“काँधको छाला खुइलिने गरी पोल बोकेर १० वर्षअघि लद्यु जलविद्युत् परियोजना बनाएर दैनिकी सहज बनाउने उद्देश्यले बिजुली बालेका हौँ”, मालिका–३ लुम्पीपारका हेमबहादुर पुनले भन्नुभयो, “केन्द्रीय लाइनको विद्युत् सुविधा भएपछि भनेको समयमा सस्तोमा बिजुली बाल्न पाएका छौँ ।”
नेपाल विद्युत् प्राधिकरणले म्याग्दीलाई पूर्ण विद्युुतीकरण गर्ने कार्यक्रममार्फत भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने पात्लेका एक सय २० घरमा केन्द्रीय प्रसारण लाइनको बिजुली पु¥याएको हो । पात्लेका बासिन्दाले उज्यालोका लागि यसअघि लघु जलविद्युत् परियोजना, सौर्य उर्जा र टुकीमा निर्भर थिए ।
मालिका–३ का वडाध्यक्ष मोतिप्रसाद बुढाले केन्द्रीय लाइनका विद्युत् बलेसँगै उज्यालोका साथै स्थानीयबासीको दैनिकी सहज भएको बताउनुभयो । “हाम्रो वडामा रहेका तीन सय २५ मध्य सबै घरमा विद्युतीकरण भएको छ”, उहाँले भन्नुभयो, “विद्युतीय चुल्होमा खाना पकाउन, इन्टरनेट चलाउन, टेलिभिजन हेर्न, फर्निचर, मिल सञ्चालन गर्न तथा अन्य व्यवसायको अवसर सिर्जना भएको छ ।”
योसँगै मालिका–३ को सबै बस्तीमा सडक सुविधा पुगेको वडाध्यक्ष बुढाले जानकारी दिनुभयो । विद्युत् र सडक सुविधा विस्तार भएपछि चालु आर्थिक वर्षमा ‘एक घर एक धारा’ सहितको खानेपानी आयोजना निर्माण गर्न लागिएको उहाँले बताउनुभयो ।
विद्युतीकरण योजनाको उद्घाटन गर्न यहाँ पुग्नुभएका गण्डकी प्रदेशका पूर्वभौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीले म्याग्दीको गुर्जाबाहेक सबै बस्तीमा केन्द्रीय लाइनको विद्युत् सुविधा विस्तारको काम भइरहेको जानकारी दिनुभयो ।
“जिल्लाका १४ स्थानका दुई हजार एक ८३ घरमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् विस्तारका लागि रु २२ करोड बजेट विनियोजन भई योजना सञ्चालन भएको छ”, उहाँले भन्नुभयो, “यो योजनामार्फत धवलागिरि गाउँपालिकाको गुर्जा बाहेक सबै बस्तीमा विद्युत् सेवा पुग्नेछ ।”
प्रदेश सांसदसमेत रहनुभएका जुग्जालीले मालिका–३ मा पर्ने अदिभाराबाट डाडागाउँ हुँदै बागलुङको तमानखोला गाउँपालिका जोड्ने सडक स्तरोन्नतिका लागि रु १० करोडको आयोजना सुरु भएको बताउनुभयो । सडकको प्रवेशबिन्दुमा पर्ने अदिभाराको दाजुङ खोलामा २५ मिटर लामो मोटरेबल पुल निर्माणाधीन रहेको उहाँले जानकारी दिनुभयो ।
पात्लेका भीमबहादुर रोकाले आगनबाटै गाडी चढ्न पाउँदा दङ्ग परेको सुनाउनुभयो । “यातायात, विद्युत र सञ्चार सुविधाले गाउँ सुगम बन्न थालेको महसुस गरेका छौँ”, उहाँले भन्नुभयो, “कल्पना पनि नगरेको पहाड छिचोलेर बनेको सडकमा गाडी चढेर हिड्न पाउँदा दैनिकी सहज बन्दै गएको छ ।” खच्चर र भरियाबाट सामान ढुवानी गर्दै आएका रोकाले गाडी र ट्याक्टर चल्न थालेपछि भाडा सस्तिएको बताउनुभयो ।
आवतजावत सहज हुनाका साथै बिरामी पर्दा अस्पताल जान, कृषि र पशुजन्य वस्तुलाई बजार पठाउन, निर्माण र दैनिक उपभोग्य सामान ढुवानी गर्न सहज भएको पात्लेका धनबहादुर रोकाले बताउनुभयो । “पैदल हिडेर पात्लेबाट दरवाङ पुग्न तीन घण्टा लाग्थ्यो”, उहाँले भन्नुभयो, “गाडीबाट ओखरबोटको घुमाउरो बाटोबाट जाँदा दुई घण्टा र डाडागाउँ–औँलको छोटो बाटो प्रयोग गर्दा करिब डेढ घण्टामा दरवाङ पुगिन्छ ।”
पात्ले मात्र नभएर मालिका–३ का सबै बस्तीमा पुगेको सडक र विद्युत् सुविधाले दुर्गम गाउँका बासिन्दाको दैनिकी सहज हुनाका साथै व्यापार, व्यवसाय वृद्धि भई आयआर्यन पनि वृद्धि हुन थालेको यहाँका स्थानीय बताउँछन् । भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने साविक रुम गाविसमा समेटिएको सो वडाको कुनै पनि बस्तीमा आठ वर्षअघि सडक यातायातको सुविधा थिएन् ।
मालिका–३ का पूर्ववडाध्यक्ष हेमबहादुर पुनले पछिल्लो आठ वर्षको अवधिमा सबै बस्तीमा सडक सञ्जाल पुगेको र विद्युतीकरण भएको बताउनुभयो । उहाँका अनुसार किटेनीमा वडा कार्यालय र डाडागाउँमा स्वास्थ्य चौकीको सुविधा सम्पन्न भवन निर्माण भएको छ ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
सन्तोष गौतम का अन्य पोस्टहरु:
- किबीले पाएन बजार
- फिल्मको छायाङ्कन पछि पर्यटकको चहलपहल बढेको मुस्ताङको मार्फा
- अन्नपूर्ण आधार शिविर : पर्यटकसँगै फोहरको चुनौती
- लाहुर जान हिडेका प्रकाश दुतराज यसरी बने कलाकार
- लोमान्थाङको कोरलामा खानेपानी र शौचालयको अभाव, पर्यटकलाई सास्ती
- च्याङ्ग्राको भुवालाई पश्मिनाको कच्चा पदार्थका रूपमा प्रयोग गर्ने प्रयासमा पश्मिना उद्योगी
- एउटै नदीमा पाँच जलविद्युत् आयोजना
- आमा सम्झाउने ‘मातृचक्र’