणपछि राष्ट्रपति कार्यालयका प्रमुख एन्ड्री यरमकले टेलिग्राम पेजमा पोस्ट गर्नुभयो ।
वायुसेनाका अनुसार रुसले किएभलाई लक्षित गर्दै ब्यालेस्टिक मिसाइल प्रक्षेपण र केही ड्रोनका साथ क्रुज मिसाइलका धेरै समूहहरू प्रहार गरेको थियो ।
किएभ सहरका सैन्य प्रशासनका प्रमुख सेरही पोपकोले युक्रेनको राजधानी र यसका उपनगरहरूमा प्रहार गरिएका १० भन्दा धेरै क्रुज मिसाइल, करिब १० ब्यालेस्टिक मिसाइल र एउटा ड्रोनलाई युक्रेनको हवाई सुरक्षाले नष्ट गरेको बताउनुभयो ।
युक्रेनी सञ्चारमाध्यमका अनुसार युक्रेनको दोस्रो सबैभन्दा ठूलो सहर खार्किभमा पनि विस्फोट भएका छन् । खार्किभ क्षेत्रका प्रमुख ओलेह सिनिहबोभले खार्किभको इन्ड्रस्ट्रियलनी जिल्लामा बिहानै आक्रमणको पुष्टि गर्दै आक्रमणबाट एउटा आवासीय भवन र अन्य धेरैमा आगो लागेको बताउनुभयो ।
रुसको सेनाले करिब साढे दुई वर्षदेखि चलिरहेको युद्धको सबैभन्दा ठूलो युक्रेनी आक्रमणमा धेरै रुसी क्षेत्रलाई लक्षित गरी एक सय ५८ युक्रेनी ड्रोनहरूलाई रोकेको र नष्ट गरेको रिपोर्ट दिएको एक दिनपछि रुसबाट यो आक्रमण भएको हो ।
यो आक्रमण रुसको कुर्स्क क्षेत्रमा युक्रेनी सेनाको घुसपैठको केही सातापछि भएको हो । मस्कोको सेनाले अहिलेसम्म युक्रेनी सेनालाई पछाडि धकेल्नका लागि सङ्घर्ष गरेको छ र क्रेमलिनले यसको जवाफ दिने वाचा गरेको छ ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- अस्ट्रेलियालीमा १० प्रतिशत पुरुषले घरेलु हिंसामा कारबाहीको सामना गर्दछन्– अध्ययन
- विद्युत् व्यापार सम्झौता: नेपाल र बङ्गलादेशबीच सघन छलफल
- जलवायु परिवर्तनको असर, पानीको मुहान सुकेपछि रित्तियो ध्ये गाउँ
- यात्रा इजाजतप्राप्त हतियारसमेत सरकारी र सार्वजनिकस्थलमा लैजान नपाइने
- पपुवा न्यु गिनीमा सुनखानी नजिकै आदिवासीबीचको लडाइँमा ३० जनाको मृत्यु
- किन हुन्छ बालश्रम शोषण ऐनको प्रभावकारी कार्यान्वयनमा चुनौती ?
- फोन सम्पर्कका लागि झ्यालमा टुकटुके मोबाइल झुन्ड्याएर सुत्नुपर्ने बाध्यता
- नेपालमा डिजिटल प्लेटफर्म गभर्नेन्सबारे सरोकारवालाहरू माझ छलफल
- कास्कीमा डेङ्गीबाट तीनको मृत्यु, ३७ सयबढी सङ्क्रमित
- जापानमा वृद्धवृद्धाको सङ्ख्या उच्च