पूर्वी इरानको एक कोइला खानीमा ग्यास चुहिएर भएको विस्फोटमा परी हालसम्म ५१ जनाको मृत्यु भएको छ भने घाइतेको सङ्ख्या २० पुगेको छ।
“तबास खानी दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या ५१ पुगेको छ,” सरकारी समाचार संस्था इर्नाले सरकारी अधिकारीलाई उद्धृत गरी जनाएको छ । यसअघि ३० जनाको मृत्यु भएको जनाइएको थियो ।
खानी रहेको दक्षिण खोरासान प्रान्तका गभर्नर जावाद घेनातले सरकारी टेलिभिजनलाई बताएअनुसार उद्धार टोलीले फसेका २२ जना कामदारलाई उद्धार गर्ने काम गरिरहेको छ ।
स्थानीय समयअनुसार शनिबार राति ९:०० बजे भएको विस्फोटमा परी अन्य १७ जना घाइते भएको इर्नाले जनाएको छ । मिथेन ग्याँसको चुहावटका कारण खानीको दुई ब्लकमा विस्फोट भएको बताइएको छ ।
सरकारी टेलिभिजनले घाइतेलाई अस्पताल पुर्याउन एम्बुलेन्स र हेलिकप्टर घटनास्थलमा पुगेको फुटेज प्रसारण गरेको छ । इर्नाले सार्वजनिक गरेको अनलाइन फुटेजमा केही पीडितको शव खानीको ठेलामा राखेर घटनास्थलबाट बाहिर निकालिएको देखिएको छ ।
न्यूयोर्कमा हुने संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन प्रस्थान गर्नुअघि राष्ट्रपति मसूद पेजेस्कियानले सरकारी टेलिभिजनमार्फत सम्बोधन गर्दै मृतकका परिवारप्रति समवेदना प्रकट गर्दै घटनाको छानबिन गर्न आदेश दिनुभएको छ ।
“दुर्भाग्यबस, तबासको एउटा कोइला खानीमा एउटा दुर्घटना भएको छ र हाम्रा धेरै प्रियजनहरूले ज्यान गुमाएका छन्। म उनीहरूका परिवारजनप्रति समवेदना प्रकट गर्दछु,” पेजेस्कियानले भन्नुभयो ।
इरानका प्रथम उपराष्ट्रपति मोहम्मद रेजा अरेफले ‘आपतकालीन फलोअप’ सुनिश्चित गर्न र पीडित र उनीहरूका परिवारका लागि सहयोग सुनिश्चित गर्न मन्त्रीपरिषद्का सदस्यहरूसँग कुराकानी गरेको इर्नाले जनाएको छ।
इरानको रेड क्रिसेन्टले खानीमा खोजी तथा उद्धार कार्य जारी रहेको र त्यहाँ केही कामदार फसेको जनाएको छ। स्थानीय अभियोजक अली नेसेईलाई उद्धृत गर्दै इर्नाले भनेको छ, “खानीमा ग्याँस जमेकाले खोजी कार्य कठिन भएको छ।”
“अहिले हाम्रो प्राथमिकता घाइतेलाई सहयोग गर्नु र भग्नावशेषमुनिबाट मानिसहरूलाई निकाल्नु हो,” नेसेईले भन्नुभयो। उहाँले भन्नुभयो, “सम्बन्धित संस्था वा खानीका अधिकारीको लापरबाही र गल्तीबारे छानविन गरिनेछ ।”
गत वर्ष उत्तरी शहर दमघानमा रहेको कोइला खानीमा भएको विस्फोटमा परी छ जनाको मृत्यु भएको थियो भने सन् २०२१ को मे महिनामा सोही स्थानमा दुई जना कामदारको मृत्यु भएको थियो ।
सन् २०१७ मा उत्तरी इरानको आजाद शहरमा भएको विस्फोटमा ४३ जना कामदारको मृत्यु भएको थियो ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- रुरु क्षेत्रमा ‘शालिग्राम महोत्सव’
- सेती नदी जलविद्युत् आयोजना निर्माण सम्पन्न
- ध्यानका लागि प्रभुचेलामा बन्यो पूर्वाधार
- जुम्ला–रारा म्याराथन भोलि, ५९१ धावक सहभागी हुँदै
- मेयरलाई विद्यार्थीको प्रश्न– हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
- प्रसारण लाइन निर्माणमा प्राविधिक त्रुटि ?
- नेपाल सरकारद्वारा भारत–पाकिस्तानबीच बढ्दो तनावप्रति चिन्ता व्यक्त
- विद्युत् सेवा बन्द हुँदा ४८० घरधुरी अन्धकारमा बस्न बाध्य
- महेन्द्रनगर बजार : सौन्दर्यीकरणका कामसँगै थपियो उत्साह
- भारत र पाकिस्तानबीचको तनावप्रति नेपाल सचेत रहनुपर्नेमा जोड
