शकुनिको बदला

द्रौपदी अर्थात् पाँच नाथकी अनाथिनी—४४

कसैले पनि त्यो भनक पाएका छैनन् भन्ने शकुनिलाई लाग्थ्यो तर महारानीहरू गान्धारी र कुन्तीलाई भनक परेको थियो। गान्धारीको मनमा पनि नराम्रो चोट लागेकोले त उनले आँखामा पट्टी बाँधेर आफैँसँग बदला लिएकी थिइन् ……

हरिविनोद अधिकारी

अव्यक्त साँठगाँठ देखिन्थ्यो धृतराष्ट्र र उनका छोराहरू विरुद्ध दुवै परिवारमा। दुवै परिवार अर्थात् धृतराष्ट्रको परिवार र पाण्डुको परिवार। यहाँ धृतराष्ट्रको परिवारको कुरा गर्दा मुख्य पात्र भीष्म पितामह पनि परिवारभित्रका प्रमुख थिए र उनमा पनि महाराज शन्तनुलाई दिएको वचन पूरा गर्नका लागि मात्र धृतराष्ट्रको भलो चिताउने कर्तव्य पूरा गरेका थिए। र उनै हुन् दृष्टिविहीनलाई राज्य सञ्चालनको हक हुँदैन भनेर भाइ पाण्डुलाई राजगद्दीको उत्तराधिकारी बनाएर चक्रवर्तीत्व सुम्पेका। उनको विचारमा धृतराष्ट्र स्वयं कुण्ठाले ग्रस्त मानसिक रोगी जस्ता थिए भने पाण्डु नहुने बित्तिकै हस्तिनापुरको नियतिले धृतराष्ट्रलाई राजा  कायममुकायम राजा दिनु जरुरी भएको थियो र हस्तिनापुरको सम्पूर्ण जिम्मेवारी लिएर बसेका देवब्रतलाई पाण्डवहरूको पक्षमा मन भए पनि, मनले धर्मको पक्ष पाण्डवहरूसँग छ भन्ने जान्दाजान्दै पनि हस्तिनापुरको पक्षमा उनले निर्णय गर्नु जरुरी मान्थे।  त्यसैले दुर्योधनका कुरा सुनेर र आफ्नो पुरानो द्वेषका कारणले पनि पितामहप्रति धृतराष्ट्र र उनका छोराहरूको पटक्कै विश्वास थिएन। नियति कस्तो थियो भने धृतराष्ट्रको राजसभाको नेतृत्व पितामहले गर्नु परेको थियो र पितामहका आदेशलाई शिरोपर गर्नु बाध्यता थियो धृतराष्ट्रसमेतलाई।

अर्का अतिथिका रूपमा भए पनि हस्तिनापुर दरबारलाई यति धेरै विश्वस्त पारेका थिए शकुनिले कि दुर्योधनहरू सबैभन्दा बढी सल्लाह लिने व्यक्ति शकुनि थिए र उनको हस्तक्षेपकारी भूमिकाले कहिलेकाहीँ विदुरसमेत पितामहसँग गुनासो गर्न जान्थे। विदुरको नीति र अर्ती उपदेशले त कुरुवंश बलियो हुन्थ्यो, त्यसैले पनि धृतराष्ट्रसमेतलाई पनि विदुरसँग टाढा लैजाने कोसिसमा शकुनि सफल पनि भएका थिए। कुरुवंशको नाश नै एक मात्र लक्ष्य सहित शकुनि हस्तिनापुर दरबारमा मनभित्र आगो लुकाएर बसेका थिए र आगो जतिसुकै दन्केको भए पनि धुवाँ भने बाहिर देखिन दिएका थिएनन्।

शकुनिको सम्पूर्ण चालढाल धृतराष्ट्रका पक्षमा देखिएको थियो तर भित्री मनमा कुरुवंशको अहङ्कार विरुद्ध कोलाहल मच्चिएको थियो। अरूले बिर्सिएको घटनाले उसलाई पोलेको थियो। त्यो आन्तरिक चिन्ताले जलाएका शकुनिका मनमा जसरी हुन्छ कुरुवंशको नै नाश होस् भन्ने चाहना देखिन्थ्यो। त्यसैले ऊ दरबारमा हुने हरेक निर्णयको जानकारी राख्ने र कुरुवंशको मुख्य हाँगो भनेर आफूलाई चिनाउने पितामहको वचन नमानुन् र शक्तिशाली पाण्डवहरूको रापमा जलेर खरानी होउन् भनेर शकुनिले जहिले पनि पाण्डवहरूसँग भिडाउने मन्त्रणा गर्थे र द्यूत क्रीडाको षडयन्त्रद्वारा विश्वास दिलाउन सफल पनि भएका थिए। रातभरि नसुतेर षडयन्त्रको तानाबाना मनमा गुन्ने नायकका रूपमा शकुनि थिए र धृतराष्ट्रसहित दुर्योधनहरू त्यो माया जालमा यसरी फसेका थिए कि त्यसबाट उनीहरू शकुनिको जालबाट फुत्कन नै सक्दैनथे। धृतराष्ट्रको दरबारमा भएर पनि अन्याय खप्न नसक्नेमा कान्छो राजकुमार विकर्ण थियो र दुर्योधनको विमातृ भाइ युयुत्सुलाई पनि दुर्योधनको चालढाल मन पर्दैनथ्यो। दुर्योधन अर्थात् शकुनि मामाको जालभित्र परेको तिनले देख्थे तर शकुनिको व्यवहारलाई उनीहरू कुरुवंशको नाशको रूपमा त लिएका थिएनन्, मात्र पाण्डवहरूका विरुद्धमा मच्चाइएको षडयन्त्र मात्र सम्झन्थे।

शकुनिलाई कुरुवंशभित्रका पाण्डवहरूसँग त के प्रतिशोध लिनु थियो र ? सबैभन्दा प्रतिशोध लिनु थियो कुरुवंशका सर्वेसर्वा भीष्म प्रतिज्ञा लिएका देवब्रतसँग जसले हस्तिनापुरको जिम्मा आफ्नो काँधमा लिएका थिए र गान्धारजस्तो विकट क्षेत्रको राज्यसँग त्यहाँका राजा सुबललाई उनकी अत्यन्त सुन्दरी सुनयना छोरी गान्धारी तत्काल लिएर आउने र ज्येष्ठ कुमार धृतराष्ट्रसँग विवाह गर्नुपर्ने भन्ने आदेशले डराएर महाराज सुबलका तर्फबाट कन्यादान दिन आएका युवराज शकुनि फेरि गान्धार राज्यमा फर्केर गएनन्। कुरा त के पनि स्पष्ट थियो भने धृतराष्ट्रको विवाह नभई गद्दी सिन महाराज पाण्डुको विवाह हुँदैनथ्यो र धृतराष्ट्र प्रत्यक्ष रूपमा कुनै स्वयंवरमा गएर राजकुमारीहरूमध्ये कसैलाई मन पराएर ल्याउन समर्थ थिएनन्। त्यसैले शिवजीबाट वरदान पाएकी सय पुत्रवती हुने सुबल कन्या नै भीष्म पितामहलाई चाहिएको थियो। कुरुवंशमा उत्तराधिकारी नियोगबाट बनाउनु पर्ने अवस्था फेरि फेरि नआओस् भन्नेमा पितामह देखिन्थे। दृष्टि भएकी सुन्दरी बहिनी गान्धारीसँग बलजफती जस्तै गरी दृष्टिविहीन राजकुमार धृतराष्ट्रसँग विवाह भएको चोटलाई शकुनिले राज्यमाथि नै युद्ध गरेजस्तै ठाने र त्यो मानसिक दबाबको उपचार भनेको कुरुवंशको नाशले मात्र हुन सक्ने उनको ठम्याइ देखिन्थ्यो तर भनक त कसैले पनि पाउने सम्भावना नै थिएन। ऊ आफ्नै छायासँग पनि त्रसित थियो र छायाले सुन्ने गरी आफैँसँग पनि दोहोरो कुरा गर्दैनथ्यो।

कुरुवंशका शिरोमणि र सम्पूर्ण भारत वर्षको जिम्मा आफ्नो बुढो काँधमा बोक्दा पनि भारी नसम्झने पितामह देवब्रतलाई धृतराष्ट्रबाट युधिष्ठिरमा राज्य छिटो सार्नु थियो किनभने उनको विवेकमा त धृतराष्ट्र प्रशासनिक, राजनीतिक, धार्मिक तथा नैतिक रूपमा राजा हुन लायक नै थिएनन्।

राजमाता सत्यवती , प्रमुख सल्लाहकारका रूपमा राजमाताकै पराशरतर्फका पुत्र पाराशर व्यास र हस्तिनापुरका अभिभावक कुरु शिरोमणि शन्तनु नन्दन देवब्रतका सल्लाहले नै धृतराष्ट्रलाई राजगद्दीमा राखिएको थिएन। पछि कालान्तरमा हस्तिनापुरको नियतिले धृतराष्ट्रले राज्याधिकार पाएपछि र भाइ पाण्डु फर्केर नआउने बुझेपछि उनमा जुन प्रतिशोधको आगो दन्केको थियो, त्यसको प्रतिमूर्तिको रूपमा दुर्योधनमा उनको कुण्ठा जागेको थियो। त्यसैले एउटै दरबारमा भएर पनि स्वयं पितामह धृतराष्ट्रको प्रतिशोध मनन गरेकाले पाण्डवको पक्षमा उनको मन थियो तर हस्तिनापुरको पक्षमा देखिनु परेकाले उनी पनि भित्रभित्रै पाण्डवको हित हुने काममा लाग्थे जसको सामान्य सल्लाह विदुरसँग हुन्थ्यो। विदुर त धृतराष्ट्र र उनका छोराहरूको कोप भाजनमा परेका थिए। महामन्त्रीको पद यस कारणले पाएका थिए कि उनी पनि विचित्र वीर्यको क्षेत्रमा जन्मेका थिए र गंगानन्दन भीष्मले उनलाई महामन्त्रीको पदमा राखेका थिए। सत्यवती नन्दन व्यास जो धृतराष्ट्रका पनि भौतिक पिता थिए, विदुरका पनि भौतिक पिता थिए र उनको सल्लाहमा विदुरले महामन्त्रीको पदमा बसेर पाण्डुलाई राज्य सञ्चालन गर्ने बुद्धि र मन्त्रणा दिनु कर्तव्य तोकिएको थियो। विदुर पनि दृष्टिविहीन दाजु धृतराष्ट्रको कोपभाजनभित्र नै परेका थिए किनभने विदुरले पनि जेठो दाजु राजा हुनुपर्छ भनेर पहिले कहिल्यै भनेका थिएनन्। समयको अन्तराल र काल गतिको चक्रमा धृतराष्ट्र महाराज भए र उनका महामन्त्री हुन पुगेका विदुरमा पनि पाण्डवहरूप्रति नै मोह थियो कारण थियो विदुरको नीतिमा मुख्य राजा पाण्डु नै थिए र उनका उत्तराधिकारीले मात्र भारत वर्षको चक्रवर्तीत्व पाउनु पर्ने हो।

धृतराष्ट्र योग्यता र क्षमताका कारणले भन्दा पनि भवितव्यका कारणले राजाको रूपमा गद्दीमा बस्न पाएकाले देखावटी रूपमा धृतराष्ट्रका महामन्त्री थिए तर योग्यता क्षमताका आधारमा युधिष्ठिरतिर नै आकर्षित थियो। उनको मन युधिष्ठिरको धर्म परायणता, सत्यवादिता र विनम्रताप्रति यति लालायित थियो कि युधिष्ठिरको महामन्त्री हुने चाहना बढेको थियो। तर वाक्यमा बोल्न सक्दैनथे र पनि उनको मनले धृतराष्ट्रलाई महाराज भन्दै गर्दा मनले महाराज मान्न कहिल्यै सकेनन्। विदुरको विचारमा युधिष्ठिरमात्र होइन, पाण्डुका पाँचै भाइ छोराहरू कोहीभन्दा कोही कम थिएनन् र एउटैले कौरवहरूको नाश गरेर आफ्ना पिताको राज्य फिर्ता लिन सक्थे तर उनीहरू समयको पर्खाइमा थिए। झन् द्रौपदीको स्वयंवरपछि त ती पाँच भाइमा यस्तो एकता देखियो कि पाँच भाइको क्षमता वृद्धिको सूत्रधार नै द्रौपदी हुन् कि भन्ने भान पर्थ्यो।

त्यसो त कुन्ती अव्यक्त रूपमा र मौन रूपमा विद्रोह यसरी गर्थिन् कि आफ्ना छोराहरू र बुहारी वनवास जाँदा पनि उनले आफ्ना महाराजको राजधानी हस्तिनापुर र त्यहाँको दरबारलाई एक छिन पनि छोडिनन्। उनलाई पक्का थियो , एक दिन पाण्डुको राज्यलाई उनकै छोराहरूले राज गर्नेछन्।

पितामहको द्वैधता बुझेका विदुर, त्यसो भएर त बेला मौकामा पितामहसँग सल्लाह गर्न जान्थे। उनीहरूको पछिल्तिर पनि जासुसहरू लगाइन्थे। शक्तिशाली सेनापति भीष्म पितामह पनि धृतराष्ट्रका प्युसाहरूसँग डराउँथे। कारण थियो, उनको आस्थामाथि कसैले पनि शङ्का नगरोस् तर आस्था डगमगाएको कुरा स्वयं पितामह आफूलाई ढाँट्न सक्दैनथे र समयको पर्खाइमा थिए पाण्डवहरूको राज तिलकका लागि।

गुरु द्रोण त यसै पनि अर्जुनसँग नतमस्तक नै थिए द्रुपदलाई परास्त गरेर उनको चरणमा पछारेकाले। पाँचै भाइको विनम्रता र क्षमताप्रति गुरु द्रोणलाई गर्व थियो तर महाराज धृतराष्ट्र र दुर्योधनादिहरूसँग त्यो कुरा भन्न सक्दैनथे। उनलाई पनि दरबारका प्रत्येक पत्थरका कान र आँखा हुन्छन् भन्ने भ्रम थियो , जुन यथार्थमा सही पनि थियो।

स्वयं गान्धारी सत्यको पक्षमा थिइन्। तैपनि पुत्र मोहका कारणले केही भन्न खोजे पनि, बाँडेर राज्य सञ्चालन गरे हुन्थ्यो भन्ने थियो। तर भित्री मनमा दृष्टिविहीन राजकुमारसँग विवाह गर्नु परेकाले नै आफूलाई आफैँले सत्याग्रहको रूपमा दण्ड दिन आँखामा पट्टी बाँध्नु परेको यथार्थतालाई भने ढाँट्न सक्थिनन् आफैँलाई। गुरु कृपाचार्य त झन् पाण्डवका पक्षमा देखिन्थे तर राजगुरुको हैसियतमा  रहँदा जो राजा हुन्छ, त्यसैको पक्षमा देखिई रहनु पर्ने कर्तव्य हुन्थ्यो।

वास्तवमा गुरु द्रोण पुत्र अश्वत्थामा भने दुर्योधनको पक्षमा शतप्रतिशत लागेको हुन्थ्यो। त्यसको कारण थियो अर्जुनसँगको आन्तरिक प्रतिस्पर्धा। पिताजी द्रोणले आफूलाई भन्दा पनि बढी मन पराउने र शिक्षादीक्षा अर्जुनलाई दिएको उसलाई मन परेको थिएन। क्रमशः

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

हरिविनोद अधिकारी का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link